31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता

Sanjog Thakuri_kalikaties

सन्दर्भ : अन्तर्राष्ट्रिय पुरुष दिवस                                                                                               – सन्जोग ठकुरी                      

न् २०१५ मा संयुक्त राज्य अमेरिकाकी एक महिला एलेना लक्जेमले सुरु गर्नुभएको महिलामाथि हुने यौन दुव्र्यवहारबाट आवाज उठाउनका लागि सुरु गरिएको #MeTooले संसारभरमै ठूलो हलचल ल्याइदिएको छ भने हाम्रो समाज महिलाको निम्ति कति धेरै असुरक्षित रहँदै आएको छ भन्ने कुरा उजागर गरिदिएको छ । यसले वर्षौदेखि दबिएका उत्पीडित महिला, किशोरी र बालिकाहरुलाई आवाज प्रदान गर्यो, आफुले भोगेका समस्याहरुबारे बोल्न बल प्रदान गरेको छ । नेपाल पनि यसको प्रभावबाट अछुतो हुने कुरै रहेन । सांसददेखि लिएर सञ्चारकर्मीका कुरा होस् या नाट्य क्षेत्रमा देखिएको दुव्र्यवहारका घटनाहरु हुन् या विभिन्न स्थानमा दिनानुदिन महिलाहरुले भोग्नु पर्ने यौन दुव्र्यवहारका कुरा नै किन नहुन् क्रमशः मुखरित भए र हुँदै पनि जादैछन् र जानु पनि पर्दछ । महिलामाथि भइरहेको यिनै दुव्र्यवहार पूर्ण व्यवहारको विरोध र विरोधमा एकजुट रहनका निम्ति पुरुषहरुको प्रतिबद्धतास्वरुप यस वर्षको अन्तर्राष्ट्रिय पुरुष दिवसको नारा रहेको छ : महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता ।

संसारभर महिलाको अधिकारको बारेमा कुरा उठिरहँदा सँगसँगै मेन मुभमेन्ट अर्थात् पुरुषको अभियान पनि आउन थाल्यो । पुरुषहरुल पनि एकजुट भएर आफ्ना अधिकार र समस्याका बारेमा कुराकानी सुरु गर्न थाले । पुरुष अभियानलाई खासगरी दुई भागमा बाँड्न सकिन्छ । एउटा पुरुष अधिकार अभियान (Men’s Rights Movement) र दोस्रो उदारवादी पुरुष अभियान (Men’sLiberation Movement) । पुरुष अधिकार अभियान महिला अधिकारकोविरोधमा उभिएको पुरुष अभियान हो ।यो अभियानले दुई कुरालाई खास महत्व दिने गर्दछ । पहिलो महिलालाई पित्तृसत्ताले दिएको जिम्मेवारी महिलाले नै पुरा गर्नु पर्ने र उनीहरुले पुरुषको भाग (काम र शक्तिमा) खोज्न आउन नहुने तर्क अघि सार्दछन् । दोस्रो हो पित्तृसत्ताका कारण विरासतमा पाएका जिम्मावारी र अवसरहरु पुरुषले पुरा गरिरहेका भएर उनीहरुलाई नै बढी सम्मान र अवसर दिइनु पर्ने आवश्यकता औल्याउदछ । उदाहरणका लागि सार्वजनकि यातायातमा महिलालाई मात्र सीट पुरुषलाई चैं खैं ? जागीर वा छात्रवृत्ति जहाँपनि महिलालाई मात्र प्राथमिकता हुँदा हामी पुरुष पछाडि परेका छौं जस्ता विचारले यो अभियानको मर्म बोक्दछ । अब दोस्रो अभियानको विषयमा चर्चा गरौं त्यो हो उदारवादी पुरुष अभियान जसलाई फेमिनिज्मको सहयात्रीको रुपमा पनि हेरिन्छ अर्थात् कोहि पनि व्यक्तिलाई उनको लैंगिक तथा यौनिक अभिमुखिकरणको आधारमा भेदभाव गर्न नहुने विचार यो अभियानले बोकेको छ जुन फेमिनिज्मको पनि मुख्य आधार हो । उदावादी पुरुष अभियानले महिलाले अधिकार माग्ने र पुरुषले दिने भन्ने सोचबाट नभई हरेक मानिस बराबर भएका कारण अवसर, शक्ति, सीपमा समान अधिकार हुन्छ भन्ने सोच राख्दछ । उदाहरणका लागि यो अभियानले शक्तिमा अवसरका कारण पछाडि रहेकोले महिलालाई कोटा प्रणालीबाटै भएपनि अवसर, सीप र शक्तिमा ल्याईनु पर्ने विचार राख्दछ ।

जसरी महिलाको अधिकारको आन्दोलन अघि बढ्यो सँगसँगै पुरुषहरुका पनि यी दुई अभियानहरु अघि बढ्दै गए । हामीले आजको दिनमा खासगरी पश्चिमा मुलुकहरुमा यी दुबै धारका प्रशस्त संस्था तथा अभियानहरु देख्न सक्छौं । भारतमै पनि पुरुष अधिकार अभियानका कार्यहरु भएगरेका देखिन्छन् । नेपालमा संस्थागत रुपमा नआएपनि विचार, लेख, कुराकानी, हाम्रा संस्थागत सोच र संकीर्णता आदिले दैनिक व्यवहारमा पुरुष अधिकार अभियानको भाव प्रशस्त भएको पाउन तपाई हामीलाई गाह्रो छैन । पुरुष अधिकार सम्बन्धी यी दुई अभियानहरुको संघर्षबाट आएको उपज नै अन्तराष्ट्रिय पुरुष दिवस हो ।

के हो अन्तर्राष्ट्रिय पुरुष दिवस
पुरुष दिवसको विषयमा ६० को दशकबाटै कुरा उठ्न सुरु गरेको र सुरुवाती ताका यसलाई फेब्रुअरी २३ तारिखको दिनमा मनाउन थालिएको देखिन्छ । तर केहि समयपछि यसको निरन्तरता घटेपश्चात पुनः सन् १९९९ मा ट्रिनिडाडएण्ड टोबागो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तिलकसिं (Jerome Teelucksingh) ले १९ नोभेम्बरलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए । दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने गतवर्ष सन् २०१८मा “हामी दाजुभाइ” को सक्रियतामा मनाउन सुरु गरिएको हो ।विश्वमा चिन, अमेरिका, अष्ट्रेलिया, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ ।

पितृसत्तात्मक समाजमा महिलाले आफुमाथिको हिंसा जन्मपछि मात्र नभएर जन्मनु अघि गर्भबाटै भोग्न सुरु गर्दछ । गर्भमा छोरी भएकै कारण गर्भ नै तुहाउने होस् या छोरी भएकै कारण घरका काम गर्नु पर्ने बाध्यता, दिनानुदिन समाचारमा आइरहने बलात्कार र एसिड आक्रमणका घटना हुन् या विशिष्ट तथा सार्वजनिक पद ओगटेका मानिसहरुबाट महिलामाथि दुव्र्यवहार र हिंसा भए गरेका सूचनाहरु हुन् हाम्रो समाजमा महिला तथा बालिकाहरु लैंगिक असमानताका कारण सामाजिक र संरचनागत रुपमै कमजोर पार्नका निम्ति यथेष्ट प्रयासहरु नीति, मान्यता, संस्कार, धर्मका नाममा भएगरेका छन् । पित्तृसत्ताले पुरुषलाई शक्तिको केन्द्रविन्दुमा राख्दछ तसर्थ लैंगिक समानताका लागि पुरुषहरुको पनि ऐक्यवद्धता र संलग्नताले लैंगिक समानता हासिल गर्ने हाम्रो लक्ष्य चाँडो र सजिलोसँग प्राप्त हुनेछ । लैंगिक असमानताले पुरुषलाई पनि समस्यामा पारेको छ जसबाट उनीहरुले पनि छुटकारा पाउने छन् । यसबारेमा चर्चा र छलफल गर्ने अन्तर्राष्ट्रिय पुरुष दिवस एउटा महत्वपूर्ण अवसर हो । आजपनि तपाई आफ्ना नानीको लागि भने किण्डर ज्वय नामक चकलेट किन्न जानु भयो भने केटा र केटिका लागि छुट्टाछुट्टै पाईन्छ जसमा केटाका निम्ति आर्मी, प्लेन जस्ता खेलौना पाइन्छ भने केटीका लागि पुतली, उनका लुगा जस्ता कुराहरु तयस चकलेट भित्र हुने गर्दछन् । विश्व चर्चित दाह्री काट्ने मेशिन जिलेटले कसरी हामीहरुले पुरुषको पौरखलाई गलत रुपमा बुझेका छौं भनी एउटा विज्ञापन बनाउँदा यसको विरोधमा कैयन् पुरुषहरु उठे । यो लेख लेख्दा सम्म उक्त भिडियोलाई लाईक गर्ने ८ लाख छन् भने मननपराउने १५ लाख ।

विश्वमा ५ महिलामध्ये एकले जीवनमा यौन दुव्र्यवहार भोग्ने गर्दछन् भने ३ मध्ये एकले हिंसा । यो एउटा डरलाग्दो तथ्यांक हो । त्यस्तैगरी संसारभर १ करोड २० लाख बालिकाहरुको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । जसको अर्थ प्रतिमिनेट २३ जना र प्रति २ सेकेन्डमा १ जना बालिका दुलही हुने गर्दछिन् । नेपाल आफैं पनि दक्षिण एसियामा बाल विवाह उच्च भएको तेस्रो ठूलो देश हो । एक समाचारमा उल्लेख भए अनुसार नेपाल प्रहरिकै तथ्यांकले अन्दाजी प्रति महिना १८५ र प्रतिदिन ६ वटा बलात्कारको घटना प्रहरिकोमा दर्ता हन्छ । तर परिवार र समाजको दबाब तथा लाञ्छना, न्याय पाउने अविश्वासका कारण यस्ता घटना या त दर्ता हुँदैनन् या त बीचमै पीडितले छाडिदिन्छन् जसले पीडकको मनोबललाई थप शक्ति प्रदान गर्छ । महिलामाथि हुने यस्ता हिंसामा पुरुषहरुको संलग्नता अत्याधिक हुने गरेको छ । पछिल्लो समयमा नेपालमै पनि समाचारमा आइरहने बलात्कार, एसिड आक्रमण, सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता अपराधमा किशोरहरुको संलग्नता देखिनु आफैमा दुःखद विषय हो ।

पित्तृसत्ता र पुरुसत्व जस्ता विषयले जसरी महिलालाई गाँजेको छ त्यसै गरी पुरुष र बालकहरु पनि यसका कारण समस्यामा छन् । तसर्थ लैंगिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यबद्दता, लैंगिक असमानताका कारण पुरुष र बालकमाथि परेको असर र समाजमा पुरुष र बालकहरुले गरेका सकारात्मक कामहरुको बारेमा चर्चा गर्ने उद्देश्यले तथा नेपाल सरकारले वि.सं. २०७६ लाई “लैंगिक हिंसा विरुद्ध अभियान वर्ष”घोषणा गरेको सन्दर्भमायसवर्ष महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन लागिएको छ ।गत वर्ष यौन दुव्र्यवहारमा बालक पनि पर्दछन् भन्ने नाराका साथ पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको थियो । जसरी महिला दिवस हाम्रा आमा, दिदी, वहिनीप्रतिको सम्मानको दिवस हो त्यसरी नै पुरुष दिवस हाम्रा जीवनमा देखिएका असल पुरुषहरुप्रतिको सम्मानको दिवस हो । महिला आन्दोलन र महिला अधिकारलाई वेवास्ता गर्ने दिवस पुरुष दिवस हुन सक्दैन न त वास्तविक अर्थमा पुरुष नै हुन सक्दछ । पूर्व प्रधानान्यायधिस कल्याण श्रेष्ठले गतवर्षको पुरुष दिवसको कार्यक्रममा भन्नु भएको थियो, “महिलामाथि हिंसा र अन्याय गर्ने मानिस पुरुष हुनै सक्दैन । ती त मात्र अपराधीहरु हुन् ।”

लेखक अन्तर्राष्ट्रिय पुरुष दिवस २०१९ का राष्ट्रिय संयोजक तथा हामी दाजुभाइ नामक संस्थाका अध्यक्ष हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:4.210 sec. Memory consumption:81.72 mb