Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 229

जेनजी आन्दोलनका पीडितलाई निःशुल्क कानुनी सहयोग दिने अधिवक्ता मेराजको घोषणा

0

वीरगंज । अधिवक्ता मेराज मियाँले जेनजी आन्दोलनलाई लिएर सरकारले वा कुनै पनि सुरक्षा निकायले जेनजीहरूलाई दमन गर्न खोजे कानुनी लडाइँमा निःशुल्क सहयोग गर्ने घोषणा गरेका छन्।

पर्सा जिल्ला सहित देशभर रहेका जेनजी आन्दोलनका सहभागीहरूमाथि कानुन विपरीत दमन वा कारवाही भए त्यसलाई सहन नहुने उनको भनाइ छ। “यदि जेनजी आन्दोलनका क्रममा वा त्यसपछि कुनै जेनजीमाथि अमानवीय तथा कानुनविपरीत कार्य भयो भने म ती पीडितहरूको पक्षमा निःशुल्क रूपमा कानुनी मुद्दा लड्न सधैं तयार र तत्पर छु,” अधिवक्ता मियाँले बताएका छन्।

अधिवक्ता मियाँ अल्फा ल च्याम्बरसँग आवद्ध छन्। उनले कानुनी सहयोग आवश्यक परेका जेनजीहरूले आफूलाई ९८५५०११८४७ वा ९८१७२२५२७५ मा सम्पर्क गर्न सक्ने बताएका छन्।

उनको यो घोषणाले जेनजी आन्दोलनका क्रममा कानुनी सहयोग आवश्यक परेका व्यक्तिहरूलाई राहत र आत्मबल मिल्ने अपेक्षा गरिएको छ।

पर्साकाे धाेबिनी र बहुदरमाईका कर्मचारीहरु दशैंमा तलब पाउने सम्भावना सक्याे

0

वीरगंज । पर्साका दुई पालिका शिक्षक र कर्मचारीहरुले नेपालीहरुकाे महान चाँड दशैंमा समेत तलब सुविधाबाट बन्चित हुने भएका छन् । बहुदरमाई नगरपालिका र  धाेबिनी गाउँपालिकाका शिक्षक र कर्मचारीहरुले दशैं तलब पाउने सम्भावना सकेकाे छ ।

नयाँ आर्थिक मसान्त सुरु भएकाे अढाई महिना बितिसक्दा पनि खाता संचालन नभएका आधा दर्जन पालिका मध्ये चार पालिका खाता संचालमा आएपनि अझै दुई वटा पालिकाकाे खाता संचालन नभएकाेष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएकाे छ । बहुदमाई नगरपालिका र धाेबिनी गाउँपालिकाकाे खाता अझै संचालनमा आउन नसकेकाे हाे । जस कारण त्यहाँका शिक्षक र कर्मचारीले प्रत्येक महिना पाउनु पर्ने तलब सुबिधाबाट बन्चित भएका छन् ।

बहुदरमाई नगरपालिकाकाे नगर सभा सम्पन्न भएपनि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएका कारण त्यहाँकाे खाता संचालनमा आउन सकेका छैनन् भने धाेबिनी गाउँपालिकाकाे गाउँ सभा नै नभएका कारण कारण खाता संचालनमा आउन नसकेकाे हाे ।

पकहाँ मैनपुर गाउँपालिकामा बुधबार बसेकाे गाउँ सभाकाे बैठकबाट विकास बजेटलाई एकमुष्ट रूपले यथावत राखि प्रशासनिक तथा सशर्त बजेट खर्चकाे लागि खाता संचालन गर्ने निर्णय गरे अनुसार खाता संचालनमा आएकाे गाउँपालिकाले जनाएकाे छ । त्यहाँ अब तलब भत्ता भुक्तानी गर्न र कार्यालय संचालन गर्न बाधा पर्ने छैन । अन्य पालिकाहरुकाे समेत खाता संचालनमा आएकाे र तलब पठाउने पक्रियामा रहेकाे सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

धाेबिनी गाउँपालिकामा जनप्रतिनिधिहरुको आपसी सहमति र भागबन्डा नमिलेको कारण अहिले सम्म गाउँ सभा हुन सकेकाे छैन् । धोबिनी गाउँपालिकाका कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् ।

गाउँपालिका अध्यक्ष मदन चौहान र उपाध्यक्ष मन्जु देबी कुर्मीन लगायतका जनप्रतिनिधिहरु बिचकाे भागभन्डा नमिलेको कारण गाउँसभा हुन् नसकेको कारण गाउँपालिका सम्पुर्ण काम काज थप भएको छ । असार मसान्त भित्र गरिसक्नु पर्ने गाउँसभा अझै हुन नसकेको हाे ।

जगरनाथपुर गाउँपालिकामा उखेलिएका विरुवामा पुनः रोपियाे

0

वीरगंज । जेनजी आन्दोलनका क्रममा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ पिडारी टोलस्थित ऐलानी जग्गामा रोपिएका विरुवाहरू अराजक समूहले राति उखालेर फालेपछि गाउँपालिकाले पुनः वृक्षारोपण गरेको छ।

गाउँपालिकाले गत भदौं १ गते करिब आठ बिघा जग्गामा विभिन्न प्रजातिका विरुवाहरू रोपेको थियो । तर गत भदौं २४ गते राति राजनीतिक प्रतिशोधको कारण २ हजार ५ सयभन्दा बढी विरुवाहरू उखालिएको वा भाँचिएको थियो ।

त्यही स्थानमा अहिले गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अगुवाइमा आँप, कटहर, जामुन, खयरलगायतका नयाँ विरुवाहरू रोपिएको छ।

नयाँ विरुवा रोपिएको स्थलमा बिहीबार अध्यक्ष यादवको आग्रहमा पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टलगायतका सुरक्षा अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

अध्यक्ष यादवका अनुसार गाउँपालिकाले वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै आएको छ । पिडारीको ऐलानी जग्गामा भएको वृक्षारोपणमा केही व्यक्तिहरूले राजनीतिक प्रतिशोध साँध्न विरुवाहरू उखाल्ने कार्य गरे पनि गाउँपालिकाले पुनः वृक्षारोपण गरी वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता देखाएको बताए ।

रानीघाटमा रेडक्रसद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

वीरगंज । नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाद्वारा शुक्रबार रानीघाटस्थित दुर्गा पूजा सेवा समितिको पूजा पण्डालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

शिविरमा १५० भन्दा बढी सर्वसाधारणले विभिन्न स्वास्थ्य परामर्श तथा उपचार सेवाको लाभ लिएका छन्। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई निःशुल्क औषधिहरू वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले गरेका थिए। उनले नेपाल रेडक्रस समुदायको स्वास्थ्य र कल्याणका लागि सधैं प्रतिबद्ध रहेको र यस्ता स्वास्थ्य शिविरहरूले प्रारम्भिक स्वास्थ्य परीक्षण र जनचेतनामा ठूलो भूमिका खेल्ने बताए।

कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं–९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता रहेका थिए । विशिष्ट अतिथिमा डा. श्याम बाबू पटेल, दिनानाथ रौनियार, डा. प्रयांश तिमलसेना, डा. पृथ्वी चौरसिया, डा. प्रशान्त साह, डा. मौशम गुप्ता र डा. निशा सिंहलगायतको सहभागिता रहेको थियो।

यस कार्यक्रमलाई सफल बनाउन बिरगंज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर त्रिमूर्ति चौक, बिरगंज महानगरपालिका वडा नं–९ कार्यालय, यशोदा ज्वेलर्स घण्टाघर, न्यू भवानी अफसेट प्रेस रानीघाट र दुर्गा पूजा सेवा समिति, रानीघाटले सहयोग गरेका थिए। कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।

प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने सरकारको दायित्व”

0

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने सरकारको दायित्व रहेको बताउनुभएको छ।

भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते आन्तरिक सरकार गठन भएको थियो। सो सरकारलाई आगामी निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।

सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो।

उहाँले विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपाय खोजी भइरहेको जानकारी दिँदै युवापुस्ताको चाहना अनुसार योग्य व्यक्तिहरूलाई निर्वाचित गराउन सबैलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभयो।

मन्त्रिपरिषद्को निर्णयः ‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’

0

काठमाडौँ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिनुभएको हो ।

पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी, आफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताउनुभयो ।

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

0

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको उमेर सम्बन्धी मापदण्ड स्पष्ट पारेको छ। आयोगका अनुसार संवत २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकले मतदान गर्न पाउने छन्।

आयोगले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जानकारी दिएको छ । नेपाल संविधानको धारा ८४ को उपधारा ५ अनुसार १८ वर्ष पूरा गरेका नागरिकलाई मात्र मतदान गर्ने अधिकार छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “१६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये संवत २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन्।”

आयोगले आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सहभागीमूलक बनाउन मतदाता दर्ता र अद्यावधिक कार्यमा नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

पर्सामा सशस्त्र प्रहरीद्वारा करिब साढे दुई लाख बराबरको सामान बरामद

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्साका विभिन्न स्थानबाट करिब दुई लाख ५० हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहिबार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित विभिन्न सीमानाका बिन्दुहरूबाट भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब एक लाख ८६ हजार ४४० बराबरको कपडा र किराना सामान बरामद गरेको हो ।

त्यसैगरी सोही गुल्मबाट खटिएको अर्को टोलीले भन्सार मेनगेटबाट नेपालबाट मोटरसाइकलमार्फत भारततर्फ लैजाँदै गरेको  ३ हजार १५० बराबरको मदिरा नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलाबाट भारतबाट अबैध रुपमा ल्याउँदै गरेको करिब ५० हजार एक सय बराबरको पशु चौपाया तथा सुरक्षा बेस बेलवाबाट खटिएको टोलीले रु. १०,५५० बराबरको सामान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामान बिहिबार नै आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

‘स्ट्यानफोर्डको ‘शीर्ष २% वैज्ञानिक’ सूचीमा वीरगंजका डा. माधव प्रसाद यादव

0

काठमाडौँ । स्ट्यानफोर्ड विश्वविद्यालयले हालै विश्वका “शीर्ष २ प्रतिशत वैज्ञानिक” (Top 2% Scientists) को २०२५ संस्करण सार्वजनिक गरेको छ । जसको तथ्याङ्क प्रतिष्ठित प्रकाशन कम्पनी एल्सेवियर (Elsevier) मार्फत प्रमाणित गरिएको हो ।

यो सूचीमा विभिन्न विषयका अग्रणी वैज्ञानिकहरूलाई उनीहरूको अनुसन्धान प्रभाव र उद्धरण उत्कृष्टताका आधारमा सम्मानित गरिएको छ । यस वर्षको सूचीमा क्यान्सर अनुसन्धानमा संलग्न वैज्ञानिक वीरगंज महानगरपालिका वडा नं. २९ मुसैलीका डा. माधव प्रसाद यादवको नाम समेत समावेश भएको छ ।

डा. यादव हाल अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS), नयाँ दिल्लीमा कार्यरत छन् । यसपटक एआइआइएमएस नयाँ दिल्लीसहित सम्पूर्ण संस्थाबाट ८० जना वैज्ञानिकहरू सूचीमा परेका छन्, जसमा ५६ जना नयाँ दिल्ली शाखाकै रहेका छन्।

विश्वका अग्रणी वैज्ञानिकहरूमध्ये समेटिनु आफूका लागि ठूलो सम्मान र प्रेरणाको विषय भएको डा. यादवले बताए । उनका अनुसार यो उपलब्धिले आफूलाई अझ प्रभावकारी अनुसन्धान र नवप्रवर्तनतर्फ अघि बढ्न प्रेरित गरेको छ।

पर्साको भिस्वामा गोली प्रहार, १६ वर्षीय किशोर घाइते

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ भएको गोली प्रहारमा एक किशोर घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका अन्दाजी १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्।

स्थानियका अनुसार छिपहरमाई गाउँपालिका कार्यालय अगाडीकाे सडकमा अज्ञात समुहले चलाएकाे गोली आलमको तिघ्रामा लागेकाे छ । घाइते किशाेरकाे वीरगंजस्थित नारायणी अस्पताल उपचार भइरहेकाे छ ।

घटना पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले गोली प्रहारमा अन्दाजी १६ बर्षिय किशाेर घाइते भएको पुष्टि गरे । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।

प्रहरीले गोली चलाउनेको कारण र घटनाको पूर्ण विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।