Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 4

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

0

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट सात वर्ष दुई महिना २७ दिन कैद सजाय र रु दुई लाख त्रिहत्तर हजार ७७७ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकामाथि जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, बाल शोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा रहेका छन् ।

प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ प्रतिवादीलाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पर्सामा जिल्ला बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

0

वीरगंज । बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा बाल सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा १५ सदस्यीय जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित भेलाले वीरगंज महानगरपालिकाकी करिश्मा गुप्ताको अध्यक्षतामा जिल्ला बालक्लब सञ्जाल गठन गरेको हो ।

नवगठित सञ्जालको उपाध्यक्षमा धोबिनी गाउँपालिकाकी समसुन खातुन, सचिवमा बहुदरमाई नगरपालिकाका सलमान हवारी र सहसचिवमा सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह चयन भएका छन् । जिल्लाका बाँकी स्थानीय तहबाट समेत प्रतिनिधित्व हुने गरी १५ सदस्यीय सञ्जाल गठन गरिएको जनाइएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति, पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्य तथा उपप्रमुख पुरनप्रसाद कुर्मी र जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरीसहित जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता थियो ।

नवगठित जिल्ला बालक्लब सञ्जालले जिल्लाका बालबालिकाका साझा समस्या तथा सवाललाई जिल्लास्तरमा उठान गर्दै बालअधिकार संरक्षण, बाल सहभागिता, बालमैत्री नीति तथा कार्यक्रम निर्माण, हिंसा तथा विभेद न्यूनीकरण र बालमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहमा गठित बालक्लब सञ्जालहरूबीच समन्वय र सहकार्य सुदृढ गर्दै बालबालिकाको अर्थपूर्ण सहभागितालाई निर्णय प्रक्रियासम्म पुर्‍याउन जिल्ला सञ्जाल गठन महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए ।

ड्राइपोर्ट मुआब्जा विवादमा सरकार र पीडितबीच चारबुँदे सहमति

0

वीरगञ्ज । सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबीच सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको आज भएको मुआब्जा सङ्घर्ष समिति दुवै पक्षबीचको वार्तापछि चार बुँदे सहमति भएको हो । सहमतिअनुसार २०८२ साल मङ्सिर २८ गते निर्णय गरी लेखी पठाइएको र हालसम्म उक्त जग्गाहरूको दर्ता गरी लालपुर्जा वितरण भएको नपाइएको भनी स्थानीय वासीले गुनासो गरेको र दर्ता बिनाको जग्गा र यसमा बनेका संरचनाको मुआब्जा/क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकाले भूमि प्रशासन कार्यालय, पर्साले तालुक निकायमा यथाशीघ्र पुनः ताकेता गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल र सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीलगायतको हस्ताक्षर भएको सो सहमतिपत्रमा भनिएको छ – सहमतिमा भएको मिति २०७६ माघ ६ मा गठित घर, गोठ, संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेस गरेको प्राविधिक प्रतिवेदनमा उल्लेखित घर, गोठ, टहरा तथा संरचनाको घरधनी/जग्गाधनीको घर निर्माण वर्ष यकिन गर्ने भनी च।नं। १३१, मिति २०८३ असोज १६ गते वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र वीगरञ्ज महानगरपालिका–२५ वडा कार्यालयलाई गरिएको पत्राचारको यस समितिबाट समर्थन गर्ने निर्णय गरियो ।

त्यसैगरी मिति २०७६ माघ ६ मा गठित घर, गोठ, संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेस गरेको प्राविधिक प्रतिवेदनमा उल्लेखित घर, गोठ, टहरा तथा संरचनाले ओगटेको जग्गाको स्वामित्व र कित्ता एकिन गर्ने भनी च.नं. १३२, मिति २०८३ असोज १६ गते नापी कार्यालय, वीरगञ्ज पर्सालाई गरिएको पत्राचारको यस समितिबाट समर्थन गर्ने निर्णयपनि भएको छ ।

स्थानीय पीडितले जिल्ला प्रशासन कार्यालयदेखि सरकारका सम्बन्धित निकायसम्म पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीयले मुआब्जाको आज गर्दै ड्राइपोर्टको मुख्य ढोकामै सोमबारदेखि धर्ना दिँदै आएका थिए ।

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

0

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) र नेपाल अपांग महिला संघको सहकार्यमा दिव्य विकास स्रोत केन्द्र, पर्साको साझेदारीमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

जिराभवानी गाउँपालिकाअन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कठकुइया–बसन्तपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र श्री बिता महतो जनता माध्यमिक विद्यालय नौकाटोलाका प्रतिनिधिहरूको सहभागितामा अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुखका प्रतिनिधि हरिशंकर चौधरीले विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्दा विद्यालयमा अध्ययनरत सबै बालबालिकाको पहुँच, सहभागिता, आवश्यकता र विविधतालाई समेट्नुपर्नेमा जोड दिए। उनले विद्यालयको वास्तविक अवस्था र आवश्यकताका आधारमा समावेशी योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।

अभिमुखीकरणमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी कार्य गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयको वर्तमान अवस्था पहिचान, समावेशी तथा सहभागितामूलक योजना निर्माण, आवश्यकता र प्राथमिकता निर्धारण तथा योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा सहजीकरण गरिएको थियो।

अभिमुखीकरणपछि तीनवटै विद्यालयका प्रतिनिधिहरूले असोज मसान्तभित्र विद्यालय सुधार योजनालाई समावेशी दृष्टिकोणबाट अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

विशेषगरी पछाडि पारिएका, सीमान्तकृत तथा वञ्चित समुदायका बालबालिकाको आवश्यकता र सहभागितालाई विद्यालयको योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा सुनिश्चित गर्ने उद्देश्यले प्रतिबद्धता जनाइएको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए। कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहजीकरण तथा समन्वयमा सहयोग गरेका थिए।

अभिमुखीकरणले विद्यालयका सरोकारवालालाई समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, निर्माण तथा अद्यावधिक प्रक्रिया र प्रभावकारी कार्यान्वयनबारे थप स्पष्टता प्रदान गरेको आयोजकले जनाएको छ।

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

0

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा हुने शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्न महासचिव पोखरेल पर्सा आउन लागेका हुन् ।

एमाले नेता रुपेश पाण्डेयका अनुसार पकाहाँ मैनपुर गाउँपालिका–२ मनिकपुरमा आगामी असोज २८ गते बुधबार दिउँसो आयोजना हुने शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथिका रूपमा महासचिव पोखरेल सहभागी हुने निश्चित भएको छ ।

कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा कार्यकर्ता र स्थानीय नेता–कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाण्डेयले जानकारी दिए ।

यसैगरी, महासचिव पोखरेलले ‘मिशन पार्टी जागरण अभियान’ अन्तर्गत पर्साका अगुवा कार्यकर्ताको भेलालाई समेत सम्बोधन गर्ने भएका छन् । पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर ३ मा आयोजना हुने कार्यक्रमले पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा वर्तमान राजनीतिक परिवेशबारे कार्यकर्ताबीच छलफल र अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एमालेले दशैंको अवसरमा आयोजना गर्ने शुभकामना आदान–प्रदान कार्यक्रमलाई संगठन विस्तार र कार्यकर्ता परिचालनसँग जोडेर अघि बढाउने तयारी गरेको बताइएको छ ।

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

0

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि बर्दिबासमा सुरु भएको छ।

श्री मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रमको शुभारम्भ पृतनापति भुवन केसीले गर्नुभएको हो। कार्यक्रममा मधेस प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मी सहभागी छन्।

अभिमुखीकरणमार्फत सञ्चारकर्मीलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिबारे जानकारी गराइनेछ। सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्दा तथ्यमा आधारित र सहज रूपमा समाचार तयार गर्न कार्यक्रम उपयोगी हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक प्रमुख सेनानी प्रतिभा थापाले पत्रकार र नेपाली सेनाबीच समन्वय तथा आपसी समझदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो।

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली सेनाको कार्यक्षेत्रसँगै विपद् प्रतिक्रिया, समसामयिक विषय तथा संकटका समयमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयमा प्रस्तुतीकरण र अन्तरक्रिया गरिनेछ।

सेनाका गतिविधि र जिम्मेवारीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउने यस्ता कार्यक्रमले सुरक्षा निकाय र सञ्चारमाध्यमबीचको समन्वय बढाउनुका साथै तथ्यपूर्ण र जिम्मेवार समाचार सम्प्रेषणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

0

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको राससलाई जानकारी दिनुभयो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असार १२ गते पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

0

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ । दसैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज २५ गते बिहान ११ः४७  बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उहाँले बताउनुभयो ।

असोज २६ गते झण्डा फेर्ने साइत १०ः०७ बजे उत्तम रहेको समितिले जनाएको छ । झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो । असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुने भएको छ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ ।

कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ । कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ ।

यस दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ११ः५२ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ । कात्तिक ८ गते आइतबार कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ ।

बडा दसैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दसैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्यपदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।

दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दसैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

0
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर आज बेलुकी ७ः०० बजेसम्म पु¥याएको छ ।

मण्डलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर मण्डलसहित पाँच जनामाथि मुद्दा दायर गरेको छ ।

आयोगले धनौजी गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ जडान, शीतभण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी नगराइ रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मण्डल, धनौजी गाँउपालिकाका तत्कालीन सह–लेखापाल विनोदकुमार मण्डल, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादव, अमृत मिडिया प्रालि तथा अमृत मिडिया प्रालिका अध्यक्ष एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रालिका बजार प्रतिनिधि सञ्जयकुमार यादवविरुद्ध  जनही रु तीन लाख ८० हजार विगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसुर बिगो तीन लाख ८० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरिएको बताउनुभयो ।