Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
Home Blog Page 192

नेपाल बार एसोसिएशन र नेपाल पत्रकार महासंघबिचको विवाद सहमतिमा टुंगियो

जनकपुरधाम । लोकतन्त्र, कानुनी शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दुई प्रतिष्ठित संस्था नेपाल बार एसोसिएशन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच उत्पन्न विवाद ऐतिहासिक सहमतिका साथ समाधान भएको छ ।

दुवै संस्थाबीच उच्चस्तरीय वार्ता समितिको प्रयास र सफल मध्यस्थतापछि विगतमा देखिएको मतभेद र असमझदारी अन्त्य गर्दै विवाद शान्तिपूर्ण ढंगले टुंगिएको हो ।

सहमति अनुसार, जनकपुरधामस्थित सार्वजनिक जग्गा सम्बन्धी प्रकरणमा दुवै संस्थाले भविष्यमा आपसी सहयोग र समन्वयमार्फत अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएशन जनकपुरधाम अध्यक्ष अधिवक्ता बिष्णुकुमार मिश्रले सहमतिपत्रमा हस्ताक्षर गर्दै विवादलाई समाधान गर्ने सहमति जनाएका हुन् ।

सम्झौतापछि दुवै संस्थाले विगतका घटनाबाट दुःख व्यक्त गर्दै आपसी विश्वास, सद्भाव र सहकार्यका आधारमा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस सहमतिलाई दुवै संस्थाले लोकतान्त्रिक परिपाटी, कानुनी शासन र सामाजिक न्यायलाई सुदृढ बनाउन ठूलो उदाहरणका रूपमा लिएको बताएका छन् ।

वीरगंज सिटी मार्केटबाट मानव सेवा आश्रमलाई हाफ पाइन्ट र टि–सर्ट सहयोग

वीरगंज । आर्मी ब्यारेक नजिकै अवस्थित वीरगंज सिटी मार्केटका विभिन्न पसलहरूले संयुक्त रूपमा मानव सेवा आश्रम वीरगंजलाई हाफ पाइन्ट र टि–सर्ट सहयोग गरेका छन्।

आश्रमका बसेकाहरुकाे लागि लक्षित उक्त सहयोग सामग्री वीरगंज सिटी मार्केटका व्यवसायी बिक्की सर्राफले मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता र प्रकाश थारुलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग अभियानमा सहभागी सबै पसलहरूलाई आश्रमका गुप्ताले धन्यवाद व्यक्त गरे । साथै, सहयोग समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिक्की सर्राफप्रति उनले आश्रमकाे तर्फबाट आभार समेत प्रकट गरे  ।

मानव सेवा आश्रमले यस्ता सहयोगले आश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न प्रेरणा मिल्ने भन्दै सबै योगदानकर्ताहरूप्रति आभार व्यक्त गरेको छ।

आम दलित मोर्चा बाराकाे बैठक सम्पन्न

कलैया ।  आम जनता पार्टी निकट आम दलित मोर्चा बारा जिल्ला पदाधिकारी बैठक मंगलबार कलैयामा सम्पन्न भएको छ।

बैठक आम दलित मोर्चाका केन्द्रीय सदस्य गणेश रामको अध्यक्षतामा तथा आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दासको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

बैठकले संगठनलाई विशेष रूपमा विस्तार गर्ने रणनीति अगाडि बढाउने निर्णय गरेको छ । साथै, निकट भविष्यमै जिल्ला स्तरको भेला गर्ने तयारी थाल्ने निष्कर्ष पनि निकालिएको छ ।

बैठकमा सहभागी नेताहरूले दलित समुदायको हक–अधिकार र सशक्तिकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

वीरगंज महानगरद्वारा भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र

वीरगंज । वीरगंज महानगरपालिकाले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ । भूमिसमस्या समाधान आयोग, पर्साले जिल्लाभर भूमिहीनको लगत संकलनलाई अन्तिम चरणमा पुर्‍याइरहेका बेला महानगरले आयोगसँग सहकार्य गर्दै आफ्नो क्षेत्रमा रहेका भूमिहीनलाई विधिअनुसार जमिन उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको हो ।

मंगलबार महानगर प्रमुख राजेशमान सिंहले ३२ वटै वडाका वडा सचिवलाई कार्यकक्षमा बोलाई भूमिहीनको लगत संकलन छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले भने, “जसको जमिन छैन, उसलाई जग्गा पाउने व्यवस्था मिलाउनुपर्छ। त्यसका लागि प्रक्रिया पूरा गरेर लगत चाँडै बुझाउनुस्। यसबाट भूमिहीन परिवारको जीवनमा ठूलो सहजता आउनेछ।”

भूमिसमस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले भने अहिलेसम्म वीरगंज महानगरले भूमिहीनको विवरण आयोगमा नबुझाएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले भने, “महानगरले अब ढिलाइ गर्न हुँदैन। गर्न सक्दैनौँ भन्नुपर्छ, होइन भने काम तत्काल पूरा गर्नुपर्छ। अहिले जिल्ला नै लगत संकलनमा जुटिरहेको छ, महानगरकै लागि अन्तिम पटक समय थप गरिएको हो।”

अनौपचारिक तथ्यांकअनुसार वीरगंज महानगर क्षेत्रमा करिब १५ सय भूमिहीन परिवार रहेका अनुमान छ । कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यसहित आयोगले महानगरलाई जिम्मेवार भएर कार्य सम्पादन गर्न आग्रह गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आयोगसँग समन्वय गर्दै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यमा महानगर पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “भूमिसम्बन्धी कार्यलाई व्यवस्थित गर्न महानगरमा छुट्टै शाखा गठन गरी लगत संकलन तत्काल सुरु गर्ने व्यवस्था मिलाइनेछ।”

लगत संकलन कार्य छिट्टै अघि बढे लामो समयदेखि जमिनको अधिकारविहीन बनेका भूमिहीन परिवारलाई लालपुर्जा प्राप्त गर्ने मार्ग खुला हुने विश्वास गरिएको छ ।

जगरनाथपुर र जीराभवानी गाउँपालिकाबाट नारायणी अस्पताललाई ६ एसी सहयोग

वीरगंज । पर्साको जगरनाथपुर र जीराभवानी गाउँपालिकाले वीरगंजस्थित नारायणी अस्पताललाई ६ थान वातानुकूलित एसी संयुक्त रूपमा प्रदान गरेका छन् । अस्पतालको मेडिकल वार्डमा उपचाररत बिरामीहरूलाई गर्मीका कारण भोग्नुपरेको असहजतालाई कम गर्न उद्देश्यले सो सहयोग उपलब्ध गराइएको हो ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले मंगलबार अस्पतालमै पुगेर एलजी कम्पनीका ६ थान एसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासलाई हस्तान्तरण गरे । दुबै गाउँपालिकाले ३/३ थान एसी उपलब्ध गराएको अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

साे अवसरमा नारायणी अस्पतालका डा. उदयनारायण सिंह, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

यसअघि सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगै अस्पताल निरीक्षणमा पुगेका अध्यक्ष यादवले मेडिकल वार्डमा एसी जडान गरिदिने प्रतिबद्धता जनाएका थिए । पंखा मात्रै रहेको मेडिकल वार्डमा अत्यधिक गर्मीका कारण बिरामीहरूलाई कठिनाइ भइरहेको देखिएपछि उनले तत्काल पहल गरेका थिए ।

यस्तै, जगरनाथपुरका अध्यक्ष यादवकै आग्रहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ थान एसी उपलब्ध गराउने घोषणा गरेका छन् । ती एसी १–२ दिनमै अस्पतालमा आइपुग्ने अस्पताल विकास समितिले जनाएको छ ।

मंगलबार हस्तान्तरण गरिएको ६ थान एसी ४० शय्याको मेडिकल वार्डमा जडान गरिनेछ । एसी जडान भएपछि उपचाररत बिरामीहरूलाई सहज र सन्तोषजनक उपचार वातावरण मिल्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनले स्थानीय तहबाट प्राप्त यस सहकार्यप्रति आभार व्यक्त गर्दै अन्य निकायहरूलाई पनि यस्ता सहानुभूतिपूर्ण योगदानमा सहभागी हुन आग्रह गरेको छ ।

शशिकपुर मियाँसहित जसपाका एक दर्जन नेता–कार्यकर्ता पक्राउ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बबरमहलबाट जसपाले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस प्रर्दशन गरेको थियो । सोही क्रममा जसपा नेपालका सांसद एवं प्रवक्ता मनिष कुमार सुमनसहित दुई जना प्रदेश सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शान्तिपूर्ण विरोध कार्यक्रममार्फत जसपाले सर्वोच्च अदालतको हालसालैको आदेशको विरोध गर्दै न्यायको माग राखेको थियो । तर कार्यक्रमको क्रममा प्रहरीले हस्तक्षेप गरी जसपा नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रवक्ता सुमन, सांसद किरण साह, सांसद बबी सिंह, नेता रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मिया, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव लगायतलाई माइतीघर मण्डला–बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर प्रहरी परिसरमा राखिएको जनाइएको छ । जसपाले भने प्रहरी दमनको कडा शब्दमा विरोध गर्दै आफ्ना नेता–कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

एमइएस बोर्डिङ स्कुलमा विद्यार्थी सपथग्रहण तथा ब्याच वितरण समारोह सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ स्थित एमइएस सेकेन्डरी बोर्डिङ स्कुलमा मंगलबार विद्यार्थी सपथग्रहण तथा ब्याच वितरण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले मैनबत्ती बालेर गरेका थिए। प्रमुख अतिथिको रूपमा उपस्थित चौधरीले एमइएस स्कुललाई वीरगञ्जकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्था भन्दै विद्यालयको योगदान र विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गरे। साथै, नयाँ नेतृत्व सम्हाल्ने विद्यार्थीहरूलाई सपथग्रहण गराउँदै अनुशासन, लगनशीलता र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न प्रेरित गरे।

प्याब्सन केन्द्रीय सदस्य छेडुप लामाले पनि विद्यार्थीहरूलाई अनुशासनको पालना गर्दै नेतृत्वकर्ताको भूमिकामा गम्भीर बन्न सुझाव दिए।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले सपथग्रहण गर्दै ब्याच ग्रहण गरेका थिए। साथै, विद्यार्थीहरूले नृत्य, नाटक तथा सामाजिक सन्देशमूलक प्रस्तुति प्रस्तुत गरे। विशेषगरी दाइजो प्रथा विरुद्ध प्रस्तुत गरिएको नाटकले सबैको ध्यान आकर्षित गरेको थियो।

समारोहमा प्याब्सनका संस्थापक अध्यक्ष लालबाबु पटेल, मधेस प्रदेश सल्लाहकार मनि पाख्ररिङ, वडा नं. ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर ठकुरी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठाकुरलगायतको उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक इमामुदिन अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण कक्षा १० का महम्मद जिसान र कक्षा ९ की आसिया खातुनले गरेका थिए।

वीरगंज १६ मा हरियाली अभियान, निशुल्क बिरुवा वितरण

वीरगंज । वीरगंज महानगरपालिका–१६, नगवामा मंगलबारदेखि रुख–बिरुवा संरक्षण र समुदायलाई हरियाली अभियानमा उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ।

यस अभियान अन्तर्गत स्थानीय बासिन्दालाई फलफूल, छायाँ दिने तथा औषधीय गुणयुक्त विभिन्न प्रजातिका बिरुवा निशुल्क वितरण गरिएको वडा कार्यालयले जनाएको छ। अभियानले वातावरण संरक्षण, प्रदूषण न्यूनीकरण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिएको हो।

जनमत पार्टी पर्साका अध्यक्ष तथा युवा नेता ओम प्रकाश सरार्फले स्थानीयलाई बिरुवा वितरण गर्दै अभियानको उद्घाटन गरेका थिए। उनले वातावरणीय सन्तुलन कायम राख्न बिरुवा रोपेर मात्र नभई यसको संरक्षणमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्ना घर आँगन, विद्यालय, मठ–मन्दिर तथा सार्वजनिक स्थलमा बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन्। साथै, वडा नं. १६ कार्यालय परिसरमै नागरिकले लिन सक्ने गरी विभिन्न किसिमका बिरुवा राखिएको छ।

कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमत पार्टीका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, क्षेत्र नं. १(ख) संयोजक डा. मनोज सरार्फ, प्रदेश सदस्य शिव यादव, जिल्ला सदस्य सहनवाज राकी, युवा वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, महानगर युवा संयोजक संजय सिंह, महानगर सचिव लोकेश कर्ण, युवा नेता संजय सरार्फ लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष सरार्फका अनुसार वन डिभिजन कार्यालय पर्साबाट उपलब्ध गराइएका बिरुवा घर–घर र टोल–टोलमै पुर्‍याई वीरगञ्जलाई हराभरा बनाउने लक्ष्य राखिएको छ।

अभियानले वीरगञ्जवासीमा हरियाली संरक्षणप्रति सचेतना बढाउँदै भविष्यमा स्वस्थ वातावरण निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वृद्ध–अपाङ्ग सेवाग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंगको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वडा नं. ५ मा सफलतापूर्वक सम्पन्न भएको छ।

वडा कार्यालयमा उपस्थित हुन नसक्ने वृद्ध–वृद्धा, अपाङ्ग र अस्वस्थ सेवाग्राहीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो। वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, महानगरपालिकाको पंजिकरण शाखा प्रमुख बुद्धि माया थापा, वडा सचिव अरुण बस्नेत, तथा कम्प्युटर अपरेटर करिना श्रेष्ठ, आशिष कुश्वाहा, सन्जु दहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलीको सक्रिय सहभागिता रहेको थियो।

अभियानअन्तर्गत सेवाग्राहीहरूको घरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरी नविकरण प्रक्रिया सम्पन्न गरिएको हो। यस पहलले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाई घरमै सेवा उपलब्ध गराउने सुविधा दिलाएको छ। साथै सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता र विश्वसनीयता सुनिश्चित हुने अपेक्षा गरिएको छ।

सखुवाप्रसौनी–१ मा भूमिहीनसँग अन्तरक्रिया तथा प्रमाणिकरण कार्यक्रम सम्पन्न

वीरगंज । भूमि समस्या समाधान आयोग, पर्साले सखुवाप्रसौनी गाउँपालिका–१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तरक्रिया र स्थलगत प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका मुख्य अतिथि आयोग पर्साका अध्यक्ष तबरेज अहमद रहेका थिए भने बैठक वडा अध्यक्ष बासुदेव महतो थारुको अध्यक्षतामा सञ्चालन भएको थियो।

अन्तरक्रियामा सहभागी सेवाग्राहीहरूले दैनन्दिन बसोबासदेखि कागजी प्रमाण संकलनसम्मका समस्या राखेका थिए । आयोग र स्थानीय सरकारका प्रतिनिधिहरूले सम्बन्धित कानुनी प्रक्रिया, कागजात मिलान तथा राजस्व व्यवस्थापनबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा तीन पुस्ताको प्रमाण: परिवारको वंशज सम्बन्ध पुष्टि गर्ने कागजात (नागरिकता, जन्मदर्ता, विवाह दर्ता, घरपरिवार विवरण आदि) कसरी मान्य/प्रमाणित गर्ने भन्ने विषयमा चरणबद्ध मार्गदर्शन।, वैदेशिक रोजगारीमा रहेका सेवाग्राही: विदेशमा रहेका लाभग्राहीका लागि प्रत्यायोजन, म्यादभित्र दुरदराजबाट कागजात पेस गर्ने सुविधा, उपस्थित नभएका व्यक्तिको दर्ता सुरक्षित राख्ने व्यवस्था बारे छलफल भएकाे थियाे ।

यसका सथै मानापाथी/अंशबन्डा: पारिवारिक हिस्साबन्डा, मानापाथी तथा जग्गासम्बन्धी भेरिफिकेसन प्रक्रियाबारे सार्वजनिक जानकारी र राजस्व बराबरी: अव्यवस्थित बसोबासीले सरकारले तोकेको राजस्व/शुल्क कुन अवस्थामा र कसरी बुझाउने भन्ने विषयमा सूची र चरणगत विवरण बारे पनि छलफल भएकाे थियाे ।

कार्यक्रमपछि आयोगको प्राविधिक टोलीले स्थलगत तथ्य संकलन, कागजातको प्रतिलिपि संकलन र प्राथमिक सूची अद्यावधिक गर्ने कार्य अघि बढाएको छ। साथै उपस्थित सेवाग्राहीलाई एकदुई हप्ताभित्र वडा कार्यालय वा आयोगको सम्पर्क बिन्दुमा सहायक कागजात बुझाउन अनुरोध गरिएको छ।

स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा दीर्घकालीन बसोबासका प्रमाण, सामाजिक सूचक र आधारभूत सेवामा पहुँच जस्ता सूचनालाई अभिलेखीकरण गर्ने तयारी पनि गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम अन्त्यमा सहभागिता जनाएका समुदायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले आवश्यक कानुनी तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ।