Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 165

आफ्नै क्षेत्र छोडेर अर्काे क्षेत्रबाट उम्मेदवारी किन ? पर्सा–३ मा चौरसियामाथि आशंका

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ निवासी निर्माण व्यवसायी रामाकान्त चौरसियाले निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेपछि स्थानीय मतदाताबीच अन्योल सिर्जना भएको छ। स्थायी घर वीरगंज महानगरपालिका–१९, बर्वा (क्षेत्र नं. २) मा भए पनि उनी क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका हुन्।

निर्वाचनअघि नेपाली कांग्रेससँग आवद्ध रहेका चौरसियाले पैसाको बलमा एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लडेको आरोप समेत लाग्दै आएको छ। जानकारहरूका अनुसार उनले आफ्नै क्षेत्र नं. २ बाट चुनाव नलड्नुको प्रमुख कारण उनकै आफन्त पर्ने कांग्रेस उम्मेदवार, पूर्व मन्त्री तथा निर्वतमान सांसद अजय चौरसिया रहेको बताइन्छ।

क्षेत्र नं. २ बाट चुनाव लडेमा आफन्त उम्मेदवारलाई असर पर्ने सम्भावनाका कारण उनले क्षेत्र नं. ३ रोजेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । तर आफ्नै क्षेत्र छोडेर अर्काे क्षेत्रबाट उम्मेदवारी दिएपछि क्षेत्र नं. ३ का मतदाताहरूले समेत उनलाई सहज रूपमा स्वीकार गर्न नसकेको स्थानीयहरू बताउँछन्।

स्थानीय बासिन्दाका अनुसार क्षेत्र नं. ३ मा चौरसियाको सामाजिक तथा राजनीतिक योगदान उल्लेखनीय नदेखिएको कारण मतदाताबीच विश्वासको वातावरण बन्न नसकेको हो । यही कारण उनले रोजेको क्षेत्रमै उनको उम्मेदवारीप्रति आशंका र असन्तुष्टि बढ्दै गएको बताइन्छ।

यसैबीच, रास्वपा उम्मेदवार चौरसियाले शनिबार निर्वाचन आचारसंहिता उल्लंघन गरेको समाचार समेत सार्वजनिक भएको थियो। पोखरिया नगरपालिका–७ मा आयोजित घरदैलो कार्यक्रममा भीड देखाउन बालबालिकाको प्रयोग गरिएको आरोप लागेको हो । निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरे पनि उक्त गतिविधिप्रति सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयहरूको गुनासो छ।

पर्सा–३ मा एमाले संगठन सशक्त हुँदै, बहुदरमाईमा अगुवा नेता–कार्यकर्ता भेला सम्पन्न

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बहुदरमाई नगरपालिकामा नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरूको भेला आइतबार सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित उक्त भेलामा सहभागीहरूले क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश कुमार पाण्डेलाई विजयी गराउने दृढ प्रतिबद्धता जनाएका छन्।

नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहासहित प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो सहभागितालाई नेकपा एमालेप्रतिको बढ्दो विश्वास र संगठनको मजबुत अवस्थाको संकेतका रूपमा लिइएको छ।

भेलामा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र राष्ट्रवादी अडानलाई घर–घरमा पुर्‍याउँदै एकताबद्ध रूपमा उम्मेदवारलाई विजयी गराउन कार्यकर्ताहरूलाई आह्वान गरेका थिए। मधेसमा एमालेविरुद्ध फैलाइएका भ्रमहरू चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार तथा परिवर्तनका संवाहकका रूपमा स्थापित युवा नेता रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे। उनले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पर्सा–३ लाई समृद्ध बनाउने प्रतिबद्धता दोहोर्‍याए।

“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने शक्ति नेकपा एमाले हो,” पाण्डेले भने, “देश र जनताको हितका लागि आज एमालेमा मतदान गर्नु अपरिहार्य आवश्यकता हो।”

पर्सा–१ मा एमालेको बढ्दो जनलहरले विपक्षी आत्तिए, अराजक प्रयास असफल : प्रदीप यादव

2

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफूप्रतिको बढ्दो जनसमर्थन देखेर विपक्षी दलहरू आत्तिएर अराजक गतिविधिमा उत्रिएको आरोप लगाएका छन्।

वीरगंज–१६ नगवामा शनिबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्ने प्रयास असफल भएपछि प्रतिक्रिया दिँदै यादवले पर्सा–१ मा एमालेप्रतिको अभूतपूर्व जनलहरले विपक्षीहरू असहज अवस्थामा पुगेको बताए।
कार्यक्रममा देखिएको विशाल जनसहभागिता र उत्साहजनक माहोलले पर्सा–१ मा एमालेको जित सुनिश्चित हुँदै गएको उनको दाबी छ। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “मैले मन्त्री हुँदा गरेका कामहरूको मूल्यांकन आज जनताले गरिरहेका छन्। अरूको जस्तो भाषण होइन, मेरो कामले नै बोलेको छ।”

शनिबारको पार्टी प्रवेश कार्यक्रम भाँड्न विपक्षीबाट प्रायोजित केही समूहले अनेक हथकण्डा अपनाए पनि नगवाका स्थानीय नागरिकहरूले नै ती प्रयासहरू असफल बनाएको यादवको भनाइ छ।

उनले भने, “नगवामा हजारौँ नागरिक खुलेर एमालेमा प्रवेश गरेको दृश्य विपक्षी दलका लागि सह्य भएन। त्यसैले कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो। तर जनताको समर्थन र विश्वासका अगाडि यस्ता हर्कतहरू टिक्न सक्दैनन्।”

जनताले अब पुरानो शैलीको राजनीति होइन, परिणाममुखी, जवाफदेही र विकास केन्द्रित नेतृत्व चाहिरहेको उल्लेख गर्दै यादवले थपे, “नगवामा देखिएको जनसमर्थन कुनै आकस्मिक घटना होइन। यो जनताको बढ्दो चेतना र परिवर्तनको चाहनाको स्पष्ट संकेत हो।”

रास्वपाद्वारा पर्सा–१ का सक्रिय सदस्यसँग अन्तरक्रिया, उम्मेदवार पन्तलाई जिताउन प्रतिवद्धता

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा निर्वाचन क्षेत्र नं. १ का सक्रिय पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागिहरुले पार्टीका उम्मेदवारलाई क्षेत्र नं. १ का विजयी गराउन प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई विजय गराउन सबै तह र तप्काबाट कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले आ–आफ्ना दृष्टिकोण राख्दै विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले प्राप्त भएका जायज सुझावहरू पार्टीले सहर्ष ग्रहण गर्ने प्रतिबद्धता जनाए । उनले आगामी फाल्गुन २१ गते नेपाली जनताले वर्षौंदेखि मौलाउँदै आएको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्ध मतपत्रमार्फत जवाफ दिने दाबी गरे।

सभापति पन्तले कार्यक्रममा देखिएको उल्लेखनीय पार्टी सदस्य तथा शुभेच्छुकहरूको उपस्थितिले आफू र पार्टीलाई थप हौसला मिलेको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

सयौं रास्वपा सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए भने महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

पर्सा–२ काे अलाैंमा नेकपा उम्मेदवार मनोज चौधरीको घरदैलो

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौं र कोन्हिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले कांग्रेस र एमालेको शासनकालमा मुलुक ठूलो जनधनको क्षतिमा परेकाले देश करिब १० वर्ष पछाडि धकेलिएको दाबी गर्दै वर्तमान परिस्थितिमा नेकपा नै एक मात्र विकल्प रहेको बताए।

चौधरीले नेकपाको नेतृत्वमा मात्रै देशले समग्र विकासको गति लिने विश्वास व्यक्त गर्दै जेन्जी पुस्ताको चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने क्षमता नेकपामै रहेको जिकिर गरे। आफू विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको र सधैं जनताको दुःख–सुखमा साथ दिँदै आएको उल्लेख गर्दै उनले निर्वाचन जिते पनि जनताको बीचमै रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव तथा पार्टी नेता जीवन राम, सुशील हजरा, लालमन वैइबा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

“रमेश रिजाल योग्य र सक्षम उम्मेदवार हुन्, जित सुनिश्चित छ” : नविन सिंह

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले आगामी फागुन २१ गते हुने निर्वाचनमा पर्सा–४ बाट कांग्रेसका उम्मेदवार पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सह–सचिव नविन सिंहले पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको जित सुनिश्चित रहेको दाबी गरे । उनले क्षेत्रका अन्य उम्मेदवारको तुलनामा रिजाल अनुभवी, योग्य र सक्षम नेता भएकाले जनताको विश्वास उनैमाथि रहेको बताए ।

सिंहले भने, “हाम्रा उम्मेदवार सधैं क्षेत्रका जनताको सुख–दुःखमा साथ रहनुहुन्छ । अरू उम्मेदवारजस्तो निर्वाचनको बेला मात्र देखिने होइन, त्यसैले कांग्रेसको जित निश्चित छ ।”

भेलाका प्रमुख अतिथि समेत रहेका युवा नेता सिंहले हावाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसको विकल्प नरहेको जिकिर गरे । उनले लोकतन्त्र स्थापनादेखि सुदृढीकरणसम्म कांग्रेसको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै कांग्रेस नै लोकतन्त्रको वास्तविक पहरेदार भएको दाबी गरे ।

भेलामा सहभागी नेता–कार्यकर्ताले एकताबद्ध भएर घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै रमेश रिजालको जितका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुद्वारा घरदैलो, जनताका समस्या संसद्मा उठाउने प्रतिबद्धता

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता, अपेक्षा र विकासप्रतिको चाहनाबारे जानकारी लिएका छन् । उनले जनताका आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

स्थानीयहरूले सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सुशासनका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । सो अवसरमा उम्मेदवार कानुले निर्वाचित भएपछि ती समस्याहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उम्मेदवार कानुले स्वच्छ राजनीति, जबाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत पर्साको समग्र विकास सम्भव हुने उल्लेख गर्दै जनतासँगै अघि बढ्ने आफ्नो सङ्कल्प दोहोर्‍याए । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो बल हो,” उनले भने, “जनताको चाहनाअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कानुले क्षेत्रका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

नेत्रहीन युवा संघद्वारा तीन वर्षे परियोजना समापन गर्दै खेलाडी र कर्मचारीलाई सम्मान

0

सिमरा । नेत्रहीन युवा संघ नेपाल, बारा शाखाले शनिबार विशेष समारोहका बीच आफ्नो तीन वर्षे परियोजना सफलतापूर्वक समापन गर्दै कर्मचारी र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सफल खेलाडीलाई सम्मान गरेको छ।

सन् २०२३ देखि २०२५ सम्म सञ्चालित ‘एक्सन फर चेन्ज’ (Action for Change) परियोजना समापन अवसरमा फिल्ड मोबिलाइजर ज्योति कुमारी झालाई उनको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानका साथ बिदाइ गरियो। उनलाई कदरपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर विशेष उपहारसहित सम्मान गरिएको थियो।

सोही कार्यक्रममा सन् २०२५ मा सम्पन्न प्रथम नेत्रहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपाललाई उपविजेता बनाउन सफल र ‘म्यान अफ द सिरिज’ उपाधि हात पारेकी खेलाडी मन केसी चौधरीलाई पनि सम्मानपत्र, दोसल्ला र विशेष उपहार प्रदान गरी बधाई ज्ञापन गरिएको थियो।

समारोहमा नेत्रहीन युवा संघ बाराका अध्यक्ष सुधिर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथिले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा उपमहानगरपालिकाको विशेष ध्यान पुग्न नसकेको स्वीकार गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाएमा व्यक्तिगत मात्र नभई राष्ट्रकै गौरव बढाउन सक्ने बताउनुभयो। सिमरा क्रिकेट संघका अध्यक्ष पंकज शर्मा, खेलकुद महासंघ सिमराका प्रतिनिधि तथा विविध क्षेत्रका व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

संस्थाका सदस्य जीवन अधिकारीले स्वागत मन्तव्य राख्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गीण सहभागितामा पर्याप्त ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे। सभापतिको आसनबाट बोल्दै अध्यक्ष सुधिर चौधरीले फिल्ड मोबिलाइजर ज्योति कुमारी झाको योगदान र खेलाडी मन केसी चौधरी जस्ता प्रतिभालाई थप हौसला दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

पर्सा–४ मा मुस्लिम संघद्वारा रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ को नेपाल मुस्लिम संघ क्षेत्रीय कार्य समितिको बृहत क्षेत्रीय भेला शनिबार जगरनाथपुर गाउँपालिका वडा नं. २, जानकीटोला चौकमा सम्पन्न भएको छ । भेलामा नेपाली कांग्रेससँग आवद्ध मुस्लिम सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संघकाे क्षेत्रीय सभापति आफताब मियाँ धुनियाको अध्यक्षा र पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलालाई सम्बाेधन गर्दै उम्मेदवार रिजालले फगुन २१ गतेकाे निर्वाचनमा कांग्रेसकाे जित सुनिश्चित रहेकाे वताए । उनले कांग्रेसकाे जितले नै सबै समुदाकाे हित हुने दाबी गरे ।

कार्यक्रममा मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष महमद सहाबुदिन, केन्द्रिय सदस्य सहरुम गद्दी, जिल्ला अध्यक्ष हबीब मिया, उपाध्यक्ष इमरान मिया, सचिव महमद सबिर, तब्रेज आलम, प्रदेश क्षेत्र सभापति महमूद अन्सारी, नेपाली कांग्रेसका जिल्ला सभापति पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पर्सा प्रवक्ता रमेश पाण्डेय, क्षेत्रीय सभापति श्रीकान्त यादव लगायत अन्य मुस्लिम नेता तथा कार्यकर्ताहरूको बृहत उपस्थिती थियो।

भेलाले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश रिजाललाई फागुन २१ गते हुने निर्वाचनमा विजयी गराउने प्रतिबद्धता जाहेर गरेको छ।

फागुन २१ काे निर्वाचनमा पर्साका चारै क्षेत्रमा रास्वपा जित्दै छ : सभापति मिश्र

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले पर्साका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने दाबी गरेका छन्।

सभापति मिश्रका अनुसार, पर्सा क्षेत्र नं. १ मा हरि पन्त, २ मा सुशील साह कानु, ३ मा रामाकान्त चौरसिया र ४ मा टेक बहादुर शाक्य उम्मेदवार रहेका छन् । यी सबै उम्मेदवार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गेका हुन् ।

उनले भने, “रास्वपाले मधेशी नेता बालेन्द्र साह ‘बालेन’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कारण जिल्ला सबै क्षेत्रमा जोश र उत्साह छ, र यसले जित सुनिश्चित बनाएको छ।”

सभापति मिश्रको दाबी अनुसार पार्टीका उम्मेदवारहरूले निर्वाचन अभियानमा जनसमर्थन व्यापक रुपमा प्राप्त गरेका छन्।