जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।
जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई वर्तमान संकटबाट निकास दिन निर्माण गरिएको स्पष्ट पारे ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै साहले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’ उनले संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबल बलियो बनाउनुपर्नेमा जोड दिए ।
अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई जोड्ने, संकटबाट जोगाउने, नयाँ निकास दिने, विगतका उपलब्धिको रक्षा गर्ने तथा जनताका थप अधिकारको ग्यारेन्टी गर्ने रहेको साहले बताए ।
देश अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिसहित बहुआयामिक संकटबाट गुज्रिरहेको उनको भनाइ थियो । यस्तो अवस्थामा समस्यालाई केवल सत्ताको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने साहले बताए ।
मोर्चामा आबद्ध नेतृत्व तथा राजनीतिक शक्तिहरूले विगतमा गरेको योगदानको चर्चा गर्दै साहले उनीहरूले संघर्षको इतिहास निर्माण गर्दै समाज र देशमा महत्वपूर्ण छाप छोडेको बताए । विगतमा विकासका विभिन्न मोडलसमेत निर्माण भएकाले त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सरकार ढाल्ने खेलका लागि निर्माण नगरिएको स्पष्ट पारे । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ उनले भने ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप लगाउँदै साहले सत्ता केन्द्रित राजनीतिक गतिविधिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने बताए ।
आगामी दिनमा संगठनलाई थप सुदृढ गर्दै देशभरका कार्यकर्ता तथा जनताको मन जोड्ने अभियान सञ्चालन गरिने साहले बताए । अग्रगामी मोर्चालाई बलियो बनाउन विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि तथा आगामी संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए । मुलुकको वर्तमान संकटबाट निकासका लागि जनताको सहभागिता, एकता र संगठित संघर्ष अपरिहार्य रहेको साहको भनाइ थियो ।








