वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका छन्। प्रहरी स्रोतका अनुसार लामाको सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे उपचारका लागि अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ।
घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








