Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 570

वीरगञ्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा

0

वीरगंज । वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो । अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।

यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो । 

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उहाँले जानकारी दिनु भयो ।

अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो घटना हो ।

‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,’ नगर प्रमुख सिंहले भन्नुभयो, ‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’

यो अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।

अभियान अन्तर्गत सोमबार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, प्रमोद साह, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

पटेर्वा सुगौलीमा ट्याक्टरकाे ठक्करबाट महिलाकाे मृत्यु

0
bike accident_kalikatimes

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित सडकखण्डमा ट्याक्टरकाे ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । मे. १ त ४८१७ नम्बरको ट्याक्टरकाे ठक्करले धोविनी गाउँपालिकाकाे वडा नं. ३ बस्ने प्रसाद हजराको श्रीमती ७२ बर्षिय महेसिया देवीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

साेमबार दिउसाे १:४० बजेको समयमा विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा सोही साईकलमा सवार प्रसाद हजरा र निजकी श्रीमती महेसिया देवी घाइते भएका थिए । घटना बारे प्रहरीलाई जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पुर्याएकाे थियाे ।

उपचारकै क्रममा साेमबार दिउसाे ३:३५ बजेको समयमा निज महेसिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । त्यसपछि मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी उल्लेखित ट्याक्टर र ट्याक्टर चालक कालिकामाई गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३२ को महेन्द्र सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

दोस्रो परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी विजयी

0

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को तेस्रो खेलमा गोरखा फुटबल एकेडमी सर्लाही विजयी भएको छ । परवानीपुर युथ क्लब वीरगंज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई गोरखा फुटबल एकेडमी, सर्लाहीले हराएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई ०–१ गोल अन्तरले पराजित गर्दै गोरखा फुटबल एकेडमी, सर्लाही विजयी भएको आयोजक क्लबका सचिव ध्रुप मण्डलले जानकारी दिए । खेलको म्यान अफ दि म्याच गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडी समिर लामाले पाएका थिए ।

उनलाई नेकपा एमाले वीरगंज महानगर कमिटिका अध्यक्ष राजेन्द्र यादवले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । त्यसपछि दोस्रो हाफको मध्यान्तरमा गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडीले समिरले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दापनि हेटौडा फुटबल एकेडमी महवानपुरका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि खेललाई गोरखा फुटबल एकेडमी, सर्लाहीले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।

भोलीको खेल जनकपुर स्पोर्ट क्लब जनकपुर र केबिए ग्लोबल बिएफसी चितवन बिच हुनेछ । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

उपराष्ट्रपतिका उम्मेदवार यादव नेताहरुलाई भेटेर मत माग्दै

0

वीरगंज । सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले जनाएका छन् । उपराष्ट्रपति उम्मेदवार यादव आफ्नो लागि मत माग्न सोमबार बालुवाटार पुगेका बेला प्रधानमन्त्री प्रचण्डले यादवसंग सो प्रतिवद्धता जनाएको जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतीनीधी सभा सदस्य प्रदीप यादवले बताए ।

यादवले भने, प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनु भएको छ ।’

यसैगरी सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार बनेका रामसहाय प्रसाद यादवले विभिन्न राजनितिक दलका नेताहरूसँग मत माग्ने क्रम जारी छ । जनता समाजवादी पार्टीका यादवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि भेटेका छन् ।

भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएको सांसद प्रदीप यादवले जानककारी दिए । यसअघि सांसद यादवको उम्मेदवारी दिने बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनु नै आफुले सम्पुर्णको साथ र समर्थन पाउने विश्वास लिएको उम्मेदवार यादवको भनाई छ ।

निर्वाचन आयोगका अनुसार आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । यस्तै आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर यसअघि नै अन्तिम नामावली प्रकाशन गरीसकेको छ । जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने जसपाबाट २ जनाको उम्मेदवारी परेपनि पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव नै भएको प्रष्ट पारेका छन् । आठ दलीय गठबन्धनको समर्थन रहेको अर्थात सत्तागठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार बनेका राम सहाय यादव प्रदेश तथा प्रतीनीधी सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतीनीधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गठबन्धनसँग बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको सासंद प्रदीप यादवले बताएका छन् । त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुनेछ ।

निष्काशित व्यक्तिको संरक्षण गर्न खाेजिएकाे प्रति संगठनकाे आपती

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले जारी गरेको विज्ञप्तिप्रति साेही संगठनकाे प्रदेश समितिले आपती जनाएकाे छ । समितिका सचिव रमेश सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रवीण साहले मिति २०७९/११/२८ गते जारी गरेको विज्ञप्तिमा संगठनको विधान र मर्म विपरित कार्य गरेको कारण जिल्ला कार्य समितिले निष्काशन गरि सकेको गैर पत्रकारको संरक्षणका लागि जारी गरेको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश समितिका सचिव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मिति २०७९/११/२१ गतेका दिन पत्रकार पत्रकारबीच भएको विवादको विषय जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी सहित एक दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा मौखिक रुपमा सहमति भई विवाद सुल्झिसकेको अवस्थामा अन्यत्रबाट संचालित भएर पुनः एक सप्ताहपछि उजरी दिने कार्य गरेको र त्यसको समर्थमा संगठनका प्रदेश समितिका अध्यक्ष प्रवीण साहले हचुवाको भरमा कसैसँग सल्लाह नै नगरी संगठनबाट निष्काशन गरि सकिएको व्यक्तिको संरक्षणको लागि विज्ञप्ति जारी गरेकोप्रति संगठनकाे आपत्ति रहेकाे उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको संगठनले ठहर गरेकाे छ । संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, कोषाध्यक्ष हरिशंकर शर्मा लगायतका पत्रकारहरु संलग्न रहेको विषय मौखिक रुपमा समाधान गरि सकिएको अवस्थामा त्यही विषयलाई लिएर संगठनको प्रदेश समिति एवम् पदाधिकारीहरुबीच पनि कुनै किसिमको राय सल्लाह नै नगरी अध्यक्ष साहले विज्ञप्ती जारी गरेकोले त्यो कुनै संगठनको धारणा वा मांग नभएर सिंगो व्यक्तिको धारणा रहेको जानकारी गराइएको छ ।

साथै अभद्र व्यवहार भएको भनिएको व्यक्ति दिपक चौरसियाको आचारणको बारेमा सबैलाई थाहा भएकै कुरा भएकोले थप भन्नु नपर्ने र त्यस्तै आचरण र व्यहारकै कारण उनलाई संगठनको जिल्ला कार्य समितिले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिसकेको प्रदेश समितिलाई जानकारी गराइसकेकाे अवस्थामा अध्यक्ष साहले निकालेको विज्ञप्तिले सिंगो संगठनप्रति नै आँच पुग्ने कार्य भएको हाम्रो बुझाई रहेको सचिव सुवेदीको भनाई छ । उनले पत्रकार पत्रकारबीचको विवादलाई आपसी समझदारी मै सुलझाउन विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध समेत गरेको छन् ।

दोस्रो परवानीपुर गोल्डकप : वीरगंज युनाईटेड क्लब विजयी

0

वीरगंज । कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो खेलमा वीरगंज युनाईटेड क्लब, वीरगंज विजयी भएको छ । परवानीपुर युथ क्लब वीरगंज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगितामा नवजन जागृति युवा क्लब सिमरालाई वीरगंज युनाईटेड क्लब, वीरगंजले हराएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ट्राइब्रेकरमा नवजन जागृति युवा क्लब सिमरालाइ १–३ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड क्लब ,वीरगंज विजयी भएको खेलकुद आयोजक क्लबका कोषाध्यक्ष कृष्णा प्रसाद यादवले जानकारी दिए । खेलको म्यान अफ दि म्याच वीरग‌ंज युनाईटेड क्लब ,वीरगंज जर्सी नम्बर १ का गोलकिपर दिलमणी चौधरीले पाएका थिए । उनलाई जसपाका नता संजय मण्डलले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ । त्यसअघि पहिलो हाफको मध्यान्तरमा नवजन जागृति युवा क्लब सिमराका जर्सी नम्बर १५ का विदेशी खेलाडी टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दै वीरगन्ज युनाईटेड क्लब ,वीरगन्जका जर्सी नम्बर २४ का खेलाडी निरज थापा मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

आगजनीको आरोपमा पक्राउ परेका विद्यार्थी नेता रिहा, छानविन समिति गठन

0

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका विद्यार्थी नेता शिवम साह, सुजित गिरी र अभिषेक चौहान रिहा भएका हुन् ।

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने लगायतको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । क्याम्पसको समस्या क्याम्पसमै सल्टाउने भन्दै क्याम्पस प्रमुख नै आएर विद्यार्थी छोडिदिन आग्रह गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

विद्यार्थी संघ, संगठन र समूहले राखेको माग अनुसार छानबिन समिति गठन भइसकेकाेले समस्या समाधान हुने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत रोशन लामिछानेले वताए ।

‘मतदाता नामावली छानबिन समितिले भोलिदेखि नै काम सुरु गर्छ, तीन दिन भित्र प्रतिवेदन बुझाउन भनेका छौं’, उनले भने, ‘प्रतिवेदन बुझाएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्छौ ।’

उनले निर्वाचन कार्यतालिकामा केहि संशोधन गर्नुपरे पनि स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्ने दोहोर्‍याए ।

ठाकुरराम बहुमुखी क्याम्पसले मतदाता नामावली छानबिनका लागि रघुनाथ प्रसाद चौरसिया संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ ।

क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाका अनुसार समितिमा प्राध्यापक तथा कर्मचारीहरुको वैचारिक संगठनका अध्यक्ष/सचिव वा प्रतिनिधि, त्रि.वि. प्राध्यापक संघ र कर्मचारी संघ क्याम्पस एकाई समितिका अध्यक्ष वा प्रतिनीधि, लेखा शाखाका कर्मचारी दुई जना, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, दर्ता भएका संघ संगठनका अध्यक्ष वा सभापति, दर्ता समूहको संयोजक सदस्य रहनेछन् ।

छानबिन समितिको प्रतिवेदनपछि जानी जानी गल्ती गरेको पाइएमा दोषीलाई कारबाही गर्ने र अन्तिम नामावली प्रकाशित गर्ने क्यापस प्रमुख चौरसियाले जारी गरेको सूचनामा उल्लेख छ । अन्तिम नामावली प्रकाशन पछि निर्वाचनको अन्य कार्यक्रम संशोधित तालिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने क्याम्पसले जनाएको छ ।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २ सय ३२ नामावली मध्ये ८ सय फर्जि मतदाता रहेको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद गरेपछि विद्यार्थीहरुले क्याम्पसका आगजानी गरेको थियो । विवाद पश्चात विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसिया समक्ष राजीनामा पत्र बुझाएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ३५ वटा संघ, संगठन र समूहले नाम दर्ता गराएका छन् । विवादका कारण शुक्रबार हुने भनिएको मनोनयन दर्ता स्थगित भएको छ । 

भुटनदेवी मन्दिर नजिकको सार्वजनिक जग्गा कब्जा गरेको भन्दै महानगरलाई ज्ञापन

0

वीरगंज । वीरगंज भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै स्थानीयले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवास्थित भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै त्याहाँका स्थानीयले कारबाही गर्न महानगर प्रमुख सिंहको ध्यानाकर्षण गराएका हुन् ।

भुटनदेवी मन्दिर नजिकैको एक सार्वजनिक जग्गालाई कब्रिस्थान बनाउने नाममा कब्जा गर्न खोजेको भन्दै स्थानीय अमन कलवारले आपत्ती जनाएका छन् । सोही जग्गामा राष्ट्रिय कृषि बजार बनाउने योजना रहेको हुँदा कानुनको उल्लङ्घन हुने गरी जग्गा कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने स्थानीय राजन साहको भनाई छ ।

महानगरका प्रमुख सिंहले पनि सार्वजनिक जग्गाको अतिक्रमण हटाउने महानगरले अभियान थालेको र कसैले पनि सार्वजनिक सम्पती हड्प्न खोजे कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

ज्ञापन पत्र बुझाउँन वीरगंज महानगरपालिकाकाे कार्यालयमा अमन कलवार, संदिप सिंह, राजन साह, आकाश पटेल, छोटु रौनियार, राहुल ठाकुर, सनि मुखीया, प्रितम कलवार, आकाश पटेल लगायत पुगेका थिए ।

ठाकुर राम क्याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ

0

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन् । स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् ।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी लगायतका नेताहरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाइएका हुन्।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २३२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो । विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई समक्ष राजीनामा पत्र बुझाएका छन्। 

आगलागिबाट फर्निचर जलेका छन् । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेता शिवम साह, सुजित गिरी, मनिष चाैहानलाई नियन्त्रणमा लिएको छ । यस अघि बिहिबार पनि क्याम्पसमा ताेडफाेड भएकाे थियाे ।

अकाश चाैरसियाकाे अध्यक्षतामा कालिकामाई युवा समाज गठन

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय युवा समाज गठन भएको छ । बिहिबार भएकाे युवाहरुकाे एक भेलाले अकाश चाैरसियाकाे अध्यक्षतामा १५ सदस्यीय कालिकामाई युवा समाज गठन गरेकाे हाे ।

नवगठित समाजकाे उपाध्यक्षमा ईमाम हुसेन, आकाश महतो केवट, सचिवमा युराज पटेल, सह सचिव रहमत हुसेन, कोषाध्यक्षमा बुलेट तिवारी सर्वसहमत चयन भएका छन् ।

यसैगरी समाजकाे सदस्यमा बिशाल कुशवाहा, राजन पासवान, चन्दशेखर पटेल, दिपेन्द्र गुप्ता, सह्जाद आलम, अफताब आलम, प्रकाश पटेल, शुभाष पटेल लगायतका चयन भएकाे काेषाध्यक्ष बुलेट तिवारीले जानाकरी दिए । 

यस अघि पनि समाजले विभिन्न समाजिक कार्यहरु गर्दै आएपनि बिहिबारदेखि मात्र औपचारिक रुपमा विस्तार गरिएकाे तिवारीले वताए ।