Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 24

फागुनमा स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

वीरगंज । निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी अघि बढाएको जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आयोगले निर्वाचनको तयारी थालेको हो।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तहको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले आवश्यक तयारी गरिरहेको छ।

आयोगले हाल मतदाता नामावली अद्यावधिक गर्ने काम अघि बढाइरहेको छ। फागुनमा निर्वाचन गर्ने अवस्था बनेमा माघ महिनामा पुनः मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी आयोगको छ।

यसैबीच, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा केही जिल्ला र निर्वाचन क्षेत्रमा अन्तरजिल्ला मतदानको व्यवस्था लागू गर्ने विषयमा समेत आयोगले अध्ययन गरिरहेको जनाएको छ।

प्रविधिमैत्री निर्वाचन प्रणालीतर्फ अघि बढ्ने क्रममा आयोगले विद्युतीय मतदान (ई–भोटिङ) प्रणालीका विषयमा पनि आवश्यक तयारी तथा अध्ययन गरिरहेको जनाएको छ।

नेपालमा पछिल्लो पटक २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो। संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

ज्यान सम्बन्धि मुद्दामा एमाले नेता जालिम मियाँका छोरा नासिर पक्राउ

1

वीरगंज । पर्सा प्रहरीले नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्राउ गरेको छ ।

ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा जगरनाथपुर गाउँपालिका वडा नं. ५ घर भई हाल वीरगंज १३ मुर्ली बस्दै आएका नासिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार नासिरलाई शुक्रबार साँझ वीरगंज महानगरपालिका–१३ मुर्लीबाट पक्राउ गरिएको हो । उनीमाथि नातामा साली पर्ने एक महिलाको हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

२०७८ सालमा ती महिलाको शव श्मशान घाटमा दफन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त घटनामा अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले हत्या आरोपमा करिब पाँच वर्षपछि नासिरलाई पक्राउ गरेको हो ।

त्यो बेला प्रहरीले पहुँचको आधारमा मुद्दा अगाडि नबढाएको आरोप लागेको थियो । प्रहरीले ५ बर्षपछि अहिले आएर मुद्दाको अनुसन्धान अगाडी बढाएपछि घटनामा संलगन अन्य आरोपित फरार भएका छन् ।

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

0

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ ।

संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

“राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताउनुभयो ।

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।

लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गर्नुभएको छ ।

संविधान निर्माणका कठिन घडी सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी पनि उहाँले गर्नुभएको छ ।

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

1

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन ।

क्षीरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्नुभयो । नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका–२ का २४२ परिवारलाई भोलि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिनुभयो ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको उहाँले बताउनुभयो ।

यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

0

जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भन्नुुभएको छ ।

उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

रौतहटमा तीन घरमा चोरी, अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

0

वीरगंज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ९ः३० बजे भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरेका थिए । घरबाट रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी भएको थियो ।

त्यस्तै, सोही स्थानका मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको थियो ।

तीनवटै घरमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएकाे छ ।

बरामद पेस्तोललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वीरगंजमा भन्सार छली ल्याउँदै गरेको ६ लाख ९८ हजारको मोबाइल पार्ट्स बरामद

0

वीरगंज । वीरगंज महानगरपालिका–१ नैकाटोलास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिर्सियाबाट खटिएको टोलीले शुक्रबार भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोबाइल पार्ट्स बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद मोबाइल पार्ट्सको अन्दाजी मूल्य ६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

विज्ञापनको रकम कटौती फिर्ता गर्न महासंघकाे माग, असोज ५ देखि आन्दोलनको चेतावनी

0
फाइल तस्बिर

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गर्दै आएको विज्ञापन बापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका अनुसार कार्यविधि खारेज गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष भदौ २५ गते राखिएको माग पूरा नभएको तथा समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते गरिएको पत्राचारसमेत बेवास्ता गरिएको छ ।

महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार सरोकारवालासहित बसेको बैठकले तीन दिनभित्र माग सम्बोधन नभए असोज ५ गते सोमबारदेखि देशव्यापी आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

महासंघले लोककल्याणकारी विज्ञापनमा महालेखापरीक्षकको कार्यालयले बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले समेत लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धि गर्न सिफारिस गरेको उल्लेख गरेको छ ।

सोही आधारमा समस्या समाधानको माग गर्दै महासंघले शुक्रबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष पुनः ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गर्दै माग सम्बोधन नभए बैठकको निर्णयअनुसार पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलन सञ्चालन गर्ने पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले वताए ।

महासंघले आन्दोलनमा सहभागी हुन आफ्ना मातहतका समितिहरू तथा सरोकारवाला सबैलाई आह्वानसमेत गरेको छ ।

मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन

0

वीरगंज । भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपाली महिलाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगंजको समन्वय तथा सहकार्यमा भदौ २७ गते शनिबार ती महिलालाई मुजफ्फरपुरबाट उद्धार गरी वीरगंज ल्याइएको थियो ।

भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा मानवसेवा आश्रम वीरगंजकाे संयुक्त प्रयास, समन्वय र सहकार्यमा उद्धार सम्भव भएको मानवसेवा आश्रमले जनाएको छ । वीरगंज ल्याएपछि आश्रमले आवश्यक हेरचाह तथा संरक्षण प्रदान गर्दै उनको परिवारसँग सम्पर्क र समन्वय थालेको थियो ।

निरन्तरको प्रयासपछि ती महिलाका बुवासँग सम्पर्क स्थापित भएको थियो । त्यसपछि आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा उनलाई बुवाको जिम्मा लगाइएको हो ।

लामो समयदेखि परिवारबाट टाढा रहेकी ती महिलाको उद्धारपछि परिवारसँग सफल पुनर्मिलन भएको मानवसेवा आश्रमले जनाएको छ ।

उद्धार तथा पारिवारिक पुनर्मिलनमा सहयोग र समन्वय गर्ने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्पूर्ण सहयोगीप्रति मानवसेवा आश्रम वीरगंजले आभार व्यक्त गरेको छ ।