Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 31

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

0

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ ।

महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो ।

उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटकपटक समयावधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताउनुभयो ।

महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य केन्द्रदेखि वडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै कांग्रेसले उनीहरूको भूमिकाको सम्मान गरेको बताउनुभयो ।

कांग्रेसले महाधिवेशनलाई महाउत्सवका रूपमा व्याख्या गर्दै पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न केन्द्रीय कार्यसमितिले निरन्तर पहल गरिरहेको उहाँको कथन छ ।

बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले कुनै असहमति भएमा आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको निर्णय गरेको छ । महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाउन कांग्रेस प्रतिबद्ध रहेको निर्णय गरेको महामन्त्री पौडेलले जानकारी दिनुभयो ।

महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली बैठकले स्वीकृत गरेको छ । यस्तै, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराउनुभएको थियो ।

आइतबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला पन्त र योगेन्द्र चौधरीसहित केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुङ्गाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे तथा मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले धारणा राख्नुभएको थियो ।

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

0

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको हो ।

स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभयो ।

शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो । उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो । यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो ।

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

0

काठमाडौँ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।

बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्नरगराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संंरक्षण गर्नुपर्ने आवश्यकता छ ।

त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । यस अवसरमा आज परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन् ।

हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

0

काठमाडौँ ।  यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं। ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ । यसैगरी तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको ¥याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उहाँले सुनाउनुभयो ।

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ । बिहानको समयमा भक्तजनले सहज रुपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ । बिहानी पख भदौरे झरीका वावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ । हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

2

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ।

मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि अस्थायी दरबन्दी प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत नभएसम्म गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिलाई कामकाजमा नखटाउन निर्देशन दिएको हो।

मन्त्रालयका वरिष्ठ उपसचिव तथा सूचना अधिकारी राजेशकुमार मिश्रका अनुसार भदौ २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायतका निकायलाई यस्तो निर्देशन दिइएको हो।

मन्त्रालयले जारी गरेको पत्रमा अस्थायी दरबन्दी स्वीकृत नभएसम्म त्यस्ता कर्मचारीलाई हाजिर गराएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखले लिनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म मधेश प्रदेशका विभिन्न अस्पतालमा ४३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अस्थायी दरबन्दीमा कार्यरत थिए। त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल तथा स्वास्थ्य कार्यालयलगायतका संस्थामा थप ३४२ जना अस्थायी जनशक्ति कार्यरत थिए।

यसरी प्रदेशभर कुल ७७४ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी अस्थायी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये केही स्थायी नियुक्ति भई पदस्थापन भइसकेका छन् भने केही अन्यत्र गएपछि करिब १५० स्थान रिक्त रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो।

प्रदेशका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रत्येक आर्थिक वर्ष अस्थायी दरबन्दी स्वीकृत गर्नुपर्ने अवस्था छ। तर चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दासमेत अस्थायी दरबन्दी स्वीकृत वा अस्वीकृतसम्बन्धी निर्णय हुन नसक्दा स्वास्थ्यकर्मीमा अन्योलता बढेको छ।

स्वास्थ्य क्षेत्रका अधिकारीहरूले अस्थायी दरबन्दी समयमै स्वीकृत हुन नसके स्वास्थ्य संस्थाको नियमित सेवा प्रवाहमा समेत असर पर्न सक्ने बताएका छन्। विशेषगरी चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेका अस्पतालमा जनशक्ति व्यवस्थापनमा समस्या आउन सक्ने उनीहरूको भनाइ छ।

मन्त्रालयले भने सम्बन्धित स्वास्थ्य संस्थाबाट अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिको विवरण र आवश्यकताका आधारमा चालु आर्थिक वर्षका लागि दरबन्दी स्वीकृतिको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

समयमै दरबन्दी स्वीकृत नभए प्रदेशका स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको व्यवस्थापनसँगै सर्वसाधारणले पाउने स्वास्थ्य सेवामा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ।

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

0

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्।
नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई पूर्णता दिँदै बिन्दवासिनी गाउँपालिका–४ निवासी चौरसियालाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

संगठनको कार्यसम्पादनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन चौरसियालाई उपाध्यक्षको जिम्मेवारी दिइएको नियुक्तिपत्रमा उल्लेख छ। नियुक्तिपत्रमा संगठनको विधान, नीति, निर्णय तथा निर्देशनअनुसार इमानदारी, अनुशासन, पारदर्शिता र निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिएको जनाइएको छ।

अध्यक्ष यादवले चौरसियाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप मजबुत बनाउन उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। चौरसिया दोस्रो कार्यकालको लागि उपाध्यक्ष न्युक्त भएका हुन् ।

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

0

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् ।

नेता पटेलकाे नेतृत्वमा गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडितका लागि होल्डिङ सेन्टरमा रहेका करिब २०० परिवारलाई राहत सामग्री वितरण गरिएकाे हाे । राहत सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोट तथा लत्ताकपडालगायत सामग्री रहेका छन् ।

राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेन–जी पर्साका संयोजक महादेवप्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेन–जीका चन्दन महतो र रोकि खानलगायतको उपस्थिति थियो ।

जेन–जी पर्साले संकलन गरेको राहत सामग्री लिएर पटेल नेतृत्वकाे टोली शनिबार वीरगंजबाट धादिङतर्फ प्रस्थान गरेको थियो । टोलीले धादिङ पुगेर बाढीपीडितको अवस्था बुझ्दै आवश्यक राहत सामग्री वितरण गरेको हो ।

बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको जेन–जी पर्साले जनाएको छ ।

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँः मन्त्री पोखरेल

0

सप्तरी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।

सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुग्नुभएका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाअनुसार मौखिक र लिखित फाराम दिएर सुझाव सङ्कलन गर्दैछौँ । प्राप्त सुझावलाई प्राथमिकतामा राखेर कामको गति अगाडि बढाउने योजना छ ।”

तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको बताउनुभयो । नयाँ पाठ्यक्रम कसरी बनाउने के भइदिएको भए हुने थियोे रु भन्ने विषयमा सुझाव माग्दा सीपमा आधारित शिक्षा हुनुपर्ने सुझाव आएको उहाँले बताउनुभयो । स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताउनुभयो ।

मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा भगवान ठाकुरको टोलीले मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालयअन्तर्गत समावेश गर्न ज्ञापनपत्र बुझाउनु भएको थियोे ।

छापा सञ्चारमाध्यमको संकटबारे एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

0

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।

कार्यदलका प्रतिनिधिले आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या तथा चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन्।

छापा सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकम कटौती गर्दा नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ।

कार्यदलले छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवद्र्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन र त्यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडीसहितको टोलीले अध्यक्ष ओलीसँग छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे छलफल गरेको थियो।

सो अवसरमा अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनको पक्षमा रहेको स्पष्ट गरेका थिए।

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

0

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ ।

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको सम्पन्न प्रथम डिस्ट्रिक्ट क्याबिनेट बैठकले विद्यालय भवन निर्माणसम्बन्धी उक्त परियोजना स्वीकृत गर्ने निर्णय गरेको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले जानकारी दिए । परियोजना अध्यक्ष शमानीको पहल, समन्वय र सक्रियतामा अघि बढाइएको जनाइएको छ ।

ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको परियोजनाले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

परियोजना स्वीकृतिका लागि पहल, समन्वय तथा सहयोग गरेको भन्दै लायन्स क्लब अफ पोखरिया परिवारले लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसका अध्यक्ष लायन रामबिहारी पाण्डेयसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।

यसै अवसरमा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाई सम्मान गरिएको थियो। सम्मानबाट आफू अत्यन्तै खुसी र गौरवान्वित भएको बताउँदै शमानीले आफूलाई प्रदान गरिएको माया, विश्वास र सम्मानप्रति हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

परियोजनाले विद्यालयको शैक्षिक वातावरण सुधार गर्नुका साथै ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।