वीरगंज । बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा बाल सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा १५ सदस्यीय जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ ।
जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित भेलाले वीरगंज महानगरपालिकाकी करिश्मा गुप्ताको अध्यक्षतामा जिल्ला बालक्लब सञ्जाल गठन गरेको हो ।
नवगठित सञ्जालको उपाध्यक्षमा धोबिनी गाउँपालिकाकी समसुन खातुन, सचिवमा बहुदरमाई नगरपालिकाका सलमान हवारी र सहसचिवमा सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह चयन भएका छन् । जिल्लाका बाँकी स्थानीय तहबाट समेत प्रतिनिधित्व हुने गरी १५ सदस्यीय सञ्जाल गठन गरिएको जनाइएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति, पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्य तथा उपप्रमुख पुरनप्रसाद कुर्मी र जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरीसहित जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता थियो ।
नवगठित जिल्ला बालक्लब सञ्जालले जिल्लाका बालबालिकाका साझा समस्या तथा सवाललाई जिल्लास्तरमा उठान गर्दै बालअधिकार संरक्षण, बाल सहभागिता, बालमैत्री नीति तथा कार्यक्रम निर्माण, हिंसा तथा विभेद न्यूनीकरण र बालमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहमा गठित बालक्लब सञ्जालहरूबीच समन्वय र सहकार्य सुदृढ गर्दै बालबालिकाको अर्थपूर्ण सहभागितालाई निर्णय प्रक्रियासम्म पुर्याउन जिल्ला सञ्जाल गठन महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए ।








