वीरगंज । सिरहाको औरही गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विरोध भएको छ ।
मन्त्री पोखरेलले स्थानीय पार्टी कमिटीलाई जानकारी नै नदिई विद्यालय भ्रमण तथा भेटघाट कार्यक्रम गरेको भन्दै स्थानीय नेताहरूले विरोध गरेका हुन् ।
सिरहा क्षेत्र नम्बर २ अन्तर्गतका विद्यालयमा भ्रमण तथा भेटघाटका लागि पुगेका मन्त्री पोखरेलले कार्यक्रममा सम्बोधन गर्न थालेपछि स्थानीय नेताहरूले विरोध जनाउँदै उनलाई बोल्नबाट रोकेका थिए । विरोधपछि मन्त्री पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेका सिरहा निवासी प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले स्थानीय पार्टी कमिटीलाई जानकारी नदिई कार्यक्रम आयोजना गरेको आरोप स्थानीय नेताहरूले लगाएका छन् ।
स्थानीय पार्टी कमिटीका अनुसार प्रतिनिधिसभा सदस्यद्वय यादवले पार्टीको स्थानीय संरचनालाई बेवास्ता गर्दै आफूखुसी कार्यक्रम आयोजना गर्ने गरेको आरोप छ । स्थानीय कमिटीलाई जानकारी तथा समन्वय नगरी मन्त्रीलाई कार्यक्रममा बोलाइएको भन्दै असन्तुष्ट नेताहरूले मन्त्रीले सम्बोधन गरिरहेका बेला विरोध जनाएका हुन् ।
घटनाले रास्वपाभित्र स्थानीय कमिटी र प्रतिनिधिसभा सदस्यबीचको समन्वय तथा आन्तरिक विवाद सतहमा आएको देखिएको छ ।








