सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका छन् भने बाँकी स्रोतहरूमा पनि पानीको मात्रा घटेकाले खानेपानी र सिँचाइ दुवैमा समस्या देखिएको छ ।
केही वर्षअघि ग्रामीण बासिन्दाले १५० देखि २०० फिट गहिराइमा पाइप जडान गरी अटोमेटिक (आर्टिजन) धारा सञ्चालनमा ल्याएका थिए । तर यस वर्ष ती अधिकांश धारा पूर्ण रूपमा सुकेपछि स्थानीयले त्यही पाइपमा चापाकल जडान गरेर पानी निकाल्न बाध्य भएका छन् ।
असारको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएकाले किसानहरू धान रोपाइँ गर्न नसकी थप समस्यामा परेका छन् । जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका किसान नागेन्द्र साहका अनुसार पाँच कट्ठा खेतका लागि तयार गरिएको धानको ब्याड सिँचाइको अभावमा सुकिसकेको छ । “रोपाइँका लागि तयार गरेको बीउ पानी नपाएर जलेपछि ब्याड नै जोत्नुपरेको छ,” उनले गुनासो गरे ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ठोरी, जिराभवानी र जगरनाथपुर गाउँपालिकाका विभिन्न स्थानमा नदी, खोला, चापाकल तथा बोरिङसमेत सुकेका छन् । ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार वडाभरिका अधिकांश चापाकल सुकेका छन् । सरकारले जडान गरेका सोलार बोरिङ तथा ७०–७५ फिट गहिराइका बोरिङसमेत सञ्चालनविहीन भएका छन् ।
उनका अनुसार हाल यस क्षेत्रमा डिप बोरिङ मात्र सञ्चालनमा रहे पनि त्यसबाट समेत पर्याप्त पानी नआएकाले किसानहरूले आलोपालो प्रणाली अपनाएर सिँचाइ गर्दै धान रोपाइँ गरिरहेका छन् ।
लगातारको वर्षा अभावका कारण पर्सामा खानेपानीको संकटसँगै कृषि उत्पादनसमेत प्रभावित हुने चिन्ता बढ्दै गएको छ । स्थानीयवासी र किसानहरूले तत्काल वैकल्पिक सिँचाइ तथा खानेपानी व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।








