Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 73

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

0

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ ।

देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा आयोजित कार्यक्रममा राजावादी अभियन्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पशुपति विक्रम साह, उषा साह, अब्दुल सतार अन्सारी, बिरेन्द्र थापा, अनु राणा, शम्भु चौरसिया, रामनारायण साहलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

सो अवसरमा सहभागीहरूले पूर्वराजाप्रति समर्थन जनाउँदै विभिन्न नाराबाजी गरेका थिए । कार्यक्रममा “हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ”, “राजा कसको ? जनताको” तथा “नेपाली जनता के भन्छ ? राजा ल्याउ भन्छ” लगायतका नारा लगाइएको थियो ।

कार्यक्रममा वक्ताहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै राजसंस्थाको पुनःस्थापनाको पक्षमा आफ्ना विचार व्यक्त गरेका थिए ।

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

0

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले पावर हाउसदेखि मुर्ली क्षेत्रसम्म डोजर परिचालन गरी सडक सीमाभित्र परेका घर तथा अन्य संरचना हटाएको हो ।

कार्यालयले मंगलबार अभियानका लागि सात वटा डोजर परिचालन गरेको जनाएको छ । कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि फोकल पर्सन दुर्गाप्रसादका अनुसार एउटा डोजर उच्च अदालत क्षेत्र र बाँकी छ वटा डोजर मुर्ली क्षेत्रमा परिचालन गरिएको छ ।

उनका अनुसार मंगलबार दिउँसो साढे ३ बजेसम्म गण्डकदेखि मुर्ली क्षेत्रसम्म करिब ७० वटा निजी भवन तथा संरचना हटाइसकिएको छ । सो क्षेत्रमा रहेका आधा दर्जन सरकारी भवनका संरचनामा भने हाल डोजर नचलाइएको उनले बताए ।

त्रिभुवन राजमार्गअन्तर्गत पर्ने वीरगंजकाे मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालयले गत शुक्रबारदेखि अभियान सुरु गरेको थियो । कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि बहुअरी क्षेत्रका स्थानीयले अवरोध गरेपछि शुक्रबार साँझ अभियान रोकिएको थियो ।

पछि सोमबार बिहान साढे ६ बजेदेखि पुनः अभियान सञ्चालन गर्दै कार्यालयले अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको हो । पावर हाउसबाट मुर्ली चोकतर्फ डोजर अघि बढेसँगै धेरै घरधनीले डोजर पुग्नुअघि नै आफ्ना सडक सीमाभित्र रहेका पर्खाल, सटर र अन्य संरचना स्वयं हटाउन थालेका छन् ।

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

0
फाइल तस्बिर

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका छन् भने बाँकी स्रोतहरूमा पनि पानीको मात्रा घटेकाले खानेपानी र सिँचाइ दुवैमा समस्या देखिएको छ ।

केही वर्षअघि ग्रामीण बासिन्दाले १५० देखि २०० फिट गहिराइमा पाइप जडान गरी अटोमेटिक (आर्टिजन) धारा सञ्चालनमा ल्याएका थिए । तर यस वर्ष ती अधिकांश धारा पूर्ण रूपमा सुकेपछि स्थानीयले त्यही पाइपमा चापाकल जडान गरेर पानी निकाल्न बाध्य भएका छन् ।

असारको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएकाले किसानहरू धान रोपाइँ गर्न नसकी थप समस्यामा परेका छन् । जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका किसान नागेन्द्र साहका अनुसार पाँच कट्ठा खेतका लागि तयार गरिएको धानको ब्याड सिँचाइको अभावमा सुकिसकेको छ । “रोपाइँका लागि तयार गरेको बीउ पानी नपाएर जलेपछि ब्याड नै जोत्नुपरेको छ,” उनले गुनासो गरे ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ठोरी, जिराभवानी र जगरनाथपुर गाउँपालिकाका विभिन्न स्थानमा नदी, खोला, चापाकल तथा बोरिङसमेत सुकेका छन् । ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार वडाभरिका अधिकांश चापाकल सुकेका छन् । सरकारले जडान गरेका सोलार बोरिङ तथा ७०–७५ फिट गहिराइका बोरिङसमेत सञ्चालनविहीन भएका छन् ।

उनका अनुसार हाल यस क्षेत्रमा डिप बोरिङ मात्र सञ्चालनमा रहे पनि त्यसबाट समेत पर्याप्त पानी नआएकाले किसानहरूले आलोपालो प्रणाली अपनाएर सिँचाइ गर्दै धान रोपाइँ गरिरहेका छन् ।

लगातारको वर्षा अभावका कारण पर्सामा खानेपानीको संकटसँगै कृषि उत्पादनसमेत प्रभावित हुने चिन्ता बढ्दै गएको छ । स्थानीयवासी र किसानहरूले तत्काल वैकल्पिक सिँचाइ तथा खानेपानी व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मौलापुरमा अझै गएनन हाकिम : नगरशिक्षकदेखी सुत्केरीसम्म आन्दोलित

0

वीरगञ्ज । विकास निर्माणका कामले गति लिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कर्मचारी व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा विकास निर्माणका काम प्रभावित हुँदा सेवाग्राहीदेखि नगर शिक्षक र विभिन्न कार्यक्रमका लाभग्राहीसम्म आन्दोलनमा उत्रिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको जनाइएको छ । मन्त्रालयले उनलाई फिर्ता बोलाए पनि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिका प्रशासन ठप्पजस्तै बनेको छ ।

छ महिनादेखि तलब नपाएको भन्दै नगर शिक्षकहरूले पेन डाउन आन्दोलन सुरु गरेका छन् । यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गतका गर्भवती तथा सुत्केरी महिलाहरूले प्रोत्साहन भत्ता नपाएको भन्दै नगर प्रमुख रिना कुमारी साहको कार्यकक्ष घेराउ गरेका छन् । सरसफाइ कर्मचारीले पनि तलब नपाएपछि काम छाडेका कारण नगर क्षेत्रमा सरसफाइ व्यवस्थापनसमेत प्रभावित भएको छ ।

यसैबीच, सर्वोच्च अदालतले मौलापुर नगरपालिकाले सञ्चालन गर्दै आएका निःशुल्क बिजुली, निःशुल्क पानीलगायतका जनमुखी कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश जारी गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण ती कार्यक्रमको भुक्तानी प्रक्रिया समेत प्रभावित हुने अवस्था देखिएको नगरपालिकाको भनाइ छ ।

नगर प्रमुख रिना कुमारी साहले संघीय सरकारले जानाजान नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन अवरुद्ध गर्न खोजेको आरोप लगाएकी छन् । बजेट कार्यान्वयन र भुक्तानी गर्ने महत्वपूर्ण समयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइनु स्थानीय तहलाई गतिरोधतर्फ धकेल्ने र बजेट फ्रिज गराउने नियत भएको उनको दाबी छ ।

मेयर साहका अनुसार मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेपछि उनलाई फिर्ता बोलाइएको भए पनि हालसम्म अर्को अधिकृत नपठाइनुले संघीय सरकारको नियतमाथि प्रश्न उठेको छ ।

उनले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्रि बिजुली’, ‘फ्रि पानी’ तथा ‘छोरीसँग मेयर’ (विवाहमा आर्थिक सहयोग) जस्ता जनमुखी तथा गौरवका कार्यक्रमलाई समेत रोक्ने उद्देश्यले संघीय सरकारले अनावश्यक र गैरकानुनी हस्तक्षेप गर्दै आएको आरोप लगाएकी छन् ।

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी प्रवेश र लागूऔषध तस्करी नियन्त्रणमा प्रहरी असफल भएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पन्तले वीरगंजका अधिकांश तारे होटलमा सञ्चालित क्यासिनोहरू भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालन गरिए पनि प्रहरी प्रशासनकै मिलेमतोमा नेपालीहरूलाई समेत खुलेआम प्रवेश गराएर जुवा खेलाउने काम भइरहेको जनगुनासो बढ्दै गएको बताए ।

उनले क्यासिनोमा सहज पहुँचका कारण वीरगंज तथा आसपासका क्षेत्रका ठूला व्यवसायीदेखि भर्खरै व्यवसाय सुरु गरेका युवा उद्यमी, मध्यमवर्गीय परिवारका सदस्य तथा विभिन्न पेशामा आबद्ध व्यक्तिसमेत क्यासिनोको लतमा परेको दाबी गरे । यसका कारण धेरैले आफ्नो सम्पत्ति गुमाउनुका साथै व्यापार, लेनदेन, सामाजिक र पारिवारिक सम्बन्धसमेत बिग्रिएको अवस्था रहेको उनको भनाइ थियो ।

सांसद पन्तले वीरगंजस्थित क्यासिनोमा नेपालीहरूको प्रवेश पूर्ण रूपमा रोक्न तथा यसमा प्रहरी प्रशासनको संलग्नता पुष्टि भए सम्बन्धित अधिकारीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

त्यसैगरी उनले पछिल्लो समय वीरगञ्ज नाकाबाट भारत पुगेका मालवाहक सवारीसाधनबाट दिनहुँ क्विन्टलका दरले गाँजा र चरेस भारतीय प्रहरीले बरामद गरिरहेको घटनाले पर्सा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताए ।

उनले भने, “सामान्य नागरिकले भारतबाट एक–दुई हजार रुपैयाँ बराबरको घरायसी सामान ल्याउँदा नाकामै प्रहरीले नियन्त्रणमा लिन्छ । तर मुख्य नाकाबाट ठूलो परिमाणमा लागूऔषध र तस्करीका सामान ओसारपसार हुँदा पनि प्रहरीले नदेखेजस्तो गर्छ ।”

केही दिनअघि रमेश लेखक स्वयं वीरगंज नाकामा पुग्दा स्थानीयले तस्करीबारे जानकारी गराएको स्मरण गराउँदै सांसद पन्तले वीरगंज नाका हुँदै भइरहेको लागूऔषध तथा अन्य वस्तुको तस्करी तत्काल रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको  बीआर ०१ सीयू ३५४४ नम्बरको सेतो रंगको स्पोर्ट्स कार रोकी जाँच गरेको थियो ।

खानतलासीका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको १० वटा पोकाभित्र १०२ केजी ६३८ ग्राम गाँजा जस्तो देखिने लागूऔषध फेला परेपछि प्रहरीले कारसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, नवलपुर निवासी ३२ वर्षीय गुडु बर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार बरामद गाँजा, कार तथा पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ ।

पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गाउँपालिकाको आयोजनामा आयोजित एक समारोहबीच नवनिर्मित प्रवेशद्वारको उद्घाटन गरेका हुन् ।

जगरनाथपुर गाउँपालिकाको बजेटबाट २२ लाख ५० हजार रुपैयाँको लागतमा उक्त प्रवेशद्वार निर्माण गरिएकाे हाे । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली कुशवाहा, सुभाष यादव र बिहारी नुनियाका साथै स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले स्थानीय पूर्वाधार विकासले गाउँपालिकाको पहिचान र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले यस्ता संरचनाले स्थानीय पर्यटन, सांस्कृतिक पहिचान तथा विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नवनिर्मित प्रवेशद्वार जगरनाथपुर गाउँपालिकाको पहिचान, धार्मिक तथा सांस्कृतिक महत्व तथा गौरवको प्रतीकका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उनले बताए ।

जय साहको पहलमा बहुदरमाईमा कुमारी बैंकको शैक्षिक सहयोग

0

वीरगञ्ज । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पर्साको बहुदरमाई नगरपालिका–५, भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम माध्यमिक विद्यालयलाई एक थान आरओ (RO) वाटर फिल्टर तथा १५० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।

स्थानीय युवा नेता जय साहको पहल तथा समन्वयमा आयोजित कार्यक्रममा बहुदरमाई–५ का वडाध्यक्ष सुनील महतो कोइरी, कुमारी बैंकका प्रदेश प्रमुख अंकित पाण्डेय, सञ्चालन प्रमुख रञ्जित यादव, बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुमारी बैंकका प्रदेश प्रमुख अंकित पाण्डेयले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदायसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्र र समुदायबीचको सहकार्यले सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।

वडाध्यक्ष सुनील महतो कोइरीले विद्यालय र विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा कुमारी बैंकप्रति आभार व्यक्त गर्दै कार्यक्रमका लागि पहल तथा समन्वय गरेका जय साहलाई धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक सञ्जय महतोले विद्यार्थीको शैक्षिक यात्रामा उपयोगी हुने विद्यालय झोला तथा विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न आरओ फिल्टर उपलब्ध गराएकोमा कुमारी बैंकप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जय साहले समुदायको आवश्यकता पहिचान गरी निजी क्षेत्र, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य बढाउनु समयको आवश्यकता रहेको बताए । शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासँग सम्बन्धित क्षेत्रमा आगामी दिनमा पनि यस्ता पहललाई निरन्तर अघि बढाउने उनको प्रतिबद्धता थियो ।

जगरनाथपुरका एक युवक ८ दिनदेखि बेपत्ता, परिवारलाई अपहरणको आशंका

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिडारीगुठी निवासी करिब २५ वर्षीय वृजेश राम आठ दिनदेखि बेपत्ता भएपछि उनका परिवारजन चिन्तित बनेका छन् । लामो समय बितिसक्दा पनि उनको अवस्था बारे अत्तोपत्तो नलाग्दा परिवारले प्रभावकारी अनुसन्धानको माग गरेका छन् ।

परिवारका अनुसार गत सोमबार बिहान करिब ८ बजे वृजेश आफ्नी आमा मन्जु रामसँग मोटरसाइकलमा धोबिनी गाउँपालिकाको जगरनाथपुरस्थित दिदीको घरतर्फ गएका थिए । बाटोमै वर्षा सुरु भएपछि आमा–छोरा केहीबेर रोकिएका थिए । सोही क्रममा वृजेशको मोबाइलमा फोन आएपछि उनले आमालाई त्यहीँ छाडेर फाेन आएकाे व्यक्तिसंग भेट्न जाने भन्दै हिँडेका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् ।

वृजेशका नाना रामअशिष रामका अनुसार फोन गरेर बगैँचामा बोलाइएको स्थानमा पुगेपछि आठ–नौ जनाको समूहले उनलाई एकान्तमा लगेर कुटपिट गरेको सूचना परिवारले पाएको छ । कुटपिट भइरहेका बेला वृजेशले आफ्ना भिनाजु प्रमोद रामलाई फोन गरेर आफूलाई बचाउन आग्रह गरेका थिए ।

भिनाजु प्रमोद राम घटनास्थल पुग्दा भने वृजेश त्यहाँ नरहेको र त्यसपछि उनी बेपत्ता भएको परिवारको भनाइ छ । त्यसलगत्तै आफन्त र स्थानीयले खोजी सुरु गरे पनि कुनै जानकारी नपाएपछि प्रहरीमा निवेदन दिइएको थियो ।

वृजेशका मामा वीरबल रामले आठ दिन बितिसक्दा पनि परिवारले कुनै ठोस जानकारी नपाएको भन्दै घरमा रुवाबासी चलिरहेको बताए । सामान्य आर्थिक अवस्था भएको दलित परिवारका सदस्य रहेका वृजेश बेपत्ता भएपछि गाउँभरि नै चिन्ताको वातावरण बनेको स्थानीयले बताएका छन् ।

परिवारका अनुसार वृजेशले जिराभवानी गाउँपालिकाका केही व्यक्तिबाट व्यक्तिगत कामका लागि करिब सातदेखि आठ लाख रुपैयाँसम्म कर्जा लिएका थिए । ती रकम चुक्ता गर्ने विषयमा पटक–पटक छलफलसमेत हुँदै आएको नाना रामअशिष रामले बताए ।

यता पर्सा प्रहरीले भने घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले सूचना प्राप्त भएलगत्तैदेखि प्रहरीले परिवारसँग नियमित सम्पर्कमा रही घटनाको अनुसन्धानलाई तीव्र बनाएको बताए ।

आठ दिन बितिसक्दा पनि वृजेशको अत्तोपत्तो नलागेपछि परिवारले उनको सकुशल खोजीका लागि प्रहरी प्रशासनसँग प्रभावकारी पहलको माग गरेको छ ।

बारामा राष्ट्रिय आर्थिक गणना सम्पन्न गराउने ७५ गणक र सुपरिवेक्षक सम्मानित

0

वीरगंज । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, बाराले शनिबार आयोजना गरेको कार्यक्रममा गणना कार्य सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याएका ६६ जना गणक र ९ जना सुपरिवेक्षकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले राष्ट्रिय आर्थिक गणना–२०८२ जस्तो महत्वपूर्ण अभियानलाई सफल बनाउन गणक तथा सुपरिवेक्षकहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । प्रतिकूल मौसम, समयको चाप तथा विभिन्न चुनौतीका बाबजुद जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्दै अभियान सफल बनाउन सबैले उल्लेखनीय योगदान दिएको उनले बताए ।

दासका अनुसार नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरेको हो । यसअन्तर्गत २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशभर स्थलगत रूपमा तथ्याङ्क सङ्कलन गरिएको थियो ।

उनले बारा जिल्लामा मात्र २१ हजार ६९७ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भएको जानकारी दिए । गणनामार्फत जिल्लाका उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक गतिविधिसम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिएको उनले बताए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाको मुख्य उद्देश्य मुलुकभर रहेका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा अर्थतन्त्रमा उनीहरूको योगदानसम्बन्धी यथार्थ तथ्याङ्क संकलन गर्नु हो ।

यस गणनाबाट प्राप्त तथ्याङ्क संघ, प्रदेश तथा स्थानीय तहका सरकारलाई नीति निर्माण, विकास योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।