वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्य समितिको बैठक मंगलबार जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ झखरा मसिहानीमा सम्पन्न भएको छ। बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित निश्चित रहेको दाबी गर्नुभएको छ।
पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका रिजालले कार्यकर्ता तथा नेताहरूलाई उच्च मनोबलका साथ आ–आफ्नो टोल र बस्तीमा निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार–प्रसारमा जुट्न आग्रह गर्नुभयो । उहाँले कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने उल्लेख गर्दै पार्टीले विगतमा गरेका काम र योगदानबारे स्थानीय तहमा जनतालाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको बताउनुभयो।
उम्मेदवार रिजालले यसपालि हुने निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँको रूपमा लिएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि युवा तथा नयाँ नेतृत्वलाई संसद् चुनावका लागि तयारी गर्न समेत आह्वान गर्नुभयो।
सम्पन्न बैठकले क्षेत्रिय सभापति श्रीकान्त प्रसाद यादवकाे संयाेजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरेकाे छ ।
क्षेत्रीय सभापति यादवको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, पार्टीका मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मीलगायतका वक्ताहरूले कांग्रेसलाई विजयी बनाउन आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए।
बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र स्थानीय स्तरमा पार्टीको जनाधार विस्तार गर्ने विषयमा समेत छलफल भएको क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।






