Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 167

नेकपा पर्सा–२ का उम्मेदवार मनोज चौधरीद्वारा आफू अब्बल उम्मेदवार भएको दाबी

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले नयाँदेखि पुराना नेताहरूको बीचमा आफू अब्बल उम्मेदवार भएको दाबी गरेका छन्। उनले नेपाली कम्युनिष्ट पार्टी पर्सागढी नगरपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

चौधरीले नेपाली कम्युनिष्ट पार्टीसँग देश निर्माणका लागि स्पष्ट खाका र एजेण्डा रहेको उल्लेख गर्दै मतदाताहरूलाई हावाको पछि नलाग्न आग्रह गरे। उनले विचार, नीति र योजनाका आधारमा मतदान गर्नुपर्नेमा जोड दिए।

सोनमलामाको अध्यक्षता तथा रामचन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बिरेन्द्र यादवको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको सह–संयोजकमा सोनमलामा, अरुण रेग्मी र टेकनारायण महतो चयन भएका छन् भन्ने जानकारी नेपाली कम्युनिष्ट पार्टी पर्सागढीले दिएको छ।

भेलाका प्रमुख अतिथि रामचन्द्र साहले निर्वाचनपछि नेपाली समाजवादको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने दाबी गर्दै निर्वाचन अभियानमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पंक्ति एकताबद्ध भएर लाग्न सबै अगुवा नेता तथा कार्यकर्तालाई आग्रह गरे।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू किशोरी कशवाहा, विपिन यादव, बृजलाल पासवानलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य बलराम आचार्यले गरेका थिए।

लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव सम्पन्न

0

वीरगंज । वीरगंजको पानीटंकीमा अवस्थित लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। क्लासिक बंक्वेटमा आयोजित कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गर्नुभएको थियो।

उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कर्णले बालबालिकालाई पाठ्यक्रमको किताबी पढाइभन्दा व्यावहारिक ज्ञान र सीपको माध्यमबाट गरिने अध्यापन बढी उपलब्धिमूलक हुने बताउनुभयो। उहाँले लिटल बडी प्रि–स्कुलले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेकोमा बधाई दिँदै आगामी दिनमा पनि व्यवहारिक ज्ञान र सीपमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा थप योगदान पुर्‍याउन सुझाव दिनुभयो।

लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक तथा प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष नीरज पिठाकोटे, प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान, डा. प्रिती यादव, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अभिभावक र अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२को उपाधि ठोरी एकेडेमीलाई

0

वीरगंज । प्याब्सन, पर्साको आयोजनामा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ को उपाधि ठोरी एकेडेमीले जितेको छ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको फाइनल खेल टाइब्रेकरमा पुगेपछि ठोरी एकेडेमीले मुनलाईट माविलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलको म्यान अफ द म्याच ठोरी एकेडेमीका असिन थापा घोषित भए।

तेस्रो स्थानका लागि भएको खेलमा विकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। उक्त खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान बने भने एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा सीमित रह्यो।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त विद्यालयले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेका छन्। चौथो स्थान प्राप्त विद्यालयलाई पनि शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर ठोरीका असिन थापा मगर, उत्कृष्ट डिफेन्डर मुनलाईटका विश्वास महतो, उत्कृष्ट मिडफिल्डर दिव्यांशु पण्डित, उत्कृष्ट स्ट्राइकर ठोरीका यवेश राई, सर्वाधिक गोलकर्ता मुनलाईटका प्रिन्स आले मगर तथा प्रतियोगिताको म्यान अफ द सिरिज ठोरीका असिन थापा मगर घोषित भए। उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्यापसहित नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन्।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समापन समारोहमा फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एन्फा पर्साका प्रशिक्षक गृष्ममणि शाक्यलाई सम्मान गरिएको थियो। उहाँलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले सम्मान गर्नुभयो।

समारोहमा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला प्राज्ञिक सल्लाहकार श्याम केसी, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल, एन्फा पर्सा अध्यक्ष अनिल कुमार कलवार, प्रेस सेन्टरका प्रदेश अध्यक्ष निरज पिठाकोटे, प्रेस चौतारीका केन्द्रीय सदस्य तुलसी भण्डारी, मुख्य प्रायोजक राज होजियारीका राज साह, कमल चौगाईलगायतको उपस्थिति रहेको थियो।

प्याब्सन पर्सा अन्तर विद्यालय टी–२० क्रिकेटः आठौं दिन तीन खेल सम्पन्न

0

वीरगंज । प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत आठौं दिन तीन खेल सम्पन्न भएका छन्।

आठौं दिनको पहिलो खेलमा बिकन माविले ज्ञानवाटिका माविलाई ५ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बिकन माविले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ८८ रन बनाएको थियो। लक्ष्य पछ्याएको ज्ञानवाटिका मावि पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ८३ रनमै सीमित भयो। यस खेलमा बिकन माविका सुमित राउत म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा डिएभी स्कूलले मस्कोट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको डिएभी स्कूलका सामु पहिले ब्याटिङ गरेको मस्कोट एकेडेमीले पूरा ओभरमा ५ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। जवाफमा डिएभी स्कूलले ११.५ ओभरमै लक्ष्य पूरा गरेको हो। उक्त खेलमा डिएभी स्कूलका ओम कुमार द्विवेदी म्यान अफ द म्याच बने।

आठौं दिनको तेस्रो खेलमा ज्ञान ज्योति माविले माउण्ट एडमण्डलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको ज्ञान ज्योतिका अगाडि पहिले ब्याटिङ गरेको माउण्ट एडमण्डले पूरा ओभरमा ८ विकेटको नोक्सानीमा ८२ रनको लक्ष्य खडा गरेको थियो। ज्ञान ज्योति माविले उक्त लक्ष्य २ विकेट गुमाउँदै ११.५ ओभरमै पूरा गर्‍यो। यस खेलको म्यान अफ द म्याच ज्ञान ज्योति माविका प्रकाश यादव घोषित भए।

सेढवामा दशौँ राष्ट्रिय थारु साहित्य सम्मेलन सुरु

0

सेढवा । थारु लेखक संघ नेपालको आयोजनामा तथा थारु अतिथि सेवा सदन समितिको सहआयोजनामा दशौँ राष्ट्रिय थारु साहित्य सम्मेलन आजदेखि सुरु भएको छ। पटेर्वासुगौली गाउँपालिका–२, बेलवास्थित थारु अतिथि सेवा सदनको सभा हलमा सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो।

सम्मेलन सदन समितिका अध्यक्ष रामचन्द्र दहित थारुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा मधेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र मोहनलाल चौधरी, जनता समाजवादी पार्टीका नेता डा. कृपासिन्धु चौधरी, नेपाल कम्युनिस्ट पार्टीका नेता जयप्रकाश थारु तथा नेता नागेन्द्र चौधरीलगायतले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनअन्तर्गत कविता वाचन, रचनापाठ, साहित्यिक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम समावेश गरिएको छ। आयोजकका अनुसार सम्मेलनले थारु साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय साहित्यिक गतिविधिलाई राष्ट्रिय तहसम्म पुर्‍याउने र नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने उद्देश्य लिएको छ।

शहिद दिवसमा रास्वपा उम्मेदवार कानुद्वारा मधेस आन्दोलनका शहिदप्रति श्रद्धाञ्जली

0

वीरगंज । पर्सा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले शहिद दिवसको अवसरमा मधेस आन्दोलनका शहिदहरूको सालिकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

शुक्रबार शहिद दिवसको अवसरमा वीरगंजको घण्टाघरस्थित मधेसी शहिद स्मारक पार्क पुगेर उम्मेदवार कानुले मधेस आन्दोलनका शहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिनुभएको हो ।

सो अवसरमा उम्मेदवार कानुले शहिद दिवसका दिनसमेत मधेस केन्द्रित दलहरूको पर्याप्त चासोमा नपरेका मधेस आन्दोलनका शहिदहरूको बलिदान आफ्नाे दिल र दिमागमा सधैं ताजा रहेकाले शहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको बताउनुभयो ।

विगतमा भएका हरेक मधेस आन्दोलनमा आफू सक्रिय रूपमा सहभागी भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “मधेस आन्दोलनका यिनै शहिदहरूको कारण आज मधेस र मधेसीले अपमान र विभेदको सट्टा पहिचान र सम्मान पाएका छन् । यी शहिदहरूलाई म कहिल्यै बिर्सन सक्दिनँ । शहिदहरूले देखाएको बाटोमा सधैं हिँड्ने प्रयास गर्नेछु ।”

उम्मेदवार कानुले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनका आन्दोलन र विद्रोहमा ज्यानको आहूति दिएका सम्पूर्ण शहिदहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

कालिका टाईम्सले मानव सेवा आश्रममा मनायो आफ्नाे वार्षिकोत्सव

0

वीरगंज । वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाले आफ्नाे छैटौँ वार्षिकोत्सव मानव सेवा आश्रम, वीरगंजमा मनाएको छ । कालिका टाईम्स प्रालिद्वारा प्रकाशित दैनिक पत्रिकाले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रममा आश्रितहरूलाई खाजा खुवाउँदै सामाजिक उत्तरदायित्वसहित वार्षिकोत्सव मनाइएको हो ।

डिजिटल युगमा पत्रकारिताको प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा सत्य, तथ्य र विश्वसनीय समाचार पाठकसमक्ष पुर्‍याउनु नै कालिका टाईम्सको प्राथमिकता रहेको प्रबन्ध निर्देशक छठु साहले बताए । उनले भने, “यस यात्रामा कतै कमजोरी भएका हुन सक्छन्, तर ती कमजोरी स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धतासहित समाजलाई सकारात्मक दिशातर्फ लैजाने हाम्रो प्रयास निरन्तर जारी छ।”

दैनिक पत्रिका सञ्चालनका क्रममा देखिएका चुनौतीलाई सामना गर्दै खोजमूलक, निष्पक्ष र जनमुखी पत्रकारितालाई मूल आधार बनाएर अघि बढिरहेको कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमनले बताए ।

उनले भने, “हामीले सदरमुकाम मात्र होइन, जिल्लाका ग्रामीण भेगमा दबाइएका आवाज, ओझेलमा परेका मुद्दा र आम जनताको पीडालाई उजागर गर्दै आएका छौँ। पर्सासहित आसपासका जिल्लाका साना–ठूला विषयलाई समान महत्व दिँदै जनताको सरोकारका मुद्दा उठान गर्नु हाम्रो मूल धर्म हो।”

संघीयता स्थापनापछि तीन तहको सरकार बने पनि तराई–मधेशका धेरै नागरिक आज पनि शोषण, गरिबी, बेरोजगारी र पछौटेपनको सिकार रहेको यथार्थलाई कालिका टाईम्सले निरन्तर उजागर गर्दै आएको उनकाे भनाइ थियो । गणतन्त्र स्थापनापछि पनि गरिब, विपन्न तथा दलित समुदायको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन नसकेको अवस्थालाई समाचारमार्फत् उठान गर्दै आएको दाबी समेत सुमनले गरे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार मनोज पटेल, सन्तोष साह, विनोद पटेल, हरिशंकर शर्मा, ताजिन्द्र साह, दिपेन्द्र यादव, जयप्रकाश कुशवाहा, राधेश्याम पटेल, श्रवण साह, अमोद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सेढवामा कांग्रेस वडा कार्यालय संचालन, उम्मेदवार रमेश रिजालद्वारा उद्घाटन

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा नेपाली कांग्रेसको वडा पार्टी कार्यालयको उद्घाटन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ। पार्टी कार्यालयको उद्घाटन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले गर्नुभएको हो।

नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष सरोज चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, पालिका सदस्य ऋषि हजरालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश रिजालले नेपाली कांग्रेसको पहलमा हुलाकी राजमार्ग, जनता सडक तथा जगरनाथपुर–सुपौली–परासवा हुँदै लाटो माइँदेखि संकर सरैयासम्मको कच्ची सडक कालोपत्रे गरिएको उल्लेख गर्नुभयो। उहाँले विकास र समृद्धिका लागि कांग्रेसको योगदान निरन्तर रहेको बताउनुभयो।

त्यसैगरी, मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल अन्य उम्मेदवारको तुलनामा स्वच्छ, अनुभवी र सक्षम रहेको दाबी गर्नुभयो। उहाँले निर्वाचनमा एकजुट भएर कांग्रेस उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै पार्टी संगठन सुदृढीकरण गरी जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

वीरगंजमा मधेश साहित्य महोत्सवको दोस्रो संस्करण सुरु, ३ दिनसम्म साहित्य र संस्कृतिको उत्सव

0

वीरगंज । मधेश साहित्य महोत्सवको दोस्रो संस्करण बिहीबारदेखि वीरगंजमा औपचारिक रूपमा सुरु भएको छ। वीरगंजस्थित मधेश विश्वविद्यालय परिसरमा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरीले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले मधेशको भाषा, साहित्य र संस्कृतिले यहाँको पहिचान र इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो। उहाँले यस्ता महोत्सवले दबिएका आवाजलाई सार्वजनिक मञ्च प्रदान गर्दै सामाजिक एकता र सहअस्तित्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

वीरगंज महानगरपालिकाका प्रमुख तथा मधेश साहित्य महोत्सवका संरक्षक राजेशमान सिंहले मधेश साहित्य महोत्सव अब केवल कार्यक्रम मात्र नभई साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले वीरगंजलाई साहित्य, कला र बौद्धिक संवादको केन्द्रका रूपमा विकास गर्न महानगरपालिका सधैं साथ रहने प्रतिबद्धता जनाउनुभयो।

मेयर सिंहले मधेशका विविध भाषा, समुदाय र पुस्तालाई जोड्ने यस्तो मञ्चले पहिचान, समावेशिता र आपसी सम्मानको संस्कार विकास गर्ने भन्दै महोत्सवले मधेशको कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो।

मधेश र समग्र नेपालको विविध भाषा, साहित्य र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रितु राज पटेलले जानकारी दिनुभयो।

उत्कर्ष नेपालद्वारा आयोजित महोत्सव माघ १५, १६ र १७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा गाउँ केन्द्रित बहस, साहित्यिक सत्र, काव्यशाला, बहुभाषिक कवि गोष्ठी तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको आयोजक संस्थाका जय साहले जानकारी दिनुभयो।

महोत्सवको पहिलो दिन ‘बीज पतन– गाउँः स्मृति, मिथक र यथार्थ’, ‘गाउँका युवाः पलायन, नीति र विकल्प’, ‘गाउँः लोकतन्त्र र सत्ता’, ‘गाउँः स्मृति र इतिहास’ लगायत सत्र तथा ‘नृत्य नवरंग’ सम्पन्न भएका छन्।

शुक्रबार हुने दोस्रो दिन शिक्षा, स्वास्थ्य र समानता, गाउँः संघर्ष र संरचना, गाउँः विकास बनाम विनाश, गाउँका खबर–खबरका गाउँ, ‘गाउँ काल्ह आ आज’ सत्रसहित वक्ता तथा कवि गोष्ठी, नेटुवा नाच, गीत तथा नाटक प्रस्तुति हुनेछन्।

महोत्सवको अन्तिम दिन काव्यशाला, ‘गाउँ बन्दै शहर–शहर बन्दै गाउँ’ तथा भोजपुरी साहित्यमा गाउँ विषयक सत्र सञ्चालन हुनेछन्। समापन समारोहका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण रहनेछन्। साथै शनिबार पुरानो बस पार्क (दियालो होटल अगाडि) आदर्शनगरमा विशेष सांगीतिक साँझ आयोजना गरिनेछ, जसमा भारतकी प्रसिद्ध लोक गायिका कल्पना पटवारीलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन्।

ज्ञानबाटिका इन्स्टिच्युटमा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न

0

वीरगंज । ज्ञानबाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि., परवानीपुर–०५, बारामा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । एल.एस. न्युरो एण्ड जनरल हस्पिटल परिसरमा आयोजित कार्यक्रमको उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले छोटो समयमा नै ज्ञानबाटिका इन्स्टिच्युटले उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जीवन शिक्षासँगै स्वास्थ्य शिक्षा अझ महत्वपूर्ण भएको उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा कलेजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख अतिथिका रूपमा उहाँले स्तरीय शिक्षाका लागि कलेजले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो।

ज्ञानबाटिका इन्स्टिच्युटकी उप–प्राचार्य प्रियंका रोयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परवानीपुर गाउँपालिकाकी उप–प्रमुख सुगान्धी देवी, एल.एस. न्युरो एण्ड जनरल हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक राम प्रवेश प्रसाद कुर्मी, अस्पताल सञ्चालक सबित्रा भण्डारी, होस्पिटल निर्देशक डा. अर्जुन पटेल, ज्ञानबाटिका इन्स्टिच्युटका एकेडेमिक निर्देशक इन्जिनियर अभय पटेल, वीरगंज नर्सिङ क्याम्पसकी नर्सिङ प्रमुख डा. कल्पना पौडेल, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख टुपेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको परिचय गराउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको थियो। वक्ताहरूले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा नर्सिङ पेशाको महत्व उल्लेख गर्दै अनुशासन, मेहनत र सेवाभावलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्वागत नृत्यमा कशिश ठण्डार, चन्दनी बैठा र करुणा खत्रीले मनमोहक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन अनुजा कार्की र नजरुल अन्सारीले गर्नुभएको थियो।