Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 540

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

0

काठमाडौँ । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुसी बस्न थालेपछि मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । रमाना भएका तर तोकिएको ठाउँमा नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुल गरिने समेत उक्त परिपत्रमार्फत मन्त्रालयले जनाएको छ ।

यसैगरी सरुवा भएको सात दिनभित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय गरिने जनाइएको छ । हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर सात दिनभित्र उक्त जानकारी मन्त्रालयमा गराउन उक्त परिपत्रमार्फत भनिएको छ ।

मन्त्रालयको निर्णय कार्यान्वयन नगर्ने÷नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई समेत निजामती सेवा ऐन, २०४९ को दफा ६० (क) बमोजिम विभागीय सजायसम्बन्धी कारबाही गरिने मन्त्रालयले जनाएको छ । रासस

प्रभु हस्पिटलमा वीरगंज ८ का महिलालाई भिडियाे एक्सरेमा छुट

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे काे व्यवस्था गरिएकाे हाे ।

यसको लागि वीरगंज महानगरपालिका वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ । वडा नम्बर ८ को कार्यालयमा शुक्रबार बिहान भएको सम्झौता पत्रमा वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता र वडा सचिव राजकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।

प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता र डाक्टर लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा वीरगंज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिफारिस गरेको आधारमा वडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पाउने छन् । यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने सम्झाैतामा उल्लेख गरिएको छ ।

अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने र अल्ट्रा साउण्ड गरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर ८ कार्यालयमा बिल पेश गर्नुपर्नेछ । यसको लागि वडा कार्यालयले २ लाख रुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताए ।

सम्झौतापछि बोल्दै वडा अध्यक्ष रितेश गुप्ताले स्वास्थ्य उपचारकै अभावमा गर्भवती महिलाहरुलाई समस्या नहोस भनेर निःशुल्क भिडियो एक्स–रे को पहल गरेर प्रभु हस्पिटलसँग सम्झौता गरिएकाे वताए । स्वास्थ्यकर्मी रमण झाले गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे अति आवश्यक रहेपनि कसैले त्यो सुविधा नदिएको जानकारी गराएको र उनकै कुराबाट प्रभावित भएर आफूले अल्ट्रा साउण्ड सेवा दिने पहल गरेको बताए ।

रमण झा अहिले भौतिक रुपमा नरहेपनि उनको कुरा गर्भवती महिलाहरुका लागि निकै महत्वपूर्ण र गम्भीर विषय भएकाले नै यसमा वडाले कार्यक्रमलाई अगाडि बढाएको बताए ।

प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज गुप्ताले महिलाहरुको स्वास्थ्य जटिलता गर्भवतीको समयमा नै हुने भएको र पेटमा भएको बच्चाको स्वास्थ्य अवस्था जान्नका लागि भिडियो एक्सरे अनिवार्य रहेकोले पनि वडा कार्यालयले अगाडि ल्याएको कार्यक्रमले वडाका गर्भवती महिलाहरुलाई फाइदा हुने बताइन ।

उनले सरकारी अस्पतालमा गर्भवती महिलाहरुको चाप उत्तिकै हुने र समय पनि लाग्ने हुँदा निजी अस्पतालहरुमा वडा कार्यालयको पहलमा सेवा दिन पाउँदा निकै खुशी लागेको र सरकारी अस्पतालको भन्दापनि कम शुल्कमा गुणस्तरीय सेवा पाउने विश्वास दिलाइन ।

वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर लक्ष्मी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगंज महानगरपालिकाकी स्वास्थ्य शाखा संयोजक इन्दिरा लोहनी, वडा सदस्य गफार मिया, अभियन्ता दिलिप राज कार्की, सन्चारकर्मी लगायत उपस्थित रहेकाे थियाे ।

जितपुरमा पिकअपकाे ठक्करबाट कालिकामाईका नुनियाकाे मृत्यु

0

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे आज विहान मृत्यु भएकाे छ । पिकअपकाे ठक्करले बसमा सवार यात्रु पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महताे नुनियाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंजबाट काठमाडाैंकाे लागि जादै गरेकाे ना ६ ख ९३६१ नम्बरकाे बसमा सवार नुनियाकाे विपरित दिसाबाट आउँदै गरेकाे प्रदेश २ -३ -००१ -च -२४५२ नम्बरकाे पिकअपले ठक्कर दिदाँ मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

बसमा सवार नुनियाले झ्यालबाट टाउकाे निकालेका कारण र पिकअपकाे गति तिब्र रहेकाेले दुर्घटना भएकाे उनले वताए । यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराकाे सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे प्रवक्ता पाण्डले वताए ।

पटेर्वासुगौली गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

0

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका दुई वटा वडा पूर्ण खोपयुक्त घोषणा भएसँगै पालिका पूर्ण खोपयुक्त घोषणा भएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय रामपुरको प्राङ्गनमा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । 

‘स्थानीय स्वामीत्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । वडा नम्बर २, ४ र ५ लाई गत आर्थिक वर्षमै घोषणा गरिएको थियो भने बाँकी रहेका वडा नम्बर १ र ३ सँगै पालिकालाई बिहिवार घोषणा गरिएको पटेर्वासुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना वि.क.ले जानकारी दिइन् । 

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले नेपाल सरकारले सूचिकृत गरेका सबै किसिमका खोपहरु पालिकामै लगाइने बताए । खोप नलगाएकै कारण कोही पनि बालबालिकाको स्वास्थ्यमा खराबी नआउने चौधरीको दावी छ । स्वास्थ्यका क्षेत्रमा पालिकाले प्राथमिकताका साथ काम गरीरहेको बताउँदै उनले आगामी आर्थिक वर्षमा पनि स्वास्थ्य सम्बन्धी जनमुखी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साह, स्वास्थ्य निरीक्षक जयमोद ठाकुर, गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडाअध्यक्षहरु फरमान मियाँ अन्सारी, बिजय गैह्रे, माधव राउत थारु, बासु पंजियार, विपिन मुखिया बिन लगायत जनप्रतिनिधि एवम् कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाका स्वास्थ्य शखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए । 
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

स्थानीय तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

0

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रवर्द्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

बिहिबार महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गरेका हुन् ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उनले सीप बढाउन, स्थानीय सीप अनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गरे ।

“जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ” रिजालले भने, “स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।” प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणा अनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले अब दलहरुका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरूपको काम देखिनुपर्ने उल्लेख गरे ।

“अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरूको प्रयत्न देखिनपर्छ” रिजालले भने, “अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ ।”

एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पारे । “जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनपर्छ”, रिजालले भने, “सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन ।” भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उनकाे भनाइ छ ।

वीरगंजमा “मातृभाषा में शिक्षा के सन्दर्भ” विषयक विमर्श गोष्ठी सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताएका छन् ।

भोजपुरी प्रतिष्ठान वीरगंजकाे आयोजना र  भाषा आयोगको सहकार्यमा बिहिवार वीरगंजकाे क्लासिक होटेलमा सम्पन्न “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो बताएका हुन् ।

 त्यस्तै कार्यक्रमको प्रमुख अतिथी भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने ठोकुवा गरे । स्थानिय भाषामा पठन पाठन लागु गर्न स्थानिय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यता रहेको कुरामा डा. ठाकुरले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै वीरगंज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने भएको हुँदा आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्ने धारण राखे ।

त्यसैगरी भाषा आयोगका सदस्य गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताए । उनले  काठमाडौं महानगरपालिकामा मातृभाषा ११५ जना शिक्षक दरबन्दी कायम गरिएको उदारहण दिदै हामीले पनि त्यतो गर्न सके भोजपुरी भाषा प्रतिको आकर्षण बढने बताए ।

वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भाषा बिद् डा. विश्वम्भर शर्मा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियंका पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली, सलमा खातुन, ओमप्रकाश सर्राफ, तवरेज  अहमद, ईश्वरचन्द्र यादव, बिनोद मेहता, धुव्र सिंह ठकुरी,अनिता साह, ऋतुराज पटेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई भाषा आयोगका अध्यक्ष डा. ठाकुरले नेपालमा बिभिन्न भाषाको इतिहास र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पारेका थिए ।  

कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए । कार्यक्रममा साहित्यकार, बिभिन्न स्कुलका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।  

वीरगंजमा खुल्यो विद्युतीय नेटा भी र केवाईसी भ्यानको शोरुम

0

वीरगंज । चौधरी ग्रुप अन्तर्गत सिजी मोटरले नेपालमा पहिलो पटक ल्याएको विद्युतीय कारको आधिकारी विक्री कक्ष (शोरुम) को वीरगंजमा सञ्चालनमा आएको छ । 

चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ ले उत्पादन गरेको नेटा भी कार र केवाईसी भी – ५ इलेक्ट्रिक भ्यानको वीरगंजस्थित आदर्शनगरमा बिक्रि कक्ष मिनोल्टा इन्भेष्टमेन्ट प्राली सञ्चालनमा आएको हो । शोरुमको बिहिवार हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गरेर शुभारम्भ गरिएको छ । 

मधेश प्रदेशको आधिकारीक बिक्रेता मिनोल्टा इन्भेष्टमेन्टका प्रमुखद्वय आकृति अग्रवाल र प्रतीक अग्रवाललगायतले हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गरेर बिक्रि कक्षको शुभारम्भ गरेका हुन् । 

शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख आकृति अग्रवालले वातावरणमैत्री नेटा भी मोडलको कार र केवाईसी भ्यानको  विकल्प नभएको दावी गरीन् । उनका अनुसार अब युगमा विकाससँगै सबैले विद्युतीय सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि विश्वसनीय एवम् गुणस्तरीय नेटा भी नै रहेको अग्रवालको भनाई छ । 

नेटा भी मोडल कारको क्रसओभरमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात डेढ लाख किलोमिटरको वारेन्टी प्रदान गर्नेछ । फूल चार्जमा ३ सय ८० किलोमिटरभन्दा धेरै  रेञ्ज प्रदान गर्ने प्रमुख प्रतीक अग्रवालको भनाई छ । 

विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री यस कारमा प्रयोग भएको छ । विगत ४ वर्षमा लगातार चार मोडल उत्पादन गरेको होजनको नेटा भी ४ मिटर साइजको इलेक्ट्रीक एसयूभी कार हो । क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टू स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो ।

नेटा भी कारको मूल्य ३७ लाख ९९ हजार रुपैँया रहेको छ । कम्पनी स्रोतका अनुसार फूल अप्सन नेटा भी अहिले बजारमा चल्तीको इलेक्ट्रीक कार नेक्सन इभी भन्दा कम मूल्यमा उपलब्ध छ । नेटा भीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यस कारको ह्वीलवेस २४२० एमएमको रहेको छ ।

नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । 

यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने प्रतीक अग्रवाल बताउँछन् । 

नेटा भी विद्युतीय कारसँगै चौधरी ग्रुपअन्तर्गतकै चांगनको इलेक्ट्रीक भ्यानको पनि शोरुमबाट विक्रीवितरण हुनेछ । कम्पनीले प्यासेन्जर कारमा नेटा भीपछि लाइट कमर्शियल सेग्मेन्टमा माइक्रोबस ल्याएको हो ।

छोटो दूरीमा चल्ने माइक्रोबसको रुपमा सिजी मोटर्सले चांगन भी–५ बाट माइक्रोबस विक्री शुरु गरेको हो । केवाइसी भ्यान छोटो दूरीमा सञ्चालनका लागि उपयुक्त छ, त्यस्तै विद्यालय र विभिन्न फर्महरुले आफ्नो कर्मचारीलाई ओसारपसार गर्न पनि प्रयोग गर्नका लागि केवाइसी भ्यान उत्तम उपाय हुन सक्ने बजार प्रभारी सञ्ज्य रौनियारले बताए । रौनियारकाअनुसार अहिले केवाइसी भ्यान वीरगञ्जदेखि हेटाडासम्म सञ्चालन पनि भइरहेको छ । 

चांगन भी–५ मा ४१.८६ किलोवाट आवर क्षमताको सिएटीएलले उत्पादन गरेको ब्याट्री दिइएको छ । यसलाई फुलचार्जमा ३ सय किलोमिटर चलाउन सकिने सिजीले जनाएको छ । ११ जना यात्रुले आरमदायी यात्रा गर्न सक्ने यो माइक्रोबसको सञ्चालन लागत अत्यन्त न्यून पर्ने छ ।

चांगन भी–५ मा स्टाण्डर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर रहेको छ । साथै, कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ । यसले डिसी फास्ट चार्जपनि सपोर्ट गर्नेछ । यसमा सीसीएसटु चार्जिङ पोर्ट दिइएको छ । अधिकतम १ सय किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्ने यो माइक्रोबसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सिजी मोटर्सले ४४ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको छ । साथै, एक वर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनीले दिने मिनोल्टा इन्भेष्टमेन्ट प्रालीकी प्रमुख आकृती अग्रवालले बताइन् । उनकाअनुसार अहिले २० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा पनि नेटा भी कार र केवाइसी भ्यान उपलब्ध छन् । 

नेपालमा भित्रिएको छोटो समयमै यि दुवै गाडी धेरै रुचाइएका छन् । ग्राहकहरुको सकारात्मक प्रतिक्रियाले नै वीरगञ्जमा पनि शोरुम खोलेरै सञ्चालन गर्ने ऊर्जा पलाएको सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल बताउँछन् । उनकाअनुसार मधेश प्रदेशमा दुवै गाडी धेरै रुचाइएको छ । साथै यहाँ विद्युतीय नेटा भी कार र केवाइसी भ्यानको आवश्यकता पनि रहेको अग्रलाले बताए । यसको डिजाइन र विशेषता पनि यहाँको बजारको आवश्यकता लाई पूर्ति गर्ने हिसाबले बनाइएको उनको दावी छ ।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

0

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पक्राउ परेका खाँण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो । अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ ।

उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उहाँलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । रासस

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार सम्पन्न भएकाे छ । बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने, संसदबाट दुई पटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेकाे जसपाका केन्द्रिय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पुनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने र बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय गरेकाे उनले वताए । 

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतिय पक्राउ

0

वीरगंज । स्रोत नखुलेको ठूलो रकमसहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् ।

विन्दवासिनी–५ को प्रसौनीभाठाबाट पूल हुँदै वीरगंज तर्फ आउँदै गरेको वीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी प्रसौनीभाटाबाट खटेको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि बसेका गुप्ताले बोकेको झोलाबाट एक हजार दरको ८०० थान नोट र पाँच सय दरको ८०० थान नोट गरी कूल बाह्र लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार गुप्ता र आलमले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक वीरगंज र आसपासका क्षेत्रमा नक्कली नेपाली नोट भेटिन थालेको अवस्थामा स्रोत नखुलेको यत्रो ठूलो रकम बरामद हुनुले थप शङ्का उत्पन्न गरेको छ ।

डिएपी गिरीले गुप्ता र आलमसहित उनीहरु सवार मोटरसाइकल र रकमलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंक ऐन २०५८ विरुद्धको कसूरमा पर्सा जिल्लाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

यसअघि केहि दिन अगाडि पर्सा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।