Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 51

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोल निवासी अजय रामका छोरा करिब १७ वर्षीय आकाश राम रहेका छन्।

एक महिने साउने मेला समापन भएपछि मंगलबार बिहान मेलामा थापिएका पसलका सामान लिन जाने क्रममा राम ट्र्याक्टरबाट खसेका थिए। ट्र्याक्टरबाट खसेपछि उनी सोही ट्र्याक्टरको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्र्याक्टरमा चालक र मृतक किशोर गरी दुई जना मात्रै सवार थिए। उनीहरू नाताले काका–भतिजा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

ट्र्याक्टर चारभैया पोस्टबाट करिब दुई किलोमिटरभित्र पुगेपछि किशोर ट्र्याक्टरबाट खसेका थिए। त्यसपछि चक्काले किच्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

घटना मंगलबार बिहान करिब ७ बजेको समयमा भएको बताइएको छ। बाटोमा रगत देखेपछि भाथाधामतर्फ जाँदै गरेका श्रद्धालुले नेपाली सेनालाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि मेला व्यवस्थापन समितिका अध्यक्ष अल्खदेव चौधरी घटनास्थलमा पुग्दा किशोर मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्र्याक्टरबाट खसेपछि चक्काले किचेर किशोरको मृत्यु भएको देखिएको छ। घटनापछि चालक ट्र्याक्टरसहित फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै फरार चालकको खोजी गरिरहेको जनाएको छ ।

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

0

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ । मंगलबार वीरगंज आइपुगेको तीन सदस्यीय कार्यदलले कारखाना परिसरमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण सुरु गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो । कार्यदलका संयोजक मन्त्रालयका सिडिई श्रीकान्त यादव तथा सदस्यमा शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा रहेका छन् ।

कार्यदलका संयोजक यादवका अनुसार टोलीले वीरगंजमा दुई–तीन दिन बसेर कारखानाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नेछ । त्यसपछि काठमाडौं फर्किएर अध्ययनका आधारमा प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाइनेछ ।

सरकारले कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ । कार्यदलले कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदनको समीक्षा गर्दै पुनः सञ्चालनका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिनेछ ।

त्यस्तै, कारखाना परिसरमा रहेका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्थाबारे पनि अध्ययन गरिनेछ । पुराना संरचना तथा मेसिनरी प्रयोग गरेर कारखाना सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ ।

कार्यदलले कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गरी विद्यमान समस्या पहिचान गर्नेछ । साथै कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्थाबारे अध्ययन गरी देखिएका समस्या समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

उद्योग मन्त्री गौरीकुमारी यादवको पहलमा वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको हो ।

तत्कालीन राजा महेन्द्रले सन् १९५९ मा सोभियत संघ (रुस) भ्रमणका क्रममा नेपालमा ठूलो चिनी कारखाना स्थापना गर्ने सम्झौता भएपछि वीरगंज चिनी कारखाना स्थापना भएको थियो । कारखानाले २०२१ साल माघ १८ गतेदेखि औपचारिक रूपमा चिनी उत्पादन सुरु गरेको थियो ।

तर निरन्तर घाटा बढ्दै गएपछि मन्त्रिपरिषद्को २०५९ फागुन १५ गतेको बैठकले वीरगंज चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो । लामो समयदेखि बन्द रहेको कारखाना पुनः सञ्चालनको सरकारी पहलसँगै स्थानीय स्तरमा समेत चासो बढेको छ ।

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

0

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्।

हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरोकार’ भन्ने मूल नारासहित मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवाचरवाले जनकपुर रेलवे स्टेशनबाट विरोध र्‍याली निकालेका थिए। र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै हरवाचरवा संघर्ष समितिका संयोजक श्रीप्रसाद सदाले हरवाचरवा मुक्ति घोषणा भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि समुदाय भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापनाजस्ता आधारभूत अधिकारबाट वञ्चित रहेको बताए।

मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागिन्द्र सदाले मुक्ति घोषणा मात्रले वास्तविक मुक्ति नहुने भन्दै पहिचान, अधिकारको सुनिश्चितता र दिगो पुनर्स्थापना आवश्यक रहेको बताए। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनर्स्थापना तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता जनाए पनि त्यसलाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट र समयसीमासहित कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

हरवाचरवा पुनर्स्थापना आन्दोलनका सदस्य तथा अधिवक्ता वालाराम भट्टराईले मधेश प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत संकलन तथा प्रमाणीकरण गरी तत्काल परिचयपत्र वितरण गर्नुपर्ने माग गरे। भूमिहीन परिवारको पहिचान गरी दिगो पुनर्स्थापनाको स्पष्ट योजना लागू गर्न र त्यसका लागि आवश्यक बजेट सुनिश्चित गर्न पनि उनले सरकारसँग आग्रह गरे।

कोणसभामा मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डल, कोषाध्यक्ष राजवती मण्डल, केन्द्रीय सदस्य शिव सदा, गीता सदाय, ठकनीदेवी महरा तथा जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानलगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले आफ्ना मागप्रति सरकारले तत्काल ध्यान नदिए मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गर्ने चेतावनी दिएका छन्।

हरवा–चरवा संघर्ष समितिले आफ्ना दीर्घकालीन माग सम्बोधन गर्न करिब १० दिनअघि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमक्ष अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। तर माग सम्बोधन नभएपछि विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको निषेधित क्षेत्रमा र्‍याली अघि बढाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले करिब ३० मिनेट सडक अवरोधसमेत गरेका थिए।

समितिले मुक्त हरवाचरवाका माग सम्बोधन गर्न मधेश प्रदेश सरकारले ठोस र अर्थपूर्ण कदम नचालेसम्म मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना जारी राख्ने जनाएको छ। साथै, सम्बन्धित निकायलाई तत्काल संवादमा आउन र रचनात्मक तथा प्रभावकारी प्रक्रियामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।

स्टाफ नर्समा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा बहुदरमाईका रुपेश पक्राउ

1

वीरगंज । स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे वीरगंज महानगरपालिका–८ बाट उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भई हाल वीरगंज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएका २७ वर्षीय रुपेश भन्ने कृष्णा प्रसाद पटेल रहेका छन् ।

पटेललाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बालबालिकाको सुरक्षा : घरदेखि विद्यालयसम्म सचेतना आवश्यक

0

नाबालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार तथा हत्या जस्ता घटना केवल एउटा परिवारको पीडा होइनन्, यो सिंगो समाजका लागि गम्भीर चेतावनी हुन् । यस्ता घटना रोक्न अपराधीलाई कानुनी कारबाही गर्नुका साथै बालबालिकालाई सुरक्षित व्यवहारबारे जानकारी दिने, अभिभावकलाई सचेत बनाउने, विद्यालयमा बाल सुरक्षा शिक्षा प्रभावकारी बनाउने र समाजलाई जिम्मेवार बनाउने काम सँगसँगै अघि बढाउनुपर्छ । अभिभावकले के सिकाउने ? अभिभावकले बालबालिकासँग डर पैदा गर्ने होइन, खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनुपर्छ। बच्चाले आफूलाई असहज लागेको कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ । बालबालिकालाई सानैदेखि आफ्ना शरीरका निजी अंगबारे उमेरअनुसारको सरल र वैज्ञानिक जानकारी दिनुपर्छ । कसैले निजी अंग छुन खोजेमा, हेर्न खोजेमा, फोटो वा भिडियो खिच्न वा पठाउन लगाएमा त्यसलाई अस्वीकार गर्नुपर्छ भन्ने सिकाउनुपर्छ ।

बालबालिकालाई ‘नाइँ’ भन्न पाउने अधिकार, असहज परिस्थितिबाट टाढा जाने र विश्वासिलो वयस्कलाई तुरुन्त जानकारी गराउने कुरा सिकाउनुपर्छ । ‘ठूलो मान्छेले भनेपछि मान्नैपर्छ’ भन्ने संस्कारसँगै ‘गलत व्यवहार भएमा प्रश्न गर्न र विरोध गर्न पाइन्छ’ भन्ने आत्मविश्वास पनि विकास गर्नुपर्छ । त्यस्तै, सामाजिक सञ्जाल र मोबाइलको सुरक्षित प्रयोगबारे पनि अभिभावकले नियमित रूपमा कुराकानी गर्नुपर्छ । अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी, तस्बिर वा भिडियो आदानप्रदान नगर्ने र धम्की वा प्रलोभन आएमा तुरुन्त अभिभावकलाई बताउने कुरा सिकाउनुपर्छ। विद्यालयमा ‘गुड टच’ र ‘ब्याड टच’ कसरी सिकाउने ? विद्यालयले बाल सुरक्षा शिक्षालाई औपचारिकतामा सीमित राख्नु हुँदैन । बालबालिकाको उमेर र बुझाइअनुसार सुरक्षित स्पर्श, असुरक्षित स्पर्श र असहज स्पर्शबारे नियमित रूपमा सिकाउनुपर्छ । ‘गुड टच’ भन्नाले माया, सान्त्वना वा आवश्यक स्वास्थ्य सेवाजस्ता बालबालिकालाई सुरक्षित र सहज महसुस हुने स्पर्श बुझाउन सकिन्छ । तर कुनै स्पर्शले डर, लाज, असहजता वा असुरक्षा महसुस गराउँछ भने त्यसबाट टाढा हुनुपर्छ भन्ने कुरा पनि स्पष्ट पार्नुपर्छ ।

विद्यालयले बालबालिकालाई यस्तो अवस्थामा तीन कुरा सम्झाउन सक्छ—‘नाइँ भन, त्यहाँबाट हट, विश्वासिलो व्यक्तिलाई भन ।’ बालबालिकालाई कसैले ‘यो कुरा कसैलाई नभन्नू’ भने पनि डराउन नहुने र विश्वासिलो अभिभावक, शिक्षक वा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी दिनुपर्ने सिकाउनुपर्छ । तर यस्तो शिक्षा दिँदा बालबालिकालाई सबै स्पर्श खराब हुन् भन्ने भ्रम भने सिर्जना गर्नु हुँदैन। विद्यालयमा बालमैत्री गुनासो प्रणाली, सुरक्षित सम्पर्क व्यक्ति र आवश्यक परेमा परामर्श तथा संरक्षणको व्यवस्था पनि हुनुपर्छ। समाजको भूमिका बालबालिकाको सुरक्षा केवल अभिभावकको जिम्मेवारी होइन । छिमेकी, शिक्षक, स्थानीय जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सम्पूर्ण समुदायको भूमिका हुन्छ ।

बालबालिकामाथि दुर्व्यवहार भएको शंका लागेमा त्यसलाई ‘घरको कुरा’ भनेर बेवास्ता गर्नु हुँदैन। सम्बन्धित निकायमा समयमै जानकारी गराउनुपर्छ । तर घटनाको अनुसन्धान प्रभावित हुने गरी आरोपित वा पीडित बालबालिकाको पहिचान, संवेदनशील तस्बिर वा भिडियो सामाजिक सञ्जालमा फैलाउनु झन् गम्भीर समस्या बन्न सक्छ। विशेषगरी सञ्चारकर्मी, प्रहरी तथा घटनासँग प्रत्यक्ष जोडिएका व्यक्तिले पीडितको गोपनीयता र मर्यादा संरक्षण गर्नुपर्छ। बालबालिकासँग सम्बन्धित संवेदनशील सामग्रीलाई ‘भाइरल’ बनाउने प्रवृत्ति रोक्न व्यक्तिगत गोपनीयता र कानुनी व्यवस्थाको कडाइका साथ पालना आवश्यक छ । रोकथामका लागि के गर्नुपर्छ ?

१. घर–घरमा बाल सुरक्षा र यौन दुर्व्यवहारबारे उमेरअनुकूल शिक्षा दिनुपर्छ ।
२. विद्यालयमा नियमित बाल सुरक्षा तथा सुरक्षित स्पर्शसम्बन्धी कक्षा सञ्चालन गर्नुपर्छ ।
३. बालबालिकालाई असहज अवस्था पहिचान गरी ‘नाइँ’ भन्न र सहयोग माग्न सिकाउनुपर्छ ।
४. अभिभावकले बच्चासँग नियमित संवाद गर्नुपर्छ र उसको व्यवहारमा आएको असामान्य परिवर्तनलाई बेवास्ता गर्नु हुँदैन। ५. विद्यालय र समुदायमा सुरक्षित गुनासो तथा रिपोर्टिङ प्रणाली बनाउनुपर्छ ।
६. बालबालिकालाई अनलाइन सुरक्षा, फोटो–भिडियोको दुरुपयोग र अपरिचित व्यक्तिसँगको सम्पर्कबारे सचेत गराउनुपर्छ ।
७. घटनापछि पीडित बालबालिकाको पहिचान र संवेदनशील सामग्री सार्वजनिक हुनबाट रोक्नुपर्छ ।
८. अपराधको सूचना पाएपछि सम्बन्धित निकायले तत्काल, निष्पक्ष र संवेदनशील अनुसन्धान गर्नुपर्छ ।
९. बालबालिकामाथि हुने हिंसा रोक्न प्रहरी, स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाउनुपर्छ ।
१०. अपराध भएपछि मात्र होइन, अपराध हुनुअघि नै जोखिम पहिचान गरी रोकथाममा जोड दिनुपर्छ ।

अन्त्यमा बालबालिकालाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय उनीहरूलाई डराएर चुप लगाउनु होइन, आफ्नो शरीर, अधिकार र सुरक्षाबारे बोल्न सक्ने बनाउनु हो। एउटा बच्चाले आफूलाई परेको असहज व्यवहारबारे घरमा भन्न सक्ने वातावरण, विद्यालयमा सुरक्षित रूपमा गुनासो गर्न सक्ने व्यवस्था र समाजले उसको कुरा गम्भीरतापूर्वक सुन्ने संस्कार विकास गर्न सकेमा धेरै जोखिमपूर्ण घटना सुरुमै रोक्न सकिन्छ। बाल सुरक्षा कुनै एक संस्था वा व्यक्तिको जिम्मेवारी होइन। अभिभावकको माया, विद्यालयको शिक्षा, समाजको सजगता र राज्यको प्रभावकारी कानुनी प्रणाली—यी चारै पक्ष एकसाथ बलियो भए मात्र बालबालिकालाई सुरक्षित वातावरण दिन सकिन्छ ।

श्रीनारायण महतो
सञ्चारकर्मी

ब्राउन सुगरसहित जगरनाथपुर गाउँपालिकाका अजय यादव पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले ८१ ग्रामभन्दा बढी लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन् ।

लागू औषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३ः३० बजे वीरगंज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका यादवलाई रोकी चेकजाँच गर्दा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो ।

यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचो समेत फेला परेपछि प्रहरीले वीरगंज महानगरपालिका–८ मा रोकी राखिएको उक्त कार पनि बरामद गरेको जनाएको छ ।

बरामद लागू औषध र कारसहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव

0

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको आज उद्घाटन गर्दै उहाँले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभएको हो । उपराष्ट्रपति यादवले भन्नुभयो, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।” उहाँले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनुभयो । मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राख्नुभयो । नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य नाडाको हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि ‘चार्जिङ स्टेशन’जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

उपराष्ट्रपति यादवले अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढङ्गबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई रु ८१ अर्ब राजश्व योगदान गरेको जानकारी दिदै उहाँले मुलुकको कूल राजश्वको करिब आठ देखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेरिनु नहुने धारणा व्यक्त गर्नुभयो ।

अब आयातमा मात्र भर नपरी स्वदेशमै सवारीसाधन र पार्टपुर्जाको ‘एसेम्बलिङ’ र उत्पादन सुरु गर्नुपर्ने आवश्यकता औँल्याउदै अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादनमूलक क्षेत्रको विकास गरी युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको जनसङ्ख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन सकेको छैन, भृकुटीमण्डपको वर्तमान स्थलले ट्रक, बस र ठूला उपकरण प्रदर्शन गर्न पर्याप्त ठाउँ पुग्दैन, त्यसैले काठमाडौँमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केबल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै चार्जिङ पूर्वाधार र नेपालमै ‘एसेम्बल’ उद्योगको विकासका लागि नीतिगत स्पष्टता र सहुलियत हुनुपर्ने बताउनुभयो ।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगार सम्म’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त मेला भदौ २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

1

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट’ ९एआइबिडी० को २४औँ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले कृत्रिम बौद्धिकता ९एआई०, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै सत्यतथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभएको हो । उहाँले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मूल्यमान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो । गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने धारणा व्यक्त गर्नुहुँदै सञ्चारमन्त्रीले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई उच्चप्राथमिकता दिनुपर्ने बताउनुभयो । सङ्कट, प्राकृतिक विपद्, सार्वजनिक स्वास्थ्यलगायतका जनचासोका सन्दर्भमा आमसञ्चारमाध्यामको भूमिका अझ महत्वपूर्ण हुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । त्यस्तो अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चार माध्यामले योगदान पु¥याउने उहाँले बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय हुने भएकाले विभिन्न देशका ज्ञान, प्रविधि र अनुभव एकापसमा आदानप्रदान गरी लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो । विश्वभरका सञ्चार माध्यामले वित्तीय दिगोपना, बदलिँदो पाठक, दर्शक तथा श्रोताको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सेवा प्रसारणका लागि चुनौती अझ गम्भीर रहेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको उहाँको भनाइ थियो । सञ्चारमन्त्री डा तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी र स्ट्रिमिङ सेवाले सामग्री उत्पादनदेखि वितरण र दर्शकसँगको अन्तक्र्रियासम्म सञ्चारको सम्पूर्ण शृङ्खला परिवर्तन गरिरहेको बताउनुभयो । उहाँले यस्ता परिवर्तनलाई चुनौतीका रूपमा मात्र नभई ठूलो सम्भावनाका रूपमा पनि उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । डिजिटल प्लेटफर्ममार्फत युवा पुस्तासँग जोडिने नयाँ अवसर सिर्जना भएको उल्लेख गर्दै सार्वजनिक हितका सूचना, समाचार, शिक्षा तथा चेतनामूलक सामग्री युवाले प्रयोग गर्ने माध्यममा प्रभावकारी रूपमा पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण, जवाफदेहिता र व्यावसायिक नैतिकतालाई आधुनिक प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । एआईले सामग्री तयार गर्न सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने उहाँले स्पष्ट गर्नुभयो । कृत्रिम रूपमा सिर्जना गरिएका सामग्री र ‘डिपफेक’ प्रविधिले झुटो सूचनालाई समेत वास्तविकजस्तो देखाउन सक्ने अवस्था सिर्जना भएकाले अहिले सञ्चारमाध्यमका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकको विश्वास भएको उहाँले बताउनुभयो । प्रविधिको क्षमता र पत्रकारिताको विश्वसनीयतालाई सँगसँगै अघि बढाउन सक्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने उहाँको भनाइ थियो ।

नेपाल दक्षिण एसियामा स्वतन्त्र सामुदायिक रेडियो स्थापना गर्ने पहिलो देश भएको र रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियोको यात्रा अहिले देशभर फैलिएको उहाँले बताउनुभयो । सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई समेत स्थान दिएको सञ्चारमन्त्रीको भनाइ थियो । विपद्, सङ्कट र स्वास्थ्य आपत्कालजस्ता समयमा सामुदायिक रेडियोले स्थानीय भाषामा तत्काल र विश्वसनीय सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । भूकम्प, बाढी, पहिरो तथा महामारीलगायतका सङ्कटमा सूचना, जनचेतना तथा उद्धार र राहतसम्बन्धी जानकारी पु¥याउन सामुदायिक रेडियो प्रभावकारी माध्यम बनेको उहाँले स्पष्ट गर्नुभयो । डिजिटल रूपान्तरणको अर्थ नयाँ प्रविधि प्रयोग गर्नु मात्र नभई विश्वसनीयता, पत्रकारिताको व्यावसायिकता, तथ्य जाँच, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई बलियो बनाउनु पनि भएको सञ्चारमन्त्री डा तिमिल्सिनाले उल्लेख गर्नुभयो । गलत सूचना, भ्रामक सामग्री र एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढिरहेका बेला सार्वजनिक सेवा प्रसारणले आफूलाई नागरिकले सही सूचना विश्वास गर्नसक्ने संस्थाका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

सम्मेलन उद्घाटनका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा पनि जोड दिनुहुँदै युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सिर्जनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषी नागरिकलाई समानरूपमा समेट्नु सार्वजनिक सेवा प्रसारणको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो । एसिया(प्रसान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब ४० देशका सञ्चारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ ।

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरी अदालतसम्म पुर्‍याइएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल, पर्साले गम्भीर आपत्ति जनाएको छ ।

संगठनले आफ्ना सहसचिवसमेत रहेका रातोपाना डटकमका सञ्चालक श्याम सर्राफ, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा प्रहार डेली डटकमका सञ्चालक राहुल गुप्ता, पत्रकार महासंघका साधारण सदस्य एवं रातोपानाका प्रबन्ध निर्देशक अमित अग्रवाललगायतका सञ्चारकर्मी तथा सञ्चार संस्थाविरुद्ध मुद्दा दर्ता गरिएकोप्रति आपत्ति जनाएको हो ।

संगठनले सार्वजनिक पदमा रहेका व्यक्तिका काम, गतिविधि, अभिव्यक्ति तथा भूमिकाबारे नागरिकस्तरबाट उठेका प्रश्न र चासोलाई समाचारका रूपमा सार्वजनिक गर्नु पत्रकारिताको स्वाभाविक दायित्व भएको जनाएको छ । सांसद पन्तसँग सम्बन्धित विषयमा प्रकाशित समाचारमा सम्बन्धित पक्षको धारणा समेत सार्वजनिक गरिएको भन्दै संगठनले पत्रकारिताको मूल धर्म नै प्रश्न उठाउँदा सम्बन्धित पक्षको धारणा समेट्नु र तथ्यलाई सार्वजनिक बहसमा ल्याउनु रहेको उल्लेख गरेको छ ।

कुनै समाचारप्रति चित्त नबुझेमा सम्बन्धित सञ्चारमाध्यममा खण्डन वा प्रतिक्रिया दिने, प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने तथा प्रचलित कानुनी प्रक्रिया अवलम्बन गर्ने वैधानिक बाटो हुँदाहुँदै पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध मुद्दा दर्ता गर्ने र पक्राउ पुर्जी जारी गराउने कार्यप्रति संगठनले असहमति जनाएको छ ।

पत्रकारलाई त्रसित बनाउने तथा पेशागत मनोबल कमजोर पार्ने गरी कानुनी प्रक्रिया र राज्यका संयन्त्रको प्रयोग हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको संगठनको भनाइ छ ।

संगठनका सचिव विनोद पटेलद्वारा जारी विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमलाई अनावश्यक दबाब र त्रासमा पार्ने कार्य रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा समाचारप्रति असहमति भए विद्यमान कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग माग गरिएको छ ।

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

0

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो घटना संयोग होइन। दशकौंदेखि सुदूरपश्चिमका गाउँमा इन्टरनेट पुर्‍याउने काम गर्नुभएको, आफ्नै स्रोतमा National Innovation Centre(NIC) खडा गर्नुभएको, र सांसद भएपछि पनि लगातार विज्ञान-प्रविधिको छुट्टै मन्त्रालय चाहियो भन्दै दबाब दिइरहनुभएको मान्छेले यो मन्त्रालय ल्याउनु आफैंमा एउटा उपलब्धि हो। यो श्रेय महावीर पुनको हो, र यसलाई सानो ठान्नु अन्याय हुनेछ।

तर श्रेय दिनु र प्रश्न नसोध्नु फरक कुरा हुन्। मस्यौदा राम्ररी पढ्दा एउटा प्रश्न बारम्बार दोहोरिन्छ — यो नयाँ मन्त्रालयले साँच्चै नयाँ केही बनाउँदैछ, कि पुरानै मोडेललाई ठूलो आकारमा दोहोर्‍याउँदैछ ?

छानो एउटै, भार धेरै – मस्यौदा हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ यसले एउटै केन्द्र (कोष्टी) अन्तर्गत जैविक प्रविधि, अन्तरिक्ष विज्ञान, कम्प्युटर विज्ञान, बायोमेडिकल — यी सबै फरक-फरक प्रकृति र गतिशीलता भएका विधाहरूलाई एउटै छानो मुनि राख्ने परिकल्पना गरेको छ। एउटै सञ्चालक समिति, एउटै प्रमुख कार्यकारी अधिकृत, नौ जनाको एउटै सामान्य सल्लाहकार समिति — सबै विधाको जिम्मा।

यो संरचना, इमानदारीपूर्वक भन्नुपर्दा, महावीर पुनले आफैं बनाउनुभएको NIC को अर्को ठूलो संस्करण जस्तो देखिन्छ, तर यसपटक सरकारी बजेट र कानुनी अधिकारसहित। NIC सानो आकारमा, लचिलो ढंगले, एउटै व्यक्तिको नेतृत्वमा चलेको संस्था हो, र त्यही खुबीले नै त्यसलाई सफल बनायो। तर राष्ट्रिय स्तरमा, करोडौंको कोष र कानुनी अधिकारसहित त्यही सबथोक एकैठाउँमाू मोडेल दोहोर्‍याउँदा, जुन खुबीले NIC लाई चलायो, त्यही खुबी अब बाधा बन्न सक्छ। साना संस्थामा एकल नेतृत्व चुस्तता होस राष्ट्रिय संस्थामा त्यही एकल नेतृत्व अवरोध बन्छ, किनभने विधाहरूको संख्या र जटिलता स्केल भएसँगै दोब्बर-तेब्बर बढ्छ, तर निर्णय गर्ने टाउको एउटै रहन्छ। र यहीं नै मूल प्रश्न उठ्छ – यदि सबै विधालाई एउटै संस्था अन्तर्गत राख्ने हो भने, नेपाल प्रज्ञा-प्रतिष्ठान (NAST) त पहिल्यै छँदैछ। त्यसमा नयाँ के थपियो ?

NAST ले पनि दशकौंदेखि विज्ञान, इन्जिनियरिङ, कृषि, चिकित्सा — सबै विधालाई एउटै छाता संस्थाभित्र राख्ने प्रयास गर्‍यो, र त्यही सबथोक एकै ठाउँमा भन्ने मोडेलले नै त्यसलाई कहिल्यै कुनै एक विधामा गहिराइसम्म पुग्न दिएन। यदि नयाँ नियमावलीले फेरि उही संरचना दोहोर्‍याउने हो भने, यो केवल NAST को दोस्रो संस्करण हुनेछ — फरक नाम, उही सीमितता।

यो चिन्ता एक्लो पनि होइन। अनलाइनखबरमा प्रकाशित डा। असीम ढकालको हालैको विश्लेषणले फरक कोणबाट लगभग उस्तै निष्कर्षमा पुग्छ। उहाँको तर्क अनुसार, NAST को असफलता संरचनागत भन्दा बढी नियुक्ति-प्रक्रियासँग जोडिएको थियो — उपकुलपतिदेखि प्राज्ञसम्मका पदहरू राजनीतिक नियुक्तिबाट भरिँदा संस्थाको वैज्ञानिक क्षमता राजनीतिक पर्खाइमा बित्यो, र आज त्यो प्रायः प्रशासनिक कर्मचारीले भरिएको खर्चिलो निकाय बनेको छ। उहाँले थप औंल्याउनुभएको छ — प्रस्तावित विधेयकले नीति-निर्माण, नियमन र सेवा-प्रवाह जस्ता फरक-फरक प्रकृतिका कामलाई एउटै मन्त्रालय नियन्त्रित संयन्त्रमा मिसाएकाले निर्णय प्रक्रिया झनै ढिलो र डरैलो हुने जोखिम छ, र अनुसन्धान नैतिकतासम्बन्धी त्रुटिलाई फौजदारी कसुरको दायरामा ल्याउने प्रयासले वैज्ञानिक स्वतन्त्रता नै साँघुरिन सक्छ।

यी दुवै तर्क — मेरो संरचनागत विधाहरू धेरै, संस्था एउटै र उहाँको प्रक्रियागत नियुक्ति र भूमिका मिश्रणको जोखिम — एउटै गहिरो समस्याका दुई पाटा हुन्, नेपालले संस्था बनाउँदा धेरै कुरा एकैचोटि समेट्नुू लाई नै दक्षता ठान्ने बानी बसाएको छ, जबकि व्यवहारमा त्यही बानीले संस्थालाई जन्मिनासाथ बोझिल बनाइदिन्छ।

भारत र सिंगापुरले देखाएको बाटो

भारतले DBT, DST, ISRO छुट्टाछुट्टै विभागका रूपमा बनायो — हरेकको आफ्नै बजेट, आफ्नै नेतृत्व, आफ्नै भर्ना प्रक्रिया। DBT अन्तर्गत मात्र पनि NIBMG, ILS, NIPGR  जस्ता थप विशिष्ट स्वायत्त संस्थाहरू छन्, जसले एउटै विधाभित्र झनै साँघुरो गहिराइमा काम गर्छन्।

सिंगापुरको ASTAR एउटै छाता एजेन्सी हो, तर त्यसभित्र SIFBI, Genome Institute of Singapore, Bioinformatics Institute, Institute of High Performance Computing  जस्ता अर्ध (स्वायत्त संस्थाहरू आ-आफ्नै निर्देशक, आ-आफ्नै भर्ना अधिकार र आ-आफ्नै वैज्ञानिक मान्डेटसहित सञ्चालित छन्। छाता साझा सेवा प्रशासन, कानुनी, अन्तर्राष्ट्रिय समन्वय का लागि हो, विधागत गहिराइ हराउनका लागि होइन। यही नै नेपालको मस्यौदाले नबुझेको भिन्नता हो — छाता र एकीकरण उस्तै कुरा होइनन्।

महावीर पुनको मन्त्रालयले ठ्याक्कै यही मौका पाएको छ — किनकि यो नयाँ मन्त्रालय हो, अझै जडू भइसकेको छैन। यदि अहिले नै संरचना गलत बसाइयो भने, अबका २० वर्ष यही गल्ती सुधार्नमै बित्नेछ।

संरचनासँगै बाँकी रहेका अरू प्रश्न

संस्थागत संरचनाबाहेक, मस्यौदाले चुप लागेका अरू केही ठाउँले पनि यही समस्यालाई थप गहिरो बनाउँछन्

तलब र Brain Drain – नियम १२ र १४ ले केन्द्रका प्रमुख कार्यकारी अधिकृत, विशेषज्ञ र वैज्ञानिकको पारिश्रमिक निजामती सेवाको तलबस्केलसँग जोड्छन्। सिंगापुरमा तालिम लिएर फर्किने वैज्ञानिकलाई निजामती(स्तरको तलबमा फर्किन आग्रह गर्नु व्यवहारतः पलायनलाई नै कानुनी मान्यता दिनु हो। भारत र सिंगापुर दुवैले राष्ट्रिय प्रयोगशालाका तलबलाई निजामती संरचनाबाट स्पष्ट रूपमा अलग गरेकै कारण त्यहाँ प्रतिभा टिक्छ।

कोषको बजेट प्रतिबद्धता। – किस्ता, अनुगमन र लेखापरीक्षणको प्रक्रिया विस्तृत छ, तर कोषमा वार्षिक रूपमा कति रकम अनिवार्य जम्मा हुने भन्ने कुनै न्यूनतम कानुनी सीमा तोकिएको छैन। बजेट राजनीतिक इच्छाशक्तिमा मात्र भर पर्दा दीर्घकालीन अनुसन्धानको जग बस्दैन।

डायस्पोरा संलग्नता। विदेशी वा NRN वैज्ञानिकलाई हाल अतिथि वैज्ञानिकको (Guest Scientist) रूपमा मात्र संलग्न गराउने व्यवस्था छ — पुनर्स्थापना अनुदान वा संयुक्त नियुक्तिको कुनै संयन्त्र छैन। प्रतिभा फर्काउने हो भने अतिथिको हैसियत होइन, संस्थागत स्तम्भको हैसियत चाहिन्छ।

काठमाडौंकै गुरुत्वाकर्षण, – प्रदेशस्तरीय प्रयोगशाला, विश्वविद्यालय वा अनुसन्धान समूहका लागि कुनै कोटा वा प्रोत्साहन व्यवस्था मस्यौदामा छैन। सबै प्रस्ताव उही काठमाडौं आधारित विज्ञ समितिसामु प्रतिस्पर्धा गर्छन्। नेपाली विज्ञान नीतिको केन्द्रीकरण समस्या यसले सुधार्दैन, दोहोर्‍याउँछ।

बाटो अझै खुला छ – समाधान अर्को नयाँ संस्था थप्नु होइन — बरु अवस्थित संरचनालाई सही आकारमा ढाल्नु हो। पाँचवटा ठोस कदम-

पहिलो, नियमावलीमै आगामी तीन-पाँच वर्षभित्र विषयगत उप-संस्था (जैव-प्रविधि, कम्प्युटर-AI, अन्तरिक्ष, भू-विज्ञान, Chemistry ) स्थापना गर्ने स्पष्ट खाका र समयसीमा राख्नुहोस्, ताकि यो सुरुदेखि नै एक(संस्था होइन बढ्दो सञ्जाल को रूपमा डिजाइन होस्।

दोस्रो, NAST लाई कि त यही संरचनामा गाभेर पुनर्संरचना गर्नुहोस्, कि यसको मान्डेट स्पष्ट छुट्याइदिनुहोस् — दुवैले उस्तै काम गर्दा स्रोत र सीमित वैज्ञानिक जनशक्ति दुवै बाँडिन्छ।

तेस्रो, तलब संरचना निजामती स्केलबाट अलग गरी बजार प्रतिस्पर्धी बनाउनुहोस्, र कोषका लागि न्यूनतम वार्षिक बजेट प्रतिबद्धता कानुनमै लेख्नुहोस्।

चौथो, डायस्पोरा वैज्ञानिकका लागि वास्तविक पुनर्स्थापना संयन्त्र — संयुक्त नियुक्ति, सिड-ल्याब अनुदान, द्रुत फेलोसिप — थप्नुहोस्।

पाँचौं, केन्द्र काठमाडौंमा भए पनि, बजेट र मान्यता प्रदेशस्तरीय प्रयोगशाला र विश्वविद्यालयसम्म स्पष्ट रूपमा पुग्ने व्यवस्था गर्नुहोस्।

अन्त्यमा, महावीर पुनले आफैंले भन्नुभएझैं, विज्ञान(प्रविधिको विकास ढिलो गतिमा सम्भव छैन। तर गति र संरचना सँगै नमिलाई हिँड्दा, त्यो गति नै गलत बाटोतिर लैजाने जोखिम बन्छ। मस्यौदा अझै मस्यौदै छ, र यसको संरचना सच्याउने मौका अझै हातमै छ — यो एउटै मौका हो जुन पटक(पटक आउँदैन।

प्रश्न सरल छ- यो केन्द्र NAST को ठूलो संस्करण बन्ने हो, NIC/NAST कै दोस्रो संस्करण बन्ने हो, कि नेपालले साँच्चै चाहेको वैज्ञानिक संस्थाहरूको सञ्जालरु जवाफ अहिले नै लेखिँदैछ, र त्यो जवाफ लेख्ने जिम्मेवारी ठ्याक्कै त्यही मान्छेको हो जसले यो मन्त्रालय अस्तित्वमा ल्याउन सबैभन्दा बढी संघर्ष गर्नुभयो।

प्रभाकर साह