Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 584

सडक फोहोर गर्ने ग्लोबल आईएमई बैंकलाई ५ हजार जरिबाना

0

वीरगंज । वीरगंज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्न थालेको छ । सडकका ठाउँठाउँमा खटिएका नगर प्रहरी र सफाईकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिबाना तिराउने गरेका छन् ।

सडकमा जथाभावी फोहोर फाल्नेमा यहाँका वित्तीय संस्था अघि देखिएका छन् । मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिबाना तिराईएको छ । पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

यस्तै शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ, महालक्ष्मी फ्लावर पसल र शंकर साह ज्वेलर्सलाई ५/५ सय रुपैयाँ जरिबाना गरिएको पनि संयोजक खेतानले बताए ।

फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको पनि उनले जानकारी दिए । पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिबाना गर्न लागिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् ।

‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिबाना तिराउन थालेका हौँ ।’

अहिले दैनिक जसो वित्तीय संस्था र पसललाई जरिवाना तिराइँदै आएको छ । हिजो साेमबार मात्रै कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना तिराइएको थियो । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

अहिले नगर हरियाली र सफा बनाई राख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ ।

मानव बेचबिखनकाे अभियोगमा रानिपाेखरी हाेटलका मेनेजरसहित ३ जना पक्राउ

0
वीरगंज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जनालाई पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित रानीपोखरी होटलमा मानव वेच विखन तथा ओसार पसार जन्य कार्य भैरहेको छ भने सूचनाको आधारमा आइतबार राति १०:०० बजेको समयमा पुगेकाे प्रहरीले हाेटलका मेनेजरसहित ३ जनालाई पक्राउ गरेकाे हाे । 
 
प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.८ घर भई रानीपोखरी होटलमा मेनेजरको काम गर्ने ५४ बर्षिय अनिल कुमार अरोडा, जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं.११ घर भई रानीपोखरी होटलमा वेटरको काम गर्ने ३७ बर्षिय रमेश कुमार श्रेष्ठ र जिल्ला लम्जुङ राईनास नगरपालिकाकाे वडा नं.४ बस्ने ३२ बर्षिय डोलनाथ कट्टेललाई पक्राउ गरेकाे हाे ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हाेटलमा कानून बमोजिम चेकजाँच गर्दा होटलको १०८ नं. कोठामा बारा घर बताउने २५ वर्षको महिला र पक्राउ परेका डोलनाथ कट्टेल आपतिजनक अवस्थामा फेला परेका थिए ।
 
उक्त महिलालाई प्रारम्भिक सोधपुछ गर्दा हाेटलका मेनेजर अराेडा र वेटर श्रेष्ठले आफ्नो कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाई दिने र एक रातकै नगद रू.४ चार हजार दिलाई दिने भन्ने झुठ्ठा आस्वासन प्रलोभन समेत देखाई आफ्नो मन्जुरी नहुदा नहुदै मलाई वेश्यावृती गर्न वाध्य पारेकाे वताएकी छन् ।
 
 उनकाे मंजुरी विना उक्त कार्य मानव वेचविखन तथा ओसार पसार सम्बन्धिको कसूर देखिएको हुँदा उल्लेखित कार्यमा संलग्न तीनै जनालाई कानून बमोजिम नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका पवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डलाई प्रचण्ड बहुमत

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र ३२, नेपाली कांग्रेस ८५, नेकपा एमाले ७९, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १३, जनता समाजवादी पार्टी १२, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र ३ सांसदहरु विश्वासकाे मत दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र सांसदहरु अमरेश कुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

मतदानमा २७० सहभागी थिए । त्यसमध्ये २ मत मात्रै विपक्षमा मतदान गरेका थिए । प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो । उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

स्राेत नखुलेको १२ लाख नगदसहित वीरगंजका राजन पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले स्राेत नखुलेको १२ लाख २० हजार रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साह रहेका छन् ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २५ सिर्सिया स्थित सडकखण्डमा बि.आर. ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल सहित राजनलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

पर्सागढीमा दुई महिने सिलाई कटाई तालिम सुरु

0

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा दुई महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । पर्सागढी नगरपालिकाको सहयोग र परिवर्तन अभियान नेपाल, पर्साकाे आयाेजनामा मेडपा परियोजना अन्तर्गत तालिम संचालन गरिएकाे आयाेजकले जनाएकाे छ ।

एक कार्यक्रमका बिच आइतबार तालिमकाे उद्घाटन पर्सागढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष विरेन्द्र प्रसाद महताेले गरेका थिए ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथी वडाध्यक्ष महताेले तालिमबाट महिलाहरुलाई राेजगार सृजना हुने र आत्मनिर्भर हुने वताए । उनले महिलाहरूको आयश्रोत बढ्नुकाे साथै महिलाको समाज र परिवारमा भूमिका बढने वताए ।

परिवर्तन अभियान नेपाल पर्साका अध्यक्ष मनोज कुमार यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी विक, राधिका दास चौधरी, अजय पंजियार, गाउँपालिकाका आइटी अफिसर केशव प्रसाई लगायतकाले मन्तव्य राखेका थिए ।

महिलाहरुकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक कविता चौधरीले प्रशिक्षण दिइरहेकाे आयाेजक संस्थाका अध्यक्ष मनाेज यादवले जानकारी दिए ।  

१०५ अभिभावक उपस्थित भेलामा ८१ जना अध्यक्षका उम्मेदवार

0

वीरगंज । श्रीराम चारित्रभगत माध्यमिक विद्यालय पकहा मैनपुरको विद्यालय ब्यवस्थापन समिती गठनका लागी भएको अभिभावक भेला सहम्मती नजुटदा अनिश्चितकालका लागी स्थगित भएको छ । अभिभावक भेलामा सहम्मती जुटन नसकेर स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले जानकारी दिए ।

विद्यालय प्राङ्गणमा भएकाे भेलामा १ सय ५ जना अभिभावक मध्ये ८१ जनाले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्षका लागी उम्मेदवारी दिएपछि सहमती जुटन नसकेकाे प्रधानाध्यापक साहले वताए ।

पकहा मैनपुर गाउँपालिका अन्तर्गत रहेका १ देखी ५ वडाका ८१ जनाले उम्मेदवारी घोषणा गरेका थिए । घोषणा गरेका परत्येक वडाका उम्मेदवारहरुलाई वडा स्तरमा पहिला सहम्मती जुटाउन समय दिइएको थियो । वडा स्तरिय उम्मेदवारहरुमा नै सहम्मती नजुटेका कारण स्थगित गरिएको थियाे ।

वडा नम्बर १ बाट सतिस मेहता, सिन्धु मेहता, लालबाबु सहनी, कौशलकिशोर साह, राजकुमार सहनी, वडा नम्बर २ बाट हरिचन्दर पटेल, उमेश कुमार महतो, लक्ष्णदेव साह, वडानम्बर ३ बाट रामनाथ परसाद साह, खुबलाल राउत कुर्मी, रमछत्री चौहान, अनिरुद चौहान, सुकदेव महतो चाई, दिनेश साह कानु, वडानम्बर ४ बाट अनिल परसाद तेली, अयोध्या चौहान, राजेश कुमार कुर्मी, गोबिन्द यादव, मकसुल अन्सारी, बृजकिशोर यादव लगायत ८१ जनाले उम्मेदवारी दिइएका थिए ।

१६ सय तीन बिधार्थी संख्या रहेको विद्यालयमा ब्यवस्थापन समिती गठनका लागी १ सय ५ मात्रै अभिभावकको उपस्थिती रहेको थियो ।  ९ बर्ष अगाडी देखी विद्यालय ब्यवस्थापन समिती बिहिन रहेको विद्यालयमा आवश्यक धेरै कुरा गर्न नसकिएको शिक्षकहरु बताएका छन ।

सहम्मती नभए कुनै न कुनै माध्यमबाट विद्यालय ब्यवस्थापन समिती गठन हुनु पर्ने अभिभावकहरुको मांग रहेको छ । ग्रामिण भेगको सबै भन्दा पुरानो विद्यालयमा शिक्षाको स्तर गुणस्तरिय बनाउन बिद्यालय ब्यवस्थापन समिती आवश्यक रहेको बुद्धीजीवीहरुले बताएका छन ।

प्रधानाध्यापक साहकाे अध्यक्षतामा भएकाे भेलामा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, उपाध्यक्षका प्रतिनिधि नसुरुल्लाह मियाँ, वडानम्बर १ का वडाध्यक्ष बिनोद मेहता, २ का वडाध्यक्ष मुकुट चौहान, ३ का वडाध्क्ष संजय चौहान, ४ का वडाध्यक्ष ढेडी यादव, ५ का वडाध्यक्ष बलिराम चौरसिया सहित अभिभावक, बुद्धिजीवीहरु, शिक्षाप्रेमी, समाजसेवी, चान्दा दाता तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

वीरगंजका हाेटलहरु पनि राति १२ बजे सम्म संचालन गर्न पाउनु पर्ने माग

0
वीरगंज । होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्त्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।
 
कोरोना काल पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगरपालिका तथा देशका महत्वपूर्ण पर्यटकिय स्थलहरुमा होटेल तथा पर्यटन व्यवसायहरु चौबीसै घन्टा खुल्ने अनुमति दिरहेको सन्दर्भमा पर्सा जिल्लामा पनि हाललाई कमसेकम रातको १२:०० बजे सम्म मात्र भएपनि होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंजले माग गरेकाे छ ।
 
ज्ञापन पत्र बुझाउन हाेटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, सचिब सन्दिप बस्नेत, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सह कोषाध्यक्ष हिरा श्रेष्ठ, होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ, कलार्क सिसोर्ट होटेलका सुनिल खेतान, होटेल नारायणीका शेखर चौधरी, होटेल अन्नपूर्णका आनन्द चौरसिया, माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायतका पुगेका थिए ।
 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ब्यबसायिहरुको समस्या तुरुन्तै सम्बोधन गर्न आश्वसन दिए । त्यसका लागि सहयक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिनालाई संयाेजक समेत तोकिदिएकाे जनाइएकाे छ ।
 
निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राती १२ बजेसम्म हाेटल खुल्न दिन्नकाे लागि कार्यविधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको संयाेजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, ससश्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय जनाइएकाे छ ।

सडकमा फोहोर फाल्ने कृषि बैंक र गगन बचतलाई जरिवाना

0

वीरगंज । सडकमा जथाभावी फोहोर फाल्ने वीरगंजका २ वटा वित्तीय संस्थालाई सोमबार जरिबाना तिराईएको छ । वीरगंजलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कारबाही अभियान अघि बढाएको महानगरले सोमबार २ वटा वित्तीय संस्थालाई कारबाही स्वरुप जरिबाना तिराएको हो ।

महानगरले लिंक रोडमा रहेको कृषि विकास बैंकलाई १ हजार रुपैयाँ र गगन बचत तथा ऋण सहकारी संस्थालाई २ हजार ५ सय रुपैयाँ जरिबाना तिराईएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । पहिले सचेत गराउँदै आए पनि फोहोर जथाभावी फाल्न नछाडेपछि कारबाही गर्न लागिएको हो ।

यस अघि महानगरले कुमारी बैंक तथा अन्य २ वटा पसललाई जरिवाना तिराई सकेको छ । महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

वीरगंजलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ । सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका खगराज नियुक्त

0

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।

केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।

एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि जनाएका थिए । गण्डकीमा माओवादीले सभामुख पाएकाे छ ।

मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज संघमा स्वास्थ्य मन्त्री र १३ दिने गृहमन्त्रीसमेत भइसकेका नेता हुन् । खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न ३ वटै दलका सांसद र दीपक मनाङेसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै आजै सपथ खुवाउने गरी तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । गण्डकी प्रदेश सभामा ५ दल सहभागी छन् ।

एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ (दीपक मनाङे) चुनावपछि प्रवेश गरेका थिए । तर, उनले अन्तिममा स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गरेका हुन् ।

विश्वका १० देशमा सञ्चालित लिटल बड्डी प्रिस्कुलको शाखा वीरगंजमा

0

वीरगंज । वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय सञ्चालनमा आउने भएको छ । नेपालसहित विश्वभरी १० वटा देशमा शाखा रहेको लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलको शाखा वीरगंजमा सञ्चलनमा आउने भएको हो ।

विद्यार्थीहरुको जग बलियो बनाउने र व्यावहारिक सिकाईमा जोड दिने अभिप्रायले स्थापित प्रिस्कुलको शाखा वीरगंजमा सञ्चालन गर्न पाउँदा लिटल बड्डीका नेपाल प्रमुख युवराज दाहालले खुशी व्यक्त गरे । वीरगंजमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै दाहालले आगामी माघ १२ गते सरस्वती पूजाको अवसरमा प्रिस्कुल सञ्चालन गर्ने जानकारी दिए ।

जग बलियो भएपछि मात्रै घर बलियो हुने भएकाले विद्यार्थीहरुको पनि पूर्व प्राथमिक तहको शिक्षालाई बढी प्राथमिकताका साथ लिनुपर्ने मानसिकताको विकासका लागि वीरगंजमा शाखा बिस्तार गरिएको दाहालको भनाई छ ।

‘हाम्रो समाजमा पूर्व प्राथमिक तहको शिक्षालाई त्यति महत्व दिइँदैन, जबकी जोड दिने र धेरै कुरा सिक्ने तथा बुझ्ने भनेकै यही समयमा हो’, उनले थपे, ‘यही मानसिकताको विकास गर्ने र विद्यार्थीहरुको जगलाई बलियो बनाउने हाम्रो मुख्य उद्देश्य हो ।’

दाहालका अनुसार यस प्रिस्कुलमा सयुँक्त अधिराज्य (यूके) को पाठ्यक्रममा आधारित पठनपाठन गराइनेछ । विद्यार्थीहरुलाई पिट्ने, डराउने र कराउने जस्ता गतिविधिबाट टाढै राखेर खेल्दै रमाउँदै पनि सिकाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने योजना प्रिस्कुल परिवारको छ ।

केही दिनभित्रै शिक्षक तथा कर्मचारीको लागि दरखास्ता आह्वान गर्ने जानकारी दिँदै छनौट भएका शिक्षकहरुलाई भारतसहित अन्य देशमा पनि लिएर अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत तालिम दिई अध्यापन गराइने दाहालले बताए ।

प्रधान कार्यालय लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रिस्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । नेपालको मकवानपुर जिल्लामा विगत ३ वर्षदेखि शाखा सञ्चालनमा छ ।

दाहालले भने, ‘अरु स्कुलहरुले सरस्वती पूजाको अवसरमा छुटमा विद्यार्थी भर्ना गर्छन्, तर हाम्रो हेटौडाको शाखामा अहिले नै विद्यार्थी संख्या धेरै छ । हामी गुणस्तरमा विश्वास गर्छाै, त्यही विश्वास अभिभावकलाई पनि दिलाउनेमा हामी विश्वस्त छौँ ।’

पिजिदेखि युकेजीसम्मको पठनपाठन हुने प्रिस्कुल वीरगंज पानीटंकीमा सञ्चालनमा आउने लिटल बड्डी वीरगंज प्रमुख बिजय कुमार बलले बताए । उनका अनुसार अहिले आन्तरिक व्यवस्थापनको काम भइरहेको छ । वीरगंज शाखा सञ्चालन गर्न कम्तीमा २५ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गर्ने पनि बलले जानकारी दिए ।

विद्यार्थीहरुलाई २ पटक स्वास्थ्यबर्धक खाजाको व्यवस्थासहित अभिभावकले सिसि टीभि क्यामरामार्फत घरैबाट विद्यार्थीको निगरानी गर्न सकिने व्यवस्था पनि हुने उनले बताए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले अन्तर्राष्ट्रिय स्तरको प्रिस्कुल वीरगंजमा सञ्चालन हुने भएकोमा खुशी व्यक्त गरे ।