Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 16

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

0

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिने व्यवस्था मिलाइएको छ ।

नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीति अनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको हो। यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताउनुभयो।
उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्‍याउने र सेवा लिनका लागि हुने समय तथा खर्चको बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो ।

अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरिएको छ ।

गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको विमोचन

0

वीरगंज । वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच औपचारिक विमोचन गरिएको छ ।

गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेद्वारा मन्त्रपाठ तथा पूजापाठ गरी विमोचन कार्यक्रमको शुभारम्भ गरिएको थियो । पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पत्रिकाको औपचारिक विमोचन गरेका थिए ।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, उपाध्यक्ष वीरेन्द्र साहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले आर्थिक नगरी वीरगञ्जबाट प्रकाशन सुरु गरेको ‘देश मधेश’ साप्ताहिकको सफलताको शुभकामना व्यक्त गरे । गहवामाई मन्दिर परिसरजस्तो पवित्र धार्मिक स्थलबाट पत्रिकाको विमोचन गरिनु सकारात्मक र प्रेरणादायी रहेको उनले बताए ।

“होटलमा तडकभडकका साथ गरिने विमोचनभन्दा पवित्र मन्दिर परिसरबाट पत्रिकाको शुभारम्भ गर्नु ऐतिहासिक र प्रेरणादायी कार्य हो,” चौधरीले भने ।

उनले देश र समाजको विकासका लागि पत्रिकाले निरन्तर कलम चलाउँदै समाजमा देखिएका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने विश्वास व्यक्त गरे । वीरगंजका क्रियाशील पत्रकारहरूको टिमले सञ्चालनमा ल्याएको पत्रिकाले सत्य–तथ्य समाचार सम्प्रेषणमार्फत पाठकको विश्वास जित्ने उनले बताए ।

त्यसैगरी, नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाईले युवा पत्रकारहरूको सक्रियतामा प्रकाशनमा आएको ‘देश मधेश’ साप्ताहिकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । पत्रिकाले आवाजविहीनहरूको आवाज बनेर पाठकको विश्वास जित्ने अपेक्षा उनले व्यक्त गरे ।

पण्डित पुरुषोत्तम दुबेले अनन्त चतुर्दशीको अवसरमा शुभारम्भ गरिएको पत्रिकाले देश र समाजको पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे । शुभ दिनमा विमोचन गरिएको पत्रिकाले पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने उनले बताए ।

स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी भवनमा स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग महिला संघको आयोजनामा भएको कार्यक्रममा स्थानीय तह, विद्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष रामशरण ख्वास, शिक्षा अधिकृत शिवराज फ्यूयाल, जिल्ला अपाङ्गता अधिकार केन्द्र (DDRC) का रामाकान्त प्रसाद कुर्मी, प्रधानाध्यापक रामाशंकर चौधरी, खेमराज महतो, कृपासिन्धु पटवारी, विभिन्न विद्यालयका शिक्षक तथा बाल क्लबका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ACCESS कार्यक्रमका प्रमुख उपलब्धि तथा प्रमाणमा आधारित परिवर्तन, विद्यमान चुनौती तथा ग्याप, सिकाइ र आगामी सिफारिसका विषयमा छलफल गरिएको थियो । साथै विद्यालय तथा स्थानीय तहमा भएका असल अभ्यासहरू आदान–प्रदान गर्दै पहिचान भएका समस्या र चुनौतीहरूको समाधानका उपायहरूबारे सहभागीहरूले आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

सहभागीहरूले अपाङ्गता भएका बालबालिका तथा विद्यार्थीहरूको शिक्षा, पहुँच र सहभागिता थप प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, शिक्षक, बाल क्लब तथा सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण गुलसन कुमार त्रिपाठीले गरेका थिए ।

वीरगंजमा विपद् जोखिम न्यूनीकरणबारे जनचेतना कार्यक्रम

0

वीरगंज । विपद्का समयमा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले वीरगंजमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारको आयोजनामा घण्टाघर क्षेत्रमा स्थानीय बासिन्दालाई विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा सुरक्षित रहने उपायबारे जानकारी गराइएको हो ।

कार्यक्रममा विपद्का समयमा उत्पन्न हुन सक्ने आर्थिक, मानसिक तथा सामाजिक जोखिम, अस्थायी शिविरमा बस्दा अपनाउनुपर्ने सावधानी तथा महिला र बालबालिकामाथि हुन सक्ने सम्भावित जोखिमबारे सहभागीलाई सचेत गराइएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारकी इन्चार्ज प्रहरी हवल्दार सन्ध्या गुरौले विपद्का समयमा हुन सक्ने असुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखन तथा अन्य जोखिमबाट जोगिन अपनाउनुपर्ने उपायबारे जानकारी गराइन् ।

त्यसैगरी, आगलागी, बाढी, भूकम्पलगायतका विपद्का समयमा सुरक्षित रहने उपाय, अपरिचित व्यक्तिका शङ्कास्पद गतिविधिप्रति सतर्क रहने तथा कुनै समस्या उत्पन्न भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सहभागीलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा पर्चा तथा प्रचार सामग्री वितरण गर्दै विपद्का समयमा विशेषगरी महिला तथा बालबालिका बढी जोखिममा पर्न सक्ने भएकाले समुदायस्तरमा निरन्तर जनचेतना आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारमा कार्यरत प्रहरी कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

जितपुरबाट ब्राउन सुगरसहित सखुवा प्रसाैनीका अंसारी र वीरगंजका पासवान पक्राउ

0

कलैया । बाराको जीतपुरबाट ८० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगंज महानगरपालिका–१४ का १८ वर्षीय राजन पासवान रहेका छन् ।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३७५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिए ।

बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

0
वीरगञ्ज–अलौस्थित एकीकृत जाँच चौकी (ICP) को गेट नजिकको दृश्य

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको छैन ।

सडकको अवस्था बिग्रिँदै जाँदा दैनिक आवतजावत गर्ने हजारौँ यात्रु तथा मालवाहक सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । वीरगञ्जको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह, परवानीपुरलगायत औद्योगिक क्षेत्रतर्फ जाने सडकका विभिन्न स्थानमा ठूला–ठूला खाल्डाखुल्डी परेका छन् ।

यस सडकखण्डमा ट्रक, ट्याङ्कर, लरीलगायत भारी तथा मालवाहक सवारीसाधनको नियमित आवागमन हुने भएकाले सडक थप बिग्रिँदै गएको चालकहरू बताउँछन् । खाल्डाखुल्डीका कारण सवारीको गति घटाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।

कतिपय स्थानमा एउटा खाल्डो छल्न खोज्दा अर्को खाल्डोमा पुग्ने अवस्था रहेको चालकहरूको गुनासो छ । विशेषगरी रातिको समयमा खाल्डाखुल्डी स्पष्ट नदेखिने भएकाले दुर्घटनाको जोखिम थप बढ्ने उनीहरू बताउँछन् ।

सवारी चालक रवीन्द्र पटेलले सडकको अवस्था दिनप्रतिदिन खराब बन्दै गए पनि मर्मतका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन नसकेको बताए ।

“सडक बिग्रिएपछि सवारी चलाउन जोखिम त हुन्छ नै, यात्रा समय पनि बढ्छ । गति कम गरेर चलाउँदा समय बढी लाग्छ, तीव्र गतिमा चलाउँदा दुर्घटनाको डर हुन्छ,” उनले भने ।

चालकहरूका अनुसार सडकको दुरवस्थाले दुर्घटनाको जोखिम बढाउनुका साथै सवारीसाधनको सञ्चालन खर्चसमेत बढाएको छ । गहिरा खाल्डामा सवारी पर्दा टायर, सस्पेन्सन, स्टेरिङलगायतका पार्टपुर्जामा क्षति पुग्ने गरेको उनीहरूको भनाइ छ ।

स्थानीय नेता नेजामुद्दीन समानीले सडक प्रयोग गर्ने सवारीसाधनबाट विभिन्न शीर्षकमा कर तथा शुल्क उठाइए पनि सडकको नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे ।

सडक सुरक्षित नबनाई केवल ट्राफिक व्यवस्थापनमार्फत दुर्घटनाको जोखिम घटाउन कठिन हुने उनको भनाइ छ ।

वीरगञ्जको सुक्खा बन्दरगाह, आइसिपी तथा औद्योगिक क्षेत्रलाई जोड्ने भएकाले वीरगञ्ज–पोखरिया सडक मालसामान ओसारपसारका दृष्टिले महत्वपूर्ण मानिन्छ । सडकको खराब अवस्थाका कारण ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायी तथा यातायात क्षेत्रको लागतसमेत बढिरहेको स्थानीयको गुनासो छ ।

स्थानीयवासी तथा चालकहरूले तत्काल खाल्डाखुल्डी पुर्न, जीर्ण सडकखण्डको मर्मत गर्न र दीर्घकालीन रूपमा सडक स्तरोन्नति गर्न माग गरेका छन् । साथै सडकको नियमित अनुगमन, समयमै मर्मतसम्भार तथा अत्यधिक भार बोकेका सवारीसाधनको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

0

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्ने व्यवस्थाबमोजिम अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका थिए। बैठकले प्रस्तावित नाममध्ये पूर्वमन्त्री यादवसहित २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य प्रभु हजराले जानकारी दिए।

मनोनीत हुनेमा विभिन्न दलबाट एमालेमा प्रवेश गरेका नेताहरूसहित पार्टीमै रहेका नेताहरू पनि छन्। एमाले सचिव महेश बस्नेतका अनुसार थप केही नेताको नामसमेत केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछन्।

मनोनीत केन्द्रीय सदस्यहरूमा पूर्वमन्त्री प्रदीप यादवसँगै काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला धिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा र कौशला खती रहेका छन्।

त्यस्तै मोहम्मद इस्तियाक राई, डा। अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, श्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी। गुरुङ पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

1

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन् । उनलाई प्रहरीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाईफकाई तथा डरत्रास देखाएर अपहरण गरेका थिए । उनलाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि अन्सारीले बालिकालाई बसमा चढाएर काठमाडौंको वनस्थली पुर्‍याई एउटा कोठामा राखेको र त्यहाँ समेत पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको विवरणमा उल्लेख छ । बालिकालाई करिब १० दिनसम्म बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो । त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो । अदालतले उनलाई ६ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको थियो ।

अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका अन्सारीलाई प्रहरीले पक्राउ गरी बुधबार बारा जिल्ला अदालत, कलैयामा पेस गरेको जनाएको छ । अदालतको आदेशअनुसार उनलाई वीरगन्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सरकारको ऋणभार बढ्दोः सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

0

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को ४५ प्रतिशत नाँघेको हो ।

कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्य ऋण दायित्वतर्फ रु १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख बराबर छ । जिडिपीका आधारमा आन्तरिक ऋण दायित्वको प्रतिशत २० दशमलव ६३ र बाह्य ऋण दायित्व  २४ दशमलव ४१ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि रु छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गत भदौ मसान्तसम्ममा रु ६१ अर्ब पाँच करोड ऋण प्राप्ति भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति नौ दशमलव २८ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार यसवर्ष सरकारले आन्तरिकतर्फ रु चार खर्ब १० अर्ब र बाह्यतर्फ रु दुई खर्ब ४८ अर्ब २८ लाख ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा आन्तरिकतर्फ रु ५० अर्ब र बाह्य ऋणतर्फ रु ११ अर्ब पाँच करोड उठाइएको छ । यस अवधिसम्ममा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि पनि ठूलो रकम खर्च भएको छ । कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि सरकारी ऋणको साँवा र ब्याज तिर्न रु चार खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन भएको छ । जसमध्ये भदौ मसान्तसम्ममा रु ८५ अर्ब एक करोड छ लाख भुक्तानी भईसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २० दशमलव ३४ प्रतिशत बराबर हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च एक दशमलव २९ प्रतिशत रहेको छ ।

जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोध

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय  (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ ।

यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम विज्ञान विभागको समाचारलाई ध्यानमा राख्दै जिल्लावासीलाई सचेत रहन अनुरोध गरिएको हो ।

जिप्रकाले आज सूचना जारी गरी उक्त अवधिमा जरुरी नभई यात्रा नगर्न र जिल्लामा रहेका साना तथा ठूला खोला नदीको तटीय क्षेत्रमा बसोबास नगर्न  अपिल गरेको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नुपर्नेमा जिप्रकाको जोड छ । जिप्रकाले भनेको छ, “नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनीसम्बन्धी जानकारी लिइरहनुहुन पनि अनुरोध गर्दछौँ ।” सहायक प्रजिअले भन्नुभएको छ ।