Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 130

राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई प्रभु साहको माग

0

वीरगंज । हालै सरकारले गरेको राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री सुशीला कार्कीलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आग्रह गरेका छन् ।

अध्यक्ष साहले सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत वक्तव्य जारी गर्दै जेन–जी विद्रोहको जगमा बनेको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्ने निर्णय गर्नु सुशासनको मर्मविपरीत भएको बताएका छन्।

उनले निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले सुशासन र पारदर्शितामाथि धक्का पुग्ने गरी राजनीतिक नियुक्ति गर्नु निन्दनीय र आपत्तिजनक भएको उल्लेख गरेका छन्।

साहले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओम प्रकाश अर्याललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गरिएको विषयलाई पनि लाजमर्दो भएको टिप्पणी गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शिताको उपहास भएको उनको भनाइ छ।

यसअघि पनि जेन–जी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर खुवाएको आरोप लागेको स्मरण गर्दै साहले यस्तो निर्णयले आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको बताएका छन्।

अध्यक्ष साहले जेन–जी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिहरूलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जास्पद भएको बताएका छन्।

उनले प्रधानमन्त्री कार्कीलाई ती दुवै निर्णय तत्काल फिर्ता लिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

0

वीरगंज । वीरगंजस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा सोमबारदेखि दुई दिने वित्तीय साक्षरता (फाइनान्सियल लिटरेसी) सम्बन्धी कार्यक्रम सुरु गरिएको छ। ग्लोबल मनी वीकको अवसर पारेर ज्योति विकास बैंक वीरगंज शाखाले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा कक्षा ९ का ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई वित्तीय ज्ञान, बचतको महत्व, बैंकिङ सेवा प्रयोग गर्ने तरिका तथा डिजिटल बैंकिङबारे जानकारी दिइएको थियो।

कार्यक्रममा ज्योति विकास बैंक वीरगंज शाखाका अधिकृत लक्ष्मण कुमार रौनियार, राहुल बरनवाल र राजा बाबु लगायतले प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रमका क्रममा बोल्दै अधिकृत लक्ष्मण कुमार रौनियारले विद्यार्थीहरूलाई सानै उमेरदेखि नै बचत गर्ने बानी विकास गर्नुपर्ने बताए। उनले आर्थिक रूपमा सचेत भएमा भविष्यमा व्यक्तिगत तथा पारिवारिक जीवन व्यवस्थापन गर्न सहज हुने उल्लेख गरे।

रौनियारले आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार र वित्तीय अनुशासनबारे जानकारी हुनु आजको आवश्यकता भएको पनि बताए।

विद्यालयका प्रिन्सिपल प्रभु प्रसाद रौनियारले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आर्थिक चेतना बढाउने विश्वास व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गरे।

बहाल कर संकलन र स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा वीरगंज महानगरको छलफल

0

वीरगंज । वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ।

महानगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा बहाल कर संकलनलाई प्रभावकारी बनाउने र कर प्रशासनलाई व्यवस्थित गर्ने विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकमा महानगरप्रमुख सिंहले बहाल कर संकलन गर्ने एकल अधिकार स्थानीय सरकारको भए पनि उक्त कर हाल संघ सरकार मातहत रहेको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने परिपाटीका कारण स्थानीय तहको राजश्व गुमिरहेको बताए। उनले संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार बहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

बैठकमा आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको बताए। करदाता सेवा कार्यालय खारेज भएपछि स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने उनको भनाइ थियो।

छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिकाबाटै प्यान नम्बर जारी गर्ने सम्भावनाबारे पनि विचार–विमर्श गरिएको थियो।

बैठकमा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

दलितका मुद्दामा संवेदनशील हुन प्रशासनलाई दलित आयोगकाे आग्रह

0

वीरगंज । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायसँग सम्बन्धित घटनामा संवेदनशील भई प्राथमिकताका साथ काम गर्न प्रशासनलाई आग्रह गरेका छन्।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतसँगको छलफलका क्रममा उनले दलित समुदायका मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा भएको कुटपिटको घटनाबारे सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन उनले प्रशासनसँग माग गरे। नेपालको संविधानमै दलित समुदायको अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै ती व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए कसैले पनि न्यायका लागि भौतारिनु नपर्ने उनको भनाइ थियो।

पुर्कुटीले जातीय विभेदसँग जोडिएका घटनामा कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने बताए। उनले भने, “जातीय विभेदजन्य घटना भएमा जसरी पनि दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ। यसमा राजनीतिक हस्तक्षेप वा कुनै पनि किसिमको दबाब र प्रभाव सह्य हुँदैन।”

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कानुनले कसैलाई पनि काखा र पाखा नगर्ने बताए। दलित समुदायका सवालमा प्रहरी र प्रशासन सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उनले सबै सेवाग्राहीलाई समान रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले दलितका विषयलाई संवेदनशील ढंगले अध्ययन तथा अनुसन्धान गरिरहेको बताए। उनका अनुसार कहिलेकाहीँ राजनीतिक स्वार्थका लागि घटनालाई जातीय विषयसँग जोड्ने प्रवृत्ति देखिने गरेको भन्दै यसप्रति सचेत रहनुपर्ने आवश्यकता रहेको बताए।

महुवन घटनाबारे प्रहरीले उजुरी दर्ता गर्नुका साथै घाउ जाँच (केस फारम) समेत गरिसकेको जानकारी दिँदै उनले छिट्टै अनुसन्धान पूरा गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाइने बताए।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, दलित अगुवा अशोक राउत, मानदेव हजरा, लबकुश बैठा, दलित अभियन्ता मनोज राम, सुरेन्द्र पासवान, उर्मिला महतो लगायतको उपस्थिति रहेको थियो।

यसअघि आयोगको टोलीले सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन पुगेर घटनामा घाइते भएकाहरूसँग भेटघाट गरी घटनाबारे जानकारी लिएको थियो।

जेन्जी सहिद परिवारलाई भेटेर सपथ लिन हिंडे सांसद पन्त

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सपथ ग्रहणका लागि काठमाडौं जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन्।

सोमबार सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग सहिदको घरमै पुगेर भेट गरेका हुन्।

भेटका क्रममा सांसद पन्तले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको बलिदानीको उच्च सम्मान गर्नुपर्ने बताए । उनले जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सहिदहरूको योगदान सधैँ स्मरणीय रहने बताए।

साथै उनले सहिद परिवारबाट एक जनालाई रोजगारी उपलब्ध गराउन अब बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । भेटका क्रममा सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि प्रकट गरेका थिए।

जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते कोटेश्वरमा भएको प्रदर्शनका बेला गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा तथा भाइहरू रहेका छन्।

गुण्डु पुगेर एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति रुपेश पाण्डेयद्वारा समवेदना व्यक्त

0

वीरगंज । नेकपा एमालेका नेता रुपेश कुमार पाण्डेयले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनका पिता माेहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गरेका छन्।

सोमबार दिउँसो भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर नेता पाण्डेयले अध्यक्ष ओलीलाई भेट्दै शोक व्यक्त गरेका हुन् ।  समवेदना व्यक्त गर्दै पाण्डेयले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति आफू निकै दुःखी भएको बताए ।

उनले भने, “अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले हामी अत्यन्त दुःखी भएका छौं । आज चौथो दिन उहाँलाई भेटेर समवेदना प्रकट गरेका छौं।”

स्वर्गीय मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पाण्डेयले यस दुःखद् घडीमा शोकमा रहनुभएका अध्यक्ष ओली तथा सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको गत शुक्रबार निधन भएको थियो । नेता पाण्डेय फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट पर्सा क्षेत्र नं. ३ का उम्मेदवार रहेका थिए।

महुवन कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको चासो, पीडित परिवारसँग भेटघाट

0

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमै पुगेर पीडित परिवारसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिएको हो।

गत फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित समुदायका व्यक्तिहरूले दलित समुदायमाथि कुटपिट गरेको घटनाको सत्यतथ्य बुझ्न आयोगको टोली त्यहाँ पुगेको बताइएको छ।

उक्त घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवी रामको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको बताइएको छ।

घटनाको वास्तविकता पत्ता लगाई पीडितलाई न्याय दिलाउन पहल गरिने आयोगले जनाएको छ। टोलीले यसै सन्दर्भमा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष यशेश्वर प्रसाद यादवसँग पनि छलफल गरेको थियो।

भेटघाटका क्रममा आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा कुटपिट गर्नु कानुनी अपराध भएको स्पष्ट पार्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई कुनै पनि हालतमा सह्य गर्न नसकिने बताएका थिए।

टोलीको भेटका क्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवानलगायतको उपस्थिति रहेको थियो।

वीरगंजमा प्रतिबन्धित ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित दुई जना पक्राउ

0

वीरगंज । पर्सामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब १२:१५ बजे वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सवारी साधन चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले वीरगंज बसपार्कबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको रातो रंगको टाटा सुमो गाडी रोकी जाँच गर्दा प्रतिबन्धित लागु औषध बरामद भएको हो।

प्रहरीले गाडीको छतमा पहेँलो त्रिपालले ढाकी राखिएको हरियो रङको जेब्रा झोला तथा पहेँलो–कालो रङको बोराभित्र लुकाइछिपाइ राखिएको TRAMADOL HYDROCLORIDE CAPSULES IP 50MG लेखिएको ५२ हजार ३०० ट्याब्लेट फेला पारेको जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिह बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले जानकारी दिए । उनले लागु औषधकाे मुख्य काराेबारीकाे खाेजी कार्य भइरहेकाे समेत वताए ।

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बाराका मदरसा तथा यतीमखानालाई कपडा वितरण

0

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत कपडा वितरण कार्यक्रम आयोजना गरेको छ।

कलेजले यस कार्यक्रमअन्तर्गत ५१४ जना बालबालिका, ९३ जना शिक्षक र ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरेको जनाएको छ। वितरण कार्यक्रम कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स र मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हातबाट सम्पन्न भएको थियो।

कार्यक्रममा मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा लगायतका विद्यार्थी र शिक्षकहरूले सहभागिता जनाएका थिए।

उक्त अवसरमा वरिष्ठ प्रशासक विश्वनाथ कान्त, मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंहको पनि उपस्थिति रहेको थियो। कलेजले सामाजिक उत्तरदायित्व र समुदाय सेवा गर्ने आफ्नो प्रतिबद्धता यस कार्यक्रममार्फत देखाएको जनाएको छ।

मनोज चौधरीलाई फसाउने प्रयास भएको भन्दै जनस्तरबाट आवाज उठ्न थाल्यो

0

वीरगंज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका मनोज चौधरीलाई फसाउने प्रयास भएको आवाज जनस्तरबाट उठ्न थालेको छ। निर्वाचनअघि उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरी १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर लामो समयसम्म पनि अनुसन्धानकै नाममा हिरासतमा राखिएको भन्दै विभिन्न व्यक्तिहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । यता अनुसन्धानको नाममा नेतालाई दुःख दिएको भन्दै प्रहरीको आलोचना पनि सुरु भएको छ।

वीरगंजका अधिवक्ता सुरेन्द्र कुर्मीले मनोज चौधरी बम बनाउने वा पड्काउने किसिमका व्यक्ति नभई लामो समयदेखि राजनीतिमा सक्रिय नेता भएको बताएका छन् । जसपा नेपालका केन्द्रिय सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै चौधरीजस्ता विद्यार्थी राजनीतिबाट उदाएका नेता आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने दाबी गरेका छन्। उनले घटनामा षड्यन्त्रको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका युवा नेता राकेश यादवले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मनोज चौधरीलाई आफूले विद्यार्थी नेताको रूपमा चिनेको र उनी बम राखेर हिँड्ने व्यक्ति नभएको बताएका छन्। राज्यले घटनाबारे छिटो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनले माग गरेका छन्।

यस्तै अन्य युवाहरूले पनि नेकपाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई फसाउने षड्यन्त्र भएको बताएका छन् । प्रहरीले चाँडै निष्पक्ष छानबिन गर्नुपर्ने माग भइरहे पनि १३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउँदा प्रहरीको कामकारबाहीमाथि प्रश्न उठ्न थालेको छ।

यसअघि नेकपा पर्साका नेताहरूले पनि आफ्ना उम्मेदवारलाई फसाउने प्रयास भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए।

यता, चौधरीका परिवारजनले चुनावी समयमा ज्यान मार्ने षड्यन्त्र भएको दाबी गर्दै प्रहरीले उल्टै उनलाई हिरासतमा राखेर दुःख दिएको आरोप लगाएका छन् । प्रहरीले भने घटनाबारे अहिले पनि अनुसन्धान नै भइरहेकाे जनाएको छ ।