Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 166

वीरगंज–२६ सुगौलीमा रास्वपा उम्मेदवार कानुको घरदैलो

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २६ सुगौली विर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील साह कानुले घरदैलो गरेका छन् ।

घरदैलो क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा विकासका विषयमा रास्वपाको धारणा राख्दै जनताको पक्षमा इमान्दार राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, रोजगारी तथा आधारभूत पूर्वाधारका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए । उम्मेदवार कानुले ती समस्याहरू संसदमार्फत उठाउने र समाधानका लागि पहल गर्ने विश्वास दिलाएका छन् ।

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

पर्सा–१ मा रास्वपा बलियो बन्दै, चार सयभन्दा बढी जेन्जी युवा प्रवेश

0

वीरगंज । पर्सा क्षेत्र नं. १ मा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शनिबार वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दानिश सेखलगायतका चार सयभन्दा बढी युवाहरू रास्वपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी युवा नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुकमा वास्तविक परिवर्तन ल्याउन सक्ने बताए । पर्साका जेन्जी युवाहरू परिवर्तनको पक्षमा उभिएको उल्लेख गर्दै उनले अब पर्सामा रास्वपालाई विजयी गराउन सम्पूर्ण जेन्जी युवा शक्ति सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

उनले जेन्जी युवा नेताहरू सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका प्रमुख जेन्जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको स्मरण गराउँदै जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने पार्टी रास्वपा मात्र भएको कारण आफूहरूको रोजाइ यही पार्टी बनेको स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै पार्टीको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति भएको बताए । युवाहरूको साथ र विश्वास पाएकाले आफू ढुक्कका साथ चुनाव जित्ने दाबी गर्दै उनले चुनावमा हुने पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन समेत दिए ।

कार्यक्रम रास्वपा वीरगंज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।

पर्सा ४ काे छिपहरमाई र ठोरीमा कांग्रेसकाे वडास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. ५, भिश्वा टोल तथा ठोरी गाउँपालिका वडा नं. ४, निर्मल बस्तीमा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले जनताको भरोसा, साथ र सक्रिय सहभागिताबिना समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राख्दै स्थानीय जनताको हक–हितका लागि निरन्तर संघर्ष गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।

पूर्व मन्त्री एवं निर्वतमान सांसदसमेत रहेका रिजालले कांग्रेसको नेतृत्वमा मात्रै क्षेत्रको दिगो विकास सम्भव हुने दाबी गर्नुभयो।

भेलामा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन थप मजबुत बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पर्सा–३ काे पकहाँमैनपुरमा एमालेकाे भेला सम्पन्न, उम्मेदवार पाण्डेद्वारा विकास एजेन्डा प्रस्तुत

0

वीरगंज । पर्सा क्षेत्र नं. ३ काे पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साह र सक्रिय सहभागिताका बीच सम्पन्न भएको छ। संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षता र नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलामा पर्सा जिल्ला कमिटी अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायत जिल्लास्तरका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश पाण्डेले क्षेत्रको दिगो विकास नै आफ्नो प्रमुख लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउने, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने तथा समावेशी विकासको मार्गचित्र अघि सार्नुभयो ।

“पर्सा–३ को सम्भावना धेरै ठूलो छ, यसलाई योजनाबद्ध विकास र सक्षम नेतृत्व चाहिन्छ,” भन्दै पाण्डेले जनताको विश्वास र सहभागिताबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले युवाको सक्रियता, किसानको योगदान र आम नागरिकको अपेक्षालाई नीतिगत तहमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्रै पर्सा–३ को समग्र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै रूपेश पाण्डेको नेतृत्वलाई आगामी निर्वाचनमा निर्णायक बनाउने संकल्प व्यक्त गरे ।

नेकपा पर्सा–२ को सम्पर्क कार्यालय अलाैंमा सञ्चालन, उम्मेदवार चाैधरीले गरे उद्घाटन

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ स्थित अलाैंमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।

एक कार्यक्रमका बीच नेकपाका पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार चौधरीले मुलुकका विद्यमान समस्या समाधानका लागि नेकपाको विकल्प नरहेको दाबी गरे । उनले कांग्रेस र एमालेको शासनकालमा मुलुकमा उत्पन्न जेन–जी आन्दोलनका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जेन–जी आन्दोलनको चाहनाअनुसार आफू निर्वाचित भए जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन गतिविधिलाई थप तीव्र बनाउने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवानले जानकारी दिए।

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय किशोरी कुशवाहा, बृजलाल पासवान तथा नेता रमेश चौधरी, सुशील हजारा, किसुनदेव यादवलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पार्टी उम्मेदवार मनोज चौधरीको जित सुनिश्चित रहेको दाबी गर्दै सबै पार्टी पंक्तिलाई एकताबद्ध भई चुनावी प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गरेका थिए ।

पर्सा ३ का उम्मेदवार चौरसियाद्वारा आचारसंहिता उल्लंघन, चुनावी प्रचारमा बालबालिका प्रयोग

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाे छ। चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्ने माग उठ्न थालेको छ।

आरोप अनुसार चौरसियाले पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा भिडभाड देखाउन बालबालिकालाई प्रयोग गरेका हुन्। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरे पनि उक्त गतिविधि त्यसविपरीत देखिएको स्थानीयको भनाइ छ।

पेशाले निर्माण व्यवसायी रहेका चौरसियामाथि पैसाको बलमा एकाएक रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएको आरोपसमेत लाग्दै आएको छ। उनको स्थायी घर पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ बर्वामा रहे पनि उनी पर्सा–३ बाट उम्मेदवारी दिएका छन्।

यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका रामाकान्त चौरसियाका आफन्तसमेत पर्ने पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई असर पार्ने भएपछि उनले आफ्नो गृह क्षेत्र नम्बर–२ छोडेर क्षेत्र नम्बर–३ रोजेको आरोप पनि स्थानीय स्तरमा चर्चामा रहेको छ।

स्थानीयहरूका अनुसार पर्सा–३ मा चौरसियाको उल्लेखनीय सामाजिक लगानी र योगदान नरहेको तथा रास्वपाको संगठन पनि कमजोर रहेका कारण आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्न बालबालिकाको प्रयोग गरिएको देखिन्छ। यस्तो कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सम्बन्धित निर्वाचन निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

जसपा परित्याग गर्दै वीरगंज–११ का वडाध्यक्षसहित सयौँ नेता–कार्यकर्ता एमाले प्रवेश

0

वीरगंज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) लगायतका विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसीया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीसहितका नेता–कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन्। त्यसैगरी वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जसपा त्यागेर एमाले रोजेका छन्।

नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरे।

कार्यक्रममा बोल्दै वीरगञ्ज–११ का वडाध्यक्ष चौरसीयाले जसपा नेपालले मधेस मुद्दालाई प्रयोग गरी सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए। उनले देशको वर्तमान परिस्थितिमा जनता र मुलुकको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको स्पष्ट पारे।

त्यस्तै, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जनताको हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले प्रवेश गरेको बताए।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री प्रदीप यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे। उनले जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाब अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट आफू प्रभावित भएको बताए।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नवप्रवेशी नेता–कार्यकर्ताहरूले आगामी निर्वाचनमा नेकपा (एमाले) को विजय सुनिश्चित गर्न सङ्गठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

६ वटा विकास एजेन्डासहित रुपेश पाण्डेको चुनावी अभियान, पर्सा–३ को समृद्धिमा जोड

0

वीरगंज । पर्सा जिल्ला क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका छन्। कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने योजनासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।

उम्मेदवार पाण्डेका अनुसार यी एजेन्डा कार्यान्वयन भए पर्सा–३ को दीर्घकालीन विकास र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

पाण्डेले कृषि आधुनिकीकरण अन्तर्गत कृषकलाई गुणस्तरीय मलखाद र बिउ उपलब्ध गराउने, आधुनिक कृषि प्रविधि प्रयोगका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने योजना रहेको बताए। परम्परागत खेतीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल तथा पशुपालनमा कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ।

गुणस्तरीय स्वास्थ्य सेवा अन्तर्गत सबै गाउँपालिका तथा वडाका स्वास्थ्य संस्था र अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पताललाई सुदृढीकरण गरिने तथा आधुनिक उपकरणसहित डिजिटल र प्रविधिमैत्री स्वास्थ्य सेवा विकास गरिने योजना रहेको उनले जानकारी दिए।

त्यस्तै गुणस्तरीय शिक्षाका लागि विद्यालय सरसफाइ, विद्यार्थी–अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम, सीपमूलक शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रवर्द्धन, साथै हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकला प्रतियोगितालाई प्राथमिकतामा राखिने जनाइएको छ।

रोजगारी र उद्यमशीलता अन्तर्गत देशका प्रतिष्ठित उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण गर्ने, स्थानीय स्रोत र सीपमार्फत रोजगारी सिर्जना गर्ने तथा युवालाई लक्षित सीप तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

पूर्वाधार विकासमा सडक, पुल, ढल, विजुलीबत्ती लगायतका आधारभूत संरचनाको दिगो विकास, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण तथा विकास कार्यमा पारदर्शिता, गुणस्तर र समयपालन सुनिश्चित गरिने पाण्डेले बताए।

त्यसैगरी नागरिकको आवाजमा राष्ट्रिय ध्यानाकर्षण अन्तर्गत ९६ हजारभन्दा बढी मतदाता तथा क्षेत्रका नागरिकका हक–हितका विषयलाई संसद्, मन्त्रालय र नीति निर्माण तहसम्म पुर्‍याइने योजना रहेको छ। स्थानीय समस्या समाधानका लागि निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने उनले स्पष्ट पारे।

उम्मेदवार रुपेश पाण्डेका अनुसार यी छ वटा एजेन्डा कार्यान्वयनले पर्सा–३ को समग्र विकास, जनसुविधा र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

“कांग्रेस हार्‍यो भने देश हार्छ” : उम्मेदवार अजय चौरसिया

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले “कांग्रेस हार्‍यो भने देश हार्छ” भन्दै लोकतन्त्र र राष्ट्रिय स्थिरताको रक्षा कांग्रेसबाट मात्रै सम्भव हुने दाबी गरेका छन्। स्वास्थ्य अवस्थाको प्रवाह नगरी लौरो टेकेरै चुनावी मैदानमा उत्रिएका चौरसियाले जनताको बीचमा पुगेर आक्रमक र भावनात्मक अपील गरेका हुन्।

खुट्टामा चोट लागेका कारण चिकित्सकले आराम गर्न सल्लाह दिए पनि पूर्व मन्त्री एवं निर्वतमान प्रतिनिधि सभा सदस्यसमेत रहेका चौरसिया वीरगंज महानगरपालिका वडा नम्बर–२६ मा बिहानैदेखि भेटघाट गर्दै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए।

उनले भने, “आज म लौरो टेकेर यहाँ आएको छु, तर देश लडखडिन नदिने जिम्मेवारीबाट पछि हटेको छैन। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ। कांग्रेस हार्‍यो भने देश हार्छ।”

कांग्रेसको बलिदानी इतिहास स्मरण गराउँदै चौरसियाले देश संकटमा पर्दा कांग्रेस नै अग्रपंक्तिमा उभिएको दाबी गरे।
“जब देश संकटमा थियो, तब को सडकमा थियो ? राजतन्त्रदेखि बन्दुक बोकेकासँग कसले लड्यो ? कांग्रेसले लडेर शान्ति ल्यायो,” उनले भने, “आज फेरि कांग्रेसलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।”

उनले चेतावनी दिँदै भने, “यो पटक कांग्रेसले बहुमत नल्याए बाहिरी शक्तिहरूले देशलाई प्रयोगशाला बनाउने खतरा छ। देशलाई रणभूमि बन्नबाट जोगाउने शक्ति कांग्रेस मात्रै हो।”

विकासका सवालमा पनि चौरसिया स्पष्ट देखिए। आफूले पर्सा–२ लाई सधैं विकासको केन्द्रमा राखेको दाबी गर्दै उनले भने,
“मैले यो क्षेत्रलाई राजनीतिक प्रयोगशाला बन्न दिएको छैन। जितेपछि वृद्धाआश्रम, पुल, विश्वविद्यालय, सडक र आवश्यक भौतिक संरचना निर्माण गर्छु। काम नगरे अर्को चुनावमा उम्मेदवार नै बन्दिन।”

जसपा वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादवसहित १२० जना एमालेमा प्रवेश

0

वीरगंज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का वीरगन्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा शुक्रबार आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा यादवसहित वडा नम्बर १५ का १२० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मालगायतले पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि बोल्दै इश्वरचन्द्र यादवले मधेशका बाँकी मुद्दाको सम्बोधन अब नेकपा एमालेले नै गर्ने विश्वास व्यक्त गर्दै त्यसै कारण आफूहरू जसपा त्यागेर एमालेमा प्रवेश गरेको बताए। उनले केही शक्ति विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने राजनीतिक शक्ति अहिले एमाले मात्रै भएको दाबी गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले जसपाका महानगर अध्यक्ष यादवसहितको एमाले प्रवेशले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी थप मजबुत बनेको बताए। यसले पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित हुने दाबीसमेत उनले गरे।

कार्यक्रममा एमाले पर्सा जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल, उमेशलाल सहनीलगायतको सहभागिता रहेको थियो।