Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 128

मधेश प्रदेशमा उत्कृष्ट प्रदर्शन, इप्रका पोखरियाका प्रमुख पौडेल पुरस्कृत

34

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल नगद पुरस्कारसहित सम्मानित भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन सफल भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उनलाई सम्मान गरेको हो।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रणमा लिन उनले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

मधेश प्रदेशभर रहेका इलाका प्रहरी कार्यालयका प्रमुखहरूमध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भई प्रहरी निरीक्षक पौडेल एक्लै पुरस्कृत हुन सफल भएका हुन्। यसले उनको नेतृत्व क्षमता, कार्यकुशलता तथा जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको प्रहरी स्रोतले जनाएको छ।

स्थानीय तहदेखि मतदाता र सरोकारवालासँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न उनले विशेष पहल गरेका थिए। निर्वाचनलाई निष्पक्ष र भयमुक्त बनाउन उनले खटाएको सुरक्षा व्यवस्थापन प्रभावकारी देखिएको थियो।

उक्त सम्मानले प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई थप प्रेरणा मिल्ने विश्वास लिइएको छ। साथै, यसले भविष्यमा पनि जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरणा प्रदान गरेको प्रहरी निरीक्षक पौडेलले वताए ।

रहबरले प्रचण्डलाई भने: “भोट होइन, नेताको चरित्र जाँच्नुस्”

18

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय सांसद रहबर अन्सारी ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भोटभन्दा चरित्र जाँच्न सुझाव दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक दाहालले घण्टीमा मतदान गर्ने केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई कारबाही गर्ने चेतावनी दिएपछि सांसद अन्सारीले त्यसप्रति प्रतिक्रिया जनाएका हुन्। उनले गोप्य मतदान लोकतन्त्रको आत्मा भएकाले यसप्रति शंका नभई सम्मान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत अन्सारीले लेखेका छन्, “साँच्चै सुधार गर्न चाहनुहुन्छ भने आम्दानी बिना विलासी जीवन बाँच्ने नेताहरू, व्यवसायीलाई धम्की दिएर चन्दा असुल्ने सङ्गठित सदस्यहरूलाई कारबाही गर्नुस्।”

उनले थप्दै फाइल ठेक्का लिएर सिंहदरबार धाउने दलालहरू, सरकारी कर्मचारीसँग तेलको कुपन माग्नेहरू तथा कमिसनमा योजना बेच्ने प्रतिनिधिहरूमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्।

अन्सारी यसअघि तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्थे। २०७९ को निर्वाचनमा उनी माओवादी केन्द्रबाट पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

पर्सामा ७५ लिटर घरेलु मदिरा बरामद, सशस्त्र प्रहरीले नष्ट गर्‍यो

14

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरी पर्साले अवैध रूपमा भारततर्फ लैजान लागिएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

शुक्रबार बिहान करिब १०:३० बजे पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ धोवियाटीला स्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर आले मगरको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि चेकजाँच गरेको थियो।

सो क्रममा नेपालबाट साइकिलमा राखेर भारततर्फ अवैध रूपमा लैजान लागिएको करिब ७५ लिटर घरेलु मदिरा फेला परेको थियो। प्रहरी टोलीलाई देख्नेबित्तिकै मदिरा ओसारपसारमा संलग्न व्यक्ति साइकिलसहित फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको करिब ७५ लिटर घरेलु मदिरा (अन्दाजी मूल्य रु. ७,५००) लाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानिय पत्रकार तथा भद्रभलाद्मीहरूको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीको परिसरभित्रै नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

मदिरा नष्ट गर्दा पकाहाँमैनपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर आले मगर, पत्रकार छहु साह तथा प्रहरी सहायक निरीक्षक सन्तोष भण्डारीलगायतको उपस्थिति रहेको थियो।

मधेशी पहिलाे पटक प्रधानमन्त्री बन्ने पक्का भएकाे भन्दै रुपेश पाण्डेयद्वारा बालेनलाई बधाई

22

वीरगंज । नेकपा एमालेका नेता रुपेश कुमार पाण्डेयले बालेन साह नेपालका प्रधानमन्त्री हुने अब पक्का भएको भन्दै खुशी व्यक्त गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेबाट पर्सा क्षेत्र नं. ३ का उम्मेदवारसमेत रहेका नेता पाण्डेयले पहिलोपटक मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले यसलाई ऐतिहासिक राजनीतिक रूपान्तरणको रूपमा व्याख्या गरेका छन् ।

“पहिलोपटक एउटा मधेशी व्यक्ति देशको प्रधानमन्त्री हुँदैछ । यो असली र ऐतिहासिक राजनीतिक रूपान्तरण हो, पुस्तान्तरण मात्र होइन,” उनले भने।

उनले देशी तथा विदेशी सबै पक्षलाई यो यथार्थलाई स्वीकार गर्न आग्रह गर्दै आफू निर्वाचनमा पराजित भए पनि अत्यन्तै खुशी भएको बताए । पाण्डेयले बालेन साहलाई बधाई दिँदै आगामी नेतृत्वप्रति आशा समेत व्यक्त गरेका छन् ।

वीरगंज भन्सार नाकामा २० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ

21

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगंज भन्सार क्षेत्रबाट २० लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत ६ गते बिहान ११:५० बजे जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५बिके ८६०३ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–१७ अलौ निवासी ५० वर्षीय विनय शंकर साह तुरहाले सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याउँदै गरेको नगद फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गरिएको नगदमध्ये नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६०० रहेको सशस्त्र प्रहरीले जनाएको छ। विवरणअनुसार १ हजार दरका १३०२ थान (१३,०२,००० रुपैयाँ), ५०० दरका १४०० थान (७,००,००० रुपैयाँ) र ५० दरको १ थान नोट बरामद भएको छ।

यसका साथै घटनास्थलबाट सामसुङ ग्यालेक्सी A15 मोडेलको एक थान मोबाइल र “वीरगंज भन्सार एजेन्ट संघ, पर्सा” लेखिएको परिचयपत्र समेत फेला परेको छ।

नियन्त्रणमा लिइएको व्यक्ति, नगद र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएकोसशस्त्र प्रहरी वल,नेपाल नं. १३ गण हे.क्वा.पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

चलचित्र पत्रकार संघद्वारा सांसद पन्त सम्मानित

22

वीरगंज । चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

शुक्रवार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष सूर्यनारायण वि.क.सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सूर्यनारायण वि.क.ले चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्न पन्तले विशेष पहल गर्नुपर्नेमा जोड दिए । पर्सासहित समग्र मधेश प्रदेशलाई राज्यले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै चलचित्र पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

पर्साका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै ती क्षेत्रलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले ऐक्यबद्धता जनाएका थिए ।

संघका कार्यसमिति सदस्य जय यादवले बिन्दबासिनी मन्दिर, भाठाधाम मन्दिर र पारसनाथ मन्दिरजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । पर्सा राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सके अर्थाेपार्जन र यस क्षेत्रका नागरिकको जिविकोपार्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

सांसद पन्तले संसदमा र विभिन्न सार्बजनिक मञ्चमा दिने अभिव्यक्तिमाथि सदैव निगरानी रहीरहने बताउँदै यादवले पत्रकारिता पेशामार्फत निरन्तर खबरदारी गराइरहने बताए ।

संघले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने काम गर्दै आएको उल्लेख गर्दै नवनिर्वाचित सांसद पन्तले संघको सक्रियताको प्रशंसा गरे ।

उनले आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता पनि भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत दुवै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “हाम्रो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव, सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो ।

घरेलु हिंसामा घाइते महिलासँग सांसद कानुको भेट, उपचार खर्च बेहोर्ने प्रतिबद्धता

29

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीसँग भेटघाट गरेका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । साथै उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

भेटका क्रममा सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए। “आफ्नो तलबबाट दिएर हुन्छ कि अन्य कुनै माध्यमबाट हुन्छ, उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो,” उनले बताए।

घटनाका बेला आफू काठमाडौँमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको उल्लेख गर्दै उनले जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको जानकारी दिए। “कार्यक्रममा रहेकै बेला पनि मैले पीडितको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको थिएँ। काठमाडौँबाट फर्किनासाथ अस्पताल आएर भेटघाट गरेको हुँ,” उनले भने।

सांसद कानुले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग समेत घटनाबारे जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। “सामान्य घरायसी विवादका क्रममा यस्तो अमानवीय अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले जोड दिए।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले संसद् अधिवेशन सुरु भएपछि यो विषय सदनमा उठाउने प्रतिबद्धता जनाए। साथै पीडित महिलाका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने पनि उनले बताए।

वीरगंजमा “ग्लोबल मनी वीक २०२६” अन्तर्गत प्रभातफेरी, वित्तीय साक्षरतामा जोड

17

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६” को अवसरमा बिहीबार प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

“Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

प्रभातफेरी वीरगंजस्थित नेपाल राष्ट्र बैंक शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघर मा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाएका थिए। बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक का राहुल ओझाले जानकारी दिए।

नेपाल राष्ट्र बैंक वीरगंज शाखाका प्रमुख सुशील पौडेल को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

साथै, यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण सुरु, ४ करोड बजेटमा काम अघि बढ्यो

25

वीरगंज । लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण कार्य बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले एक कार्यक्रमबीच पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले सम्झौताअनुसार निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा हालै सम्पन्न निर्वाचनका कारण निर्माण कार्य केही ढिलो गरी सुरु गरिएको जनाइएको छ।

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत ब्लक ‘सि’ को प्याराफिट निर्माणका लागि काठमाडौंस्थित अन्कुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर शिवचन्द्र यादवका अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नै रंगशालाका लागि बजेट विनियोजन गरेको थियो, जुन हाल निकासा भएपछि काम अघि बढाइएको हो।

हाल जीर्ण प्याराफिटहरू डोजर प्रयोग गरी भत्काउने काम सुरु भइसकेको छ । पहिलो चरणमा पुराना संरचना हटाई नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको जनाइएको छ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले पनि रंगशालाको जीर्ण अवस्थालाई ध्यानमा राख्दै चरणबद्ध रूपमा पुनर्निर्माण गरिने बताए ।

काठमाडौंस्थित दशरथ रंगशाला पछिको दोस्रो ठूलो मानिने नारायणी रंगशाला (करिब ३५ हजार दर्शक क्षमता) लामो समयदेखि मर्मत अभावका कारण प्रयोगविहीन बन्दै आएको थियो।

स्थानीय खेलप्रेमी तथा खेलाडीहरूले करिब एक दशकदेखि पुनर्निर्माणको माग गर्दै दबाबमूलक आन्दोलन गर्दै आएका थिए भने संघीय तथा प्रदेश संसदमा समेत यस विषयमा पटक–पटक आवाज उठाइएको थियो।

वि.सं. २०३८ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि १७ बिघा १० कट्ठा जग्गा अधिग्रहण गरिएको थियो। २०४२ सालमा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाह ले गरेका थिए।

एक समय राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताको केन्द्र बनेको यो रंगशाला मर्मत सम्भार अभावमा पछिल्ला वर्षहरूमा निष्क्रिय जस्तै बनेको थियो। पुनर्निर्माण सुरु भएसँगै अब रंगशाला पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्याब्सनको दोस्रो राष्ट्रिय परिषद बैठकमा पर्सा जिल्ला कार्यसमिति सम्मानित

0

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशबाट एकमात्र पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएको हो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले सम्मानपत्र ग्रहण गरेका थिए। उनलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी तथा प्रमुख सल्लाहकार डिके ढुंगानाले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।

सचिव अशोक संग्रौलाका अनुसार, संगठनका नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै संगठनको गरिमा उच्च राख्न सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गरेको आधारमा पर्सा कार्यसमितिलाई छनोट गरिएको हो। साथै शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्‍याउनुका साथै संस्थागत विद्यालयहरूको हकहित संरक्षण र संगठनको सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको कारण पनि पर्सालाई यो सम्मान प्रदान गरिएको उनले बताए।

पर्सा कार्यसमितिले विद्यालय, शिक्षक तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वयलाई सुदृढ बनाउने प्रयासले जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ।

कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो। परिषद् बैठकले आगामी शैक्षिक नीति, संगठनको रणनीति तथा संस्थागत विद्यालयहरूको चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल गरेको थियो।

प्याब्सन पर्साको यो उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यसले अन्य जिल्लाहरूलाई पनि संगठनात्मक अनुशासन र शैक्षिक गुणस्तर सुधारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।