Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 3

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

0

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट चिकित्सकहरूले मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् ।

मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दाबढी रेजिडेन्ट चिकित्सकले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राखेका थिए । रेजिडेन्ट चिकित्सकले  कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाब दिइएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप लगाएका छन् । उनीहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन् ।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । रेजिडेन्ट चिकित्सकले  आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन् ।

“यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,” उहाँहरूले भन्नुभयो ।

निजी मेडिकल कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न चिकित्सकले  माग गरेका छन् । त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उहाँहरूको माग छ ।

आन्दोलनरत चिकित्सकले कलेजमा तत्काल फर्किएर अध्ययन गर्ने वातावरण नरहेको बताएका छन् । समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उहाँहरुको भनाइ छ ।

मन्त्रालयले रेजिडेन्ट चिकित्सकले उठाएका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट चिकित्सकका वास्तविक समस्या जान्ने उद्देश्यले छलफल गरिएको बताउनुभयो ।

“यो विषयमा सरकार गम्भीर छ । शिक्षामन्त्रीले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ । हामी यथाशिघ्र यसलाई सम्बोधन गर्छौँ,’ उहाँले भन्नुभयो ।

कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । रेजिडेन्ट चिकित्सकले भने सरकारको पहलबाट आफूहरूको समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले विद्यार्थीको समस्यालाई लिएर आयोग गम्भीर रहेको र यसको समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

0

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी शाहले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको पृष्ठभूमिका आधारमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

शाह २०३६ सालको जनमत संग्रहदेखि प्रजातान्त्रिक बहुदलीय व्यवस्थाका लागि सक्रिय रहँदै आएका छन् । उनी २०४२ देखि २०४८ सालसम्म नेपाल विद्यार्थी संघमा सक्रिय सदस्यका रूपमा आबद्ध थिए भने २०४६ सालको जनआन्दोलनमा समेत सहभागी भएका थिए ।

२०४८ सालदेखि नेपाली कांग्रेसका सक्रिय सदस्य रहेका शाहले २०५४ देखि २०५९ सालसम्म तरुण दलको गाउँ इकाइ समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा कांग्रेस (प्रजातान्त्रिक) का क्षेत्रीय कोषाध्यक्ष तथा २०६४ देखि २०६७ सालसम्म पर्सा जिल्ला कांग्रेस (प्रजातान्त्रिक) तथा नेपाली कांग्रेसको संयुक्त सचिवको जिम्मेवारीमा रहेका थिए ।

त्यसैगरी शाह नेपाली कांग्रेसको ११औँ र १३औँ महाधिवेशनका महासमिति प्रतिनिधि तथा २०७२ देखि २०७८ सालसम्म महासमिति सदस्य रहेका थिए । उनले २०६२/६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए ।

शाहले २०७० देखि २०७९ सालसम्म नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान संघ पर्साको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।

यसअघि उनको नाम विभिन्न निर्वाचनमा उम्मेदवारका लागि पार्टीको केन्द्रीय कार्यालयमा सिफारिससमेत हुँदै आएको थियो । पछिल्लो पटक २०८२ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस भएको थियो ।

१५औँ महाधिवेशनमा मधेश प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउँदै शाहले पार्टीको संगठनात्मक भूमिकालाई थप सक्रिय बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको बताएका छन् ।

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

0

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको अभिलेखमै नदेखिएको श्रेस्ता भूमि प्रशासन कार्यालय, पर्सामा पुगेपछि प्रक्रिया रोकिएको हो ।

वीरगंज १० स्थित रहेको कित्ता नम्बर २९, ५५ र १४७ को जग्गा वीरगंज–८ निवासी श्रीमती सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको प्रमाण कालिका टाईम्सलाई फेला परेको छ ।

करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको श्रेस्ता नापी कार्यालयलाई जानकारी नै नदिई भूमि प्रशासन कार्यालयमा पुगेको जनाइएको छ । उक्त विषयको सूचना बाहिरिएपछि भूमि प्रशासन कार्यालयले टिपनी आदेश तथा निर्णयसमेत तयार पारिसकेको अवस्थामा हालसाबिकको प्रक्रिया रोकेको हो ।

प्रचलित प्रक्रियाअनुसार नापी कार्यालयले सम्बन्धित जग्गाको नापजाँच गरी व्यक्ति वा ऐलानी जग्गा के हो भन्ने यकिन गर्नुपर्ने हुन्छ । त्यसपछि टिपनी आदेशसहित स्थायी लालपुर्जा तथा श्रेस्ता कायम गरी निर्णयको पत्रसहित अभिलेख भूमि प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीहरू बताउँछन् ।

तर, उक्त जग्गाको हकमा नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेको देखिएको छ । नापी कार्यालयका अमिन तथा नापी अधिकृतको हस्ताक्षरसमेत रहेको उक्त श्रेस्ता नक्कली भएको आशंका भएपछि भूमि प्रशासन कार्यालयले प्रक्रिया रोकेको वताएकाे छ । उक्त निवेदन असोज ९ गते भूमि प्रशासन कार्यालयमा दर्ता भएको देखिएको छ ।

भूमि प्रशासन कार्यालयका कर्मचारी श्रीनारायण साह र मिरा राईमार्फत प्रक्रिया अघि बढाइएको थियो । सेवाग्राही मार्फत हाल नामसारी कायम गरी जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्न निवेदन दर्ता भएपछि श्रेस्तामाथि शंका उत्पन्न भएको कर्मचारी साहले बताए ।

“नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र निवेदनमा आएको थियो । नापी कार्यालयले जारी गरेको श्रेस्तामाथि शंका लागेपछि प्रक्रिया रोकिएको हो,” साहले भने ।

नापी कार्यालय, पर्साका सूचना अधिकारी तथा नापी अधिकृत ई‍‍. राजकुमार विश्वकर्माले उक्त श्रेस्ता नापी कार्यालयको अभिलेखमा नदेखिएको बताए । नापी कार्यालयको मूल ढड्डामा समेत सो श्रेस्ता प्रमाणित भएको अभिलेख नभेटिएको उनको भनाइ छ ।

यता, भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीले नापी कार्यालयबाट जारी हुने श्रेस्ताको जिम्मेवारी सम्बन्धित नापी कार्यालयकै हुने बताए । नापी कार्यालयले जारी गर्नुपर्ने श्रेस्ता नक्कली अवस्थामा आफ्नो कार्यालयमा पुगेपछि त्यसबारे जानकारी माग्दै नापी कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए ।

“श्रेस्ता नक्कली सावित भएमा त्यसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ,” खत्रीले भने ।

नक्कली श्रेस्ताको आधारमा बहुमूल्य जग्गाको लालपुर्जा बनाउने प्रक्रिया अघि बढेको विषयले भूमि प्रशासन र नापी कार्यालयको भूमिकामाथि समेत प्रश्न उठाएको छ । समाचार स्रोतका अनुसार यश कार्यमा नापी र भूमि प्रशासन कै कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ ।

यस विषयमा बुझ्न जग्गाधनी पक्षसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । यश विषयमा थप समाचार अर्को अंंकमा प्रकाशित गरिने छ ।

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

0

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा सुधारलगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आव २०८२/८३ को सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गत आवको साउन र भदौमा २२ दशमलव ५६ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आवको सोही अवधिमा २० दशमलव ९५ प्रतिशतमा झरेको हो ।

चालु आवको साउनमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत विद्युत् चुहावट भएको कार्यालयले जनाएको छ । गत आवको साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो ।

सबैभन्दा कम बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत चुहावट भएको छ भने सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतले जानकारी दिनुभयो ।

प्रमुख कुसियैतका अनुसार विद्युत् चुहावटका दृष्टिले रौतहटको मौलापुर र गौर क्षेत्र तथा सर्लाहीको मलङ्गवालगायत क्षेत्रमा समस्या बढी देखिएको छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रमा भने विद्युत् चुहावट तुलनात्मक रूपमा कम रहेको उहाँले बताउनुभयो ।

चालु आवको पहिलो दुई महिनामा विद्युत् महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले पुनःविद्युत् जडान गराएका छन् । उहाँहरूबाट रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।

मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान सञ्चालन गरिएको प्रमुख कुसियैतले बताउनुभयो । गत आवमा ४२ हजार ६६४ ग्राहकको लाइन काट्दा रु एक अर्ब ४७ लाख बक्यौता असुल भएको थियो ।

मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक रहेको प्राधिकरणले जनाएको छ । मधेस प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमासमेत निरन्तर विद्युत् जडानको काम भइरहेको प्रमुख कुसियैतले बताउनुभयो । मधेस प्रदेशका जिल्लामा करिब १० प्रतिशत सिँचाइको विद्युतीकरण भएको जनाएको छ ।

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

0
Bollywood actor Nana Patekar attends the trailer launch of his upcoming Hindi-language thriller film ‘The Vaccine War’ in Mumbai on September 12, 2023. (Photo by Sujit JAISWAL / AFP)

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ।

रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म CPR मार्फत बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। अस्पतालले बिहान करिब ५ बजेर २० मिनेटमा उनको निधन भएको पुष्टि गरेको रिपोर्टहरूमा उल्लेख छ।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका अत्यन्त चर्चित अभिनेता थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘प्रहार’, ‘खामोशी’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनयलाई दर्शकहरूले निकै रुचाएका थिए।

उनले चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए र अभिनय योगदानका लागि पद्मश्री सहित विभिन्न सम्मान प्राप्त गरेका थिए।

नाना पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ।

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

0

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४० रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो । त्यसपछि २४० रनको लक्ष्य नेपालले ४८ दशमलव २ ओभरमा ८ विकेट गुमाउदै पूरा ग¥यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ३७, देव खनालले ३४ तथा गुल्शनकुमार झाले ३० रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले  ३९।५ ओभरमा सवै विकेट गुमाउँदै १६० रन बनाएको थियो । ओमान ‘ए’का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नन्दन यादवले तीन तथा करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । त्यस्तै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक एक विकेट लिए । ओमानमा नेपाल, ओमान र क्यानडा सम्मिलित तीन राष्ट्रले यसै साता आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्दैछन् ।

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

0

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ ।

स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान तालमा हाम फालेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय गौरबाट करिब एक किलोमिटर पूर्वमा रहेको सो तालमा खोजी गर्ने क्रममा अजयको शव फेला परेको रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

गौर नगरपालिकाका पूर्वप्रमुख अजय गुप्ताका अनुसार स्थानीय सुखारी साह केशरीका छोरा अजय मानसिक समस्याबाट पीडित थिए । दैनिक मादक पदार्थ सेवन गर्ने अजय दुई दिनअघि मात्र सुधार केन्द्रबाट घर फर्किएका थिए ।

सो घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक गौतमको नेतृत्वमा ३० जना, श्री नारायण दल गण पुरेनवाबाट सेनानी कञ्चन थापाको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको नेतृत्वमा १६ जना गरी ६१ जनाको संयुक्त सुरक्षा टोली खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उक्त शवलाई ‘पोष्टमार्टम’का लागि अहिले प्रादेशिक अस्पताल गौर लगिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारी साधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते हुनुभएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

1

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रबाट स्नातकोत्तर तहको एमबिए तथा स्नातक तहको एलएलबी र बिबीएको पठनपाठन सुरु गरेको हो ।

मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थपिएको तीनवटै सङ्कायको पठनपाठन गरेको छ ।

“एलएलबीको कक्षा सञ्चालन गरिसकेका छौँ र बिबीएको कक्षा पनि सञ्चालनको तयारी अन्तिम चरणमा छ”, रजिष्ट्रार यादवले भन्नुभयो, “अहिले एमपीए दोस्रो ब्याचको भर्नासमेत खोलेका छौँ, छिट्टै भर्ना प्रक्रिया सकिए कक्षा सञ्चालन गर्छौँ ।” विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न हौसिएको उहाँको भनाइ छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक वर्षमै दुईवटा सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप मधेस विश्वविद्यालयलाई मधेस प्रदेशमै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपकबहादुर शाक्यले बताउनुभयो ।

“हामीले सञ्चालन गरेको कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उपकुलपति प्रा डा शाक्यले भन्नुभयो, “त्यसैले निकट भविष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायतका चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि चलाउने लक्ष्य राखेका छौँ ।” तत्कालका लागि वीरगन्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उहाँको भनाइ छ ।

मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने दृष्टिले एमफिल पिएचडीसँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको उपकुलपति प्रा डा शाक्यले बताउनुभयो ।

मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा समाहित गराउन शिक्षालाई शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देउश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि मधेस प्रदेशमै पहिलो ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने पनि मधेस विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उहाँको कथन छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

0

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ ।

आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तृुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गर्ने जनाएको छ ।

प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा आतीसबाजी नगर्नसमेत समाजका सबै तह र तप्कासँग अपिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित तवरले चाडपर्व मनाउन तथा आपराधिक घटना र गतिविधिमा संलग्नबारे समयमै खबर गरी सुरक्षित समाज निर्माण गर्ने साझा जिम्मेवारी र दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रहरीको अनुरोधसम्बन्धी सूचनामा भनिएको छ, “चाडपर्वमा हुने आवतजावत, बजार तथा व्यापारिकस्थलमा हुने भीड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधिलगायतलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ ।”