बारा । बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ खाजा खाने क्रममा भएको विवादका क्रममा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार होटलमा खाजा खाने क्रममा विवाद भएपछि भान्सामा प्रयोग हुने चक्कुले खड्कामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति घटनापछि फरार भएका छन्। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।








