Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 131

वीरगंजमा विद्यार्थीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण

0

वीरगंज । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा वीरगंजमा १२० जना विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। प्रविधिको तीव्र विकाससँगै पछिल्लो समय साइबर अपराधका घटनाहरू बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सचेत बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा खेतान बहुमुखी क्याम्पसका सल्लाहकार तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले प्रविधिको प्रयोग बढेसँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको बताए। उनले विशेषगरी कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरे।

खेतानले विद्यार्थीहरू नै प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षाबारे ज्ञान दिनु अत्यन्त आवश्यक रहेको बताए। उनले साइबर अपराध जस्ता संवेदनशील विषयमा विद्यार्थीहरू स्वयं सचेत रहनुका साथै आफ्ना साथीभाइ र समुदायलाई पनि सचेत गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख विक्रम सुबेदीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर सुरक्षाका उपायबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर अपराधबाट कसरी सुरक्षित रहने भन्नेबारे जानकारी प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा साइबर सुरक्षाबारे जागरूकता बढाउने र समाजमा हुने सम्भावित साइबर अपराध नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

फागुन मसान्तसम्म विकास खर्च १९ प्रतिशत मात्र

0

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत शीर्षकमा करिब १९ प्रतिशत मात्र खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। त्यसमध्ये फागुन मसान्तसम्म रु नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो।

चालु शीर्षकमा रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमा हालसम्म ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ। पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकामा १९ दशमलव २४ प्रतिशत मात्र खर्च भएको देखिएको छ।

यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरिएकामा हालसम्म ५४ दशमलव ८९ प्रतिशत अर्थात् रु दुई खर्ब पाँच अर्ब ९५ करोड २३ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

फागुन मसान्तसम्म सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४९ दशमलव ८९ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म रु सात खर्ब ६५ अर्ब १० करोड १६ लाख राजस्व उठेको छ।

कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य राखिएकामा फागुन मसान्तसम्म ५१ दशमलव चार प्रतिशत असुली भएको छ। गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख उठाउने लक्ष्य राखिएकामा हालसम्म ४५ दशमलव ७८ प्रतिशत मात्र असुली भएको छ।

त्यसैगरी चालु आर्थिक वर्षका लागि सरकारले रु ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म २४ दशमलव ७८ प्रतिशत अर्थात् रु १३ अर्ब २४ करोड ५० लाख मात्र अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

वीरगंज–१५ स्थित सिन्दुरिया माई विद्यालयकाे चार कोठे भवन निर्माण गर्न बजेट

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा रहेको श्री सिन्दुरिया माई आधारभूत विद्यालयका लागि चार कोठे नयाँ भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन उक्त बजेट व्यवस्था गरिएको हो। महानगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित विद्यालयहरूको भौतिक विकासलाई प्राथमिकतामा राख्दै भवन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्ने अवसर पाउनेछन्। यसले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भवन निर्माणका लागि बजेट विनियोजन भएकोमा स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले नगर प्रमुख सिंहप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको भौतिक विकासका लागि चार कोठे भवन निर्माणको व्यवस्था गरिएकोमा आभार प्रकट गरेका हुन्।

वीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रको विकास र विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा निरन्तर ध्यान दिइरहेको सन्देश यस निर्णयले दिएको छ।

रुपेश पाण्डेयद्वारा रमेश रिजालको निर्णयको प्रशंसा, अन्य पुराना नेताले पनि अनुसरण गरुन्

0

वीरगंज । पर्सा–३ बाट नेकपा एमालेका उम्मेदवार बनेर पराजित भएका रुपेश कुमार पाण्डेयले अब चुनाव नलड्ने पूर्वमन्त्री तथा कांग्रेस नेता रमेश रिजालको घोषणाको प्रशंसा गरेका छन्।

शनिबारमात्रै पर्सा–४ का पूर्वसांसद तथा पूर्वमन्त्री रमेश रिजालले कांग्रेस क्षेत्रीय कार्यकर्ता भेलामा अब आफैं चुनाव नलड्ने घोषणा गरेका थिए । यस घोषणाप्रति एमाले नेता पाण्डेयले सामाजिक सञ्जालमार्फत आफ्नो सम्मान व्यक्त गरेका हुन्।

फेसबुकमा शनिबार अपरान्ह पोष्ट गर्दै पाण्डेयले लेखेका छन्, “राजनीतिक विचार र सिद्धान्त फरक भएपनि आदरणीय रमेश रिजाल दाईलाई यो नैतिकता र त्यागका लागि सलाम छ। पर्सा जिल्लाको विकास र समृद्धिका लागि रिजालले सकेको जति गरेका छन् र अबको समय युवा पुस्ताको हो भन्ने जनमतलाई कदर गर्दै मैले अब चुनाव नलड्ने रिजालको घोषणाप्रति सम्मान व्यक्त गर्दछु।”

उनले थप लेखेका छन्, “आदरणीय अभिभावक रमेशदाईले समयको मागसँगै युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नु परिपक्व राजनीतिज्ञको उदाहरण हो, जसलाई पर्सा जिल्लाका अन्य आदरणीय नेताहरूले पनि अनुशरण गर्नेछन् भन्ने अपेक्षा गर्दछु।”

सगरमाथा एकेडेमीको १९औँ वार्षिकाेत्सव सम्पन्न

0

वीरगंज । मुर्लीस्थित सगरमाथा एकेडेमीले आफ्नो १९औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा विकास तथा समन्वय समिति इकाई पर्साका अधिकृत विद्यानन्द प्रसाद यादवले गरेका थिए।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, केन्द्रीय सदस्य अरविन्द सिंह, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, सिटी स्कूलका संस्थापक संतोष गुप्ता, गूगल स्कूलका संस्थापक नरेश पटेल, पर्सा म्यानेजमेन्ट स्कूलका संस्थापक प्रकाश यादव, शालोम स्कूलका संस्थापक कौशल श्रीवास्तव तथा गौतम श्रीवास्तव लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि र सभापतिद्वारा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

वीरगंजमा सुशासन र जवाफदेहिताका लागि ‘उद्यमी वाकाथन’ सम्पन्न

0

वीरगंज । वीरगंज पहिलो पटक उद्यमीहरूको सहभागितामा सुशासन र जवाफदेहिताका लागि ‘उद्यमी वाकाथन’ शनिबार सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टरको आयोजनामा भएको यस कार्यक्रममा उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालासहित करिब तीन सयले सहभागिता जनाएका थिए।

वाकाथन ऐतिहासिक गहवामाई मन्दिरबाट सुरु भई आदर्शनगर, अलखिया मठ, पानीटंकी, ठाकुरराम बहुमुखी क्याम्पस, पशुपति घोष, लक्ष्मी सनराइज बैंक, घडिअर्वा हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर सम्पन्न भएको थियो। करिब ३ किलोमिटर लामो पैदल यात्रामा सहभागीहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा ऐक्यबद्धता जनाएका थिए।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ एमडी ईमरान अन्सारी प्रथम, सौरभ केडिया द्वितीय र श्रीराम गिरी तृतीय भए। महिलातर्फ निक्की कुमारी प्रथम, स्वाती धनोटिया द्वितीय र नूतन सरावगी तृतीय स्थान हासिल गरे। बालबालिका समूहमा दिव्यांश दारूमा प्रथम, सिद्धान्त चाचान द्वितीय र जयश गुप्ता तृतीय भए।

नेपाल युवा उद्यमी मञ्चका कार्यकारी सदस्य तथा वाकाथन कार्यक्रम संयोजक मोहित अग्रवालले वीरगञ्जमा पहिलो पटक उद्यमीहरूको सक्रिय सहभागितामा यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यसले उद्यमी समुदायलाई सुशासन र जिम्मेवार आर्थिक वातावरणका विषयमा एकजुट गराउने विश्वास व्यक्त गरे।

मञ्चका अध्यक्ष विश्वास साहले उद्यमीहरू केवल व्यवसाय सञ्चालन गर्ने व्यक्तिमात्र नभई आर्थिक विकासका प्रमुख साझेदार भएको बताए। उनले पारदर्शिता, उत्तरदायित्व र सकारात्मक व्यावसायिक वातावरण निर्माणका लागि उद्यमी समुदायले सामूहिक रूपमा आवाज उठाउन आवश्यक रहेको उल्लेख गरे।

वाकाथनका विजेताहरूलाई मञ्चका पूर्व अध्यक्ष अनुप अग्रवाल, राकेश साह, निवर्तमान अध्यक्ष पंकज अग्रवाल तथा द्वितीय उपाध्यक्ष मोहित गुप्ता लगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा बरिस्ठ उद्योगी एवं साहित्यकार गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष माधव राजपाल, वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पर्सा जिल्लाका एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस पर्सा–४ को समीक्षा बैठक सम्पन्न, अब म चुनाव लड्दिनँ : रमेश रिजाल

0

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी समीक्षा बैठक शनिबार सम्पन्न भएको छ। जगरनाथपुर गाउँपालिकाकाे वडा नं.–५ मसिहानी धर्मपुरमा सम्पन्न बैठकमा बोल्दै पूर्वमन्त्री तथा उक्त निर्वाचनका उम्मेदवार रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गर्नुभएको छ।

उहाँले निर्वाचनकै समयमा गरेको प्रतिबद्धताअनुसार आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने बताउनुभयो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसले व्यहोरेको पराजयबारे आयोजित क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै रिजालले अब आफू संसदीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पार्नुभयो।

“आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ । युवा पुस्तालाई साथ र समर्थन रहनेछ,” उहाँले भन्नुभयो, “चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म सधैं सक्रिय रहनेछु ।” पर्सा क्षेत्र नम्बर ४ को विकास र समृद्धिका साथै यहाँका जनताका समस्याको समाधानका लागि आफूले सक्दो प्रयास जारी राख्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

फरक प्रसंगमा पूर्वमन्त्री रिजालले फागुन २१ को निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्नुभयो। परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेसका कार्यकर्ता तथा समर्थकप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँदै उहाँले पुनः आफ्नै पार्टी कांग्रेसमा फर्किन आग्रह गर्नुभयो।

“जनता जनार्दन भएकाले जनमतको सम्मान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “जनताको दुःख–सुखमा उभिने पार्टी भनेकै कांग्रेस हो, त्यसैले कांग्रेसलाई भरोसा गरेर घर फर्किन आग्रह गर्छु।”

कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, जिल्ला सह सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतकाको सहभागिता थियो ।

क्षेत्रीय कार्यसमितिले आयोजना गरेको समीक्षा बैठकमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी तथा सदस्य, गाउँपालिका कार्यसमिति, बुथ सभापति, वडा सभापति, निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरू, नेपाली कांग्रेसका शुभेच्छुक तथा भ्रातृ संगठनका प्रतिनिधि र अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलामा पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसले व्यहोरेको हारका कारणबारे गम्भीर समीक्षा समेत गरिएको थियो।

एमालेद्वारा समानुपातिकतर्फ १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस

0

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम निर्वाचन आयाेगलाई सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापा (बादल) को अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको हो।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो।

उहाँका अनुसार आदिवासी जनजाति क्लस्टरतर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको छ।

त्यसैगरी खस आर्य क्लस्टरतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्।

थारु क्लस्टरतर्फ कृपाराम राणा रहेका छन् भने दलित क्लस्टरतर्फ विष्णुमाया विक र निता घतानीको नाम सिफारिस गरिएको छ। त्यस्तै मधेसी क्लस्टरतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल रहेका छन् भने मुस्लिम क्लस्टरतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस भएको उपमहासचिव भट्टले बताउनुभयो।

उहाँले भन्नुभयो, “आज सचिवालयको चौथो बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्यो। अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको कारण उहाँले बैठकको अध्यक्षता गर्नुभएन। बैठकमा दुई वटा प्रस्ताव थिए—एक समानुपातिक उम्मेदवारको निर्णय र अर्को शोक प्रस्ताव। बैठकले क्लस्टर अनुसार १६ जनाको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।”

संघीयता पूर्ण कार्यान्वयन भए मधेसका धेरै समस्या प्रदेशबाटै समाधान हुन्छन् : मुख्यमन्त्री यादव

0

वीरगंज । मधेश प्रदेशका मुख्य मन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन भए मधेस प्रदेशका धेरै समस्या प्रदेशबाटै समाधान गर्न सकिने बताउनुभएको छ।

जनकपुरमा निर्माण गरिने मधेस प्रदेश प्रहरी कार्यालय भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री यादवले संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन भए मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडाैं धाउन नपर्ने उल्लेख गर्नुभयो।

उहाँले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेर ती क्षेत्रको विकासका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो।

पर्याप्त स्रोतसाधनको अभावका कारण जनअपेक्षा अनुसार काम गर्न केही कठिनाइ भइरहेको उहाँको भनाइ थियो। मधेस प्रदेशको समग्र विकासलाई केन्द्रमा राखेर प्रदेश सरकारले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको पनि मुख्यमन्त्री यादवले बताउनुभयो।

पर्सामा एउटै वडाबाट दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित, स्थानीयमा खुसी

0

वीरगंज । पर्सामा एउटै वडा निवासी दुई जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १० निवासी दुई जना एउटै पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सो वडाका स्थायी बासिन्दा सुशिल साह कानु पर्सा निर्वाचन क्षेत्र नं. २ बाट र रामाकान्त चौरसिया पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दुबै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका यी दुवै जनाले पुराना तथा स्थापित राजनीतिक व्यक्तित्वलाई पराजित गर्दै संघीय संसद्मा प्रवेश गरेका छन्।

पर्सा–२ बाट विजयी भएका सुशिल साह कानुले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय कुमार चौरसियालाई पराजित गरेका हुन् भने पर्सा–३ बाट निर्वाचित रामाकान्त चौरसियाले पनि कांग्रेसका अर्का नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीलाई फराकिलो मतान्तरले हराएका हुन् ।

आफ्नै वडाबाट दुई जना नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वीरगंज–१० का बासिन्दाले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीहरूले अब यी दुबै सांसदले आफ्नो निर्वाचन क्षेत्रसँगै वडा नं. १० को विकासमा पनि विशेष ध्यान दिनुपर्ने अपेक्षा गरेका छन्।

पर्सा–२ बाट निर्वाचित सुशिल साह कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष थिए । उनले आफ्नो कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

त्यस्तै सोही वडाका रामाकान्त चौरसिया लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय थिए । उनले पहिलो पटक सक्रिय राजनीतिमा प्रवेश गर्दै जनताको सेवा गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

स्थानीयवासी राकेश साह कानुले एउटै वडाबाट दुई जना सांसद निर्वाचित हुनु गौरवको विषय भएको बताए । उनले दुबै नेतालाई बधाई दिँदै आफ्नो निर्वाचन क्षेत्रसँगै वीरगंज–१० को समग्र विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।