Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 168

पर्सा–४ मा कांग्रेस उम्मेदवार रिजालको सक्रियता, जिराभवानीका अगुवा कार्यकर्तासँग भेटघाट

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिराभवानी गाउँपालिकाअन्तर्गतका सबै वडा तथा टोलका अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कांग्रेस उम्मेदवार रिजालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका अगुवा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

भेटघाटका क्रममा उम्मेदवार रिजालले निर्वाचन रणनीति, संगठन सुदृढीकरण र क्षेत्रको समग्र विकासका विषयमा छलफल गर्दै कांग्रेसलाई जिताउने अभियानमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले विगतमा गरेका काम र भावी योजनाबारे समेत जानकारी गराउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

पर्सा–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको मतदाता भेटघाट

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाका विभिन्न टोलहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ ।

नेकपा उम्मेदवार चौधरीले पर्सागढी नगरपालिकाकाे बहुअर्वा, हरदासपुर, छटइलि, बर्वाटारी र बिरुवा टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भेटघाटका क्रममा उहाँले क्षेत्रका विकास, रोजगारी, शिक्षा र आधारभूत सेवासम्बन्धी समस्याबारे स्थानीयको गुनासो सुन्नुका साथै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य बृजलाल पासवान सहित स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । मतदाताहरूले विकास र परिवर्तनका लागि आफूहरू सचेत रहेको बताउँदै उम्मेदवार चौधरीप्रति चासो र समर्थन व्यक्त गरेका थिए ।

पर्सा–२ को बैरिया बिर्तामा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो र अन्तरक्रिया

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय जनता, समाजसेवी, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन्।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवार कानुले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ छापमा मतदान गर्न स्थानीयवासीहरूलाई आग्रह गरे।

उनले विगत करिब तीन दशकदेखि व्यक्ति–केन्द्रित राजनीतिका कारण देश पछाडि परेको उल्लेख गर्दै अब त्यस प्रवृत्तिको अन्त्य गरी जनताको प्रत्यक्ष सहभागितामूलक शासन व्यवस्था स्थापित गर्न परिवर्तन अपरिहार्य भइसकेको बताए।

कानुले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्दै नयाँ नेपालको बलियो आधार निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको स्पष्ट र व्यावहारिक रोडम्याप नै उपयुक्त विकल्प भएको दाबी गरे। पुराना दल र नेताहरूका खोक्रा आश्वासनका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै उनले परिणाममुखी र जवाफदेही राजनीतिको खाँचो औँल्याए।

छलफलका क्रममा स्थानीयवासीहरूले पनि वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानै अनुहार र दोहोरिएका वाचा–प्रतिवाचाबाट आजित भएको बताए। उनीहरूले देशमा वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे।

विशेषगरी युवाहरू तथा जेन–जी पुस्ताले आफ्ना अपेक्षाअनुसार काम गर्न सक्ने राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै उम्मेदवार कानुले रास्वपाप्रति विश्वास र समर्थन बढ्दै गएको बताए। स्थानीय युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने प्रतिबद्धता जनाउनु उत्साहजनक रहेको उनको प्रतिक्रिया थियो।

घरदैलो तथा प्रत्यक्ष संवादमार्फत जनताको आवाज सुन्ने र उनीहरूको समस्या राष्ट्रिय संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै कानुले आगामी दिनमा चुनावी अभियानलाई अझ तीव्र बनाइने जानकारी दिए।

प्रेस सेन्टरको स्थापना दिवसमा वीरगंजमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न

0

वीरगंज । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।ंज

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे।

संयोजक लामिछानेले विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको बताउँदै गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पत्रकारहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनको समयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना अपरिहार्य रहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, समाजवादी प्रेस संगठनका मधेश प्रदेश अध्यक्ष मनोज पटेल, राघव साह, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेललगायत पर्साका पत्रकारहरूको सहभागिता रहेको थियो।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अजित भुजेल, रन्जित पाण्डे, संजोग गिरि, सन्तोष कुश्वाहा, दीपेन्द्र प्रसादलगायतले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारहरूको भूमिकालाई उजागर गरेको आयोजकले बताएका छन्।

प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई प्रत्येक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोड्दै मनाउँदै आएको जानकारी दिइएको छ। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए।

वीरगंजमा नेत्रहीन विद्यार्थीका लागि १५ सदस्यीय क्लब गठन

0

वीरगंज । अपाङ्गता भएका व्यक्तिले पनि खेल्न र मनोरञ्जन गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ नेपाल नेत्रहीन क्रिकेट संघले वीरगञ्जमा क्रिकेट गतिविधि सञ्चालन गरेको छ ।

नेपाल नेत्रहीन क्रिकेट संघअन्तर्गत सञ्चालन भइरहेको परियोजनामार्फत वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालयमा १५ सदस्यीय क्लब गठन गरिएको हो । क्लब शिववरण चौधरीको अध्यक्षतामा गठन गरिएको छ । क्लबको उपाध्यक्षमा प्रतिमा साह, सचिवमा नन्दनी कुमारी र कोषाध्यक्षमा मनिषा कुमारी रहेका छन् ।

क्लबमा १० जना नेत्रहीन र ५ जना दृष्टियुक्त विद्यार्थी समावेश गरिएको छ । नेत्रहीन र दृष्टियुक्त विद्यार्थी सँगसँगै खेल्ने वातावरण निर्माण गर्ने उद्देश्यले मिश्रित क्लब गठन गरिएको नेपाल नेत्रहीन क्रिकेट संघकी परियोजना अधिकृत भावना केसीले बताइन् । उनका अनुसार क्लब गठनसँगै अब नेत्रहीन खेलाडीले अभ्यास गर्न मिल्ने पिच निर्माणको काम अघि बढाइएको छ ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले क्रिकेटको प्रवद्र्धन र व्यवस्थापनका लागि विद्यालय तहबाटै गतिविधि सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमले अपाङ्गता भएका विद्यार्थीको आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सन्देश जाने उल्लेख गरे ।

नेपाल नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष महेश साहले अपाङ्गता भएका व्यक्ति अरूले खेलेको हेर्ने वा ताली बजाउनेमा मात्र सीमित हुनु नहुने धारणा राखे । अपाङ्गता भएका व्यक्तिले पनि खेल खेल्न पाउनुपर्छ भन्ने सोचअनुसार संघले निरन्तर यस्ता गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

कार्यक्रमकै अवसरमा क्लबका पदाधिकारी तथा सदस्यलाई आत्मरक्षा (सेफ डिफेन्स) सम्बन्धी प्रशिक्षण पनि दिइएको छ। राष्ट्रिय जुडो खेलाडी रञ्जना खड्का र प्रिति तामाङले प्रशिक्षण दिएका हुन् । आवश्यकता पर्दा आफ्नो सुरक्षाका लागि नेत्रहीन विद्यार्थीलाई यस्तो तालिम उपयोगी हुने परियोजना अधिकृत केसीले बताइन् ।

उनका अनुसार आगामी दिनमा क्लबका सदस्यलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामूलक तालिम र पाँच दिने आधारभूत क्रिकेट प्रशिक्षण पनि प्रदान गरिनेछ । संविधानले व्यवस्था गरेको खेल्न र मनोरञ्जन गर्न पाउने अधिकारको व्यावहारिक कार्यान्वयनका लागि संस्थाले विद्यालयस्तरमै वातावरण निर्माण गरिरहेको केसीको भनाइ छ ।

पर्सा–४ का आजपा उम्मेदवार ईमदाद गद्दीद्वारा मतदातासँग भेटघाट

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ का आम जनता पार्टी (आजपा) का उम्मेदवार ईमदाद गद्दीले छिपहरमाई गाउँपालिकामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

भेटघाटको क्रममा उम्मेदवार गद्दीले स्थानीय जनताको समस्या बुझ्ने, विकासका योजनाहरूको जानकारी दिने र आगामी निर्वाचनमा जनताको विश्वास जित्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्षेत्र र जिल्लाकाे विकासकाे लागि चुनाव चिन्ह माेबाइल छापमा मतदान गरेर आफुलाई निर्वाचित गराउन मतदातासंग आग्रह समेत गरहेका हुन् ।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारसँग विचार-विमर्श गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याएका छन्।

उम्मेदवारले मतदातासँगको संवादलाई आफ्नो अभियानको महत्वपूर्ण हिस्सा ठहराउँदै, स्थानीय जनताको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने आश्वासन दिएका छन् ।

जगरनाथपुरमा भत्कियो जनमतको किला: गाउँपालिका अध्यक्ष नै रास्वपा प्रवेश

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बृजेश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। चौधरीसँगै दर्जनाैं जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै रास्वपा रोजेका छन्।

कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्र र पर्सा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले खादा र फूलमाला लगाएर औपचारिक रूपमा स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बृजेश चौधरीले रास्वपामार्फत मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। उनले जनमत पार्टीले मधेसी समुदायलाई निरन्तर ठगेको र मधेसी भोटलाई सत्ता पुग्ने भर्‍याङका रूपमा प्रयोग गरेको आरोप लगाए।

चौधरीले भने, “हामीले विश्वास र समर्थन दिएको दलले जनताको अपेक्षा पूरा गर्न सकेन। अब परिवर्तनको मार्ग रास्वपाबाटै सम्भव छ।”

रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यले पार्टी प्रवेशलाई जनआकाङ्क्षाको प्रतिबिम्बको रूपमा व्याख्या गर्दै भने, “आजको सहभागिता जनताले वैकल्पिक र जिम्मेवार राजनीति खोजिरहेको स्पष्ट सङ्केत हो। रास्वपा विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर अघि बढेको छ। हामी पर्सा–४ को समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारका लागि प्रतिबद्ध छौँ।”

त्यसैगरी, क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पार्टीको संगठन विस्तार र जनआधार मजबुत हुँदै गएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई पार्टीको नीति र सिद्धान्तअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले रास्वपाको नीति, नेतृत्व र आगामी कार्ययोजनाप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

पर्सा क्षेत्र नं. ४ : जिराभवानीमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन

0

सेढवा । पर्सा क्षेत्र नं. ४ काे जिराभवानी गाउँपालिका–१ महादेवपट्टीमा नेपाली कांग्रेसको नयाँ पार्टी कार्यालयको उद्घाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ। पार्टी कार्यालयकाे उद्घाटन मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले गर्नुभएको थियो।

नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष शेख आजम गैसुदिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख रेखा चौधरी, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, वडा कार्यसमितिका सचिव सत्रुधन ओझैया, पालिका सदस्य ऋषि हजरा लगायतका नेताहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा महादेवपट्टीका स्थानीय जङ्गबहादुर महतोले अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी गराउँदै, कांग्रेस पार्टी आफूलाई आकर्षक लागेर आबद्ध भएको प्रतिक्रिया व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण गर्दै जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए।

परवानीपुर हत्याकाण्ड : दुबईबाट प्रेमी बोलाएर श्रीमान् र सासूको हत्या

0

कलैया । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधबार बिहान एकै परिवारमा भएको घातक हत्याको घटनामा प्रहरीले पत्नी र प्रेमीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतक २८ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ४६ वर्षीया सुमित्रा देवीको घाँटी रेटेर हत्या गरिएको थियो। घटनामा रामेश्वरका बुबा ५२ वर्षीय जगरुप महतो र बहिनी २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका थिए र उनीहरूको उपचार परवानीपुरस्थित एलएस न्युरो एण्ड जेनरल अस्पतालमा भइरहेको छ।

पक्राउ परेका व्यक्ति २३ वर्षीया मृतककी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धमेन्द्र महतो हुन् । प्रारम्भिक अनुसन्धान अनुसार, मनिताले प्रेमी धमेन्द्रसँग मिलेर हत्या योजना बनाएकी थिइन् । धमेन्द्र वैदेशिक रोजगारका लागि दुबईमा रहेका थिए र माघ १२ गते काठमाडौं फर्केपछि उनीहरूले उक्त योजना कार्यान्वयन गरेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा हत्या ‘सुपारी’ मार्फत अन्य व्यक्तिसँग मिलेर गरिएको हुनसक्ने आशंका पनि व्यक्त गरेको छ। अनुसन्धान अधिकारीहरूले भने कि मनिता र धमेन्द्रले योजना बनाई धारिलो हतियारको प्रयोग गरेर हत्या गरेका हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेका छन्।

बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले थप अनुसन्धान जारी रहेको र घटनासँग सम्बन्धित अन्य पक्षहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाइने जानकारी दिएका छन् ।

एमाले वीरगंज महानगर कमिटीकाे बैठक: ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पार्टीका नेता र कार्यकर्ताहरु एकजुट भएर लागेका देख्दा आफूमा नयाँ उर्जा थपिएको बताएका छन्। बुधबार वीरगन्जमा आयोजित एमाले वीरगन्ज महानगर कमिटीको चौंथो पूर्ण बैठकमा उनले पार्टीका युवा कार्यकर्ताहरुको उत्साहले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको बताए।

पूर्वमन्त्री यादवले भने, “पार्टीलाई जिताउने आधार भनेकै नेता र कार्यकर्ताको मेहनत र सक्रियता हो। यसपालि पर्सामा एमालेका नेता र कार्यकर्ताहरु एकजुट भएको देख्दा उम्मेदवारको मनोबल पनि बढेको छ र हामीमा ऊर्जा थपिएको छ।”

बैठक एमाले वीरगन्ज महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलि अध्यक्षतामा तथा केन्द्रीय सदस्य विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा वीरगन्ज महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिती रहेको थियो। बैठकले आगामी निर्वाचन प्रभावकारी बनाउन ५५१ सदस्यीय वीरगन्ज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय पनि गरेको छ।

नेताहरूले बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा आफ्ना धारणा राखे। आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताले एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।