22.8 C
Birgunj
23 December 2024
KALIKATIMES.COM

नदेखिने विभेद बढेको छ

   – रिमा कुमारी पासवान

मेरो घर वीरगन्ज महानगरपालिका–२७ कुहडीमा हो । म सोनो छँदा जातीय भेदभाव निकै हुन्थ्यो । अहिले भेदभाव कम हुँदै गएको मैले अनुभव गरेकी छु । म अचेल वीरगन्जकै निजी क्षेत्रको गण्डक अस्पताल प्रालिमा अनमीका रूपमा कार्यरत छु । विगतमा बाक्लै जातीय भेदभाव भए पनि अहिले अन्त्य भएको महसुस गरेकी छु ।

बाल्यकालमा म पनि विभिन्न किसिमको भेदभावको सिकार भएँ । विभिन्न किसिमको भेदभाव मैले पनि भोगेको छु । म सानो छँदा हाम्रो गाउँतिर जातीय भेदभाव निकै हुथ्यो । गाउँका उपल्लो जातिका व्यक्तिले सजिलै घरभित्र पस्न दिँदैनथे । उनीहरूको घरमा जान प्रतिबन्ध थियो । उपल्लो जातिको घरमा पुग्दा लखेट्थे । आँगनतिर बस्न पनि दिँदैनथे । उपल्लो जातिको घरमा दलित जातिका व्यक्तिलाई प्रवेश निषेध थियो ।

त्यसैले होला, घरका सदस्यले ठूला जातिको घरमा जान रोक लगाउँथे । गाउँका जमिन्दारले काम गराएको मजदुरी लिन जाँदा घरबाहिरै आँगनमा बसाएर दिन्थे । उपल्लो जातिको घर र खेतमा काम गरेपछि त्यसबापतको ज्याला लिन हामी आफ्ना अभिभावकसँग त्यहाँ जान्थ्यौँ । त्यसवेला उनीहरूले हेला गर्थे । खेतमा काम गरेको मजदुरी लिनलाई घन्टौँ जमिन्दारको घरबाहिर कुर्नुपथ्र्यो । पछि जातीय भेदभाव, छुवाछुत गर्नेलाई कानुनी कारबाही हुने भएपछि गाउँका उपल्लो जातिका व्यक्तिले गर्ने भेदभाव अलि कम भएको हो ।

सानो उमेरमा पढ्दा, खेल्दा, कसैको घरमा आउजाउ गर्दा हाम्रै घरका सदस्यले रोक लगाउँथे । बिस्तारै विद्यालय जान थालेपछि छुवाछुत, भेदभाव, साना–ठूला जातका कुरा कानुनी अपराध हो भन्ने थाहा पाएँ । त्यसपछि जातीय भेदभाव, छुवाछुतको न्यूनीकरण भयो भनेर महसुस हुँदै गयो । सामुदायिक विद्यालयमा पढ्दा कुनै पनि किसिमको भेदभाव नभएको अनुभव मसँग छ ।

घरबाट उपल्लो जातिका मानिससँग बढी नबोल्न र बोलेको कुरा सुनेर प्रतिउत्तर नफर्काउन सिकाएर विद्यालय पठाउँथे । सायद त्यो विभेदको त्रास थियो । तर, आजभोलि विगतमा जस्तो भेदभावबाट पीडित हुनुपरेको अनुभव छैन । विभिन्न किसिमको अधिकारको व्यवस्था, सबै जातजातिको समान हक–अधिकारको व्यवस्था गरेपछि जातीय भेदभावको अन्त्य भएको महसुस भइरहेको छ । त्यसैले होला, स्कुलको भन्दा अनमीको कक्षा लिने समयमा जातीय भेदभावको सिकार झन् कहिल्यै हुनुपरेन ।

विद्यालयमा पढ्दा, जागिरको समयमा कुनै पनि प्रकारको जातीय, छुवाछुत, सानोठूलो जातको सिकार हुनुपरेको छैन । अहिलेको समयमा समाजमा पनि सजिलै सबैले सबैलाई स्वीकार गरेकाले मैले पढेर जागिर पनि पाएकी छु ।

सरकारी अस्पतालमा दुई वर्षपहिले अस्पताल विकास समितिको तर्फबाट नियुक्त भएँ । पछि अस्पताल विकास समितिले नियुक्त गरेको कर्मचारीलाई अस्पताल प्रशासनले खारेज गरेपछि मैले सरकारी अस्पतालको जागिर छोडेँ । अहिले म निजी अस्पतालमा कार्यरत छु । अहिले दिमागमा कुनै पनि किसिमको भेदभाव, छुवाछुत, सानोठूलो जात, तलमाथि केही छैन ।

दलितहरूको समाजिक अवस्थामा मैले व्यापक परिवर्तन भएको महसुस गरेकी छु । विगतमा दलितहरूको सामाजिक अवस्था अत्यन्तै दयनीय र दर्दनाक थियो । खासगरी, मधेसको भूभागमा बसोवास गर्ने राज्यद्वारा सूचीकृत जातजातिहरू दुसाद, चमार, मुसहर, धागड, तत्वा, हलखोर, डोम, मेस्तर आदि जातका थर सुन्नेबित्तिकै आफूलाई उपल्लो जाति भन्नेहरूले नाक खुमच्याउँथे । अमानवीय व्यवहार गर्थे । कतिसम्म भने दलित जातिहरूबाट शरीर छोइँदा सुनपानी छर्केर आफूलाई शुद्ध पार्ने गर्थे । यो व्यवहार र प्रवृत्तिमा अहिले धेरै परिवर्तन आएको छ ।
मान्छेबाट मान्छे छुइनेजस्ता अमानवीय स्रोत र व्यवहारमा व्यापक परिवर्तन भएको मैले देखेकी छु । दलित जातिका मान्छेसँग उठबस गर्नै नहुने खालको व्यवहारमा परिवर्तन आएको छ । आजको अवस्थामा निर्धक्कसँग उठबस गर्ने र विभिन्न व्यवहारसँगै गर्ने, हिँडडुल गर्ने, खाजा खाने अवस्था निर्माण भइसकेको छ ।

म बच्चा हुँदा आँखाको सामु देखेका परिघटना अझै झलझली आउँछन् । सम्झँदा पीडा हुन्छ । दैनिक उपभोगका सामग्री जो प्रकृतिबाट प्राप्त हुन्छ, जस्तो पानीका कारण दलित परिवार निकै प्रताडित थिए । सार्वजनिक उपभोगका लागि जडान गरिएको धारोमा उपल्लो जातिका भएका वेला तल्लो जातिले छुन पाइँदैनथ्यो । एकपछि अर्को गर्दै सबै उपल्लो जातिकाले पानी भरिसकेपछि मात्रै दलितले पानी लिन पाउने बाध्यता थियो । यो व्यवहारमा पनि अहिले पूर्णतः परिवर्तन आएको छ । यस्ता प्रताडनाबाट मुक्ति पाएको अनुभूति मैले गरेकी छु ।
पहिला–पहिला धार्मिकस्थलमा पूजापाठका लागि पनि बन्देज थियो । सामाजिक रूपमा दलितलाई कमजोर पारिएको थियो । त्यसमा पनि तुलनात्मक परिवर्तन आएको छ । यो प्रवृत्तिमा पूर्णतया परिवर्तन नआए पनि तुलनात्मक रूपमा सामाजिक परिवर्तन भने आएको छ ।

घरबाट उपल्लो जातिका मानिससँग बढी नबोल्न र बोलेका कुरा सुनेर प्रतिउत्तर नफर्काउन सिकाएर विद्यालय पठाउँथे । सायद त्यो विभेदको त्रास थियो

मेरै बाल्यकालको अवस्थामा हाम्रो समुदायका व्यक्तिमा राजनीतिक चेतना थिएन । त्यसको प्रत्यक्ष प्रभाव सामाजिक अवस्थामा पर्दै आएको महसुस मैले गरेकी छु । राजनीतिक चेतनाविना आफ्नो अधिकारका लागि लड्न सकिँदैन, अधिकारको आवाज बलियो नभएसम्म टाउको उठाएर हिँड्नसमेत नसकिने कुरा अनुभव गरेकी छु । त्यही संकोचमा थियो, हाम्रो समुदाय । तर, हाल त्यो अवस्थामा पनि परिवर्तन आएको छ । हाम्रो राजनीतिक अधिकार यो तहसम्म रहेको बुझेर अचेल गाउँघरमा हुने सभा सम्मेलनदेखि स्थानीय निकायसमेतमा दलित अगुवाहरूको उपस्थिति हुन पुगेको छ । यसले हाम्रो सामाजिक मानमर्यादामा प्रगति भएको महसुस गरेकी छु ।

त्यति मात्र होइन, विगतको दलित समुदायको इतिहास कोट्याउँदा त आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । सामाजिक अवस्थामा सुधार आउन सकिरहेको थिएन । प्रायः दलितहरू सुकुमबासी थिए । पारिश्रमिकस्वरूप दलित आफ्नो परिवारको पालनपोषण गर्न गाउँका जमिनदारको बधुवा मजदुर भएर काम गर्थे । परिवार पाल्न हुनेखानेको अधीनमा रहनुपथ्र्यो । अरूको अधीनमा रहनुपर्दा हाम्रो समुदायको स्वाभिमान जोगाउन सम्भव थिएन । त्यो स्मरण गर्दा पनि पीडाबोध हुन्छ । तर, आजको त्यो सामाजिक परिवेशमा व्यापक परिवर्तन भएको छ । प्रायः दलित पहिलेको भन्दा अहिले स्वाभिमानका साथ जीवन व्यतित गरिरहेका छन् । आर्थिक उपार्जनका लागि बधुवा मजदुर भई काम गर्नुपर्न बाध्यता कम भएको छ । दैनिक ज्यालादारी गरेरै भए पनि जीविकोपार्जनमा केही सुधार आएको छ ।

दलितहरू प्रायः बंगुरपालन गर्ने भए पनि त्यो खानेचाहिँ कथित उपल्लो जातिकै हुन्थे । तर, सम्पूर्ण नकारात्मक भार दलितले व्यहोर्नुपथ्र्यो । आजका दिनमा बंगुर पाल्ने दलितको संख्या नगन्य छ । बंगुर पालेबापत व्यहोर्नुपर्ने लाञ्छना र हेयभाव आज कम भएको छ । सामाजिक रूपले दलितलाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ । दलित समुदायमा सामाजिक, शैक्षिक र आर्थिक रूपले पहिलेको भन्दा अहिले व्यापक परिवर्तन आइरहेको छ । उनीहरूले पनि सामाजिक सुधार भइरहेको अनुभव गरिरहेका छन् । राजनीतिक, आर्थिक, शैक्षिक र चेतनाको परिवर्तनले गर्दा पहिले जुन दृष्टिले हाम्रो समुदायलाई हेरिन्थ्यो अब त्यसरी हेरिन छोडिएको छ ।

आज गैरदलितलाई लाग्न सक्छ, राज्यले दलितलाई धेरै दियो । तर, मलाई के लाग्छ भने राज्यले बाहिर देखाउनका लागि धेरै दिएको जस्तो गरेको छ, तर यथार्थमा हामीसँग कानुनी बेइमानी गरिरहेको छ । किनभने, पहिलेको जस्तो अन्य गैरदलितबाट प्रत्यक्ष विभेद नभई अप्रत्यक्ष विभेद बढेको छ । दलितलाई निश्चित असवर दिएजस्तो गरेर भित्र–भित्रै षड्यन्त्र जारी राखेजस्तो लाग्छ । दलितलाई राष्ट्रिय रूपमै नेतृत्वदायी भूमिकामा ल्याउनुहुन्न भनेर कुनै गोप्य खेल त भइरहेको छैन ? मलाई शंका लाग्छ । यस्तो किसिमको षड्यन्त्रले दलितहरूमा अहिले देखिएको सामाजिक परिवर्तनमा नकारात्मक असर पर्ने खतरा उत्तिकै देखिएको छु  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एउटै कपीमा तीन दाजुभाइ मिलिजुली लेखेर पढ्ने

कालिका टाईम्स

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.451 sec. Memory consumption:81.67 mb