वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा हुने शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्न महासचिव पोखरेल पर्सा आउन लागेका हुन् ।
एमाले नेता रुपेश पाण्डेयका अनुसार पकाहाँ मैनपुर गाउँपालिका–२ मनिकपुरमा आगामी असोज २८ गते बुधबार दिउँसो आयोजना हुने शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथिका रूपमा महासचिव पोखरेल सहभागी हुने निश्चित भएको छ ।
कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा कार्यकर्ता र स्थानीय नेता–कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाण्डेयले जानकारी दिए ।
यसैगरी, महासचिव पोखरेलले ‘मिशन पार्टी जागरण अभियान’ अन्तर्गत पर्साका अगुवा कार्यकर्ताको भेलालाई समेत सम्बोधन गर्ने भएका छन् । पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको एमालेले जनाएको छ ।
क्षेत्र नम्बर ३ मा आयोजना हुने कार्यक्रमले पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा वर्तमान राजनीतिक परिवेशबारे कार्यकर्ताबीच छलफल र अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एमालेले दशैंको अवसरमा आयोजना गर्ने शुभकामना आदान–प्रदान कार्यक्रमलाई संगठन विस्तार र कार्यकर्ता परिचालनसँग जोडेर अघि बढाउने तयारी गरेको बताइएको छ ।








