वीरगंज । संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगंज, पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ सम्पन्न भएको छ ।
असोज ३ गते डीएभी स्कूल, परवानीपुरमा आयोजित प्रतियोगितामा पर्साका २८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थीहरूले संविधान, राष्ट्र र समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत रौनियार १६२ अंक प्राप्त गर्दै प्रथम हुनुभयो । त्यस्तै, विद्यासदनकी अफ्रिना खातुन १५८ अंकसहित द्वितीय र द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंकसहित तृतीय हुनुभयो ।
यसैगरी, मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंकसहित चौथो र डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंकसहित पाँचौँ हुनुभयो । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र मेडलसहित पुरस्कार प्रदान गरिएको थियो ।
डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकलगायतको पनि उपस्थिति थियो ।
प्रतियोगिताको निर्णायकमा ठाकुराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमरास्थित विभिन्न कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक हरिप्रसाद प्याकुरेल रहनुभएको थियो । दुवै निर्णायकले प्रदान गरेको १००–१०० अंक गरी कुल २०० पूर्णाङ्कका आधारमा प्रतियोगिताको नतिजा निर्धारण गरिएको थियो ।
बाढीपीडितलाई सहयोग गर्ने ५३ विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा रसुवामा बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा सहयोग गर्ने ५३ वटा विद्यालयलाई सम्मान गरिएको थियो ।
बाढीपीडितका लागि सहयोग रकम उपलब्ध गराउने विद्यालयका सञ्चालक, अभिभावक, विद्यार्थी तथा विद्यालय परिवारलाई सम्मानपत्रसहित सम्मान गर्दै मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र विपद्का समयमा एकताबद्ध भएर सहयोग गर्ने संस्कृतिको प्रशंसा गरिएको थियो ।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाद्वारा जारी जानकारीअनुसार, संविधान दिवसका अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञानको विकासमा योगदान पुर्याएको छ । प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्दै सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरेको थियो ।








