Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 373

पांच लाख घुससहित जितपुरसिमराका वडाध्यक्ष कार्की पक्राउ

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाका एक जना वडाअध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले साेमबार दउसाे जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई  रु ५ लाख नगदसहित नियन्त्रणमा लिएको हो । 

जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट अख्तियारको टोलीले कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीसँग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको हो । 

सिमराका राजन उप्रेतीले आफूसँग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् । वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरुपमा फसाएको प्रतिक्रिया दिएका छन् ।

कालिकामाईका एम्बुलेन्स चालक महताेकाे रुखबाट खसेर मृत्यु

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका एम्बुलेन्स चालक गोरख महतोको आइतबार रुखबाट खसेर मृत्यु भएकाे छ ।

आइतबार दिउसाे ब्राखाकाे लागि पात भाँच्न रुखमा चढेका महताे खसेर गम्भिर घाइते भएका थिए । उपचारकाे लागि वीरगंजस्थि नेशनल मेडिकल कलेजमा भर्ना गरिएका उनकाे आइतबार राति निधन भएकाे थियाे ।

एम्बुलेन्स चालक महताेकाे असमायिक निधनको शोकमा साेमबार गाउँपालिकाले शोक विदा दिएकाे थियाे ।

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतले साेमबार एक विज्ञप्ती जारी गर्दै एम्बुलेन्स चालक महतोको निधनले गाउँपालिकालाई स्तब्ध बनाएको जनाउँदै उनकाे निधनकाे शाेकमा विदा दिएकाे जनाएका थिए । 

गाउँपालिकाको साेमबार बसेको आकस्मिक बैठकले गाउँपालिका मातहतका शैक्षिक संस्था र स्वास्थ्य संस्था बाहेकका सबै सरकारी कार्यालयमा एक दिनकाे लागि विदा दिएकाे थियाे ।

श्री सुकई साह माविकाे विद्यालय व्यवस्थापन समिति गठन

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ स्थित श्री सुकई साह माद्यमिक विद्यालय भेडिहारीकाे  विद्याल ब्यवस्थापन समिती गठन भएकाे छ ।

केही दिन अगाडी भएकाे अभिभावक भेलाले विद्यालय व्यवस्थापम समिमिकाे लागि ४ जनालाई सर्वसम्मत चयन गरेकाे थियाे । त्यसपछि साे समितिले अझै २ जनालाई मनोनित गर्दै विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा पानालाल साह तेलीलाई चयन गरेकाे हाे ।

विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा शिवपुजन प्रसाद तेली, लक्ष्मण ठाकुर लोहार, दुर्गावती देवी कनुईन,, सुर्जा देवी राम र रम्भा देवी कनुईन रहेका छन् ।

विद्यालय ब्यवस्थापन समितीकाे सदस्य सचिवमा विद्यालयका प्रध्यानाध्यापक शुबोद चौरसिया रहेका छन् ।

बिगत केही दिन विद्यालय ब्यवस्थापन समिती नहुँदा विद्यालयका आर्थिक कारोबार लगायत निर्णय प्रक्रियामा असहज हुने गरेको थियो । अब विद्यालयकाे सम्मपुर्ण कामकाज अगाडी बढाइने नवगठित विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तेलीले बताए ।

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ स्थित हिमालयन डिस्टिलरीले लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । वडा कार्यालयले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रमका बीच उद्योगले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व बन तथा वातावरण मन्त्री प्रदीप यादवले सबै उद्योगी व्यवसायीहरुले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

सामाजिक उत्तरदायित्व सबै निजी संस्थाले बहन गर्नुपर्ने प्रावधानअनुरुप समाजको शिक्षा, स्वास्थ्य तथा अन्य विकासका क्षेत्रमा सक्दो सहयोग गर्न पनि उनले अन्य उद्योगहरुलाई आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक समेत रहेका यादवले सबैको साझा पहलमा नै विकास र समृद्धि हासिल गर्न सकिने बताउँदै हिमालयन डिष्टिलरी प्रति आभार पनि व्यक्त गरेका छन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका यादवसँगै निवर्तमान वडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नविन कुमार उपाध्याय, लिपनीविर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर राम लगायतको उपस्थिती रहेको समिर आलमले जानकारी दिए ।

वडाध्यक्ष रौनियारकै पहलमा हिमालयन डिष्टिलरीले २० लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो । उक्त एम्बुलेन्सबाट आफ्नो वडाबासी मात्रै नभएर छिमेकी वडाका बासिन्दा पनि लाभान्वित हुने वडाध्यक्ष रौनियारको विश्वास छ । उनले यसअघि वडाका अन्य शैक्षिक संस्थालाई पनि सामाजिक उत्तरदायित्वस्वरुप सहयोगका लागि निजी संस्थासँग समन्वय गर्दै आएका छन् ।

पाेखरिया नगरपालिका अगाडी स्थानियद्वारा प्रदर्शन

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा आइतबार स्थानियहरुले प्रदर्शन गरेका छन् । नगर विकास योजना अन्तर्गत राेका रहेकाे जग्गा फुकुवाकाे माग गर्दै स्थानियहरुले प्रदर्शन गरेका हुन् ।

नगर विकास याेजनामा मेयर प्रदुमन चौहानले मनमौजी गरेको आरोप लगाउँदै स्थानीयहरूले पाेखरिया बजारमा विराेध जुलुश निकाल्नुकाे साथै नगरपालिका अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

नगर विकास याेजनाकाे नाममा ४० बर्षदेखि राेक्का रहेकाे जग्गा फुकुवा माग गर्दै प्रदर्शन गरिएकाे स्थानिय भाेला कुमार गुप्ताले वताए ।

नगर विकासकाे नाममा लामाे समयदेखि जग्गा राेका भएका कारण कुनै पनि काम गर्न नसकिएकाे गुनासाे उनले गरे । उनका अनुसार पाेखरिया बजार आसपासका ५८ विग्गाहा जग्गा नगर विकास याेजनाकाे नामा राेक्का छ । जस कारण आफ्नै जग्गा ना कसैले बिक्री गर्न पाएका छन्, न कर्जा नै लिन पाएका छन् । 

नगर विकास याेजना अन्तर्गतका जग्गा ७० प्रतिशत जग्गा धनीले र ३० प्रतिशत याेजनाकाे लागि दिने सहमती भएपनि त्यस अनुसार लागु नभएका कारण विराेध प्रदर्शनमा उत्रनु पर्ने उनले वताए ।

हरि खेतानका प्रमुख डा. भगवान यादवले पाए अवकाश, निमित्त प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका  प्रमुख डा. भगवान प्रसाद यादवले अनिवार्य अवकाश पाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका हुन् ।

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका यादवको ठाउँमा किशोरी रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । उनी क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । निमित्त क्याम्पस प्रमुखका रूपमा रायले क्याम्पस र विद्यार्थीको हकमा काम गर्ने खेतानको विश्वास छ । 

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा स्थायी घर भएका किशोरी राय ४९ वर्षका भए । उनले अंग्रेजी विषयमा एमएड गरेका छन् भने समाजशास्त्रमा एम र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनी १८ वर्षदेखि सहायक क्याम्पस प्रमुखको रुपमा हरिखेतान बहुमुखी क्याम्पस मै कार्यरत थिए ।

दीवंगत बिहारीलाल खेतानले आफ्ना छोरा हरिगोपाल खेतानको स्मृतीमा २०३८ सालमा हरिखेतान क्याम्पसको स्थापना गरेका थिए । ११ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्रत्यक्ष रुपमा १ सय ४५ जनाले रोजगारी प्राप्त गरेका छन् । 

पहिलो क्याम्पस प्रमुखको रुपमा डा. भिमचरण थापा र दोस्रो क्याम्प प्रमुखमा डा. कुलानन्द दास थिए भने त्यसपछि करिब २०४० सालमा क्याम्पस प्रमुख बनेका डा. भगवान प्रसाद यादवलाई अहिले अनिवार्य अवकास दिइएको हो । 

क्याम्पस २०३८ सालमा स्थापना भएपनि त्रिविको कार्यकारी परिषद्बाट पारित भएर योजना निर्देशनालयबाट भने २३ जेठ २०७९ मा मात्रै प्रमाणिकरण भएको छ । त्यसअघि क्याम्पसको विधान कहीँकतै पनि दर्ता नरहेको पाइएको छ । 

क्याम्पसमा प्लस टु देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा पठनपाठन हुँदै आएको छ । प्लस टु मा व्यवस्थापन, कानुन, विज्ञान, शिक्षा र मानविकी संकायको अध्यापन हुन्छ भने स्नातकमा एलएलबी, बिबिएस, बिएड र बिए पढाई हुने गरेको नवमनोनित निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी दिए ।

उनकाअनुसार स्नातकोत्तरमा एमबिएसको अध्यापन भइरहेको छ भने एम एड, एमएआरडी र समाज शास्त्रमा स्विकृत प्राप्त भएको छ ।

अवकाश प्राप्त डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको थियाे ।

राँगाको मुर्ती भत्काएकाे आराेपमा ६ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाले केही दिन अघि मात्रै महानगरपालिकाकाे वडा नम्बर २१ हनुमान चौकमा साैन्दर्यकरणका लागि राखेकाे राँगाको मुर्ती भत्काएकाे आराेपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएकाे छ ।

मूर्ति भत्काएको आरोपमा ६ जना स्थानीय युवालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छ । स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यसमा संलग्न अन्यको खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनकाअनुसार उनीहरुविरुद्ध सार्वजनिक सम्पतीको कसुरमा मुद्दा लगाउने तयारी छ । 

त्रिभुवन राजपथ अन्तर्गत वीरगंज प्रवेश गर्ने परवानीपुरको चेकप्वाइन्ट निर राखिएको उक्त मुर्ती शनिवार स्थानीयले भत्काइदिएका हुन् । हनुमान मन्दिर चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले उक्त राँगाको मुर्ती हटाउन दबाब दिँदै आएका थिए ।

स्थानीयले यसअघि वीरगंज महानरपालिकाका प्रमुख राजेशमान सिंहको ध्यानाकर्षण गराउँदै मुर्ती हटाउन माग समेत गरेका थिए । ध्यानाकर्षण गराउँदा पनि मुर्ती नहटाएपछि स्थानीयले आफै भत्काएका हुन् । 

सबैठवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिस र राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसकाे संयुक्त आयाेजनामा सबैठवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय फजतावामा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

स्पर्श मल्टीस्पेशलिटी होस्पिटलको सहकार्यमा भएकाे शिविरमा ५ सय जनाले स्वास्थ्य परिक्षण गराएकाे राेटरी क्लब आँफ वीरगंज मेट्राेपाेलिसका सचिव मुकेश नितलले जानकारी दिए ‍।

शिविरमा डा. महेश्वर प्रसाद कुर्मी, डा. सुशील साह, डा. मनोज गुप्ता, डा. रंजीत चौरसिया र डा. प्रतिभा चाैधरीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा आयाेजक क्लबका शशि रन्जन कलवार, नन्दन चाैरसिया, चन्दन सिंह, हरिगाेपाल श्रेष्ठ, रामविनय यादव, राधिका दारुका, कुसुम गुप्ता, राेहित गुप्ताले लगायतकाले सहयाेग गरेका थिए ।  

पर्समा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन, अध्यक्षमा इश्क र सचीवमा सुशिल चयन

वीरगंज । पर्सामा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन भएकाे छ । शनिबार वीरगंजमा भएकाे विभिन्न दलका दलित नेता एवम् कार्यकर्ताहरुकाे भेलाले नेकपा माओवादी केन्द्रका इश्क कुमारकाे अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेकाे हाे ।

नवगठित समितिकाे सचिवमा नेकपा एकीकृत समाजवादीका सुशिल हजारा, सचिवालय सदस्यमा माओवादी केन्द्र कै महेन्द्र राम, नेपाली कांग्रेसका धिरज पासवान, जसपाका नरेन्द्र हजरा र एमालेका धन्नजय हजारा चयन भएका छन् ।

यसै गरि समितिकाे सदस्यमा हीरालाल राम, प्रमानन्द राम, शान्ति देवी पासवान, गगन सुनार, ओमप्रकाश पसवान, श्रीराम पासवान, जगत राम, विगु हजरा, छुनु पासवान, प्रमशिला राम, महाविर दास लगायतका चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य राम आश्रय रामले दलित मुक्तिको सवालमा निर्णायक आन्दोलनको खाचो रहेको बताए । उनले अबको पुस्ताले कुनै पनि किसिमको दमन शोषण सहन गर्नु नहुने वताउँदै पार्टीगत रुपमा जहाँ भएपनि दलित मुद्दामा आ आफ्नो पार्टी नेतृत्वमा दवाव सृजना गर्न सक्नु पर्ने वताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सलाहकार समितिका सदस्य समेत रहेका रामले दलितको शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान, राज्यमा समानुपातिक समाबेशी प्रतिनिधित्व, सुरक्षामा राज्यले पुर्ण रुपमा कार्यान्वयन नगरे सम्पुर्ण दलमा आवद्ध दलित समुदाय आन्दोलन गर्नु पर्ने वताए ।

जसपा निकटका समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश अध्यक्ष रामु महराकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एकीकृत समाजवादी निकटका नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सचिव बृजलाल पासवान,  नेपाली काङ्ग्रेस निकट दलित संघ मधेश प्रदेशका अध्यक्ष रामबरण पासवान, नेकपा एमाले निकट दलित मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य मेघराज पासवान, माओवादी केन्द्र निकट दलित मुक्ति माेर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पोखरिया नगरपालिका कार्यालय मै दलित महिलामाथि बलात्कार प्रयास

वीरगंज । पर्साको पोखरिया नगरपालिका कार्यालयमा शुक्रबार राति एक दलित महिलामाथि बलात्कारकाे प्रयास भएकाे छ । नगरपालिका कार्यालयमा कार्यरत सरसफाइ कर्मचारीका २२ बर्षिय श्रीमतीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएकाे छ ।

सरसफाइ शाखाका नाइके २५ बर्षिय रामबली हजराले सरसफाई कर्मचारीकी श्रीमतीमाथि बलात्कारको प्रयास गरेको उजरी आएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । नाइके हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाएका छन् ।

नगरपालिकामा कार्यरत सरसफाई कर्मचारी श्रीमान् बाहिर रहेकाे बेला श्रीमतीलाई बाेलाइएकाे थियाे । उनलाई सरसफाई शाखा कै कर्मचारीले फाेन गरेर रातिकाे समयमा नगरपालिकामा बाेलाएका थिए । नगरपालिकामा नआए तिम्राे श्रीमानकाे जागिर जाने भनिएपछि पिडित महिला कार्यालय पुगेकी थिइन ।

साेही माेकामा उनीमाथि सरसफाई कर्मचारीका नाइकेबाट कार्यालय भित्र बलात्कारकाे प्रयास भएकाे हाे । 

नगरपालिकाका सरसफाई शाखा प्रमुख विनाेद पाण्डेले घटना बारे अनुसन्धान गर्न छानविन समिति गठन भइरहेकाे वताए । साे समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने वताउँदै उनले समितिले दिएको प्रतिवेदनको आधारमा के गर्ने भन्ने कुराको निष्कर्षमा पुग्ने वताए ।

पीडित महिला र उनको श्रीमानले इलाका प्रहरी कार्यालय पोखरियामा उजरी दिएका छन् । पिडितले बलात्कार प्रयासकाे उजरी दिएकाे ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक मोहन बिक्रम केसीले वताए ।

प्रहरि निरिक्षक केसीले भने “बलात्कार प्रयासकाे उजरी आएपछि पिडितकाे स्वास्थ्य परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ, घटना बारे थप अनुसन्धान भइरहेकाे छ ।”