सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन शनिबार जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षता तथा युवा समाजसेवी कृष्ण चौधरीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा युवा समाजसेवी कृष्ण चौधरीले गाउँघरका युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यले भेट्रान कप आयोजना गरिएको बताए । ४० वर्ष उमेर कटेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रति रुचि र उत्साह बढ्ने उनले बताए ।
“खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भने ।
प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य राखिएको छ । हालसम्म ११ वटा टोलीको सहभागिता सुनिश्चित भइसकेको जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले जानकारी दिए । बाँकी टोलीको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको उनले बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








