वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT) ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।
सामाजिक तथा मानवीय सेवामा सक्रिय सर्राफलाई केन्द्रीय कार्यसमितिमा जिम्मेवारी दिइएको अवसरमा आयोजित कार्यक्रममा RCAT ले उनको सफल कार्यकालको शुभकामना दिएको हो ।
व्यवसायसँगै सामाजिक सेवामा सक्रिय सर्राफले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्याउँदै आएका छन् । उनको व्यावसायिक यात्रा भने वीरगंजको सडक पेटीमा कपडा व्यापारबाट सुरु भएको थियो । निरन्तरको मेहनत र लगनशीलताबाट व्यवसाय विस्तार गर्दै उनले अहिले स्थापित व्यवसायीका रूपमा पहिचान बनाएका छन् ।
सडक पेटीबाट सुरु भएको उनको व्यावसायिक यात्रा रेडक्रसको केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारीसम्म पुग्नु उल्लेखनीय रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।
वीरगंजस्थित होटल गेट्वेमा आयोजित कार्यक्रम RCAT संयोजक राहुल पटेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, जिल्ला सदस्य शिवनाथ यादवसहित अमन पटेल, राजु साह, रुचि कुमारी, कुबेर कार्की, अरविन्द पटेल, आर्या ओली, लक्ष्मीनारायण राउत, मिना क्षेत्री, सन्तोष पटेल र राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।








