वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन् । उनलाई प्रहरीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाईफकाई तथा डरत्रास देखाएर अपहरण गरेका थिए । उनलाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
त्यसपछि अन्सारीले बालिकालाई बसमा चढाएर काठमाडौंको वनस्थली पुर्याई एउटा कोठामा राखेको र त्यहाँ समेत पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको विवरणमा उल्लेख छ । बालिकालाई करिब १० दिनसम्म बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो । त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो । अदालतले उनलाई ६ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका अन्सारीलाई प्रहरीले पक्राउ गरी बुधबार बारा जिल्ला अदालत, कलैयामा पेस गरेको जनाएको छ । अदालतको आदेशअनुसार उनलाई वीरगन्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।








