Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 15

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

0

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न नेपालबाट प्रस्थान गरेका छन् ।

पर्सा जिल्ला, पोखरिया नगरपालिका–१० शिवबर्वा निवासी यादवले प्रतियोगितामा १२० के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनी नेपाली कुस्ती क्षेत्रमा एक स्थापित नाम मानिन्छन् ।

यादवले यसअघि राष्ट्रिय स्तरमा ९ पटक स्वर्ण पदक जितिसकेका छन् । उनले साउथ एशियन गेम्समा १ पटक रजत पदक र एशियन गेम्स २०२३ मा ७औं स्थान प्राप्त गरेका थिए ।

यसपटक पनि यादवले नेपालको सान बढाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाएका छन् । उनी उतर कोरिया -दुबई हुदै जापानमा प्रस्थान गर्ने छ्न ।

उनको सफलताको कामनासहित पोखरिया नगरपालिका, मधेस प्रदेश र सम्पूर्ण नेपालका खेलप्रेमीहरूले यादवलाई गोल्ड मेडल जितेर देशको गौरव बढाउन शुभकामना व्यक्त गरेका छन् ।

२०औं एशियन गेम्स प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची नागोया शहरमा आयोजना हुँदैछ।

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

0

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा रबिन्द्र यादव र सचिवमा पप्पु कुमार यादव सर्वसम्मत चयन भएका छन् । सभापति, उपसभापति, सचिव र सहसचिवसहित २० सदस्यीय गाउँकार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको कांग्रेसले जनाएको छ ।

नेतृत्व चयनका क्रममा सहमति र सहकार्यलाई प्राथमिकता दिँदै नयाँ कार्यसमिति गठन गरिएको हो । सर्वसम्मत नेतृत्व चयन भएपछि गाउँपालिकाका सबै वडा तथा टोल तहसम्म संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय तथा सहकार्य मजबुत बनाउने र पार्टीका नीति तथा कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेस पर्साका जिल्ला सहसचिव नवीन सिंहले गरेका थिए । कार्यक्रममा कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

0

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ ।

मोर्चाले नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडित सयौं परिवारलाई खाना पकाउन आवश्यक ग्यास चुल्हो, सिलिन्डरलगायत राहत सामग्री वितरण गरेको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीका अनुसार रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्ष तथा मोर्चाका नेता शेख जमालुदिनको अगुवाइमा राहत वितरण गरिएको हो । राहत वितरणमा मुस्लिम अगुवा तथा समाजसेवी फारूक सेठ र शेख इर्शादले सहयोग गरेका थिए ।

मन्सुरीले बाढीपीडितको मागअनुसार राहत सामग्री उपलब्ध गराइएको बताए । उनका अनुसार आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट–३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण सुरु गरेपछि त्यसबाट प्रभावित हुँदै मोर्चाले पनि पीडितलाई लक्षित गरी राहत अभियान अघि बढाएको हो ।

स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै वीरगंजमा मेयरका आकांक्षी बढे

0

वीरगंज । निर्वाचन आयोगले आगामी फागुन मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेसँगै वीरगंज महानगरपालिकासहित पर्साका स्थानीय तहमा सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

यसपटकको स्थानीय निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारका आकांक्षीको संख्या बढ्ने देखिएको छ । विशेषगरी वीरगंज महानगरपालिकाको मेयर पदमा वर्तमान मेयरदेखि पूर्व मेयर तथा नयाँ अनुहारसम्म एक दर्जनभन्दा बढी आकांक्षीको चर्चा हुन थालेको छ ।

वीरगंजका वर्तमान मेयर राजेशमान सिंह पनि पुनः मेयर पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको चर्चा छ । हालै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनी पुन: मेयर मै चुनाव लडने निश्चित जस्तै भएकाे छ ।

सिंह कुन दलबाट चुनाव लड्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन । उनी यस अघिकाे निर्वाचन जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयरमा निर्वाचित भएपनि यसपालिकाकाे निर्वाचनमा नेकपा एमालेबाट टिकट पाए एमालेबाटै प्रतिस्पर्धा गर्ने तथा अन्य अवस्थामा वैकल्पिक राजनीतिक दलबाट उम्मेदवारका रूपमा चुनावी मैदानमा आउन सक्ने चर्चा छ ।

त्यस्तै, वीरगंज महानगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगी पनि पुनः मेयर पदमा प्रतिस्पर्धाको तयारीमा रहेको चर्चा छ । २०७९ को स्थानीय निर्वाचनमा सरावगी एमालेबाट मेयरका उम्मेदवार बनेका थिए । यसपालिकाे निर्वाचनमा सरावगी एमाले वा रास्वपाबाट उम्मेदवार हुने चर्चा छ ।

एमालेका पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह पनि मेयर पदका आकांक्षीका रूपमा चर्चामा छन् । पछिल्लो समय एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारीको प्रयासमा रहेको उनीनिकट स्रोतको दाबी छ । रास्वपाबाट टिकट नपाएको अवस्थामा अन्य दल वा स्वतन्त्र रूपमा समेत चुनाव लड्ने सम्भावना रहेको बताइन्छ ।

यसैगरी रास्वपा नेता सुधिर पटेल पनि वीरगंजको मेयर पदका आकांक्षीका रूपमा देखिएका छन् । यसअघि स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यमा चुनाव लडेका पटेलले यसपटक रास्वपाबाट मेयरको टिकट दाबी गर्ने तयारी गरेको बताइएको छ । टिकट नपाएको अवस्थामा स्वतन्त्र उम्मेदवारी दिने सम्भावनासमेत रहेको उनीनिकट स्रोतको भनाइ छ ।

रास्वपाभित्रै मेयर पदका लागि अन्य आधा दर्जनभन्दा बढी आकांक्षी रहेको चर्चा छ । यद्यपि उनीहरू मध्ये रास्वपाबाट टिकट पाउने सम्भावना धेरै कम रहेकाे छ ।

अन्य दलतर्फ नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी तथा अग्रगामी मोर्चालगायतबाट समेत सम्भावित उम्मेदवारबारे आन्तरिक छलफल हुन थाले पनि हालसम्म वीरगंजको मेयर पदमा उनीहरूका आकांक्षीको चर्चा तुलनात्मक रूपमा कम देखिएको छ ।

यसैगरी पर्साका अन्य स्थानीय तहमा पनि अध्यक्ष, प्रमुख तथा वडाध्यक्षका सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएपछि स्थानीय तह निर्वाचनमा पनि उक्त दलबाट उम्मेदवारीका आकांक्षी बढेका छन् ।

तर प्रतिनिधिसभा निर्वाचनको परिणामलाई स्थानीय तह निर्वाचनसँग सोझै तुलना गर्न नसकिने भएकाले आगामी स्थानीय निर्वाचनमा दलगत संगठन, स्थानीय नेतृत्व, उम्मेदवारको व्यक्तिगत प्रभाव र स्थानीय राजनीतिक समीकरणले परिणाममा प्रभाव पार्ने देखिन्छ ।

भोटेकोशी बाढीमा बेपत्ता कुहडीका दुई परिवारसँग मेयर सिंहको भेट

0

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेटेर अवस्थाबारे जानकारी लिनुभएको छ ।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा परी कुहडी गाउँका २९ वर्षीय सागर कर्ण र २८ वर्षीय मुन्ना अंसारी अझै बेपत्ता छन् । दुवै जना ट्रक चालक हुन् । रसुवा भन्सारबाट सामान लिएर फर्किने तयारीमा रहेका बेला उनीहरू बाढीमा बेपत्ता भएको परिवारले जनाएको छ ।

नगर प्रमुख सिंहले बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरी घटनाको अवस्था तथा परिवारले भोगिरहेको पीडाबारे जानकारी लिनुभएको हो । उहाँले विपद्का कारण पीडामा परेका परिवारसँग महानगरपालिका साथमा रहेको बताउँदै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि नगर प्रमुख सिंहले वीरगंज–२२ जगरनाथपुरको एउटै टोलबाट भोटेकोशी बाढीमा बेपत्ता भएका ६ जनाका परिवारसँग समेत भेट गरी अवस्थाबारे जानकारी लिनुभएको थियो । यस्तै, वडा नम्बर ८ का बेपत्ता परिवारसँग पनि उहाँले भेट गर्नुभएको थियो ।

भोटेकोशी बाढीमा वीरगंजका विभिन्न वडाका नागरिक बेपत्ता भएपछि महानगरपालिकाले प्रभावित परिवारसँग प्रत्यक्ष सम्पर्क र समन्वय गर्दै आवश्यक सहयोगका लागि पहल गरिरहेको जनाएको छ ।

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन शनिबार जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षता तथा युवा समाजसेवी कृष्ण चौधरीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा युवा समाजसेवी कृष्ण चौधरीले गाउँघरका युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यले भेट्रान कप आयोजना गरिएको बताए । ४० वर्ष उमेर कटेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रति रुचि र उत्साह बढ्ने उनले बताए ।

“खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भने ।

प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य राखिएको छ । हालसम्म ११ वटा टोलीको सहभागिता सुनिश्चित भइसकेको जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले जानकारी दिए । बाँकी टोलीको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

0

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी उपसभापतिमा ओमकार प्रसाद यादव (गुडु) र सीमा देवी, सचिवमा राजेश राम तथा सहसचिवमा नागेन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

गाउँपालिका समितिको सदस्यमा राकेश साह, बृजलाल राय, सीताराम थारु, गणपत साह कानु, आरती कुमारी, मोना देवी र मनोरमा देवीलगायत निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अशोक साहले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिका–५ झखरा मसिहानीमा सम्पन्न अधिवेशनमा गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त प्रसाद यादव, क्षेत्रीय कोषाध्यक्ष विनय भुषण द्विवेदी, स्थानीय नेता नागेन्द्र चौहानलगायतको उपस्थिति रहेको थियो ।

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

0

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना हुने भनिएको दोस्रो महाधिवेशन केही दिनदेखि लगातार भइरहेको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै स्थगीत गरी १७ गते शनिबारका लागि तय गरिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो ।

प्रतिकूल मौसमका कारण देशभरबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिएपछि महाधिवेशनको तालिका परिवर्तन गरिएको प्रवक्ता सिंहको भनाइ छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिकूल मौसमको पूर्वानुमान रहेकाले महाधिवेशनको तयारी पूरा भइसके पनि सहभागीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै असोज १७ गतेका लागि नयाँ मिति तय गरिएको  छ ।”

यसअघि पार्टीले दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा गर्ने तयारीअनुसार महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेको थियो । अब परिमार्जित तालिकाअनुसार पार्टीको दोस्रो महाधिवेशन हुनेछ ।

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

0

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेका छन् ।

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको छ । सोक्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएका प्रतिक्रिया दिनुभयो । उहाँले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम पहिचान र प्रतिकार्यमा सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभयो ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ ।

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

0

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।

दिउँसो १ः०० बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ः०० बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताउनुभयो । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।