वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिने व्यवस्था मिलाइएको छ ।
नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीति अनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको हो। यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताउनुभयो।
उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्याउने र सेवा लिनका लागि हुने समय तथा खर्चको बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो ।
अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरिएको छ ।









