Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 129

वीरगंजका होटलमा अस्वस्थ कुखुराको मासु प्रयोग: “चिकेन ललिपप” प्रकरणले खाद्य सुरक्षामा गम्भीर प्रश्न

0

वीरगंज । वीरगंजका विभिन्न खाजा होटलहरूमा अस्वस्थ तथा चोट लागेको कुखुराको मासु प्रयोग गरेर परिकार तयार गरिँदै आएको तथ्य सार्वजनिक भएपछि उपभोक्ताहरूमा गम्भीर चिन्ता बढेको छ। विशेषगरी “चिकेन ललिपप” जस्तो लोकप्रिय परिकारमा यस्तो मासु प्रयोग भइरहेको भेटिएपछि खाद्य सुरक्षामाथि प्रश्न उठेको हो।

स्थानीय स्रोतका अनुसार, वीरगंजस्थित Food Garden नामक खाजा होटलमा ग्राहकलाई पस्किएको चिकेन ललिपपमा कुखुराको शरीरमा स्पष्ट रूपमा चोट लागेको भाग फेला परेको छ । उक्त घटना सार्वजनिक भएसँगै होटलको खाद्य गुणस्तर र सरसफाइबारे व्यापक आलोचना सुरु भएको छ।

ग्राहकहरूले यस्तो लापरबाहीले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै सम्बन्धित निकायलाई तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् । चिकित्सकहरूका अनुसार अस्वस्थ कुखुराको मासु सेवन गर्दा विभिन्न संक्रमणजन्य रोग लाग्ने जोखिम उच्च रहन्छ।

यस घटनाले होटल व्यवसायीहरूको जिम्मेवारी र उत्तरदायित्वमाथि पनि प्रश्न खडा गरेको छ । गुणस्तरहीन तथा असुरक्षित खाद्य सामग्री प्रयोग गर्नु उपभोक्ता अधिकारको स्पष्ट उल्लंघन भएको भन्दै सरोकारवालाहरूले कडा अनुगमन र कारबाहीको माग गरेका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायत सम्बन्धित निकायलाई बजार अनुगमन तीव्र बनाउन आग्रह गरेका छन् । दोषी व्यवसायीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

स्थानीय प्रशासनले यस्ता घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिन प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अब ढिलाइ नगरी प्रभावकारी कदम चाल्नुपर्नेमा सर्वत्र आवाज उठिरहेको छ।

वीरगंजमा कुटपिट पीडितको गुनासो: “प्रहरी मौन किन?

0

वीरगंज । वीरगंज १६ नगवा निवासी खुश्बू श्रीवास्तवले आफू र आफ्नो परिवारमाथि भएको कुटपिट घटनामा प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै पटक–पटक आक्रमण हुँदा पनि दोषीमाथि कारबाही नभएको गुनासो गरेकी हुन्।

उनका अनुसार, भारतको बिहार राज्य चनपटियाका स्थायी बासिन्दा भई हाल वीरगंज–१६ मा बसोबास गर्दै आएका केहि व्यक्तिहरूले विना कारण आफू र आफ्नो परिवारमाथि आक्रमण गर्दै आएको आरोप लगाइएको छ।

उनका अनुसार २०८२ असार २९ गते घरमै प्रवेश गरी कुटपिट गर्दा उनका श्रीमानको दाहिने कानको श्रवण शक्ति करिब ७० प्रतिशत गुमेको दाबी गरिएको छ । उक्त घटनाको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुग्दा समेत उचित छानबिन नभएको उनले बताएकी छन्।

न्याय नपाएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा रिट दायर गरिएको र अदालतले आफ्नो पक्षमा आदेश जारी गरेको उनले उल्लेख गरेकी छन् । तर त्यसपछि पनि पुनः घरमै आक्रमण भई श्रीमान र वृद्ध ससुरा घाइते भएको दाबी गरिएको छ।

घटनापछि प्रहरी चौकी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता र अनुसन्धानमा ढिलाइ भएको गुनासाे उनकाे छ । सम्बन्धित निकायले आश्वासन दिए पनि अहिलेसम्म ठोस कारबाही नभएको पीडितको भनाइ छ।

श्रीवास्तवले प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै पीडितमाथि अन्याय हुँदा पनि किन मौन बसेको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन्।

मनोज चौधरी पक्राउ प्रकरणमा सर्वदलीय दबाब, “निष्पक्ष छानबिन गरी तुरुन्त न्याय दिनू”

0

वीरगंज । पर्सा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार चौधरीसँग सम्बन्धित घटनालाई लिएर संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा चैत्र ३ गते बसेको सर्वदलीय बैठकले उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा चौधरीलाई एक असल, मिलनसार तथा सक्रिय राजनीतिक अगुवाका रूपमा उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार २०८२ फागुन १९ गते साँझ वीरगंज फर्किने क्रममा सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडीको डिकीबाट संकास्पद वस्तु फेला परेको भन्दै उनीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर १६ दिनसम्मको अनुसन्धानपछि पनि उक्त वस्तु के हो ? कसले राखेको हो ? र किन राखिएको हो ? भन्ने विषय स्पष्ट हुन नसकेको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन्।

राजनीतिक व्यक्तित्व र प्रतिनिधिसभा उम्मेदवार नै रहेको अवस्थामा आफ्नै गाडीमा विस्फोटक पदार्थ राखेर हिँड्नु अस्वाभाविक देखिने भन्दै विज्ञप्तिमा यस घटनामा षड्यन्त्रको आशंका गरिएको छ । साथै घटनाको भोलिपल्ट अर्को स्थानमा फेला परेको वस्तुसँग जोडेर घटनालाई थप जटिल बनाउने प्रयास भइरहेको संकेत पनि गरिएको छ ।

दलहरूले अनुसन्धानको नाममा समय लम्ब्याएर मनोवैज्ञानिक दबाब सिर्जना गरिँदै निर्दोष व्यक्तिहरूलाई फसाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित निकायलाई ढिलाइ नगरी निष्पक्ष छानबिन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

“ढिलो गर्नु न्याय नदिनु सरह हो,” भन्दै विज्ञप्तिमा अविलम्ब घटना प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्न माग गरिएको छ। साथै आफ्नो सदासयतालाई कमजोरी नठान्न चेतावनी दिँदै अन्यथा अवस्था सिर्जना भए थप कदम चाल्न बाध्य हुने पनि उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा नेपाली काँग्रेसका रामनारायण कुर्मी, नेकपा (एमाले) का सुन्दर कुर्मी, जसपा नेपालका रामनरेश यादव, जसपाका तबरेज अहमद, जनमत पार्टीका ओमप्रकाश सर्राफ, प्रलोपाका अभिताभ बचन दास, राप्रपाका पन्नालाल पटेल, राष्ट्रिय जनमोर्चाका  हिमाल चन्द्र गाैतम, वैज्ञानिक समाजवादी पार्टीका धन बहादुर श्रेष्ठ, पिपुल फस्ट पार्टीका बिरेन्द्र कण्ठ तथा नेपाली कम्युनिष्ट पार्टीका बालगाेपाल थापा र रामदरश कुशवाहाले हस्ताक्षर गरेका छन् ।

यसैबीच यी सबै दलका प्रतिनिधिहरुले घटनाको सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसंंग भेट गरि छ्लफल गरेका छन् । सो छ्लफलमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक लगायतको पनि उपस्थिति रहेको थियो ।

डीएसपी किशोर लम्साल ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

0

वीरगंज । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।

विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै कुनै अप्रिय घटना हुन नदिई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यस्तै, Gen-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार तथा हिरासतबाट फरार प्रतिवादीहरूको खोजी गर्ने क्रममा कार्यालय नजिकैको झाडीबाट Y13487 नम्बरको मार्का–४ राइफल एक थान बरामद गरिएको थियो। साथै विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गर्न समेत उनी सफल भएका थिए।

फागुन महिनामा दर्ता भएका ३५ वटा मुद्दामध्ये Gen-Z आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई सबै फर्छ्यौट गरिएको थियो। आन्दोलनका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालयको भवन, फर्निचर तथा विद्युतीय सामग्री स्थानीय तह, संघसंस्था र स्थानीय बासिन्दासँगको समन्वयमा पुनःनिर्माण तथा व्यवस्थापन गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

यसैगरी, ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको तथा चालु र पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा समेत सक्रियता देखाइएको छ। साथै हालसम्म विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न उनले महत्वपूर्ण योगदान दिएका छन्।

उक्त सम्पूर्ण कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै डीएसपी लम्साललाई “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कालिकामाई–४ बलुवामा लागू औषध विरुद्ध जनचेतना अभियान, विद्यालयमा प्रशिक्षण सम्पन्न

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ४ बलुवामा मंगलबार “लागू औषध विरुद्ध जनचेतना अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कालिकामाई युवा समाजले इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा श्री ने.रा.मा.वि. कट्टिबलुवामा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा युवा समाजका अध्यक्ष आकाश चौरसियाले पछिल्लो समय युवा तथा बालबालिकाहरू लागू औषधको लतमा फस्दै गएको उल्लेख गर्दै पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयमा प्रशिक्षण सम्पन्न गरिएको र दोस्रो चरणमा स्थानीय सरकारसँग सहकार्य गरी अभियानलाई अझ प्रभावकारी बनाउने योजना रहेको बताए।

कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमति देवी बरैनीले लागू औषधको दुष्प्रभावले युवा मात्र होइन, परिवार नै प्रभावित हुने भएकाले यसबाट टाढा रहन आग्रह गरिन्। उनले अभियान सफल बनाउन आफू सदैव सहयोग गर्न तयार रहेको पनि बताइन्।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले लागू औषधको परिभाषा, यसको बेफाइदा, लत लाग्ने कारण, नियन्त्रणका उपाय तथा कानुनी प्रावधानबारे विस्तृत प्रशिक्षण दिएका थिए।

कार्यक्रमका क्रममा विद्यालय आसपासका पसलेहरूलाई लागू औषधसँग सम्बन्धित वस्तु बिक्री नगर्न चेतावनी दिँदै प्रहरीले उल्लंघन भए कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षता तथा उपाध्यक्ष राजमति देवी बरैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव कुर्मी, राधाकिसुन प्रसाद चौरसिया, कट्टी बेस क्याम्पका सहायक प्रहरी निरीक्षक उपेन्द्र यादव, युवा समाजका पदाधिकारीहरू तथा ठूलो संख्यामा शिक्षक–विद्यार्थीहरूको सहभागिता रहेको सदस्य मोहन महतोले जानकारी दिए।

जगरनाथपुर गाउँपालिकामा लामखुट्टे नियन्त्रण अभियान सुरु, सबै वडामा स्प्रे गरिने

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने (स्प्रे गर्ने) अभियान सुरु गरिएको छ। गाउँपालिका कार्यालयले वडा नं. ५ मसिहानीबाट मंगलबारदेखि अभियानको सुरुवात गरेको हो।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले स्प्रे कार्यको उद्घाटन गर्दै गाउँपालिकाका सबै वडामा क्रमशः औषधि छर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले यस अभियानले डेंगु, मलेरिया लगायत लामखुट्टेबाट सर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाबासीबाट लामखुट्टेको प्रकोप बढेको गुनासो आएपछि उक्त अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

साथै, गाउँपालिकाले स्प्रे गर्ने क्रममा झ्याल–ढोका खुला राख्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। बालबालिका, वृद्धवृद्धा तथा पशुपन्छीको सुरक्षामा विशेष ध्यान दिन समेत अनुरोध गरिएको छ।

मनोज चौधरी पक्राउ प्रकरणमा सर्वदलीय बैठक, पर्सा प्रहरी प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मंगलबार वीरगंजमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपाको आयोजनामा बसेको बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउँदै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको राजनीतिक दल तथा नेताप्रति दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै त्यहीँ कारणले मनाेज चाैधरी पक्राउ प्रकरणकाे अनुसन्धान प्रक्रिया ढिलो भइरहेको समेत आरोप लगाएको छ । बैठकको बुझाइमा चौधरी पक्राउ प्रकरणमा अनुसन्धान गर्न र प्रतिवेदन बुझाउन प्रहरीले अनावश्यक ढिलाइ गरेको छ।

बैठकमा बोल्ने नेताहरूले प्रहरी उपरिक्षक पाठक पर्सा प्रहरी प्रमुख भएर आएदेखि राजनीतिक दलका नेताहरूको कुरा नसुन्ने, जनताका समस्या लिएर जाँदा समेत राम्रो व्यवहार नगर्ने गरेको गुनासो गरेका थिए।

पर्साका विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकले प्रहरी उपरीक्षक पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मनाेज चाैधरी पक्राउ प्रकरणकाे सम्बन्धमा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेसन जाने निर्णय पनि गरेको छ।

त्यसैगरी, बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. २ मा उम्मेदवार समेत रहेका मनोज चौधरीले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने भन्दै उनलाई फसाउन षड्यन्त्र गरिएको हुन सक्ने निष्कर्ष निकालेको छ। घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी पर्सा जिल्ला अदालतमा प्रतिवेदन पेश गर्न माग गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए।

बैठकका निर्णयहरू बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने र सोही दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेटेर मागहरू पेश गरिने उनले बताए।

वीरगंजस्थित नेपाल पत्रकार महासंघको सभा हलमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा, बृजलाल पासवान, पिएल श्रेष्ठ, गंगा खड्का, नेकपा पर्साका रामदरश कुशवाहा, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमालेका सुन्दर कुर्मी, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव पानालाल पटेल, जनता समाजवादी पार्टीका तबरेज अहमद, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दास, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला संयोजक धनबहादुर श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाका जिल्ला संयोजक हिमाल चन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो।

फागुन १९ गते नेता चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा उनीसहित नेकपा नेता सत्यनारायण थारु, सुरज कार्की र चालक साहब आलम अन्सारी विगत १५ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। प्रहरीले निर्वाचन र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तेस्रो पटक चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

नेता चौधरीलाई फसाउने षड्यन्त्र भएको भन्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि राजनीतिक दलहरू सक्रिय भएका हुन्।

धनुषामा प्रहरी निरीक्षक मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत कार्यरत यादवले फागुन महिनाभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको आधारमा उनलाई उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको हो।

उनले मिति २०८२ फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला तथा २० गतेको होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरेका थिए। साथै, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

निर्वाचन अवधिभर यादवले जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलमार्फत विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएका थिए। उनले राजनीतिक दलका सभा, जुलुस तथा प्रचार–प्रसार कार्यक्रमहरूलाई व्यवस्थित बनाउन प्रहरी परिचालन गर्दै स्वयं कमाण्डरको रूपमा नेतृत्व गरेका थिए।

त्यसैगरी, मतदानस्थल तथा मतदान केन्द्रहरूको सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक प्रहरी जनशक्ति परिचालन, मोबाइल गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाउने कार्यमा उनको सक्रियता देखिएको थियो। उनले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना गराउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

मतदानका दिन मोबाइल कमाण्डरका रूपमा खटिएका यादवले मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गराउन योगदान दिएका थिए। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन तथा मतगणना स्थलको सुरक्षा व्यवस्थापनमा समेत उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले यादवको लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षताको उच्च प्रशंसा गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जानकारी दिएका छन्।

पूर्वमन्त्री गुप्ताको निवेदनमा सर्वोच्चमा हुने सुनुवाइ स्थगित

0

वीरगंज । कास्कीको लिचीवारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा मंगलबारकाे लागि तोकिएको सुनुवाइ स्थगित भएको छ।

गुप्ताको निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । निवेदक गुप्ताका कानून व्यवसायीबाट सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले यसअघि निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो।

पोखराको लिचीवारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।

रास्वपाबाट पर्साकी सुनिता चौधरी समानुपातिक सांसदमा निर्वाचित

0

वीरगंज । पर्साबाट एक जना महिला समानुपातिक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी ३५ वर्षीया सुनिता कुमारी चौधरी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको समानुपातिक निर्वाचनतर्फ निर्वाचित उम्मेदवारहरूको नामावलीमा चौधरीको नाम ५४ नम्बरमा समावेश गरिएको छ । आयोगका अनुसार उनी समावेशी समूह अन्तर्गत मधेशी कोटाबाट निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रास्वपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा चौधरीको नाम १०१ नम्बरमा रहेको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पर्सामा सबैभन्दा बढी एक लाख ३६ हजार ८९३ मत प्राप्त गरेको थियो । यसपटकको निर्वाचनमा समानुपातिक तर्फबाट पर्साबाट चौधरी एक मात्र सांसद बन्न सफल भएकी छन् ।