वीरगंज । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, बाराले शनिबार आयोजना गरेको कार्यक्रममा गणना कार्य सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याएका ६६ जना गणक र ९ जना सुपरिवेक्षकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले राष्ट्रिय आर्थिक गणना–२०८२ जस्तो महत्वपूर्ण अभियानलाई सफल बनाउन गणक तथा सुपरिवेक्षकहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । प्रतिकूल मौसम, समयको चाप तथा विभिन्न चुनौतीका बाबजुद जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्दै अभियान सफल बनाउन सबैले उल्लेखनीय योगदान दिएको उनले बताए ।
दासका अनुसार नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरेको हो । यसअन्तर्गत २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशभर स्थलगत रूपमा तथ्याङ्क सङ्कलन गरिएको थियो ।
उनले बारा जिल्लामा मात्र २१ हजार ६९७ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भएको जानकारी दिए । गणनामार्फत जिल्लाका उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक गतिविधिसम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिएको उनले बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाको मुख्य उद्देश्य मुलुकभर रहेका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा अर्थतन्त्रमा उनीहरूको योगदानसम्बन्धी यथार्थ तथ्याङ्क संकलन गर्नु हो ।
यस गणनाबाट प्राप्त तथ्याङ्क संघ, प्रदेश तथा स्थानीय तहका सरकारलाई नीति निर्माण, विकास योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।








