Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 372

एकता महिला बचतकाे १६ औं साधारण सभा सम्पन्न

वीरगंज । एकता महिला बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १६ औं बार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज २ स्थित लक्ष्मीनारायण पार्टी प्यालेसमा भएकाे साधारण सभाकाे उद्घाटन वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले गरेका थिए ।

सभामा सहकारी संस्थाकी काेषाध्यक्ष आमना खातुनले संस्थाले आर्थिक बर्ष २०७९/०८० मा नियमित बचत ३ कराेड १८ लाख ९८ हजार ६ सय ३२ गरेकाे वताए । उनले संस्थाले गत आर्थिक बर्षमा दुई कराेड १२ लाख ५७ हजार ९ सय ७० गरेकाे जानकारी दिए ।

संस्थाकी अध्यक्ष मंजु देवीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज २ का वडाध्यक्ष महमद रेयाज, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, एकता साकाेसका नागिया देवी, स्वच्छद साकाेसका चन्द्रशेखर साह, काेहिनुर साकाेसका फनिन्द्र मिश्रा लगायतकाे उपस्थिती रहेकाे थियाे । 

सन्नी दुबेकाे अध्यक्षतामा एथलेटिक्स परिवार पर्सा गठन

वीरगंज । पर्सामा शनिबार एथलेटिक्स परिवार नेपालकाे जिल्ला कार्य समिति गठन भएकाे छ ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित श्री सारदा माविकाे सभा हलमा भएकाे एक कार्यक्रम बिच सन्नी कुमार दुबेकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएकाे हाे ।
 
जुन समितिकाे उपाध्यक्षमा जियालाल गुप्ता, सचिवमा विशेश्वर प्रसाद कुर्मी, कोषाध्यक्षमा गीता ठाकुर, सह_सचिवमा सरोज उपाध्याय चयन भएका छन् ।
 
यसैगरी नवगठित समितिकाे सदस्यमा राखि शर्मा, शेष अजहर, सुरेन्द्र चाैरसिया, महन्थ दास चाैधरी, गाैतम पटेल र साहेब गिरी चयन भएकाे अध्यक्ष दुबेले जानकारी दिए ।

शिक्षिकाहरुलाई स्तन क्यान्सर सम्बन्धि सचेतना

वीरगंज । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगंजकाे आयाेजनामा शनिबार वीरगंजमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

श्री त्रिजुद्ध महावीर  प्रसाद रघुवीर राम मावि वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विद्यालय शिक्षिकाहरुकाे लागि आयाेजित कार्यक्रममा स्तन क्यान्सर राेग विशेषज्ञ डा. विकाश साह र प्रसुती राेग तथा स्त्री राेग विशेषज्ञ सम्मी कर्णले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका ६० जना शिक्षिकाहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी शनिबार नै सखुवा प्रसाैनी गाउँपालिकाकाे औराहा पांचगावामा पनि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगंजकाे आयाेजनामा श्री दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

बारामा मोटरसाइकल दुर्घटनामा दुई युवककाे मृत्यु

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ दुधौरा खोला पुलस्थित शुक्रबार राति माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

कलैया उप-महानगरपालिका वडा नं. १३ बलिरामपुर निवासी २२ बर्षिय कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका कै वडा नं. १२ सितलपुर निवासी २२ बर्षिय अभिमनु कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरकाे मोटरसाइकल आफै अनियन्त्रित भई सोही पुलको बाँया साईडको पिलरमा ठोकी मोटरसाइकलमा सवार दुबै जना गम्भिर घाईते भएका थिए ।

उपचारकाे क्रममा घाइते खत्रीकाे शुक्रबार राति नै १२:४० बजे एलएस न्युराे अस्पताल र घाइते कुशवाहाकाे नेशनल मेडिकल कलेजमा ०१:५० बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

मृतक मध्येका खत्री कलैया उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष राजेश मेहता खत्रीका छाेरा हुन् । अर्का मृतक कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर निवासी बिनोद प्रसाद कुशवाहाका छोरा हुन् ।

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

वीरगंज । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

क्लबले शुक्रबार एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाकाे वडा नं. २६ स्थित श्री नेपाल प्राथमिक विद्यालय सुगौलीमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो ।

विद्यालयमा अध्ययनरत ८० जनालाई छात्र/छात्रालाई स्वीटर, मोजा, कॉपी, पेन्सिल, पेन वितरण गरिएकाे रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए  ।

साे कपडा प्राणिक हीलर, अलका सिंघानिया,अम्बालिका शाह, सोनी रमनले सहयाेग गरेका थिए । 

क्लबका अध्यक्ष रेशु अग्रवालको अध्यक्षतामा भएकाे कपडा हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुक, पुष्पा गुप्ता, परमानंद लगायतको उपस्थिति रहेको थियो ।

डेसिमल स्कूलमा “समुदायमा सरकारी वकील” कार्यक्रम

वीरगंज । वीरगंज ८ पानीटंकीस्थित डेसिमल स्कूल वीरगंजमा शुक्रबार “समुदायमा सरकारी वकील” कार्यक्रम सम्पन्न भएकाे छ । “फाैजदारी न्यायकाे प्रभावकारिता, कानुनी शासनकाे सुनिच्चिता” मुल नाराकाे साथ उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । 

उच्च सरकारी वकील कार्यालय अस्थाई ईजलास कार्यालयका प्रमुख राम कुमार थापाको अध्यक्षता भएकाे कार्यक्रममा स न्यायधिवक्ता भेष बहादुर गुरुङ, उप न्यायधिवक्ता एकराज अधिकारी, उप न्यायधिवक्ता ईश्वरदत जोशी, उप न्यायधिवक्ता प्रह्लाद मिश्र, बारा जिल्ला अदालत सरकारी वकील कार्यालयका प्रतीक्षा खड्का, जिल्ला सरकारी वकील कार्यालय पर्साका कृष्णा बिहारी राय यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

डेसिमल स्कूल वीरगंजका अध्यक्ष सन्नी दुबेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा डेसिमल स्कूल वीरगंज +२ कानुन संकायका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेकाे थियाे । 

बाल सुधार गृह वीरगंजमा पुन: झडप र ताेडफाेड

वीरगंज । बाल सुधार गृह वीरगंजमा पुन: बिहिबार राति झडप भएकाे छ । ४ जना बाल कैदी बन्दीहरुलाई बाल सुधार गृह भक्तपुर लगिन थालिएकाे विषयमा झडप हुँदा एक जना घाइते समेत भएका छन् ।

बाल सुधार गृह वीरगंजका नाइके २३ बर्षिय ललित भुजेल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । घाइते भुजेलकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे उनले वताए । हाल सुधार गृहकाे अवस्था समान्य रहेकाे डिएसपी श्रेष्ठले वताए ।

बिहिबार राति बाल कैदीबन्दीहरुले प्रहरीलाई समेत सुधार गृह भित्र प्रबेश गर्न दिएका थिएनन् ।  

केन्द्रकाे परिपत्र अनुसार बिहिबार सांझ सुमाेमा ४ जना बाल कैदीहरुलाई भक्तपुर लग्न खाेज्दा अन्य बाल कैदी बन्दीहरुले अवराेध गर्न खाेज्दा झडप भएकाे बाल सुधार गृह वीरगंजका प्रमुख टिका कृष्ण काफ्लेले वताए । बाल कैदी बन्दीहरु सुधार गृहकाे कार्यालयमा ताेडफाेड समेत गरेहकाे उनले वताए ।

उनका अनुसार केही दिन पहिला मात्र पुर्ननिर्माण गरिएकाे सुधार गृहकाे रेलिङ र ग्रिल लगायतका भाैतिक संरचनामा क्षति पुर्याएका छन् ।

यसका साथै उनीहरुले सुधार गृहकाे डेक्स २ थान, बेन्च ३ थान, टेबुल २ थान, दराज १ थान, बक्स पलंग १ थान गिजर १ थान, एसि १ थान, टिभि २ थान, कम्युटिर १ थान ताेडफाेड गरेका छन् ।

बाल कैदी बन्दीहरुले आफुले सुत्ने काेठाकाे बेड र दराज समेत ताेडफाेड गर्नुकाे साथै काेठा मै राखिएकाे जरिवानाकाे रु ७० हजार र मेराे व्यक्तिगत रु २५ हजार लुटपाट समेत गरेकाे प्रमुख काफ्लेले वताए ।

भक्तपुर लग्न खाेजिएकाे ४ जनालाई यहीं राख्नु पर्ने उनीहरुकाे माग रहेकाे छ । यस बिषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सराेकारवालाहरु बिच भएकाे छलफलमा कुनै निष्कर्ष निस्कन सकेन ।

यस अघि भदाै २६ गते पनि सुधार गृह वीरगंजमा झडप हुँदा ९ बाल कैदीबन्दीहरु र ३ प्रहरी गरि १२ जना घाइते भएका थिए । त्यस बेलपनि उनीहरु सुधार गृहमा ताेडफाेड गर्दा लाखाैं बराबरकाे क्षति भएकाे थियाे ।

 ५० जना जति बस्ने क्षमता रहेकाे वीरगंजस्थित बाल सुधार गृहमा हाल ११३ जना बस्दै आएका छन् । 

बारामा स्कारपिओबाट लागु औषध गाँजा बरामद

वीरगंज । बारामा स्कारपिओ गाडीबाट लागु औषध गाँजा बरामद भएकाे छ । प्रहरी चौकी, पथलैयाबाट खटिएको प्रहरी टोलिले शुक्रबार विहान ६:३० बजे डिएल ४ सिएनबि ३६८१ नम्बरकाे स्कारपिओबाट ३६ किलो लागू औषध गाँजा बरामद गरेकाे हाे ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित सर्भिस लाईनमा पार्किङ गरी राखिएकाे भारतीय स्कारपिओ गाडी शंकास्पद लागि चेकजाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको ३६ किलो अबैध लागू औषध गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

उक्त लागु औषधसहित गाडि नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी  बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

कालिका कन्या माविको विद्यालय व्यवस्थापन समिती पनि गठन

वीरगंज । पर्साको कलिकामाई गाउँपालिका वडा नं. २ रहेको कालिका कन्या आधारभूत विद्यालय भेडीहरीको विद्यालय व्यवस्थापन समिति आज गठन भएको छ ।

प्रमशिला देवी कानुको अध्यक्षतामा सर्वसहमत विद्यालय व्यवस्थापन समिती गठन भएको विद्यालयका प्रधानाध्यापक रामविश्वास चौरसियाले जानकारी दिए ।

नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यमा तइब खा पैठन, मन्दोदरी देवी, प्रतिमा देवी चौरसिया, राम प्रसाद चौरसिया, प्रभु चौरसिया चयन भएका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामविश्वास चौरसिया रहेका छन् ।

हरिखेतान क्याम्पसमा विवाद, आफु नै क्याम्पस प्रमुख रहेकाे डा. भगवान यादवकाे दाबी

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन् ।

क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने वताएका हुन् ।

आइतबार मात्र बसेकाे क्याम्पस संचालक समितिकाे बैठकले क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवलाई अनिवार्य अवकाश दिने निर्णय गरेकाे थियाे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका सुचना जारी गरेका थिए । उनकाे ठाउ‍ँमा निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई दिइएकाे जानकारी समेत गराएका थिए ।

साे लगतै आइतबार नै क्याम्पस प्रमुखकाे जिम्मेवारी समेत रायले समाहलेका थिए । तर त्यसकाे भाेली पल्ट नै साेमबार क्याम्पस प्रमुखबाट हटाइएका डा. यादवले पत्रकार सम्मेलन गर्दै आफु नै क्याम्पस प्रमुख रहेकाे दाबी गरेका हुन् । 

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।

पत्रकार सम्मेलनमा डा. यादबले आफुलाई फर्जी तरिकाले हटाएको भन्दै सामुदायिक क्याम्पसलाई व्यापारीको बपौती बनाउन खाेजिएकाे आराेप समेत लगाए ।

उनले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले पत्रकार सम्मेलन गरेकाे वताए ।

यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरुको बपौती वन्न कुनैपनि हालतमा नदिने उनले वताए ।