Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
Home Blog Page 146

जनमत पार्टीद्वारा वीरगंजमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । चाडपर्वको समयमा रक्त अभाव बढ्ने अवस्थालाई मध्यनजर गर्दै पर्सामा आइतबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेनजि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव रोटी/खरना पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले स्वयं रक्तदान गर्दै गरेका थिए। अध्यक्ष सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विद्यालाल प्रसाद, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, कोषाध्यक्ष सिकेन्द्र राम, निरन्जन कुशवाहा, निखिल चौरसियासहितको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फसहित गुडु सेख, अजय कुमार साह, समिम आलम, अमन सेख, राजन साह, आदित्य साह, अजय श्रीवास्तवलगायत १९ जना युवाले रक्तदान गरेको जनमत पार्टी पर्साले जनाएको छ ।

अध्यक्ष सरार्फले युवाहरूलाई सकारात्मक र समाजमुखी क्रियाकलापमा जोड्दै आएको जनमत पार्टीले भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राजनीति भनेको उत्कृष्ट समाजसेवा हो। असल र सभ्य युवाले नै कुशल समाज र सक्षम राष्ट्र निर्माण गर्छन्।”

पत्रकार मनोज पटेलको स्वरमा छठकाे गीत सार्वजनिक

वीरगंज । पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको “हलि हलि उग हे सुरज देव” भोजपुरी छठीमाईकाे गीत शनिबार साँझ सार्वजनिक गरिएको छ । यो गीत नेपाल पोस्ट मिडिया प्रा.लि.को युट्युब च्यानल “नेपाल पोस्ट डेली” मार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्दरचनाकार र गायक दुवै पत्रकार मनोज पटेल हुन् । पत्रकारितासँगै सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै उनले यसपालि धार्मिक र सांस्कृतिक भावना मिसिएको छठकाे गीत सार्वजनिक गरेका हुन्।

गीतका निर्देशक तथा नेपाल पोस्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार, “गीतमा पारम्परिक भक्ति, आधुनिक संगीत र सन्देशात्मक अभिव्यक्ति संयोजन गरिएको छ । भिडियो पनि निकै सुमधुर र आकर्षक बनेको छ ।” उनले थपे, “गीत सार्वजनिक भएको केही घण्टामै दर्शक–श्रोताबाट उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ ।”

गीतको म्युजिक भिडियो वीरगंजकाे घडिअर्वा पोखरी र कलैयास्थित सिदेश्वर माध्यमिक विद्यालयको पोखरी (छठी घाट) लगायतका धार्मिक र रमणीय स्थलमा छायांकन गरिएको हो । भिडियोमा छठ पर्वको श्रद्धा, महिलाहरूको व्रत, र सूर्य उपासनाको भक्ति भाव प्रस्तुत गरिएको छ ।

गीतको मुख्य सन्देश सूर्य देवप्रति आस्था प्रकट गर्दै “छठी व्रती महिलाहरूको तर्फबाट सूर्य उदाउने क्षण चाँडो आओस्” भन्ने भावनात्मक आग्रहका रूपमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल र स्वयं गायक मनोज पटेलले अभिनय गरेका छन् । स्थानीय कलाकारहरूको सहभागिताले भिडियोलाई थप जीवन्त र समुदायमुखी बनाएको छ । भिडियो नेपाल पोस्ट मिडिया प्रा.लि.का अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।

गीत सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष भुषण यादवले प्रतिक्रिया दिँदै भने, “पत्रकारहरूले सांस्कृतिक गीतमार्फत समाजमा सन्देश फैलाउने प्रयास प्रशंसनीय छ। ‘छठीमाई’ गीत सुन्दा श्रद्धा र सौन्दर्य दुवै महसुस हुन्छ।”

गीतले धार्मिक भावनासँगै स्थानीय संस्कृति र भाषाको पहिचान प्रवर्द्धन गरेको भन्दै धेरैले सराहना व्यक्त गरेका छन्।

घडिअर्वा पोखरीमा छठ पर्वका लागि कडा सुरक्षा व्यवस्था, एक लाख ५० हजार श्रद्धालु आउने अनुमान

वीरगंज । छठ पर्वको अवसरमा वीरगंज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको अत्यधिक भीडलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारीका साथ चाड मनाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिवार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन तथा आकस्मिक उद्धारका लागि प्रभावकारी योजना लागू गर्ने निर्णय गरेका छन्। समितिका अनुसार यस वर्ष करीब १ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरू घडिअर्वा पोखरीमा छठ पूजा गर्न आउने अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले भीड व्यवस्थापनलाई सर्वाधिक प्राथमिकता दिइएको बताउँदै, जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए।

प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्वयंसेवकहरूसँग समन्वय गर्दै पोखरी परिसरमै एक प्रहरी अधिकृतको नेतृत्वमा कन्ट्रोल रुम स्थापना गरिने बताए। उनका अनुसार, घटनाहरूमा तत्काल प्रतिक्रिया दिन सकियोस् भनेर २० भन्दा बढी सीसीटीभी क्यामेरा सक्रिय गरिनेछ।

त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको जल क्षेत्रलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको सुरक्षा टोली, महिला सुरक्षाकर्मी र गोताखोरहरू तयारी अवस्थामा रहने जानकारी दिए।

छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतका अनुभवका आधारमा यस पटक सजगता र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाइएको बताए। उनका अनुसार, सुरक्षासँगै घाटको सरसफाइ, प्रकाश व्यवस्था र जनसहभागिता सुनिश्चित गर्न पनि विशेष ध्यान दिइएको छ।

सुरक्षा उपसमितिकी मुना साहले घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना प्रशिक्षित स्वयंसेवकहरू खटाइने जानकारी दिइन्। साथै, प्रभाकर गुप्ताले छठघाट नजिकै एम्बुलेन्स, दमकल तथा प्राथमिक उपचार केन्द्र पनि उपलब्ध गराइने बताए।

बैठकमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वडा प्रतिनिधि, ट्राफिक प्रहरी, स्थानीय प्रहरी, क्लब पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि युवाहरूको बलिदानप्रति बेवास्ता गरेको आरोप लगाउँदै तत्काल राजीनामा माग गरेका छन् । शनिबार पर्साको पर्सागढी नगरपालिकाकाे झिगनामा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारको भूमिका शंकास्पद रहेको भन्दै कडा प्रहार गरे ।

साहले भने, “भदौ २३ गते युवाहरूको छाती र टाउकोमा गोली हानियो । ती हत्यारालाई अहिलेसम्म कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको छ । गृहमन्त्री अर्याल नै लुरे परे ।”

उनले जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

साहका अनुसार वर्तमान सरकार युवाहरूको बलिदानको अपमान गर्दै हत्यारालाई जोगाउने प्रयासमा लागेको छ । उनले भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्यारुमाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरुङजस्ता आन्दोलनकारीविरुद्ध जाहेरी दर्ता गरिन्छ । अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन । यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन् ।”

साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको “राक्षसी प्रवृत्तिले” देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाउँदै अहिलेको सरकार “हत्याराको सेवामा समर्पित” रहेको टिप्पणी गरे ।

कार्यक्रममा उनले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दाहरू पनि उठाए । वीरगंजलाई देशको आर्थिक राजधानी बनाउने, नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालयको स्तरमा उकास्ने र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदानमा विकसित गर्नुपर्ने माग राखे ।

अन्त्यमा साहले भने, “यो सरकार चुनावी सरकार हो, तर यसको पहिलो दायित्व युवाहरूका हत्यारालाई कानूनी दायरामा ल्याउने हुनुपर्छ । जनताको धैर्यको पनि सीमा हुन्छ ।”

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

0

पूर्णप्रसाद मिश्र/रासस
काठमाडौँ । नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वको पहिलो दिन चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसिन्छ । यसलाई ‘नहाय खाय’ भनिन्छ । आजदेखि छठ पर्व नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि राजसी र तामसी खाद्य पदार्थ नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रुपमा सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माण सकिएदेखि हाल छठ मनाइँदैन । यसअघिदेखि नै बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । राजधानीका नागपोखरी, गहनापोखरीलगायत जलाशयमा पनि छठ मनाउने गरिएको छ । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको दुई दशक अघिदेखि काठमाडौँमा छठ मनाउँदै आउनुभएका नरेन्द्र यादवले बताउनुभयो । “षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो ।

षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको अञ्जिता शर्माले बताउनुभयो ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहित केटा, केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल शौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ ।

राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । छठ ब्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै बस्छन् ।

घडिअर्वा पाेखरीमा ६२ जनाद्वारा रक्तदान

वीरगंज । नेपालीहरूको महान पर्व छठ पूजाको अवसरमा घडिअर्वा स्पोर्ट्स क्लब वीरगंजले आफ्नो २३औं रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष सन्तोष कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । उक्त कार्यक्रममा २ महिला सहित ६२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।

घडिअर्वा पाेखरी परिसरमा भएकाे कार्यक्रममा वीरगंज–१० का वडाध्यक्ष सुशील साह कानु, राकेश साह, प्रभाकर गुप्ता, प्रदीप कुमार गुप्ता, राहुल साह कानु, दिपेश कुमार कर्ण, हरिशंकर साह, बिरेन्द्र कुशवाहा, बिरेन्द्र साह कानु, जितेन्द्र सिंह, रञ्जित कुमार सर्राफ, लालबाबु प्रसाद कुशवाहा, नरेंद्र प्रताप साह, मुकेश कुमार साह, दिनेश पासवान, र राकेश पटेल लगायतका व्यक्तिहरूले स्वेच्छिक रक्तदान गरेका थिए।

घडिअर्वा छठ पुजा व्यवस्थापन समितिकाे व्यवस्थापनमा भएकाे कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे र उनको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

छठ पर्वमा वीरगंज कारागारका ७५ महिला कैदीलाई साडी वितरण

वीरगंज । हिन्दूहरूको महान पर्व छठको अवसरमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगंज–पर्साको संयुक्त आयोजनामा वीरगंज कारागारमा रहेका महिला कैदीहरूलाई साडी वितरण कार्यक्रम सम्पन्न भएकाे छ।

वीरगंज महानगरपालिका–४ स्थित वीरगंज कारागारमा आयोजित कार्यक्रममा ७५ जना महिला थुनुवा तथा कैदीहरूलाई नि:शुल्क नयाँ साडी वितरण गरिएको हो।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रुँगटा वेलफेयर सोसाइटी वीरगंज–पर्साका अध्यक्ष मुर्लीधर रुँगटा, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, प्रहरी अधिकारी, समाजसेवी, बुद्धिजीवी, विशिष्ट व्यक्ति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्ष खेतानले भने, “छठ पर्व केवल धार्मिक आस्थाको विषय होइन, यो मानवीय सहयोग र सहानुभूतिको पनि पर्व हो। कारागारभित्र रहेका दिदीबहिनीहरूसँग यो पर्वको खुशी बाँड्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।”

त्यस्तै प्रमुख अतिथि मुर्लीधर रुँगताले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “रुँगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि मानवसेवामूलक कार्य गर्दै आएको छ, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ।”

छठ पर्वमा जनमत पार्टीद्वारा ब्रतालु महिलालाई सामग्री वितरण

वीरगंज । जनमत पार्टी वीरगंज महानगरपालिका वडा नं. ८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा शनिबार छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ३१ जना ब्रतालु महिलाहरूलाई साडी, नारिवल र पूजाका सामग्रीहरू उपहार (कोशेली) स्वरूप वितरण गरिएको जनमत पार्टीले जनाएको छ।

कार्यक्रममा बोल्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले छठ पर्व केवल धार्मिक आस्थाको पर्व नभई सामाजिक एकता, वैज्ञानिक सोच, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको बताउनुभयो। उहाँले यस पर्वले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्नुका साथै मौलिकता तथा प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिध्यलाल प्रसाद र श्याम गुप्ता, वडा इकाई अध्यक्ष रामजी रौनियार, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, तथा नेताहरू निरञ्जन कुशवाहा र रोहित पटेल लगायतको उपस्थिति रहेको थियो।

जिल्ला सदस्य कंचन गुप्ताले ब्रतालु महिलाहरूलाई सहयोग गर्न पाउनु गर्वको विषय भएको बताउँदै जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहेको उल्लेख गर्नुभयो। उहाँले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू

0

धनुषा । तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिनुभयो ।

यस योजनाअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो ।

सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका सुरक्षाकर्मीसमेत समावेश गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले प्रहरी बललाई छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो ।

उहाँले छठपर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्र सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ । थप निगरानीका लागि अत्यधिक भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ ।

छठ पर्वमा वीरगंज कपडा बैंकद्वारा ११ सय थान कपडा वितरण

वीरगंज । छठ पर्वको शुभ अवसरमा वीरगंज कपडा बैंकले वीरगंजको घण्टाघरमा करिब ११ सय थान नि:शुल्क कपडा वितरण गरेको छ । गरीब र असहायहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो वितरण कार्यक्रममा स्थानीय दातृ, समाजसेवी र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वीरगंज कपडा बैंकले प्रत्येक वर्षका चाडपर्वमा झैँ यस वर्ष पनि आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि बेलुका ५ बजेसम्म आफ्नै वीरगंज–८ स्थित कार्यालयबाट पनि गरीब तथा असहाय व्यक्तिहरूलाई नि:शुल्क कपडा वितरण गर्दै आएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले मानवतामुखी सेवामा सबैले आफ्नो आम्दानीको पाँच प्रतिशत रकम असहायहरूको सहयोगमा खर्च गर्नुपर्नेमा जोड दिए । उनले भने, “मानवको सेवा नै सर्वोत्तम धर्म हो । छठ पर्वले आपसी एकता र भाइचारालाई बलियो बनाउने सन्देश दिन्छ, त्यसैले विपन्न छठ व्रतालुहरूलाई सहयोग गर्नु नै सच्चा पूजा हो।”

कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नलाल गुप्ता, सल्लाहकारहरु ओमप्रकाश सराफ, श्रवण बहादुर रायमाझी, समाजसेवीहरु गौरी गुप्ता, युवा हुकुम सिंह राजपुत, सतिष सिंह राजपुत, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, महादेव कुर्मी, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा, बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा, उपाध्यक्ष मोनिका सिंह,  सदस्यहरु हरेन्द्र पटेल, निला कुमारी राम, केदार गुप्ता, राजेश श्रीवास्तव, राहुल सिंह राजपुत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष सिंहले मानवसेवामा हातेमालो गर्दै कपडा बैंकलाई साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा पदाधिकारीहरूलाई धन्यवाद दिँदै छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरे।