वीरगंज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ९ः३० बजे भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरेका थिए । घरबाट रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी भएको थियो ।
त्यस्तै, सोही स्थानका मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको थियो ।
तीनवटै घरमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएकाे छ ।
बरामद पेस्तोललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








