Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 50

भोटेकोशी बाढीः बाराका १५ जना सम्पर्कविहीन

0

बारा । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् । बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।

“बाढीका अझ कति सम्पर्कविहीन भएका छन् त्यसको यथार्थ खोजी तथा सूचना सङ्कलन गर्ने काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न स्रोतबाट अहिलेसम्म १५ जना सम्पर्कविहीन भएका भन्ने सूचना सङ्कलन गरिएको छ ।” सूचना सङ्कलन कार्यलाई जारी राखिएको जनाउँदै उहाँले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।

हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका९४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका९५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका९२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका९१ चिउटाहाका अङ्कित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

सहायक प्रजिअ भट्टराईका अनुसार प्रसौनी गाउँपालिका९३ का जितेन्द्रकुमार दास, कलैया उपमहानगरपालिका९२३ का श्रीनिवास मण्डल, जितपुरसिमरा उपमहानगरपालिका९१६ का रञ्जित श्रेष्ठ, करैयामाई गाउँपालिका९२ का धिरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका९५ औरैयाका रमेशकुमार साह र सुवर्ण गाउँपालिका९४ हरैयाका रमेशकुमार यादव पनि सम्पर्कविहीन भएका छन् ।

यसैगरी, निजगढ नगरपालिका९९ शान्तिटोलका राजु बिष्ट, निजगढ नगरपालिका९९ का दिनेश परियार, कलैया उपमहानगरपालिका९६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण गाउँपालिका९१ का सुरजकुमार साह र निजगढ नगरपालिका९८ का उत्तम न्यौपाने भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएकामध्ये केही रसुवामा, केही भोटेकोशी क्षेत्रमा तथा केही रसुवाका जलविद्युत् आयोजना र अन्य काममा खटिएका थिए । केही व्यक्ति त्रिशूली हाइड्रोपावर तथा रसुवाका विभिन्न आयोजनामा कार्यरत रहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

भोटेकोशी नदीमा बुधबार गएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ । बाढीपछि सयौँ मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धार कार्य जारी रहेको छ । बाराका सम्पर्कविहीन व्यक्तिहरुको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायमार्फत थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

“हामी गम्भीर भएर बाढीमा हराएका बाराका नागरिकको सूचना सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि हामी संवेदनशील भएर लागेका छौँ ।” सम्पर्कविहीन भएकाहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म भेटिएका शवहरू बाढीपछि सम्पर्कविहीन बनेका बाराका व्यक्तिको नभएको उहाँले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय वडाध्यक्षमार्फत सम्पर्कविहीनहरूको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परिवारजनले सम्पर्कविहीन व्यक्तिको अवस्था तत्काल सार्वजनिक गरी खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।
९९९

बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

0

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको छ ।

कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर९व्यवस्थापकीय सभामुखरअध्यक्ष सम्मेलन ९आइएससी९२० लाई सम्बोधन गर्दै उहाँले यही भदौ १० गते नेपालमा आएको अकल्पनीय विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “यस सम्मेलनमार्फत संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुनःस्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गर्दछु ।”

बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी र यथाशीघ्र उद्धारका लागि पनि अध्यक्ष दाहालले अपिल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनमा नेपालजस्ता देश बढी पीडित

नेपालमा आएको पछिल्लो विनाशकारी बाढीको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूका कारण सिर्जित सङ्कटमा परिरहेका बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित र पीडित राष्ट्रहरूका लागि विशेष अन्तरराष्ट्रिय कोषको व्यवस्था गर्न विश्वका संसद् र अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।

“जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूको कारणले पीडित छन्”, उहाँले भन्नुभयो, “पीडित राष्ट्रहरूका लागि विशेष कोषको व्यवस्था गर्न म सबै सांसद्हरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”

शान्ति स्थापनामा नेपालको विशिष्ट अनुभव

‘शान्ति र साझा समृद्धिका लागि एकताः अन्तरराष्ट्रिय कानुनको सुदृढीकरण र विवादहरूको शान्तिपूर्ण समाधान’ विषयक तीनदिने सम्मेलनको दोस्रो दिन नेपालका तर्फबाट अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको हो । सो क्रममा अहिले विश्व युद्ध, सशस्त्र द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धा, जलवायु परिवर्तन र तीव्र गतिमा विकसित हुँदै गएको प्रविधिका कारण शान्ति व्यवस्थापनान गम्भीर चुनौती थपिएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले दशक लामो सशस्त्र द्वन्द्वबाट गुज्रिएको नेपालले बल प्रयोगबाट नभई संवाद, सहमति र मौलिक शान्ति प्रक्रियामार्फत द्वन्द्वको समाधान गरेको उल्लेख गर्दै सन् २००६ को विस्तृत शान्ति सम्झौताले नयाँ राजनीतिक अध्याय सुरु गरेको बताउनुभयो ।

जननिर्वाचित संविधानसभाबाट जारी संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र मौलिक हकलाई संस्थागत गरेको उहाँले बताउनुभयो । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो सहज र छरितो प्रक्रिया थिएन । तर कठिन परिस्थितिमा पनि विचलित नभई नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गर्न सकेको छ । हामी यसमा गर्व गर्दछौँ ।”

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

0

काठमाडौँ । विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन भत्ताबापत पाउने रकम बढाइने भएको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता तथा दैनिक खाजा खर्चबापत पाउने रकम बढाउने निर्णय गरेको हो ।

विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै सरकारद्वारा यो कदम चालिएको प्राधिकरणले जनाएको छ । विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको जनाइएको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षाकर्मीले पाउने प्रोत्साहन रकम बढाउने विषयमा सम्बन्धित निकायलाई पत्राचार गर्नेछ । सोही निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहले तालुकदार मन्त्रालयमा लेखिपठाउनु पर्नेछ र सम्बन्धित मन्त्रालयले यसबारे निर्णय गर्ने जनाइएको छ ।

बैठकमा सुरक्षाकर्मीलाई दैनिक खाना र खाजा खर्चबापत रु एक हजार र एक दिनको तलबको ५० प्रतिशत बराबरको रकम प्रोत्साहन भत्ताबापत दिने विषयमा छलफल भएको थियो ।

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

0

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका हुन्।

यादव रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिए। उनका अनुसार यादव सोमबार बिहान करिब ९ बजेपछि सम्पर्कविहीन भएका हुन्।

एक्कासि आएको बाढीपछि यादवको अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको खानले बताए। यादव सम्पर्कविहीन भएपछि उनका परिवार तथा आफन्त चिन्तित बनेका छन्।

यादवका परिवारजनले उनको खोजी तथा उद्धारका लागि सरकारी निकायसँग आग्रह गरेका छन्।

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

0

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पार्टीका पर्सा जिल्ला संयोजक जयप्रकाश थारूले बुधबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ, बेत्रावतीलगायतका क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको जनाएका छन्।

बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रका नागरिक, सुरक्षाकर्मी तथा कर्मचारीसमेत सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ । बाढीमा परी कतिपय घाइते भएका छन् भने ठूलो संख्यामा घर तथा पसलमा क्षति पुगेको पार्टीले जनाएको छ ।

बाढीका कारण टिमुरे बजारलगायतका क्षेत्रमा घर–पसल, पशुचौपाया, भन्सार कार्यालय, प्रहरी चौकी, टेलिकम टावर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् गृह तथा सबस्टेसन र खेतबारीमा समेत क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम अझै कायम रहेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न संयोजक थारूले अपिल गरेका छन् ।

विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै पार्टीले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण विपद् व्यवस्थापन संयन्त्र, साधन–स्रोत र विकल्प परिचालन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संघ–संस्थाबीच समन्वय र सहकार्य गरी बाढीमा फसेकाको उद्धार, घाइतेको उपचार तथा राहत वितरणलाई प्रभावकारी बनाउन पनि पार्टीले आग्रह गरेको छ ।

‘सबै सुरक्षित रहौं, एकजुट भएर उद्धार, राहत र मानवीय सेवामा जुटौं,’ विज्ञप्तिमा भनिएको छ ।

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

0

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो ।

“आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ । उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ ।

बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।

बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ ।

यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ ।

“नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।”

यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

0

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ ।

धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना ९पहिचान नखुलेका०को शव भेटिएको छ ।

प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।

६३ जना उपचाररत

नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट , स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २ जना प्रहरी सम्पर्कबिहीन छन् ।

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ तुलाकान्त चौधरीलाई घुस लिएर भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपत्रपत्र दायर गरेको छ ।

आयोगको टोलीले केही समय अघि कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडानकार्य सम्पन्न भएपछि अवैध रूपमा रु सात लाख ५० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानले दुवै जनाले रु सात लाख ५० हजार घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो सात लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम बिगोबमोजिम जरिवाना सजायको माग माग दावी गरेको बताउनुभयो ।

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

0

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् ।

नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ ।

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् । साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा तीन जनाको उद्धार गरेका छन् ।

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

0

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म १८ वटा शव भेटिएको छ । १२ वटा हातखुट्टाहरू भेटिएका छन् । अरु विवरण लिँदै छौँ ।” बाढीको बहावसँगै ती शवहरू आएको उहाँले बताउनुभयो ।

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उहाँले शवहरू देखिएमा खबर गर्न आग्रह गर्नुभयो ।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई। सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा वहाव घट्न थालेको छ । यहाँ नौ मिटर कटेपछि खतरा मानिन्छ । छ दशमलव ८० मिटर पानीको सतह पुगेर घट्न सुरु भएको उहाँले जानकारी दिनुभयो । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उहाँको भनाइ छ ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ । पोखरातर्फ जाने सवारीसाधनलाई पठाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो ।

नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।