Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 27

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

0

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् ।

कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो । दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।

तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

0
आमा र श्रीमतीका साथ सञ्जय साह

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना होइन, एउटा नयाँ जीवन पाएजस्तै भएको छ।

रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत सञ्जय भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए। करिब १० दिनपछि भदौ १९ गते उनलाई सकुशल उद्धार गरिएको थियो।

त्यही खुसीमा उनकी आमा कपुरदेवी साहले घरमा रामायण पाठ आयोजना गरेकी छन्। आफन्तहरू भेला भएका छन् र परिवारले सञ्जयको सुरक्षित पुनरागमनलाई भगवान्प्रतिको कृतज्ञताका रूपमा मनाइरहेको छ।

आठ मिनेटमै बदलिएको अवस्था

सञ्जय जलविद्युत् केन्द्रको कन्ट्रोल रुममा ड्युटीमा रहेका बेला अचानक ठूलो बाढी आउन लागेको सूचना प्राप्त भयो। अवस्था बुझेर तत्काल विद्युत् केन्द्र बन्द गर्ने प्रक्रिया सुरु गरिएको थियो।

सिसी क्यामेरामार्फत टाढाको ड्याम क्षेत्रमा बाढी प्रवेश गरिसकेको देखिएपछि त्यहाँ रहेका कर्मचारी तथा कामदारलाई सुरक्षित स्थानतर्फ लैजान थालियो। तर केही समयमै पानीको बहाव अत्यन्त तीव्र भयो।

सहकर्मीहरूलाई सुरक्षित स्थानतर्फ पठाएर सञ्जय फेरि कन्ट्रोल रुमतर्फ फर्किए। त्यही क्रममा उनको भेट कबिर महर्जनसँग भयो।

हात छुट्यो, तर आशा छुटेन

दुवै जना एकअर्काको हात समातेर माथिल्लो केबल टनेलतर्फ अघि बढे। छैटौँ फ्लोरसम्म पुगेपछि अचानक आएको पानी र हावाको तीव्र बहावले उनीहरूलाई अलग गरिदियो।

सञ्जयको हातबाट कबिरको हात छुट्यो। मोबाइलसमेत हरायो। बाहिरी संसारसँग सम्पर्क गर्ने कुनै माध्यम बाँकी रहेन।

जलविद्युत् केन्द्रभित्र पानीको सतह बढिरहेको थियो। आफूले काम गरेको स्थानको अनुभवका आधारमा सञ्जयले भर्‍याङको रेलिङ समात्दै माथिल्लो भागतर्फ जाने प्रयास गरे। केही समयपछि उनी टनेलभित्रको सुरक्षित स्थानमा पुग्न सफल भए।

बाहिर निस्कने बाटो खोज्दा बालुवा, माटो र पानीले बाटो बन्द गरिसकेको थियो। त्यसपछि उनको अगाडि एउटै विकल्प बाँकी थियो—उद्धारको प्रतीक्षा।

भगवानको नाम जप्दै बिताए कठिन दिन

एक्लै फसेका सञ्जयले भगवान्को नाम जप्दै समय बिताए। लामो समयसम्म उद्धारको कुनै संकेत नआएपछि अवस्था झन् कठिन हुँदै गएको थियो।

तर उद्धार हुनुभन्दा करिब १५ घण्टाअघि उनले बाहिरबाट मेसिन चलेको आवाज सुने।

त्यो आवाजले फेरि बाँच्ने आशा जगायो।

पछि नेपाली सेनाको उद्धार टोली त्यहाँ पुगेको थियो। उद्धारका क्रममा भएको गतिविधिको आवाज सुनेपछि सञ्जयले आफू पनि त्यहीँ रहेको जानकारी गराउँदै आवाज दिए। त्यसपछि उद्धार टोलीले उनलाई फेला पार्‍यो र सुरक्षित रूपमा बाहिर निकाल्यो।

श्रीमतीको आशा सफल भयो

श्रीमान् बाढीमा फसेको खबर पाएपछि २६ वर्षीया लक्ष्मी साहका लागि ती दिन निकै कठिन थिए। उनीसँग दुई वर्षकी छोरी पनि छन्।

तर कठिन परिस्थितिमा पनि लक्ष्मीले श्रीमान् सकुशल फर्किने विश्वास गुमाइनन्। सञ्जय कार्यरत स्थानको अवस्था आफूले देखेको हुनाले उनको मनमा आशा रहेको उनले बताएकी छन्।

भदौ १९ गते सञ्जय सकुशल उद्धार भएको खबर पाएपछि परिवारमा खुसीको सीमा रहेन। पछि काठमाडौंमा श्रीमान्सँग भेट हुँदा दुवै जना भावुक बने।

कृष्ण जन्माष्टमीमा पाए नयाँ जीवन

सञ्जयका लागि यो घटना अझ विशेष छ। कृष्ण जन्माष्टमीकै दिन आफूले जीवनप्रतिको अर्को अवसर पाएको महसुस भएको उनी बताउँछन्।

अब हरेक वर्ष कृष्णको मूर्ति बनाएर पूजा गर्ने उनको इच्छा छ।

हाल घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका सञ्जयका लागि परिवारले गरेको रामायण पाठ र आफन्तहरूको जमघट एउटा धार्मिक कार्यक्रम मात्र होइन—बाँचेर फर्किएको जीवनप्रति धन्यवाद व्यक्त गर्ने अवसर बनेको छ।

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

0

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ ।

उहाँले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गर्नुभएको हो । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा उहाँले अपिल गर्नुभएको छ ।

पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका (आगामी असोज १६ देखि १९ गतेसम्म) सार्वजनिक गरी एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको उहाँको आरोप छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दाबी उहाँको दावी छ ।

पूर्वसभापति देउवाले भोटेकोशी बाढीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै उहाँले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गर्नुभएको छ ।

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

0

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा रहेको शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र त्यसमा आवश्यक सुधारका विषयसमेत समेटिने बताउनुभयो । मन्त्री पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पोखरेलले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायत सरकारले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै आगामी दिनमा शिक्षा तथा खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यलाई निरन्तरता दिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

भेटमा बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत फेनले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जलवायुजन्य विपद्को सामना गरिरहेका अवस्थामा बेलायत सरकार नेपाल सरकारका साथमा रहेको उहाँको भनाइ थियो ।

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

0

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भ¥याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भ¥याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

1

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ ।

यही भदौ १० गतेको बाढीपछि जलविद्युत् आयोजना केन्द्रित खोज तथा उद्धारमा खटिएको टोलीले थ्री ‘ए’ को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पु¥याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा भग्नावशेष हटाउने कार्य जारी राखेको छ ।

जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन् ।

खोज तथा उद्धारमा भइरहेको प्रगति, देखिएका चुनौती र गर्नुपर्ने आवश्यक सहजीकरणका सम्बन्धमा उद्धारमा खटिएका सुरक्षाफौजसँग जानकारी लिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिनुभएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

त्यस्तै, आयोजनाको निर्माणमा संलग्न दुई वटा कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि कार्यक्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।

आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने प्रमुख स्थानका रूपमा प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिएको थियो । ती संरचना पुरिएको नभई बाढीले बगाएर लगेको पाइएको उहाँले बताउनुभयो ।

“सुरुङ मार्गबाट आवतजावत गर्न सहज रहेकाले त्यहाँ पनि खोजी गरियो । अब कर्मचारी तथा कामदार हुनसक्ने सम्भावित स्थानमध्ये विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ”, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, “अहिले त्यही हेभी उपकरण प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।”

खोज तथा उद्धारको लागी उत्खनन भइरहेको निर्माणाधीन भवनको अग्रभागका पाँच वटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर उक्त स्थान बगरमा परिणत भएको पाइएको छ । अहिले सोही क्षेत्रमा भग्नावशेष हटाउँदै खोजी भइरहेको छ ।

बाढीपछिको असहज परिस्थितिका बाबजुद नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । अहिले त्रिशूली थ्री ‘बी’मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

विदेशी उद्धार विज्ञसहितको टोलीबाट सुरु गरिएको खोज तथा उद्धार कार्य अहिले जलविद्युत् आयोजनाका विज्ञसहित नेपाली टोलीले अघि बढाइरहेको छ ।

नेपाली सेनाका सेनानी थापाका अनुसार हराइरहेका कर्मचारी तथा कामदार फसेको हुनसक्ने सम्भावित स्थानमा खोजी गर्दै अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्र अन्तिम बिन्दुका रूपमा खोज उद्धार भइरहेको छ ।

“सम्भावित स्थानबाट खोज तथा उद्धार गर्दै आएका छौँ । अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्रमा खोजी केन्द्रित गरेका छौँ । आवश्यक उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको छ”, सेनानी थापाले जानकारी दिनुभयो ।

खोज तथा उद्धारमा खटिएको संयुक्त सुरक्षा फौजले नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञहरूसँग परामर्श गरी आवश्यक यन्त्र–उपकरणसहित स्रोतसाधन परिचालन गरेको छ ।

त्रिशूली थ्री ‘बी’को खोज तथा उद्धारमा यसअघि चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत परिचालन गरिएको थियो ।

बाढीपछि आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएकाले जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार गर्नुपरेको छ । संयुक्त सुरक्षा फौजले भग्नावशेष हटाउँदै खोजी गरे पनि हालसम्म थप केही पत्ता लाग्न नसकेको बहादुर श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो ।

“बाढीका कारण आयोजना क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको छ । भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ । हालसम्म थप केही पत्ता लाग्न सकेको छैन”, प्रमुख सेनानी ढुङ्गानाले बताउनुभयो ।

बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपश्चात् दुई जनालाई सकुशल उद्धार गरिएको थियो । सोही क्रममा पहिचान नखुलेको एउटा शवसमेत भेटिएको थियो ।

थ्री ‘ए’को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सम्पूर्ण क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरेको थियो । त्यस क्रममा थप केही फेला नपरे पनि बाढीले क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।

बाढीबाट प्रभावित दुवै जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञहरूको टोलीले सम्भावित स्थानमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ ।

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३ गते दुई दिनसम्म) भव्यताकासाथ मनाउन जिप्रकाले जिल्ला समन्वय समिति, पर्सा, सरकारी कार्यालय सबै, पर्सा र यस जिल्लाका सबै स्थानीय तहलाई आज पत्राचार गरेको छ ।

नेपाल राज्यभर भव्यताकासाथ मनाउने सन्दर्भमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही भदौ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले दिवसलाई देशैभरि भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

दिवस भव्यताकासाथ मनाउने व्यवस्था मिलाउनु भनी गृह मन्त्रालय (मूल समारोह समितिको सचिवालय), सिंहदरबार, काठमाडौँको पत्रका आधारमा जिप्रकाले पर्साका विभिन्न निकायलाई अनुरोध गरेको हो ।

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पन्तले जनतासँग सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहमा भ्रष्टाचार बढ्दै जाँदा त्यसको असर संघीय सरकारप्रतिको जनविश्वासमा समेत परेको बताए।

‘मधेसका स्थानीय तहमा भ्रष्टाचार जसरी र जुन रूपमा बढिरहेको छ, त्यो असामान्य र भयावह छ,’ उनले भने, ‘यसका कारण आम जनताले संघीय सरकारप्रति नै प्रश्न गर्न थालेका छन्।’

जनप्रतिनिधि र कर्मचारीबीचको भ्रष्टाचार तथा भागबण्डाका कारण कतिपय स्थानीय तह ऋणमा डुबेको दाबी गर्दै पन्तले केही पालिका कर्मचारीको तलब र उपदानसमेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको बताए।

कतिपय पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच अघिल्लो आर्थिक वर्षको भागबण्डा नमिलेका कारण चालु आर्थिक वर्षको बजेटसमेत ल्याउन नसकिएको उनले बताए। बजेट पारित भइसकेका कतिपय स्थानीय तहमा समेत बैंक खाता सञ्चालन हुन नसकेको अवस्था रहेको उनको भनाइ थियो।

करार तथा ज्यालादारी कर्मचारी नियुक्तिदेखि ठेक्कापट्टासम्मका काम पार्टीगत पहुँच, नातागोता र व्यक्तिगत सम्बन्धका आधारमा हुने गरेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिले स्थानीय तहको शिक्षा र स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने कुल उजुरीमध्ये ५२ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको उल्लेख गर्दै पन्तले अहिलेको न्याय प्रणाली र सुशासनको अवस्था प्रश्न उठ्ने अवस्थामा पुगेको बताए।

सुशासनको नारासहित अघि बढेको सरकारले अख्तियारलाई चुस्त, सक्षम र निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले आयोगमा आयुक्तदेखि अनुसन्धान अधिकृतसम्मका जनशक्ति खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न माग गरे।

‘आयुक्तदेखि अनुसन्धान अधिकृतसम्मका जनशक्ति अवकाशप्राप्त वा अन्य निजामती समूहबाट नभई छुट्टै खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था सरकारले गरोस्,’ उनले भने।

पन्तले स्थानीय तहको कार्यसम्पादनका आधारमा संघीय सरकारले राम्रो काम गर्ने पालिकालाई पुरस्कृत र भ्रष्टाचार तथा अनियमिततामा संलग्न पालिकाको आवश्यकताअनुसार अनुदान रोक्नेसम्मको कडा कार्यविधि लागू गर्नसमेत सरकारसँग माग गरे।

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

0

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ ।

गणेश चतुर्थीको अवसरमा हिजो धनुषाको औरही गाउँपालिका–१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्नुहुँदै सभामुख यादवले धर्म, संस्कृतिले एक  सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवद्र्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभामुख यादवले धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिन्छ भन्नुभयो ।

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति  थियो ।

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

0

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।