Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 319

डोंगफेंग ईभी भ्यानको अधिकारिक विक्रेता अब मधेश प्रदेशमा

वीरगंज । मधेश प्रदेशको अधिकारिक बिक्रेता नारायणी अटोकर्प प्रा.ली.ले डोंगफेंग इलेक्ट्रिक (ईभी) भ्यानको अग्रिम बुकिङ खुलाएको छ । मधेश प्रदेशको जुनसुकै शहरबाट बूकींग गर्न सकिने बारे नारायणी अटोकर्पका सञ्चालक रजत बजाजले बताए ।

उनका अनुसार नेपालमा त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटरकर्पद्वारा आयात गरिएको डोंगफेंग (ईभी) चीनका शीर्ष तीन कार निर्माताहरू मध्ये एक हो र यो विश्वव्यापी रूपमा ५० देशमा सञ्चालनमा छ । नारायणी अटोकर्पले अहिले ११ सिट र १४ सिट डोंगफेंग इलेक्ट्रिक यात्री भ्यानहरू साथै ४.५ र ५.३ घन मिटर कार्गो भ्यानहरू बिक्री र वितरण गर्ने बारे अर्का संचालक रवि केयालले बताए ।

उनका अनुसार ११ सिटको ईभी माइक्रोमा ५० किलोवाट मोटर र ४२ किलोवाट घण्टा लिथियम-आयन ब्याट्री छ जसले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । यसैगरी, १४ सिटको ईभी माइक्रोमा ८० किलोवाट मोटर छ र यसको ५० किलोवाट घण्टा लिथियम-आयन ब्याट्रीले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । सबै डोंगफेंग इलेक्ट्रिक भ्यानहरू क्याट ब्याट्रीहरूसंग फिट छन् ।

डोंगफेंगका सवारीसाधनहरू उच्च प्रदर्शन, वातावरणमैत्री र कम सञ्चालन खर्चका लागि विश्वभरि प्रसिद्ध छन् । यी भ्यानहरूले व्यवसायिक उद्देश्यका साथै व्यक्तिगत यात्राका लागि पनि उपयुक्त रहेकाे जनाइएकाे छ । नारायणी अटोकर्पका अनुसार, यी इलेक्ट्रिक भ्यानहरूको मर्मत खर्च पनि कम हुनेछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई दीर्घकालीन लाभ हुने कम्पनीकाे भनाई छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुट र अफरहरू पनि उपलब्ध गराइने नारायणी अटोकर्पले जनाएको छ । साथै, मधेश प्रदेशमा ग्राहकहरूको सुविधाका लागि परीक्षण ड्राइभको व्यवस्था समेत गरिनेछ । यो नयाँ सुरुवातले मधेश प्रदेशका बासिन्दाहरूलाई आधुनिक र वातावरणमैत्री यातायातका साधनहरू उपलब्ध गराउने लक्ष्य राखेको अर्का संचालक जयन्त चौधरीले बताए ।

वीरगंजबाट खैराे हिराेईन सहित भारतिय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पोष्ट अदापुर ग्राम लालछपरा निवासी ३० बर्षिय मोहमद नेजामुदिन सिद्दकी रहेका छन् ।

बिशेष सूचनाकाे आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१५ बसपार्क स्थित सडकखण्डबाट सिद्दकीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उनका अनुसारका बिहिबार विहान १०:०० बजेको समयमा खटिएको प्रहरी टोलीले बिआर ०५ एवाई १३४६ नम्बरको टाटा टाइगाे चार पाङग्रे गाडीलाई रोकी जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको थियाे ।

त्यसपछि उक्त लागु औषध र उल्लेखित नम्बरको गाडी सहित सिद्दकीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।

गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना देखिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको टिप्पणी गरेका छन् । उद्योग मन्त्रालयसँग रोजगारीको, गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना नदेखिएको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’, उनी भन्छन्, ‘सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

यस्तै अवस्था स्वास्थ्य मन्त्रालयको पनि बजेट रहेको उनको भनाइ छ । उनका अनुसार सरकारी अस्पतालमा औषधि हुँदैन । भएपनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन् । उनले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’, उनले भने ।

नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’ भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

पारुल युनभर्सिटीमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट

वीरगंज । भारतको गुजरात प्रान्तको बडोदरामा रहेको पारुल युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिदैं आएको बताइएको छ ।

वीरगंजमा बिहीबार नेसेन्ट एजुकेशन फाउण्डेशनमा आयोजित पत्रकार सम्मेलनमा पारुल युनिभर्सिटीका बजार प्रबन्धक नीरजकुमार साहले नेपाली विद्यार्थीलाई युनिभर्सिटीले ५० प्रतिशत शुल्क छुट दिने गरेको जानकारी गराए ।

आर्थिक रुपमा कमजोर रहेका परिवारका छोराछोरीहरु उच्च शिक्षा अध्यननबाट बञ्चित नहुन भनेर नेपालसहित सार्क मुलुकका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्ययनको व्यवस्था मिलाइएको साहले बताए ।

उनले भाारतको उत्कृष्ट युनिभर्सिटीका रुपमा स्थापित पारुल युनभर्सिटीमा विभिन्न ७५ देशका गरी हाल ४७ हजार विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराए । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको मुख्य रोजाईमा पारुल युनभिर्सटी रहेको भन्दै उनले हरेक बर्ष नेपालका ५ सय भन्दा बढी नेपाली विद्यार्थीहरु भर्नाका लागि पुग्ने गरेको बताए ।

उनका अनुसार, झण्डै २५० एकड क्षेत्रफलमा रहेको पारुल युनिभर्सिटीमा इन्जिनियरीङ, मेडिकल, व्यवस्थापन, विज्ञान,फेसन डिजाइनिङ, आइटी लगायतका विभिन्न संकायका गरी २५० भन्दा बढी कोर्सहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

पारुल युनिभर्सिटीमा सुविधा सम्पन्न छात्रावासका साथै आफनै मल्टिस्पेसिलिटी अस्पताल रहेको भन्दै युनिभर्सिटीका सहायक बजार प्रबन्धक विश्वराज प्रसादले त्यहाँ भर्ना भइ अध्ययनरत विदार्थीहरुले आफनै गाँउघरको जस्तो अनूभूती गर्न पाउने बताए । हाल युनिभर्सिटीमा ३ हजार नेपली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारीपनि उनले गराए ।

पत्रकार सम्मेलनमा वीरगंजकाे लिंकरोडको नेसेन्ट एजुकेशन फाउण्डेसनका सञ्चालक रन्जित पण्डितले आफनो कार्यालयमा परामर्शका लागि आउने विद्यार्थीहरुको पहिलो रोजाई पारुल युनिभर्सिटी नै हुने गरेको दाबी गरे । उनले हालसम्म नेपालबाट सयौं विद्यार्थीहरु पारुल युनिभर्सिटीमा भर्ना भई अध्ययन गरेर उदाहरणीय सफलता हासिल गरिसकेको बताए ।

पारुल युनिभर्सिटीमा सन् २०२४/२५ को शैक्षिकसत्रका लागि भर्ना हुन चाहने नेपााली विद्यार्थीले वीरगंजकाे लिंकरोडस्थित नेसेन्ट एजुकेशन फाउण्डेसनमा सम्पर्क गरेर परामर्श लिन सक्ने नेसेन्ट एजुकेशन फाउण्डेसनका अजित चाैरसियाले वताए ।

प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन

वीरगंज । वीरगंज महानगरपालिका- २४ मा रहेको श्री शारदा माध्यमिक बिद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन भएको छ ।

मंगलबार बिद्यालयमा प्रधानाध्यापक विनोद मेहताको अध्यक्ष्तामा बसेको बैठकले प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सर्व सहमतिमा ९ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

श्याम सर्राफको संयोजकत्वमा गठन गरिएको सहयोग समितिको सदस्यमा प्रकाश थारु, संजिव मिश्रा, राजेन्द्र सिंह, अनिशकान्त कुशवाहा, प्रेम पटेल, सन्नी कुमार दुवे, कृष्ण कुशवाहा रहेका छन् ।

गठित समितिले सो बिद्यालयको प्राविधिक लगायतका शैक्षिक धारको प्रवर्द्धनका लागि आवश्यक पहल प्रयास तथा कार्य गर्न गराउन सहयोग गर्नेमा आफू विस्वस्त रहेको प्रधानाध्यापक मेहताले बताए ।

समितिले आवश्यकता अनुसारको कार्यक्रम बनाउने रणनीति तय गर्ने तथा सो बमोजिमको कार्य गर्ने गराउने निर्णय गरिएको समेत मेहताले वताए ।

सो बिद्यालयले २०७३ सालमा सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षा तर्फको ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान (जेटिए) तथा भेटनरी (भिजेटिए) अध्यन अध्यापन गराउँदै आइरहेको जनाइएको छ ।

अदालतबाट फैसला भएकाे २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भ सक्छ : प्रदिप यादव

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भको पत्ता साफ हुने बताएका छन् ।

बुधवार झापामा जनता समाजवादी पार्टीले (जसपा) जिल्ला कार्यसमिति झापाद्वारा आयोजित झापा जिल्ला भेला तथा रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सङ्घीयताका विषयमा उपेन्द्र यादवले खुलेर बोल्न नसकेको र कार्यकर्ताहरूसँग योजना माग्दा कमिसन बिना काम नगरेको हुँदा उनलाई आफूहरू छोड्न बाध्य भएको बताए ।

उपेन्द्र यादवले कार्यकर्तामाथि गरेको पीडा आफूले बुझेको बताउँदै जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले भने, ‘यो दम्भ सधैँका लागि नासिएर जान्छ ।’ उनले थपे, ‘उपेन्द्रजीले हामीलाई १७ वर्षसम्म झुक्क्याएर राख्नुभयो । प्रत्येक निर्णयहरू एकलौटी रूपमा लिँदै हाम्रो भवनमा ठेस पुर्‍याइरहनुभयो । असह्य भएपछि हामीले उहाँलाई छाडेका हौँ ।’

मन्त्री यादवका अनुसार उपेन्द्र यादवले देशभरमा निर्वाचित जनप्रतिनिधिहरूसँग कमिसन माग्ने, आफ्नो नियन्त्रणमा राखेर पुतली जस्तो नचाउँदै मानसिक रूपमा दुर्व्यवहार गर्नुहुन्थ्यो । ‘वीरगंजका वर्तमान मेयरदेखि पूर्व मुख्यमन्त्रीसम्मबाट उपेन्द्रजीले कमिसन लिएको मसँग प्रमाण छ । समय आए सार्वजनिक गर्छु,’ उनले थपे ।

अशोक राईको शालीन व्यवहारप्रति आफूहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेको मन्त्री यादवले बताउँदै भने, ‘अशोक राईजीको शालीन व्यक्तित्व, सङ्घीयता स्थापनाका लागि उहाँको योगदान र विभेदमा परिएकाहरू अधिकार प्राप्तिका लागि उहाँ सङ्घर्षबाट हामीहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेका हौँ । म विश्वस्त छु उहाँले उपेन्द्रजी जस्तो पदको दुरुपयोग गरेर मुद्दासँग धोका गर्दै राष्ट्रलाई क्षति पुर्‍याउने काम गर्नु हुँदैन ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जसपाका नेता रणधोज कन्दङवाले सङ्घीयता भित्रको पहिचान झुन्ड झुन्डबाट प्राप्त नहुने बताउँदै उपेन्द्र यादवको भरमा परेर पीडित नबन्न सबैलाई आह्वान गरे । त्यसैगरी जसपा नेता आङ् काजी शेर्पाले जनजाती र मधेस मुद्दा एउटै भएको बताए ।

रूपान्तरण अभियानका अध्यक्ष दिपेनवाला राईको सभापतित्वमा भएको कार्यक्रमलाई राजनीतिक समितिका सदस्य रमेश राई, आरसी तुम्सा, प्रदेश सभा सदस्य निर्मला तावालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमले रूपान्तरणअन्तर्गत झापा जिल्लाको नयाँ कार्यसमिति समेत चयन गरेको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा समर राई, उपाध्यक्षमा सन्तोष गणेश, ज्ञानेन्द्र कुरुम्बाङ, सचिवमा रोम घिमिरे, उपसचिवमा लक्ष्मी सुब्बा, चिजा राई, कोषाध्यक्षमा गीता राई रहनुभएको छ भने सदस्यहरूमा हर्क खालिङ, उदय गुरुङ, रमन राजवंशी, बालकुमार भुजेल, वासुदेव राई, पल्टन ताजपुरीया, विष्णु महतो, सुदिप थुलुङ, प्रेम थुलुङ, चित्रबहादुर राई, राजेश देवान, साम मोहम्मद मियाँ, अमला राई, पूर्णकुमारी मगर राई लगायत रहेका छन् ।

वीरगंजका विद्यालयमा फेरि ३ दिन गर्मी विदा

वीरगंज । तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगंज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि तीन दिनका लागि गर्मी विदा दिने गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगंज महानगरपालिकाले जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिएकाे हाे ।

यसअघि महानगरपालिकाले यहि जेष्ठ १६ देखि १८ गतेसम्मपनि विद्यालयहरुमा गर्मी विदा दिएको थियाे ।

बुधबार वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सुचना जारी गर्दै हाल गर्मी बढिरहेकाे र अबका केहिदिन अझ गर्मी बढ्ने माैसम विभागकाे पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाकाे स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरुम जेष्ठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो जेष्ठ महिना सुरु भए यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ ।

बैदेशिक राेजगार विषयमा नागरिक समाजसंग अन्तरक्रिया

वीरगंज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत बैदेशिक राेजगार विषयक नागरिक समाजसंग एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज गेटवे हाेटेलमा भएकाे कार्यक्रममा सहभागिहरुले बैदेशिक राेजगारमा जानेहरुकाे संख्या बढ्दै गएकाे भन्दै चिन्ता ब्यक्त गरेका हुन् । कार्यक्रममा वाेल्ने वक्ताहरुले बैदेशिक राेजगारमा जानेहरुले दु:ख पाउने गरेका कारण स्वदेश मै राेजगारी गर्नु पर्नेमा जाेड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका उप प्रमुख पुरन पटेलले बैदेशिक राेजगारीमा जानु भन्दा स्वदेश मै राेजगारी गर्नु पर्ने वताए । उनले बिदेश जादा धेरैले विभिन्न किसिमकाे दु:ख पाउने कारण स्वदेश मै राेजगारी गरी आफ्नाे परिवारसंग बस्नु पर्ने वताए ।

उप प्रमुख पटेलले विदेश जानु नै परे सिप सिकेर श्रम स्विकृति लिएर जानु पर्ने वताए । दिब्य विकास स्राेत केन्द्रले संचालन गरेकाे सामी परियाेजना प्रभावकारी देखिएकाे वताउँदै परियाेजनालाई निरन्तरता दिनु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले जिल्लाकाे चार पालिकामा संचालित परियाेजना सबै पालिकामा बिस्तार गर्नु पर्ने वताए । उनले देश कै मुख्य आम्दनीकाे स्राेतकाे रुपमा देखिएकाे बैदेशिक राेजगारलाई सरकारले ब्यवस्थित गर्नु पर्ने वताए ।

अध्यक्ष साहले सरकारले बैदेशिक राेजगारमा जान फ्रि टिक्ट र फ्रि भिजाकाे ब्यवस्था गरेपनि दिनहु आम जनता ठगिने गरेका कारण सरकारले ब्यवस्थित गर्नु पर्ने माग गरे ।

समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष चन्देश चाैहानले अहिले गाउँ/गाउँमा बैदेशिक राेजगारमा पठाउने एजेन्टहरुकाे बिगबिगी भएकाे वताए । सरकारले फ्रिमा बैदेशिक राेजगार जान सकिने ब्यवस्था गरे पनि लाखाैं रकम लिएर बिदेश पठाउन एजेन्टलाई कारवाही गर्नु पर्ने वताए ।

कार्यक्रम संयाेजक रामाशंकर कुशवाहाले बैदेशिक राेजगारीमा ठगिएकाहरु मध्ये एक सय ११ जना सम्पर्कमा आएपनि २३ जनालाई मात्र न्याय दिलाउन सकिएकाे वताए । उनले अरु जनासंग सबुत र प्रमाण नभएका कारण न्याय पाउन नसकेकाे वताए ।

संयाेजक कुशवाहाले बैदेशिक राेजगारमा जान एजेन्ट वा म्यान पावनहरुसंग कुरा गर्दा कल रेकर्ड गर्नु पर्ने वा पैसा दिदा भर्पाई गराएर मात्र दिनु पर्ने वताए । पछि ठगिदा कानुनी ब्यवस्था अनुसार त्यँही प्रमाण हुने कुशवाहाले वताए ।

श्रम स्विकृति लिएर आफ्नै देशकाे एयरपाेर्टबाट मात्र बिदेश गएकाे खण्डमा ठग्ने सम्भावना कम हुने र बैदेशिक राेजगारकाे क्रममा मृत्यु भएकाे खण्ड नेपाल सरकारबाट रु ७ लाख बिमाकाे रकम उनका परिवारले पाउने जानकारी गराए । श्रम स्विकृत नलिएर गएकाहरुकाे मृत्यु भएकाे खण्डमा मात्र रु २५ हजार पाउने कानुनी ब्यवस्था रहेकाे वताए ।

दिव्य बिकास स्राेत केन्द्र वीरन्चीबर्वाका अध्यक्ष उमेश चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेल, समाजिक अभियान्ता प्रकाश थारु, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, जगत राई, समाजवादी प्रेस संगठन नेपालका पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह, दिव्य विकास स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, निर्मला भण्डारी, नागेन्द्र पटेल, प्रतिज्ञा बैध लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन दिव्य विकास स्राेत केन्द्रका सुनिल कुमार पटेलले गरेका थिए ।

विश्व रक्तदाता दिवसमा ब्लड डाेनर्स एसाेसिएशनले ९८ ब्यक्ति र संस्थालाई सम्मान गर्ने

वीरगंज । ब्लड डाेनर्स एसाेसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसकाे अवसरमा जेठ ३२ गते शुक्रबार सम्मान कार्यक्रम गर्ने भएकाे छ ।

ब्लड डाेनर्स एसाेसिएशनले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जना भन्दी बढी रक्तदान गर्ने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गर्न लागिएकाे जानकारी गराएकाे हाे । यस अघि विश्व रक्तदाता दिवसकाे अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकाेमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिने ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए ।

यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गर्ने पनि कार्यक्रम रहेकाे सचिव सिंहले जानकारी दिए । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिने उनले वताए ।

सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएकाे छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएकाे छ । रगत संकलन भएकाे भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएकाे हाे । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।

२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दाेस्राे स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीकाे कार्यक्रममा ३ सय जना र तेस्राे स्थानमा रेडियाे वीरगंजले आयाेजना गरेकाे कार्यक्रममा २४५ जनाले रक्तदान गरेकाे जानकारी गराए ।

अहिले सम्म ग्रामिण भेगमा आयाेजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले पटेर्वा सुगाैलीमा आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष नेपालले वताए ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा आयाेजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ब्लड डाेनर्स एसाेसिएशनका सदस्य श्याम गुप्ता, आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तव लगायत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे । 

सम्मानित हुने ब्यक्ति र संस्थाकाे नामावली

निशुल्क रगत उपलब्ध गराउन सम्झाैता गर्ने सम्मानित हुने ब्यक्ति र संस्था

दशगजा क्षेत्रमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव फेला

वीरगंज । भारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१/५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । दुवै शवको पहिचान अहिलेसम्म खुल्न नसकेकाे उनले वताए ।