Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 32

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

0

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरोकारवालासँग सुझाव सङ्कलन गर्ने क्रममा शनिबार सिरहा र सप्तरीका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

उहाँले आगामी शैक्षिकसत्रदेखि विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, सीप र जीवनोपयोगी शिक्षासँग जोड्नेगरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

मन्त्री पोखरेलका अनुसार बदलिँदो समय, प्रविधिको विकास र रोजगारीको आवश्यकतालाई ध्यानमा राखेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न लागिएको हो । त्यसका लागि कार्यदल गठन गरी देशभर विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको छ ।

“विद्यार्थी, शिक्षक र अन्य सरोकारवालाबाट प्राप्त सुझावका आधारमा नयाँ पाठ्यक्रम तयार गरिनेछ”, उहाँले भन्नुभयो । नयाँ पाठ्यक्रम तयार भएपछि त्यसअनुसार पाठ्यपुस्तक छपाइको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

विद्यमान पाठ्यक्रमले समयअनुकूल जीवनोपयोगी तथा व्यावहारिक शिक्षा प्रदान गर्न नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले नयाँ पुस्ताको आवश्यकता र भविष्यलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिने बताउनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहजीकरण गर्दै पाठ्यक्रम परिमार्जनसँगै समग्र शिक्षा सुधारका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई कार्यान्वयनमुखी बनाउन समुदायस्तरमै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सुझाव सङ्कलन भइरहेको बताउनुभयो । शिक्षालाई समयानुकूल, व्यावहारिक, प्रविधिमैत्री र जीवनोपयोगी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो । प्राप्त सुझावका आधारमा आवश्यक संशोधन गरी नयाँ पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

व्यावहारिक र रोजगारमुखी शिक्षामा जोड

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सञ्चालन गरिएका कार्यशालाबाट विद्यालय शिक्षालाई व्यावहारिक, सीपमूलक, प्रविधिमैत्री तथा रोजगारमुखी बनाउनुपर्ने सुझाव आएको छ ।

कार्यशालामा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाले कृत्रिम बौद्धिकता ९एआई०, सूचना प्रविधि, नैतिक शिक्षा, जीवनोपयोगी सीप, प्राविधिक तथा व्यावसायिक शिक्षालाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सुझाव दिएका छन् ।

सहभागीहरूले विद्यार्थीलाई प्रविधिको प्रयोगमा मात्र दक्ष बनाउने नभई प्रविधि विकास गर्न सक्ने क्षमतासमेत विकास गर्ने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेशमा पाठ्यक्रम पटकपटक परिवर्तन गर्नुभन्दा प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने तथा पर्याप्त शिक्षक व्यवस्थापनबिना नयाँ पाठ्यक्रम प्रभावकारी रूपमा लागू गर्न नसकिने विषय उठाइएको थियो ।

मधेस प्रदेशबाट नैतिक तथा संस्कृत शिक्षा, एआई तथा कम्प्युटर प्रविधि, जलवायु परिवर्तन, ‘ग्रिन स्कुल’, प्राविधिक शिक्षा र साइबर सुरक्षासम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव आएको छ ।

बागमती प्रदेशका सहभागीले पूर्वीय दर्शन, संस्कृत तथा नैतिक शिक्षा, स्थानीय ज्ञान, सीप र संस्कृतिका साथै ‘कम्युनिटी करिकुलम’ र ‘नेचर लर्निङ’लाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । गण्डकी प्रदेशबाट पाठ्यक्रमलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने, सीपमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने तथा मूल्याङ्कन प्रणालीलाई अपाङ्गतामैत्री बनाउनुपर्ने सुझाव आएको छ ।

सुदूरपश्चिम प्रदेशका सहभागीले कार्यघण्टा घटाउनुपर्ने, मानवमूल्य शिक्षालाई प्राथमिकता दिनुपर्ने तथा कक्षा १० र ११ बीचको विषयवस्तुमा रहेको खाडल घटाउनुपर्ने सुझाव दिएका छन् । कर्णाली प्रदेशमा भने आगामी १५ देखि २० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने सुझाव आएको छ ।

पाठ्यक्रम विकास केन्द्रले भदौ २४ गतेदेखि पहिलो चरणमा सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरिरहेको छ । पहिलो चरणको कार्यक्रम भदौ ३० गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणमा ७७ वटै जिल्लामा पुगेर सुझाव सङ्कलन गरिने केन्द्रले जनाएको छ ।

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

0
Women light incense during Haritalika Teej festival celebrations at Pashupatinath ,Katmandu, on Wednesday, September 16, 2015. Women celebrate the festival by fasting, singing, dancing and offering prayers to Lord Shiva.Photo : Dinesh Gole / Nagarik / Republica /

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा तोयराज नेपालको छ ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।

नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृति बन्दैछ तीजको संस्कृति

पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो सुनिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चिज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उहाँ सुनाउनुहुन्छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरूले जोड दिएका छन् । महिनौँअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ । संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।

दर खाएर सुरु गरिँदै चारदिने तीज

आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष भदौ ३० गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मङ्गलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

हरितालिका (तीज) पर्वको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज०को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको लाम लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।

तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादसैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।

वीरगंजको मुख्य सडक विस्तार अन्तिम चरणमा

0

वीरगंज ।  वीरगंजको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।

हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । उहाँका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।

उहाँले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताउनुभयो । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।

सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताउनुभयो ।

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

0

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ।

मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू साझा चुनाव चिह्न लिएर जनतामाझ जाने तयारीमा रहेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारीलाई सामान्य चुनावी तालमेलका रूपमा बुझ्न नहुने बताए।

उनका अनुसार तत्कालका लागि मोर्चामा आबद्ध नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेछन् भने त्यसपछि राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ।

‘अहिले हामी नौ राजनीतिक दल एउटै मोर्चामा छौँ। आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनतामाझ जाने तयारीमा छौँ,’ अन्सारीले भने, ‘यो केवल निर्वाचनसम्मको सहकार्य होइन, भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान पनि हो।’

अन्सारीले विभिन्न राजनीतिक दल तथा धारमा विभाजित प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए।

साना–साना दलमा विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने भन्दै उनले साझा राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले अग्रगामी मोर्चालाई निर्वाचन केन्द्रित गठबन्धनमा मात्र सीमित नराखी व्यापक राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समानता, सामाजिक न्याय, समावेशिता तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने दिशामा मोर्चाले राजनीतिक विकल्प निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मधेससहित देशका विभिन्न भूगोल, वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गका उत्पीडित तथा अधिकारबाट वञ्चित नागरिकलाई राजनीतिक मूलधारमा जोडेर राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने अन्सारीले बताए।

जनकपुरधाममा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीलगायत जिल्लाबाट आएका नेता तथा कार्यकर्ताबीच मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल भएको थियो।

अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध रहेको बताइएको छ।

मोर्चाका नेताहरूले आगामी निर्वाचनलाई राजनीतिक शक्तिको पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार तथा कार्यकर्ता परिचालनलाई तीव्रता दिने बताएका छन्।

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुव निर्माणको सम्भावना बढाएको छ। साझा चुनाव चिह्नसँगै संगठनात्मक एकताको प्रक्रिया अघि बढेमा यसले मधेससहित राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण निर्माण गर्न सक्ने देखिन्छ।

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

0

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ओम नेसनल एकेडेमीले कुल १५० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । एसआर ग्यालेक्सी एकेडेमी १४० अंकसहित दोस्रो, गौतम माध्यमिक विद्यालय ७५ अंकसहित तेस्रो भएका छन् ।

त्यस्तै, लिटल एन्जेल्स स्कुल ३५ अंकसहित चौथो तथा मास्कट एकेडेमी ३० अंकसहित सान्त्वना स्थानमा रहे ।

प्रतियोगिताको जुनियरतर्फ कुल २९ विद्यालयको सहभागिता रहेको थियो । फाइनलमा सहभागी पाँचवटै विद्यालयले यसअघि सम्पन्न विभिन्न समूहका क्वालिफिकेसन राउन्डमा समूह विजेता बन्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

लिटल एन्जेल्स स्कुल, ज्योतिनगरमा आयोजित पुरस्कार वितरण समारोह प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगंजका नगर सदस्य विजय बललगायतको उपस्थिति रहेको थियो । उनीहरूले विजेता तथा उपविजेता विद्यालयका सहभागी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा लिटल एन्जेल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन तथा प्याब्सन वीरगंजका अध्यक्ष सुरज बाबु पटेललगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगंजका सचिव अमित आलोकले गरेका थिए । प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

0

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधीर पटेलको नेतृत्वमा प्रभावित बाढी प्रभावति धादिङ जिल्लामा पठाउने तयारी गरिएको हाे ।

‘वीरगंज सहयोगी हात’ तथा जेनजी पर्साको समन्वयमा राहत सामग्री गरी राहत सामग्री संकलन गरिएकाे नेता पटेलले जानकारी दिए । उनका उनुसार संकलित सामग्री शनिबार पिकअपमार्फत प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

नेता पटेलका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्रीको पहिचान गरी सोहीअनुसार राहत संकलन गरिएको हो । संकलित सामग्रीमा दाल, चामल, भाँडाकुँडा, लत्ताकपडा, चप्पललगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री रहेका छन् ।

बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री प्रत्यक्ष रूपमा पुर्‍याउने उद्देश्यले आफू स्वयं सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जान लागेको नेता पटेलले बताए । संकलित राहत वास्तविक पीडितसम्म पुर्‍याउने उद्देश्यले टोली परिचालन गरिएको उनको भनाइ छ ।

‘राहत सामग्री संकलन गरेर मात्रै हुँदैन, त्यो वास्तविक पीडितसम्म पुग्नुपर्छ,’ पटेलले भने, ‘त्यसैले हामी आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँ । जहाँ बढी आवश्यकता छ, त्यहीँ प्राथमिकताका आधारमा सामग्री वितरण गर्ने हाम्रो योजना छ ।’

प्रभावित क्षेत्रमा पुगेपछि होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गर्नुका साथै सम्भव भएसम्म स्थानीयको घरघरमै पुगेर समेत आवश्यक सामग्री उपलब्ध गराउने योजना रहेको पटेलले बताए ।

बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले स्थानीयस्तरबाट सहयोग जुटाएर राहत अभियान सञ्चालन गरिएको जेनजी पर्साका अध्यक्ष माहदेव कुर्मीले वताए ।

राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सम्बन्धित पक्षसँग समन्वय गरिने अध्यक्ष कुर्मीले बताए ।

सरकार ढाल्ने खेलका लागि होइन, देशलाई संकटबाट निकास दिन अग्रगामी मोर्चा : प्रभु साह

0

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।

जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई वर्तमान संकटबाट निकास दिन निर्माण गरिएको स्पष्ट पारे ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै साहले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’ उनले संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबल बलियो बनाउनुपर्नेमा जोड दिए ।

अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई जोड्ने, संकटबाट जोगाउने, नयाँ निकास दिने, विगतका उपलब्धिको रक्षा गर्ने तथा जनताका थप अधिकारको ग्यारेन्टी गर्ने रहेको साहले बताए ।

देश अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिसहित बहुआयामिक संकटबाट गुज्रिरहेको उनको भनाइ थियो । यस्तो अवस्थामा समस्यालाई केवल सत्ताको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने साहले बताए ।

मोर्चामा आबद्ध नेतृत्व तथा राजनीतिक शक्तिहरूले विगतमा गरेको योगदानको चर्चा गर्दै साहले उनीहरूले संघर्षको इतिहास निर्माण गर्दै समाज र देशमा महत्वपूर्ण छाप छोडेको बताए । विगतमा विकासका विभिन्न मोडलसमेत निर्माण भएकाले त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सरकार ढाल्ने खेलका लागि निर्माण नगरिएको स्पष्ट पारे । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ उनले भने ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप लगाउँदै साहले सत्ता केन्द्रित राजनीतिक गतिविधिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने बताए ।

आगामी दिनमा संगठनलाई थप सुदृढ गर्दै देशभरका कार्यकर्ता तथा जनताको मन जोड्ने अभियान सञ्चालन गरिने साहले बताए । अग्रगामी मोर्चालाई बलियो बनाउन विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि तथा आगामी संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए । मुलुकको वर्तमान संकटबाट निकासका लागि जनताको सहभागिता, एकता र संगठित संघर्ष अपरिहार्य रहेको साहको भनाइ थियो ।

सिरहामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको विरोध

0

वीरगंज । सिरहाको औरही गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विरोध भएको छ ।

मन्त्री पोखरेलले स्थानीय पार्टी कमिटीलाई जानकारी नै नदिई विद्यालय भ्रमण तथा भेटघाट कार्यक्रम गरेको भन्दै स्थानीय नेताहरूले विरोध गरेका हुन् ।

सिरहा क्षेत्र नम्बर २ अन्तर्गतका विद्यालयमा भ्रमण तथा भेटघाटका लागि पुगेका मन्त्री पोखरेलले कार्यक्रममा सम्बोधन गर्न थालेपछि स्थानीय नेताहरूले विरोध जनाउँदै उनलाई बोल्नबाट रोकेका थिए । विरोधपछि मन्त्री पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेका सिरहा निवासी प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले स्थानीय पार्टी कमिटीलाई जानकारी नदिई कार्यक्रम आयोजना गरेको आरोप स्थानीय नेताहरूले लगाएका छन् ।

स्थानीय पार्टी कमिटीका अनुसार प्रतिनिधिसभा सदस्यद्वय यादवले पार्टीको स्थानीय संरचनालाई बेवास्ता गर्दै आफूखुसी कार्यक्रम आयोजना गर्ने गरेको आरोप छ । स्थानीय कमिटीलाई जानकारी तथा समन्वय नगरी मन्त्रीलाई कार्यक्रममा बोलाइएको भन्दै असन्तुष्ट नेताहरूले मन्त्रीले सम्बोधन गरिरहेका बेला विरोध जनाएका हुन् ।

घटनाले रास्वपाभित्र स्थानीय कमिटी र प्रतिनिधिसभा सदस्यबीचको समन्वय तथा आन्तरिक विवाद सतहमा आएको देखिएको छ ।

सरकार जनताको अपेक्षाअनुसार चल्न सकेन : माधव नेपाल

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन् ।

वीरगंजमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।

‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ उनले भने, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो । जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन् । त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’

नेपालले आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको रक्षा गर्दै त्यसको व्यवहारिक कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता आवश्यक रहेको बताए ।

वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भए पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको उनको टिप्पणी थियो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको उनले दाबी गरे ।

‘देश अहिले विपत्तिमा छ । हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो । त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ ।’

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो ।

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

0

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

सवैया साझेदारी वन उपभोक्ता समूहको आयोजनामा शुक्रबार आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अहमदले वन संरक्षण सरकारी निकायको प्रयासबाट मात्र सम्भव नहुने बताए। उनले स्थानीय उपभोक्ता तथा साझेदारी वन समूहको सक्रिय सहभागिताबाट मात्रै वन संरक्षणलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे।

उनले वन कार्यालयको मुख्य जिम्मेवारी वन संरक्षण, वन व्यवस्थापन, वन उत्पादन तथा वन विकास रहेको उल्लेख गर्दै वन क्षेत्रलाई हराभरा बनाउँदै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण, दिगो वन व्यवस्थापन र संरक्षणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

“वन संरक्षण सबैको साझा जिम्मेवारी हो। वन कार्यालय र उपभोक्ता समूहबीचको सहकार्यबाट मात्रै संरक्षणलाई प्रभावकारी बनाउन सकिन्छ,” अहमदले भने।

सवैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन अधिकृत नवनीत मिश्रा विशिष्ट अतिथि तथा समूहका उपाध्यक्ष असलम आलम अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन समूहका सदस्य–सचिव सोनम आचार्यले गरेका थिए।

कार्यक्रममा भैयाराम पटेल, जयनारायण यादव, राजीव साह सोनार, नेसार अहमद, रामअयोध्या यादव, राधिका लामा, सुरेश पटेल, सुरज कुर्मी, गीता देवी कलवारिनलगायत समूहका सदस्य तथा सब–डिभिजन वन कार्यालय सवैयाका कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रममा वन, जंगल तथा वातावरण संरक्षण, दिगो वन व्यवस्थापन तथा वन कार्यालय र उपभोक्ता समूहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

पर्सामा दुई वर्ष डिभिजन वन कार्यालय प्रमुखका रूपमा कार्यरत अहमदको रौतहट जिल्ला वन कार्यालयमा सरुवा भएपछि उनको सम्मान तथा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सवैया साझेदारी वन उपभोक्ता समूहले जनाएको छ।