Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 25

संविधान दिवसमा प्याब्सन वाणी प्रतिभा २०८३ आयोजना हुँदै

0

वीरगंज । संविधान दिवसको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगंजको आयोजनामा प्याब्सनस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुने भएको छ ।

असोज ३ गते शनिबार बिहान १० बजेदेखि वीरगंजस्थित डीएभी स्कुलमा आयोजना हुने प्रतियोगितामा प्याब्सनमा आबद्ध २८ वटा विद्यालयका एक–एक जना विद्यार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट पाँच जनालाई पुरस्कृत तथा सम्मानित गरिनेछ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः पुरस्कार प्रदान गरिनेछ भने थप दुई जना प्रतियोगीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समन्वयकका रूपमा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा रहेका छन् ।

वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा सार्वजनिक प्रस्तुति सीपको विकासमा योगदान पुग्ने आयोजकको अपेक्षा छ ।

सबैठवाबाट १० लाख ५८ हजार रुपैयाँभन्दा बढीको अवैध कपडा बरामद

0

वीरगंज । पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला परेको विभिन्न किसिमका कपडालाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको जानकारी दिएका छन् ।

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

0

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत्, खानेपानी, टेलिकम तथा केबल नेटवर्कलाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि तयार गरिएको डीपीआरमा समेत खानेपानी, विद्युत् र केबल नेटवर्कलाई भूमिगत बनाउने व्यवस्था समेटिएको थियो । सोही व्यवस्थालाई आधार बनाएर सडक निर्माणसँगै आवश्यक पूर्वाधारको एकीकृत व्यवस्थापन गरिने भएको छ ।

यसले सडक निर्माण सम्पन्न भएपछि पटक–पटक सडक खन्नुपर्ने अवस्था अन्त्य गर्नुका साथै मुख्य सडकलाई व्यवस्थित, सुरक्षित र सौन्दर्यपूर्ण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैठकले सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत्, टेलिकमलगायतका निकायका संरचना व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ । संरचना हटाउने क्रममा सडक तथा नाला क्षेत्रमा फोहोर र निर्माण सामग्री थुप्रिँदा कतिपय स्थानमा नाला अवरुद्ध भएकाले तत्काल सरसफाइ गर्न भनिएको छ ।

महानगरपालिकाले सडक तथा नाला क्षेत्रमा थुप्रिएको फोहोर र निर्माण सामग्री तत्काल हटाई आवश्यक सरसफाइको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई बिहीबार नै पत्राचार गरेको जनाएको छ ।

वर्षायाममा फोहोरका कारण पानीको निकास प्रभावित हुन सक्ने तथा लामखुट्टेको प्रकोप र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको महानगरपालिकाको भनाइ छ ।

चाडपर्व नजिकिँदै गएको अवस्थामा महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई ध्यानमा राख्दै सडक विस्तारसँगै फोहोर व्यवस्थापनको कामलाई समेत अघि बढाइने भएको छ । सरसफाइ तथा संरचना व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्य गर्न महानगरपालिका तयार रहेको जनाएको छ ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद, नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगंजका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा र खानेपानी संस्थान वीरगंजका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो ।

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गाडी मोबाइल टोलीले बुधबार कार चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा यूपी १६ एजे ३३०१ नम्बरको बेवारिसे कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएका हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश भट्टले जानकारी दिए ।

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

0

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ ।

एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छ । एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो ।

नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हात पारेको थियो ।

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

0

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो ।

सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।

पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सडक सञ्चालनमा ल्याइएको हो ।

नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो । दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो । आजदेखि भने नियमित गरिएको हो ।

कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिनुभयो ।

लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी आवतजावत गर्न पाएका थिएनन् । यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो । अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो । यो सडक हुँदै दैनिक १४ हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

0

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने भएको हो ।

क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा नेपालले बङ्लादेशविरुद्ध सिरिज खेल्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, पारसले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ, “क्रिकेटभन्दा टाढा यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्नेछ । दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ ।”

सचिव खड्काले शृङ्खला खेल्न तयार भएकामा बङ्लादेश क्रिकेट बोर्डप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । नेपाल र बङ्लादेशबीचको शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्टेडियममा हुने क्यानले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’ सहितको ‘क्युआर’

0

वीरगंज । जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ ।

उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, सो स्थानमा पुग्न लाग्ने समय उपलब्ध छ । यस्तै, खाना नास्ता तथा बसोबासका लागि उपलब्ध होटल पनि क्युआर प्रणालीमा हेर्ने सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रेष्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगञ्जदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ । प्रहरीले उक्त क्युआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ । को ‘क्युआर’

भोटेकोशी बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व

0

महोत्तरी । भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव बिष्टका दिन रुँदै बित्दैछन् । तीजमा सधैँ भाइको सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो ।

“प्रत्येक वर्ष भाइ तीज आउन पाँच÷सात दिनपहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो, यसपालि भने उसको खबर सुन्न नपाई पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन,” सिर्जना रुँदै बह पोख्नुहुन्छ । यस परिवारका सौभाग्य विष्ट गत भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडबाड आएको कसैलाई हेक्का छ । न आँखा नै ओभाउन पाएका छन् । भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौडदै माइतघर आउनुभएकी सिर्जनालाई आपूm जन्मी हुर्केको घर अहिले बिरानो झैँ लाग्दैछ ।

“जसले खोजी गथ्र्यो उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो,” उहाँ भन्नुहुन्छ, “अब त तीन साता बितिसक्यो, कहिले पाइएला भाइको खबर रु” अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इञ्जिनियर रहनुभएका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन हुनुभएपछि परिवार गहिरो पीडामा छ ।

“कैयन पटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारी सकियो, सौभाग्यको केही पत्ता लागेन,” पिता ध्रुव रुँदै भन्नुहुन्छ, “मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला रु”

यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ । रानाले आफैँ हेलिकप्टर भाडामा लिएर खोजी गर्नुभयो तर जोयाको केही अत्तोपत्तो लागेन ।

रसुवास्थित जलविद्युत आयोजनामा कम्प्युटर इञ्जिनियर रहेकी जोयाले रक्षाबन्धन पर्वमा घर आउने बताएकी पिता खिलबहादुर सम्झनुहुन्छ । “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिनपहिले आफैँ हराइ,” पिता खिलबहादुर भक्कानिदै भन्नुहुन्छ । त्यसयताका चाडपर्व राना परिवारले केही सम्झेका छैनन् । “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिइ, अब के चाडबाड आउलान् यो घरमा रु” ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्नुहुन्छ ।

मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ । भर्खरै यो पर्व सम्पन्न भयो तर बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन ।

“राखी, कृष्णाष्टमी आ चौरचन सेहो बितगेल, बौवाके कोनो खबर नइ आयल” ९राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए, तर मेरो छोराको केही खबर आएन० पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्नुहुन्छ, “पावैन तिहारमे बौवा खुब मन लगवैत छल, अइबेर हमरासबके काइनक दिनसब बित रहल अई” ९चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि हाम्रो रोएरै दिन बित्दैछन्० ।

जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजी रहन्छन् । “कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करै छल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल” ९कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झडगा गथ्र्यो, तर उसको बाबु त उतै हराए० छोरा बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका पति सम्झदै बिटुकी आमा भन्नुहुन्छ । नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थाल्नुभएका सुशील यसपालि रसुवाबाट सम्पर्कविहीन हुनुभएको हो ।

बाढीसँगै सम्पर्कविहीन हुनुभएका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरुको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्नुहुन्छ । यसपालिको रसुवा बाढीले धन सम्पति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ ।

बिष्ट, राना, यादव, दास र मण्डलबाहेक महोत्तरीका थप छ जना हराइरहेका छन् । जलेश्वर–७ महादेवपट्टीका हशन रेजा अन्सारी, लोहारपट्टी–८ का सन्तोषकुमार ठाकुर, गौशाला–१ का विजय थापा मगर, गौशाला–८ का शीतबहादुर नुङ्गेली र रामगोपालपुर–४ का विश्वजित मण्डल बाढीमा परेर हराइरहेका छन् । यसबीचका सबै चाडपर्व परिवारले रुँदै बिताएका छन् ।

भोेटेकोशी बाढी रसुवाबाट नुवाकोट, धादिङ, गोर्खा, तनहँु र चितवन छिचोल्दै भारत पस्यो । त्यो बाढीले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ । एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको विचल्ली झन् बढ्दो छ ।

परिवारको मुख्य जिम्मेवारी सम्हालेका मुख्य मान्छे नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन् । बाढीमा परेर महोत्तरीका १० जना सम्पर्कविहीन छन् । सिङ्गो महोत्तरीमै अहिले यी १० सम्पर्कविहीनको चिन्ता र चासो पाइन्छ । सम्पर्कविहीन परिवारले सरकार, खोज उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको सही ठेगान लगाइदिन अनुनयविनय गरिरहेका छन् ।

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

0

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान ७:३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा वाग्लेले आज साँझ ५:०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । भोलि साँझ ५:०० बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम छ ।

शुक्रबार साँझ ७:३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।

त्यसैगरी, शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ भने सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार साँझ ४ः०० बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

उहाँको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत हुनुहुन्छ ।