वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन् ।
वीरगंजमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ उनले भने, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो । जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन् । त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’
नेपालले आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको रक्षा गर्दै त्यसको व्यवहारिक कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता आवश्यक रहेको बताए ।
वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भए पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको उनको टिप्पणी थियो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको उनले दाबी गरे ।
‘देश अहिले विपत्तिमा छ । हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो । त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ ।’
उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे ।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो ।








