Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 26

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

0

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा सहभागीले भूमिहीनता र अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्वासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए ।

उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक–आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए ।

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

0

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउनुहुन्छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।

वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

0

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस योजना सार्वजनिक गर्न माग गरेको छ ।

मोर्चाका सचिव प्रिन्स साहले प्रेस विज्ञप्ति जारी गर्दै मधेशका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नरहेको, तहगत तथा विषयगत शिक्षकको अभाव रहेको भन्दै यसको समाधानका लागि मन्त्रालयले गरिरहेको पहल स्पष्ट पार्न माग गरेका छन् ।

मोर्चाले मधेशका धेरै विद्यालयमा आवश्यक भवन, छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी तथा आवश्यक शैक्षिक सामग्रीको अभाव रहेको जनाएको छ । सामान्य ब्ल्याकबोर्ड तथा ह्वाइटबोर्डसमेत पर्याप्त नभएको अवस्थामा बालबालिकाले गुणस्तरीय शिक्षा कसरी पाउने भन्ने प्रश्न मोर्चाले उठाएको छ ।

त्यस्तै, विद्यालयमा आर्थिक अनियमितता तथा आय–व्ययमा पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै मोर्चाले विद्यालयको आन्तरिक आम्दानी पारदर्शी बनाउन, सरकारी लेखापरीक्षण सुनिश्चित गर्न तथा विद्यार्थीको खाजाका लागि आउने रकममा हुने भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य गरेको भए पनि विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाउने गरेको भन्दै मोर्चाले त्यसलाई रोक्न मन्त्रालयले लिने कदमबारे स्पष्ट जवाफ मागेको छ ।

मधेशमा गुणस्तरीय शिक्षाको संकट रहेको उल्लेख गर्दै आम विद्यार्थी मोर्चाले गरिब तथा विपन्न समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन शिक्षा मन्त्रालयसँग ठोस र स्पष्ट कार्ययोजना माग गरेको छ ।

‘हामीलाई आश्वासन होइन, विद्यालयको कक्षाकोठामा परिवर्तन चाहिएको छ,’ विज्ञप्तिमा भनिएको छ । मोर्चाले उठाएका पाँचवटै प्रश्नको शिक्षा मन्त्रीबाट स्पष्ट र ठोस जवाफको अपेक्षा गरेको जनाएको छ ।

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

0

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले वडा नम्बर २१ कै स्वास्थ्य चौकीलाई दुई थान एसीसमेत सहयोग गरेको छ ।

वीरगंज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारको पहलमा मनोज ग्यास प्रालिका प्रबन्ध निर्देशक मनोज दासले विद्यालयलाई १ लाख ४४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा एक वर्षका लागि शिक्षक व्यवस्थापन गर्न उक्त रकम सहयोग गरेको जनाएको छ । विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित हुन नदिन सहयोग गरिएको बताइएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पटेल, प्रधानाध्यापक नन्दकिशोर राम, वडाध्यक्ष राधाकृष्ण साह रौनियार, समाजसेवी सरोज यादव, बच्चा महतो, ताराचन्द महतो, हृदयनारायण महतो, भोज महतो लगायतको उपस्थिति थियो ।

यसैगरी मनोज ग्यास प्रालिले वीरगंज महानगरपालिका–२१ स्थित स्वास्थ्य चौकीलाई दुई थान एसी पनि सहयोग गरेको छ । प्रबन्ध निर्देशक दासले वडाध्यक्ष रौनियारलगायतको रोहबरमा स्वास्थ्य चौकी प्रमुखलाई एसी हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा शिक्षक व्यवस्थापन तथा स्वास्थ्य चौकीमा एसी जडानका लागि प्राप्त सहयोगले स्थानीयवासीलाई शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको स्थानीय समिर आलमले वताए ।

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको प्रमुख आतिथ्यमा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. अभिषेक सुमनले घाम, पराबैंगनी किरण (यूभी) तथा वातावरणीय प्रभावका कारण छालामा देखिन सक्ने विभिन्न समस्याबारे जानकारी दिएका थिए ।

डा. सुमनले लामो समयसम्म प्रत्यक्ष घामको सम्पर्कमा रहँदा चाया–पोतो, सनबर्न, छालाको समयअगावै बुढ्यौली, एलर्जी लगायतका समस्या देखिन सक्ने भन्दै नियमित रूपमा छालाको सुरक्षा गर्न सुझाव दिए ।

उनले घामबाट छालालाई जोगाउन सनस्क्रिनको प्रयोग, आवश्यकताअनुसार टोपी तथा सुरक्षात्मक कपडाको प्रयोग र अत्यधिक घाममा लामो समय नबस्ने उपाय अपनाउनुपर्ने बताए । विशेषगरी बाहिरी ड्युटीमा खटिने प्रहरी कर्मचारीले आफ्नो स्वास्थ्यप्रति थप सचेत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एसपी भट्टराईले प्रहरी कर्मचारीले जिम्मेवारी निर्वाहका क्रममा विभिन्न भौगोलिक तथा वातावरणीय परिस्थितिमा काम गर्नुपर्ने भएकाले स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

प्रहरी संगठनलाई चुस्त, स्वस्थ र प्रभावकारी बनाउन कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता स्वास्थ्य अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक सोनी नेमाफुकीले गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय पर्साकाे सभा हलमा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा टोरेन्ट फार्माका प्रतिनिधि दीपेन्द्र यादव, म्यानकाइन्ड फार्माका प्रतिनिधि चन्दन पटेल तथा बायोरम डर्माका प्रतिनिधि अभिषेक यादवको समेत उपस्थिति रहेको थियो ।

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले मंगलबार शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो ।

सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलबाट २१ पोका बनाई लुकाइएको अन्दाजी ९.५ किलो चरेसजस्तो देखिने पदार्थ, एक थान मोबाइल र लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरिएको छ ।

बरामद सामग्रीसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद लागूऔषध, मोटरसाइकल र अन्य सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

तीन महिनापछि महानगर फर्किए मेयर राजेशमान सिंह, सम्हाले पदभार

0

वीरगंज । विशेष अदालतबाट सफाइ पाएपछि स्वतः पुनर्बहाली भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिका कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहविरुद्ध छोरीको नागरिकता बनाउँदा गलत लिखत पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी मेयर पदबाट निलम्बनमा परेका थिए । विशेष अदालतले मंगलबार सिंहलाई सफाइ दिएपछि उनी स्वतः मेयर पदमा पुनर्बहाली भएका हुन् ।

बुधबार महानगरपालिका कार्यालय पुगेका सिंहले आफ्नो कार्यकक्षमा हिन्दु धार्मिक विधिअनुसार पूजापाठ गरेपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि कर्मचारी तथा समर्थकलाई सम्बोधन गर्दै सिंहले आफूविरुद्ध व्यक्तिगत रिसइबी र राजनीतिक प्रतिशोधका कारण झूटा आरोप लगाइएको दाबी गरे ।

विशेष अदालतले आफूविरुद्ध लगाइएका आरोप खारेज गरेर न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे । वीरगंजवासीको शिर निहुरिने कुनै काम आफूले नगरेको उनको दाबी थियो ।

‘मैले भ्रष्टाचार गरेको भए सजायको भागीदार हुन्थेँ । तर मेयर पदमा रहँदा कुनै खराब काम गरेको छैन, गर्दिनँ पनि,’ सिंहले भने, ‘वीरगंजवासीको शिर झुक्ने काम मबाट हुन दिन्नँ ।’

वीरगंजलाई ‘वैभव वीरगंज’ बनाउने अभियान देख्न नचाहनेहरूले आफूलाई दुःख दिएको आरोप लगाउँदै सिंहले अब जनताले त्यस्ता प्रवृत्तिको जवाफ दिने बताए । उनले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार भएको भए सम्बन्धित सबै फाइल लिएर अनुसन्धान गर्न विपक्षीहरूलाई चुनौतीसमेत दिए ।

तीन महिना आफू मेयर पदमा नरहँदा महानगरपालिकाका केही कर्मचारीले सेवाग्राहीलाई अनाहकमा दुःख दिएको गुनासो आएको भन्दै सिंहले कर्मचारीलाई आफ्नो कार्यशैली सुधार्न चेतावनी दिए ।

महानगरपालिकामा राजस्व तिर्नसमेत सेवाग्राहीलाई एक सातासम्म झुलाउने गरिएको गुनासो आएको उल्लेख गर्दै उनले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । गलत काम गर्ने कर्मचारीलाई अब छुट नदिने उनको भनाइ थियो ।

मेयर सिंहले आफ्नो अनुपस्थितिमा रोकिएका विकास निर्माणका कामसँगै शहरको सरसफाइ, सौन्दर्यीकरण, बजार व्यवस्थापनलगायतका योजनाले अब पुनः गति लिने बताए।

पदभार ग्रहण कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवले वीरगंजवासीको आशीर्वाद र मायाका कारण सिंह पुनः मेयर पदमा फर्किन सफल भएको बताए । अन्याय भएको ठाउँमा न्याय अवश्य प्राप्त हुने उल्लेख गर्दै यादवले विशेष अदालतको फैसलाले सिंहसँगै वीरगंजवासीले पनि न्याय पाएको बताए ।

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ ।

संसद् सचिवालयबाट पटक–पटक एसएमएसमार्फत ताकेता तथा पार्टी नेतृत्वबाट समेत फलोअप हुँदाहुँदै सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूची सार्वजनिक गरिएको हो ।

सार्वजनिक सूचीमा पर्सा क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसियासहित आशा झा (मोरङ–५), कन्हैया बनिया (रुपन्देही–४), कामिनी कुमारी (महोत्तरी) र कुसुम महर्जन (काठमाडौं) लगायत २४ जना सांसद रहेका छन् ।

सम्पत्ति विवरण बुझाउनु जनप्रतिनिधिको कानुनी दायित्वसँगै सार्वजनिक पदमा रहने व्यक्तिको पारदर्शितासँग जोडिएको विषय हो । निर्धारित समयभित्र विवरण नबुझाउने सांसदहरूको नाम सार्वजनिक भएपछि रास्वपाभित्रको आन्तरिक अनुशासन र कानुनी दायित्व पालना सम्बन्धी विषयमा समेत चर्चा बढेको छ ।

रास्वपाले पार्टीभित्रको अनुशासन तथा कानुनी प्रावधानको पालना प्रभावकारी बनाउन सम्पत्ति विवरण बुझाउने विषयमा सांसदहरूलाई पटक–पटक सचेत गराउँदै आएको जनाएको छ ।

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

0

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्।

परिवारका अनुसार सोमबार राति करिब १२ बजेतिर ६–७ जनाको समूह घरमा पुगेको थियो। उनीहरूले परिवारका सदस्यलाई पेस्तोल देखाएको र सुतिरहेका अभिनन्दलाई आफ्नो नियन्त्रणमा लिएर गएको उनका काका अमोद यादवले बताएका छन्।

घटनाबारे प्रहरीलाई जानकारी गराए पनि तत्काल खोजी तथा आवश्यक पहल नभएको भन्दै आफन्त र स्थानीयवासी मंगलबार बेल्हीस्थित प्रहरी चौकी पुगेका थिए। उनीहरूले अभिनन्दको अवस्था तत्काल सार्वजनिक गर्न र खोजी कार्यलाई तीव्र बनाउन माग गरेका छन्।

बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी रहेको अवस्थामा घरबाटै युवकलाई लगिएको भनिएको घटना गम्भीर भएको बताएका छन्। उनले युवकको खोजी गरी घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरीसँग आग्रह गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले अभिनन्दको खोजी भइरहेको बताएका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सूचनामा अभिनन्द भारतमा गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर गएको भन्ने जानकारी प्राप्त भएको छ। यद्यपि, यसबारे थप विवरण पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

घरमा पेस्तोलसहितको समूह आएको भन्ने परिवारको दाबीबारे भने प्रहरीलाई औपचारिक जानकारी नभएको प्रवक्ता घिमिरेले बताएका छन्। भारतीय पक्षबाट भएको भनिएको नियन्त्रण र घटनाको वास्तविक अवस्थाबारे थप जानकारी लिन नेपाली प्रहरीले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको जनाएको छ।

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

0

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना।४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।

मंगलबार राति करिब ८:३० बजे ऐरोटेक ग्यास कम्पनीबाट निस्किएको ट्रक सर्भिस लेन हुँदै एक्सप्रेस(वेतर्फ प्रवेश गर्ने क्रममा जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी रहेका छन्। मोटरसाइकल कसले चलाइरहेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक उमेश निरौला र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा प्राविधिकसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका–७ का ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। ट्रक र चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छन् भने मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको प्रहरीले जनाएको छ।

मृतक दुवैको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ।