वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ । योजनाअनुसार पार्कभित्र झाडी र फोहोरले अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा शनिबारदेखि पुनः सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा रेल्वे क्षेत्रको सरसफाइ गरिएको महानगरले जनाएको छ । करिब तीन महिनादेखि झाडी र फोहोरका कारण अस्तव्यस्त बनेको उक्त क्षेत्रलाई सफा गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको छ ।
वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्रका विभिन्न संरचना तथा क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको छ । सोही क्रममा पुरानो रेल्वे क्षेत्रलाई वीरगंजको ऐतिहासिक पहिचान झल्किने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको हो ।
रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप यसअघि क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थान व्यवस्थित गर्ने काम सुरु गरिएको थियो । तर, गत जेठ २५ गते प्रमुख सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो । काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएर अस्तव्यस्त बनेको थियो ।
विशेष अदालतबाट सोमबार सफाइ पाएपछि प्रमुख सिंहले महानगरका रोकिएका कामलाई पुनः गति दिन थालेका छन् । त्यसक्रममा वीरगंजको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानमा रोकिएको कामसमेत अघि बढाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।
रेल्वे क्षेत्रको सरसफाइसँगै अब उक्त स्थानलाई थप व्यवस्थित बनाउँदै रेल्वे पार्क निर्माणको योजना अघि बढाइने भएको छ । पार्कलाई हरियाली, मनोरञ्जन र वीरगंजको ऐतिहासिक पक्षसँग जोडेर विकास गर्ने महानगरको तयारी छ ।
घण्टाघर नजिकै मुख्य तथा व्यस्त क्षेत्रमा रहेको वीपी उद्यानलाई व्यवस्थित र आकर्षक सार्वजनिक पार्कका रूपमा विकास गरी सर्वसाधारणका लागि मनोरञ्जन तथा विश्रामको उपयुक्त स्थल बनाउने महानगरको लक्ष्य रहेको छ ।
सरसफाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो ।








