Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 136

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जीत, विराज भक्त श्रेष्ठको भारी मतान्तर

0

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका छन्।

श्रेष्ठले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुमन सायामीलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। प्राप्त मत परिणामअनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् भने सायामीले ३ हजार २१७ मत मात्र पाएका छन्।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ६ मा पनि रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले १५ हजारभन्दा बढी मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट पनि रास्वपाले जित निकालेको छ । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्।

यसअघि काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह लगातार तीन पटक विजयी हुँदै आएका थिए । पछिल्लो परिणामसँगै काठमाडौंका विभिन्न क्षेत्रमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै राजधानीको राजनीतिक समीकरणमा नयाँ संकेत दिएको विश्लेषण गरिएको छ।

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरसहित विजयी

0

वीरगंज । रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लिलामणि गौतम र नेपाली कांग्रेसकी कुसुमदेवी थापा ले समान ३ हजार ८१ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखनकुमार थापा ले ८१९ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। प्राप्त परिणामअनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तीन गुणा बढी मत ल्याउँदै रुकुम पूर्वमा आफ्नो राजनीतिक पकड बलियो रहेको पुष्टि गरेका छन्।

सर्लाही–४ मा अमरेश सिंहको अग्रता, गगन थापा पछि

0

वीरगंज । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्।

शुक्रबार साँझ ८ बजेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले ४ हजार ४९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले २ हजार ५३० मत ल्याएका छन्।

यससँगै सिंहले काँग्रेसका सभापति थापाभन्दा १ हजार ९६६ मतले अग्रता बनाएका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार अवनिशकुमार यादवले ६४३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

सर्लाहीका अन्य निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक परिणामले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू नै अगाडि देखिएका छन्।

पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबा, चारै क्षेत्रमा अग्रता

0

वीरगंज । पर्साका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना प्रक्रिया जारी रहेको छ। प्रारम्भिक मतगणनाको परिणामअनुसार पर्सा जिल्लाका चारै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

शुक्रबार बिहानदेखि सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाले स्पष्ट अग्रता लिएको हो। पर्सा क्षेत्र नं. १ र २ काे वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा र क्षेत्र नं. ३ र ४ काे मतगणना पाेखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माविमा भइरहेकाे छ ।

पर्सा क्षेत्र नं. १ मा रास्वपाका बुद्धिप्रसाद पन्त (हरि पन्त) ४ हजार ७१४ मतसहित पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्व मन्त्री प्रदीप यादवले २ हजार ५४४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अनिल रुङ्टा २ हजार १९७ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी पर्सा क्षेत्र नं. २ मा रास्वपाका सुशील कुमार कानु ९ हजार ४३३ मतसहित अग्रस्थानमा रहेका छन्। नेपाली कांग्रेसका अजय कुमार चौरसिया ३ हजार ८७६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी रीमा कुमार यादव ३ हजार ५९२ मतसहित तेस्रो स्थानमा रहेकी छन्।

पर्सा क्षेत्र नं. ३ मा रास्वपाका रामाकान्त चौरसिया ४ हजार १११ मतसहित पहिलो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी २ हजार १३२ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका रुपेश कुमार पाण्डेय १ हजार ९१३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेक बहादुर शाक्य २ हजार ६७७ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। नेपाली कांग्रेसका रमेश रिजाल ८८१ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका जालिम मियाँ ४४२ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रारम्भिक मतपरिणामले चारै क्षेत्रमा रास्वपाको बलियो उपस्थिति देखाएको छ । देशभर देखिएको नयाँ राजनीतिक आकर्षण जस्तै पर्सामा पनि रास्वपा उम्मेदवारप्रति मतदाताको झुकाव देखिएको छ। प्रारम्भिक नतिजाका आधारमा पर्साका चारै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जित्न सक्ने अनुमान समेत गरिएको छ।

पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, प्रारम्भिक मतगणनामा घण्टी बलियो

0

वीरगंज । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मतगणना प्रक्रिया जारी रहँदा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।

शुक्रबार बिहानदेखि सुरु भएको प्रारम्भिक मतगणनाको परिणामअनुसार पर्साको निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाले स्पष्ट अग्रता कायम गरेको हो।

पर्सा क्षेत्र नं. १ मा रास्वपाका हरि पन्त (बुद्धिप्रसाद पन्त) ७९३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिल रुङ्टाले ४८० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का प्रदीप यादव ४०५ मतसहित तेस्रो स्थानमा रहेका छन्। प्रारम्भिक नतिजाले उक्त क्षेत्रमा रास्वपाको बलियो उपस्थिति देखाएको छ।

त्यसैगरी पर्सा क्षेत्र नं. २ मा रास्वपाका सुशील कुमार कानुले १५३८ मतसहित अग्रता कायम गरेका छन्। नेकपा (एमाले) की रीमा कुमार यादवले १०५६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् भने नेपाली काँग्रेसका अजय कुमार चौरसिया ६८३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

पर्सा क्षेत्र नं. ३ मा रास्वपाका रामाकान्त चौरसियाले १०५१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। नेपाली काँग्रेसका सुरेन्द्र चौधरी ७७१ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा (एमाले) का रुपेश पाण्डेय २३८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

यसैगरी पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेक बहादुर शाक्यले ५६६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। नेकपा (एमाले) का जालिम मियाँ २३३ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका रमेश रिजाल १६९ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रारम्भिक मतगणनाले पर्साका चारै क्षेत्रमा रास्वपाको बलियो उपस्थिति देखाएको भए पनि अन्तिम परिणामका लागि थप मतगणना बाँकी रहेको छ।

पर्साका चारै क्षेत्रमा मतगणना सुरु, १, २ र ३ मा रास्वपाको अग्रता

0

वीरगंज । पर्सा जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । पर्सा क्षेत्र नं. १ र २ को मतगणना वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा तथा क्षेत्र नं. ३ र ४ को मतगणना पोखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा सुरु भएको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी दिएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर १, २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्।

पर्सा क्षेत्र नं. १ मा रास्वपाका हरि पन्तले ७९३ मत प्राप्त गरि अग्रस्थानमा छन् । नेपाली कांग्रेसका अनिल रुंगटाले ४८० मत प्राप्त गरि दाेस्राे र नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री प्रदिप यादवले ४०५ मत प्राप्त गरि तेस्राे स्थानमा छन् । कांग्रेसका रुंगटा भन्दा ३१३ मतले अगाडी रहेका छन् ।

यसैगरी पर्सा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार सुशिल साह कानुले १२७७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। नेकपा एमालेकी रिमा यादवले १०५६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका पूर्व मन्त्री अजय चौरसियाले ६८३ मत प्राप्त गरेका छन्। हालसम्मको गणनामा सुशिल साह कानु एमालेकी रिमा यादवभन्दा २२१ मतले अगाडि रहेका छन्।

त्यस्तै पर्सा क्षेत्र नं. ३ मा पनि रास्वपाका रामाकान्त चौरसिया अग्रस्थानमा रहेका छन् । उनले १०५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७७१ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । रामाकान्त चौरसिया कांग्रेसका चौधरीभन्दा २८० मतले अगाडि छन् । यसैगरी नेकपा एमालेका रुपेश पाण्डेले २३८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

पर्सा क्षेत्र नं. ४ मा पनि मतगणना सुरु भइसकेको भएपनि हालसम्म त्यहाँको आधिकारिक मतपरिणाम भने सार्वजनिक भएको छैन।

पूर्वमन्त्री यादव र जनमत पार्टी पर्साका अध्यक्ष सर्राफद्वारा मताधिकार प्रयोग

0

वीरगंज । पर्सा संसदीय निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न मतदान केन्द्रमा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। यस क्रममा मनिहारीस्थित मतदान केन्द्रमा पुगेर पूर्वमन्त्री प्रदिप यादवले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

वीरगंज महानगरपालिका–२२ मनिहारीस्थित मतदान केन्द्रमा उनी बिहान करिब ८ बजे पुगेका थिए। मतदानपछि उनले निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधार भएको बताउँदै सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।

यसैगरी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पनि वीरगंज महानगरपालिका–१६ नगवास्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

मतदानपछि प्रतिक्रिया दिँदै सर्राफले लोकतान्त्रिक व्यवस्थामा मतदान प्रत्येक नागरिकको महत्वपूर्ण अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने प्रमुख माध्यम भएको बताए।

उनले भने, “प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो देशको शासन व्यवस्था, नीति निर्माण तथा समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण प्रक्रिया भएकाले सोचविचार गरेर विवेकपूर्ण ढंगले मतदान गर्नु हामी सबै नागरिकको साझा जिम्मेवारी र कर्तव्य हो।”

पर्सा जिल्लाका विभिन्न मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था गरिएको छ भने मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

पर्सामा शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा निर्वाचन सुरु, भेडिहारीसहित सबै मतदान केन्द्रमा उत्साहजनक सहभागिता

0

वीरगंज । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि पर्सा जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा सुरक्षाको उचित प्रबन्ध मिलाइएपछि निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ गरिएको हो।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित श्री सुकई साह मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। महिला, ज्येष्ठ नागरिक तथा युवाहरू लामबद्ध रूपमा आफ्नो मताधिकार प्रयोग गर्न केन्द्रमा पुगेका छन्। अन्य स्थानीय तहका मतदान केन्द्रहरूमा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

जेन–जी आन्दोलनपछि राजनीतिक परिवेशमा आएको परिवर्तनका कारण मूलतः २०८४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मै सम्पन्न भइरहेको हो। यस निर्वाचनलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ भने नयाँ पुस्ताको सक्रिय सहभागिताले चुनावी माहोल थप रोचक बनेको छ।

जिल्ला सुरक्षा समितिले मतदान अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको जनाएको छ। मतदातालाई निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न अनुरोध गरिएको छ।

निर्वाचन आयोगका प्रतिनिधिका अनुसार बेलुकी ५ बजेसम्म मतदान जारी रहनेछ। कुनै अवरोध नआए निर्धारित समयमै मतदान सम्पन्न गरी मतपेटिका संकलन प्रक्रिया अगाडि बढाइने बताइएको छ।

आफ्ना उम्मेदवारलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने नेकपाको चेतावनी

23

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्सागढी नगरपालिका–३ बडनिहारबाट आफ्ना उम्मेदवार मनोज कुमार चौधरीलाई शंकास्पद वस्तु प्रकरणमा पक्राउ गरिएको घटनालाई निर्वाचन भाँड्ने सुनियोजित षड्यन्त्र भएको आरोप लगाएको छ।

फागुन १९ गते राति करिब १०ः१० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँचका क्रममा हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको च १२५० नम्बरको गाडीको डिक्कीबाट पहेंलो टेपले बेरिएको टिनको बक्स फेला पारेको थियो। उक्त बक्सभित्र शंकास्पद वस्तु भेटिएको भन्दै वीरगञ्ज महानगरपालिका–१७ निवासी ४६ वर्षीय नेकपाका उम्मेदवार मनोज कुमार चौधरीसहित बारा निवासी २६ वर्षीय सहाब आलम अन्सारी, धनुषा निवासी ३० वर्षीय सुरज कार्की र पर्सागढीका ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पर्सा प्रहरीका अनुसार फेला परेको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको र उक्त पदार्थ विष्फोटक प्रकृतिको रहेको पुष्टि भएको जनाएको छ । शंकास्पद बक्ससँगै ब्याट्रीहरू समेत फेला परेको प्रहरीले दाबी गरेको छ। साथै, विष्फोटक पदार्थ र सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर, नेकपाले भने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा नजिकै आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेताहरूले मनोज चौधरीलाई चुनावी प्रतिस्पर्धाबाट कमजोर पार्ने नियतले फसाइएको आरोप लगाएको छ । पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले प्रहरीको विज्ञप्तिमा उल्लेखित विवरणहरू बाझिएको दाबी गर्दै “निर्वाचनको माहोल बिथोल्न र जित सुनिश्चित देखिएका उम्मेदवारलाई बदनाम गर्न सुनियोजित ढंगले षड्यन्त्र रचिएको” आरोप लगाए।

नेकपाले आफ्नो उम्मेदवारमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै तत्काल रिहा नगरे कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । पार्टीले निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ।

पर्सामा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा

24

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरियाले भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ गर्दै २० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार मिति २०८२ फागुन १८ गतेदेखि २०८२ फागुन २१ गते मध्यराति १२:०० बजेसम्म पर्सा जिल्लाभर भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न नदिने व्यवस्था गरिएको थियो। सोही निर्णयको उल्लंघन गरी सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल नियन्त्रणमा लिइ कार्यालयमा राखिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

जिल्ला सुरक्षा समिति पर्सा को निर्णय विपरीत सवारी चलाइरहेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

प्रहरीले जिल्लामा यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचानको लागि शान्ति सुरक्षा कायम राख्न र निर्णय कार्यान्वयन गराउन निगरानी तथा चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ।